कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या बिहीबारसम्म १६ हजार ४ सय पुगेको रोयटर्सले जनाएको छ।
उसले कोरोनाको प्रकोप उच्च बिन्दुमा पुग्न लागेको संकेतहरू मिलेको जनाएको छ।
अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई कोरोना भाइरसका कारण हुने मृत्यु यो साता चिन्ताजनक संख्यामा देखिने चेतावनी दिएका छन्।
यसैगरी रोयटर्सले कोरोना भाइरसको इपिसेन्टर न्यू योर्क राज्यमा नयाँ संक्रमितको संख्या सपाट भएको उल्लेख गरेको छ।
अमेरिकी स्वास्थ्य तथा राज्यका अधिकारीहरूले कोरोनाविरुद्धको लडाईंमा प्रगतिका संकेतहरू देखिएको बताउँदै आफ्ना नागरिकहरूले सामाजिक दुरीमा ध्यान दिनुपर्ने बताएका छन्।
हाल अमेरिका कोरोना भाइरसका कारण नागरिक गुमाउने मुलुकमा दोश्रो स्थानमा पर्छ।
मंगलबार र बुधबार अमेरिकाले मृतक संख्यामा नयाँ कीर्तिमान कायम गरेको थियो। त्यहाँ मंगलबार र बुधबार गरी प्रत्येक दिन १९ सय जनाको ज्यान गएको थियो।
पछिल्लो आँकडा अनुसार अमेरिकामा संक्रमित संख्या बिहीबारसम्म ४ लाख ५९ हजार पुगेको छ। बिहीबार मात्रै त्यहाँ २७ हजार नयाँ संक्रमित भेटिएका उसले जनाएको छ।