कोरोना भाइरसको संक्रमण फैलिन सुरु भएयता ६६ लाख अमेरिकी नागरिकले बेरोजगार सुविधा मागेका छन्।
बेरोजगार सुविधा लिनेको संख्या लगातार दोश्रो सातामा पनि बढेपछि अमेरिकी इतिहासमै पहिलो पटक यति धेरै मानिसहरूले बेरोजगार भएका हुन्।
गत साता यो आँकडा ३३ लाख थियो भने केही साता अगाडिसम्म यो संख्या २ लाख मात्रै थियो।
पछिल्लो समय कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि अमेरिकामा आर्थिक संकट बढ्दै गएको छ।
विश्वका कुल कोरोना संक्रमित मध्ये झण्डै एक चौथाइ संक्रमित अमेरिकामा रहेका छन्।
त्यहाँ हालसम्म दुई लाख ४४ हजार मानिसहरूलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ६ हजार बढीको ज्यान गइसकेको छ।
उसले आगामी दुई सातामा यो संख्या अझ बढ्ने अनुमान यसै साता सार्वजनिक गरिसकेको छ।
बैंक अफ अमेरिकाका विश्लेषकहरूले अमेरिकाले इतिहासकै गहिरो आर्थिक संकट भोग्न सक्ने चेतावनी दिएका छन्।
उनीहरूले अमेरिकामा बेरोजगारी दर १५ प्रतिशत भन्दा माथि जाने प्रक्षेपण गरेका छन्।