कोरोनाभाइरसको संक्रमणबाट अमेरिकाका थप एक व्यक्तिको ज्यान गएको छ।
न्यूयोर्क टाइम्सका अनुसार सिटलका एक ७० वर्षीय पुरुषको संक्रमणका कारण शनिबार एभरग्रिन हेल्थ हस्पिटल,क्रिकल्याण्डमा मृत्यु भएको हो।
अधिकारीहरूले वासिङ्टन राज्यमा कोरोना संक्रमणका थप विवरण सार्वजनिक भएको पनि बताएका छन्।
सोही अस्पतालमा शनिबार कोरोनाभाइरसको उपचार गराइरहेका एक ५० वर्षीय पुरुषको मृत्युको भएको थियो। जुन अमेरिकामा कोरोनाभाइरसको संक्रमणबाट भएको पहिलो मृत्यु बनेको थियो।
वासिङटन राज्यका अधिकारीहरूले थप तीनजनामा कोरोना संक्रमणको मामिला पुष्टि भएको बताएका छन्। यसरी संक्रमित हुनेहरूमा ८० र ९० उमेर समूहका दुई महिला र ७० उमेर समूहका एक पुरुष छन्।
उनीहरू तीन जनाको अवस्ता गम्भीर रहेको बताइन्छ।
एभरग्रिन हेल्थ हस्पिटल,क्रिकल्याण्ड
अमेरिकाभर शनिबारसम्ममा ८७ वटा संक्रमणका मामिलाहरू सार्वजनिक भएका छन्।
ती संक्रमितहरू वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन्।
जनवरी २१ मा पहिलो पटक कोरोनाभाइरस संक्रमणको मामिला सार्वजनिक भएकोमा यस सप्ताहन्तबाट भने संक्रमितहरुको संख्यामा बढोत्तरी भएको छ। अमेरिकी अधिकारीहरूले संक्रमण जोखिम क्षेत्रको भ्रमणबाट फर्किएकाहरूबाट संक्रमण फैलिएको बताएका छन्।
आइतबार मात्रै न्यू योर्क राज्यमा इरानबाट फर्केकी एक महिलामा संक्रमण भेटिएको छ। हाल ती महिलालाई उनको घरमा नै 'आइसोलेसन'मा राखिएको छ।
संक्रमितहरूको थप मामिला आएपछि फ्लोरिडा राज्यले जन-स्वास्थ्य आपतकालको घोषणा गरेको छ।
संक्रमणका दुई वटा मामिला सार्वजनिक भएपछि उसले यस्तो गरेको हो।
यसैगरी क्यालोफोर्नियामा दुई स्वास्थ्य सेवकमा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ।