कोरोना भाइरसको संक्रमणबाट न्यू योर्क राज्यमा मृत्यु हुनेको संख्या ३५ सय नाघेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ थप ६३० जनाको मृत्यु भएको छ।
योसँगै न्यू योर्कमा मृतकको संख्या ३ हजार ५ सय ६५ पुगेको छ। संक्रमितको संख्या न्यू योर्कमा झण्डै इटालीको हाराहारी भएको छ।
न्यू योर्कमा कोरोना संक्रमितको संख्या १ लाख १३ हजार बढी रहेको छ जबकी पूरै इटालीको कुल संक्रमित संख्या १ लाख २५ हजारको हाराहारी छ।
न्यू योर्कका गभर्नर एन्ड्रयू कुमोले ४ देखि १४ दिनको बीचमा संक्रमण उच्चतम विन्दुमा पुग्ने बताएका छन्।
कुमोले संक्रमितको उपचारका लागि आफूहरूले धेरै भन्दा धेरै भेन्टिलेटरहरू खोजिरहेको बताएका छन्।
उनले शनिबारसम्म चीनबाट एक हजार र अमेरिकाकै ओरेगन राज्यबाट १४० वटा भेन्टिलेटर न्यू योर्क आइपुग्ने बताए।
त्यसैगरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दैनिक कोरोना भाइरस ब्रिफिङमा संक्रमणका कारण आगामी साता अमेरिकाले धेरै मृत्यु देख्ने बताएका छन्।
उनले यसअघि अमेरिकी नागरिकहरूलाई कठिन दुई साताका लागि तयार रहन भनेका थिए।
'धेरैजनाको मृत्यु हुनेछ', उनले भने।
उनले संघिय सरकारले आवश्यक संख्यामा भेन्टिलेटर उपलब्ध गराउन पर्याप्त कदम नचालेको भन्ने आलोचनाको प्रतिवादसमेत गरेका छन्।
उनले केही गभर्नरहरूले आवश्यकता भन्दा बढी भेन्टिलेटरको माग गरेको भन्दै आलोचनाको प्रतिवाद गरेका हुन्।
'अभाव हुन्छ भन्ने डरले धेरै अनुरोध आएको छ', ट्रम्पले भने।
राष्ट्रपति ट्रम्पले अमेरिका एकदमै डरलाग्दो अवस्थासम्म पुग्ने बताउँदै मृतकको संख्या युद्धको समयमा देखेको जस्तो हुने बताएका छन्।
अमेरिका हाल कोरोना भाइरस कोभिड-१९ बाट सबैभन्दा बढी प्रभावित मुलुक बनेको छ। त्यहाँ विश्वमै सबैभन्दा धेरै संक्रमित भेटिएका छन्।
रोयटर्सको पछिल्लो विवरण अनुसार त्यहाँ ३ लाख ६ हजार जना संक्रमित छन् भने ८ हजार ३ सय बढीको संक्रमणबाट मृत्यु भइसकेको छ।
अमेरिकाले भाइरसको संक्रमणबाट आफ्ना १ देखि २ लाख ४० हजार नागरिकले ज्यान गुमाउन सक्ने अनुमान यसअघि नै सार्वजनिक गरिसकेको छ।