अमेरिकामा डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति उम्मेदवार बन्ने प्रतिष्पर्धामा छ जना बाँकी रहेका छन्।
इन्डियना राज्यको साउथ बेन्डका पूर्वमेयर मध्यमार्गी युवा नेता पिट बुटिजेइजले आइतबार राष्ट्रपतीय निर्वाचनको दौडबाट आफू बाहिरिएको घोषणा गरेका छन्।
३८ वर्षीय बुटिजेइज समलिंगी हुन्। उनले मेयर हुँदा नै यो कुरा सार्वजनिक गरेका थिए। आइवा राज्यमा भएको प्राइमरीमा बुटिजेइजले झिनो मतान्तरले पहिलो स्थान हासिल गरेका थिए। न्यु हेम्स्पाएर राज्यमा उनी दोस्रो भएका थिए भने नेभडामा तेस्रो र साउथ क्यारोलाइनामा चौथो स्थानमा खुम्चिएका थिए।
साउथ क्यारोलाइनाको नतिजा आएपछि अब उम्मेदवार बन्न सम्भव नभएको भन्दै बुटिजेइज दौडबाट बाहिरिएका हुन्।
मंगलबार अमेरिकाका १४ राज्यमा डेमोक्र्याटिक पार्टीको उम्मेदवार छान्न प्राइमरी भोटिङ हुँदैछ।
बुटिजेइजको बहिर्गमनसँगै साउथ क्यारोलाइनामा भारी मत हासिल पूर्वउपराष्ट्रपति जो बाइडनलाई फाइदा पुग्ने देखिन्छ।
वामपन्थी झुकाव भएका नेता बर्नी स्यान्डर्सले पछिल्लो समय राष्ट्रपति उम्मेदवारका प्रबल दाबेदार देखिएका छन्।
सुरूमा डेमोक्र्याट पार्टीबाट राष्ट्रपति बन्ने दौडमा दुई दर्जन नेताहरू होमिएका थिए। प्राइमरीबाट उम्मेदवार चुनिएका डेमोक्र्याट नेता आगामी नोभेम्बरमा हुने चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भिड्ने छन्।