अमेरिकाको संविधानमा प्रत्येक दश वर्षमा जनगणना गर्नु पर्ने प्रावधान अनुसार यस वर्ष जनगणना हुँदै छ । यो जनगणना महत्त्वपूर्ण छ किनकि:
- यसले अमेरिकी सरकारमा राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको निर्धारण गर्दछ;
- यसले केन्द्रीय सरकारबाट स्वास्थ्य, शिक्षा, बसोबास, आर्थिक विकास, सामाजिक सेवा, बाटोघाटो, यातायात र अन्य क्षेत्रमा प्राप्त गर्ने सहयोगको निर्धारण गर्दछ भने निजी क्षेत्रलाई आफ्ना व्यवसाय सम्बन्धी निर्णय गर्न सहयोग गर्छ; र
- यसले नेपालीहरूको पहिचान सहित तथ्याङ्क हासिल गर्न सहयोग गर्न सक्छ ।
यिनै कारणहरूले आगामी जनगणना महत्त्वपूर्ण मानिएको छ । त्यसो त यो जनगणना पहिलो भने होइन; अमेरिकामा जनगणना देशको संविधानको लागु सँगसँगै भएको हो ।
देशको जन्म सँगै सुरु भएको अमेरिकी जनगणना
सन् १७८७ सेप्टेम्बर १७ मा अमेरिकाको संविधान जारी गर्दा नै संविधानको भाग १ खण्ड २ ले देशमा प्रत्येक १० वर्षमा जनगणना गर्नुपर्ने व्यवस्था गरेको थियो । उक्त संविधान अनुसार बसेको कङ्ग्रेसको पहिलो मिटिङको तीन वर्ष भित्र पहिलो जनगणना गर्नुपर्ने व्यवस्था थियो । सन् १७८९ मार्च ४ मा कङ्ग्रेस को पहिलो बैठक बस्यो भने अर्को वर्ष सन् १७९० मा नै अमेरिकाको पहिलो जनगणना सम्पन्न गरिएको थियो ।
त्यसो त विश्वमा जनगणनाको इतिहास पुरानो छ - बेबिलोन साम्राज्यले जनावरहरू र मखन, मह, दूध, ऊन र तरकारीहरूको परिमाण गणना गर्दै पहिलो जनगणना बी सी ई ३८०० मा लिएको थिए भने चीनको हान राजवंशले ई सी २ मा जनगणना गरेको देखिन्छ । नेपालमा पहिलो पल्ट सन् १९११ मा जनगणना गरिएको थियो भने अमेरिकामा नेपालमा भन्दा १२१ वर्ष पहिलेदेखि अर्थात् सन् १७९० मा नै प्रथम जनगणना गरिएको थियो। सन् १७९० मा भएको पहिलो जनगणनाको २३० वर्ष पछि हुन लागेको आगामी जनगणना देशको २४ औ जनगणना हो र यसको Census Day अर्थात् गणना दिन अप्रिल १ सन् २०२० कायम गरिएको छ । अर्थात् अब हुने जनगणनाले आगामी अप्रिल १ तारिखमा देशको जनसङ्ख्याको मापन गर्दछ ।
राष्ट्रपति जर्ज वासिङ्टनको पालामा भएको पहिलो जनगणना को लागि Census Day अर्थात् गणना दिवस सन् १७९० को अगस्त २ को दिन तोकिएको थियो ।
देशका सुरुका जम्मा १३ कोलोनीहरू (Delaware, Pennsylvania, New Jersey, Georgia, Connecticut, Massachusetts Bay, Maryland, South Carolina, New Hampshire, Virginia, New York, North Carolina, and Rhode Island & Providence Plantations) र केंन्तुकी, मैन, भर्मोन्ट र टेनेस्सी मा गरिएको उक्त जनगणनामा घर मुलीको नाम र अन्य सूचना जस्तै (१) स्वतन्त्र गोरा पुरुष (१६ वर्ष भन्दा माथि), (२) स्वतन्त्र गोरा पुरुष (१६ वर्ष मुनिका), (३) स्वतन्त्र गोरा महिला हरू, (४) अन्य स्वतन्त्र व्यक्तिहरू, र (५) दासहरू को सङ्ख्या सङ्कलन गरिएको थियो । पहिलो जनगणना अनुसार देशको जनसङ्ख्या ३९ लाख (अर्थात् ३.९ मिलिएन) रहेको थियो । यो सङ्ख्या सोचे भन्दा धेरै कम भएकोले तत्कालीन राष्ट्रपतिले देशको जनगणनाको नतिजा प्रति शङ्का व्यक्त गरेका थिए । जनसङ्ख्या कम देखिदा युरोपियनको नजरमा अमेरिका एक कमजोर राष्ट्र देखिने डर थियो ।
जनगणनादिवसअप्रिल१
अमेरिकाको तथ्याङ्क विभागका अनुसार सन् १७९० देखि सन् १८२० सम्म जनगणनाहरू अगस्तको पहिलो सोमबार (अगस्ट २, १७९०; अगस्ट ४, १८००; अगस्ट ६, १८१०; र अगस्ट ७, १८२०) मा गरिएको थियो । सन् १८३० देखि सन् १९०० सम्म जुन १ (सन् १८९० मा जून २ बाहेक) लाई जनगणना दिन कायम गरिएको थियो भने सन् १९१० मा अप्रिल १५ र सन् १९२० मा जनवरी १ लाई जनगणना दिन रूपमा लिइएको थियो । तर सन् १९३० देखि आजसम्म जनगणना दिवस अप्रिल १ हो।
अमेरिकाको तथ्याङ्क विभाग का अनुसार सन् १७९० मा १३ कोलोनीहरूबाट सुरु भएको जनगणना सन् १८४० मा २६ राज्य हरूलाई समेट्न सक्यो भने सन् १९१० मा ४६ राज्यहरूमा जनगणना सम्पन्न गरिएको थियो। सन् १९६० मा पहिलो पटक वर्तमानका सबै ५० राज्यहरूमा जनगणना गरिएको थियो । त्यसै गरी जनसङ्ख्या पनि सन् १७९० को ३.९ मिलियन (३९ लाख) बाट सन् १८४० मा चार गुणा बढी १७ मिलियन (१ करोड ७० लाख) पुगेको थियो भने सन् १९१० मा ९२ मिलियन (९ करोड २० लाख) र सन् १९६० मा पहिलो पल्ट सबै राज्यहरूमा जनगणना गर्दा देशको जनसङ्ख्या १७९ मिलियन (१७ करोड ९० लाख) पुगेको थियो । सन् २०१० को जनगणना अनुसार देशको जनसङ्ख्या ३०८.७ मिलियन (३० करोड ८७ लाख) थियो भने आगामी जनगणना (अप्रिल १, २०२०) मा देशको जनसङ्ख्या ३३० मिलियन (३३ करोड) पुग्ने अनुमान गरिएको छ। अमेरिकामा हाल कायम रहेका ५० राज्यहरू को भौगोलिक आकार र जनसङ्ख्या को वृद्धि एकै नासको छैन । जनसङ्ख्या को आधारमा अमेरिकी सरकारमा जनताको प्रतिनिधित्व हुने हुँदा राज्यहरूको जनसङ्ख्या घटबढ हुँदा त्यस क्षेत्रबाट हुने प्रतिनिधित्वलाई पनि असर गर्छ ।
राज्यको जनसङ्ख्या र प्रतिनिधिहरूकोसङ्ख्या
अमेरिकाको केन्द्रीय सरकारमा तिन भाग छन् - कार्यकारी, जसमा राष्ट्रपति र केन्द्रीय सरकारका कर्मचारीहरू पर्छन्; व्यवस्थापिका, जसमा सिनेट र प्रतिनिधिसभा पर्छन्; र न्यायपालिका, जसमा सर्वोच्च अदालत र मातहतका अदालत पर्छन् । यहाँ चर्चा गर्न खोजिएको प्रतिनिधिसभा र राष्ट्रपति निर्वाचन को हो । अमेरिकी सिनेटमा जम्मा १०० सदस्य हुन्छन् र देशका ५० राज्यहरूबाट प्रत्येक राज्यबाट २ जनाका दरले प्रतिनिधित्व गर्छन्; राज्य भौगोलिक रूपमा ठुलो वा सानो अथवा राज्यको जनसङ्ख्या धेरै वा थोरै भएको कारणले यसलाई असर गर्दैन । तर प्रतिनिधिसभामा हुने ४३५ जना भने सबै राज्यबाट बराबरको रूपमा होइन कि त्यो राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्व गराइने चलन छ ।
अमेरिकाको तथ्याङ्क विभाग र ऐतिहासिक दस्ताबेजका अनुसार देशको पहिलो जनगणना हुनुभन्दा पहिले सन् १७८९ मार्च ४ देखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा अप्रिल १ मा पहिलो पल्ट ११ राज्यहरूबाट ५९ सदस्यहरू र पछि सन् १७९० मा नर्थ क्यारोलाइना र रोध आइल्याण्ड थप गरी जम्मा ६५ जना प्रतिनिधिहरू बाट सुरु भएको थियो । त्यसपछि देशको जनगणनाबाट प्राप्त जनसङ्ख्या अनुसार प्रतिनिधि सभा सदस्यको सङ्ख्यामा पनि वृद्धि भयो ।
अमेरिकाको संविधानले प्रत्येक राज्यबाट कम्तीमा १ जना र करिब ३०,००० मा १ जना प्रतिनिधिको रूपमा प्रतिनिधि सभामा सदस्य हुने व्यवस्था गरे अनुसार सुरुका वर्षहरू (सन् १७९० देखी सन् १९१३ सम्म) मा देशको जनसङ्ख्याको अनुपातमा प्रतिनिधिसभा सदस्यहरू को सङ्ख्या पनि बढ्दै गएको देखिन्छ । सन् १७९० को ३९ लाख जनसङ्ख्या बाट सन् १८०० मा ५३ लाख पुग्दा प्रतिनिधिसभा सदस्यको सङ्ख्या पनि ६५ बाट १०५ पुग्यो भने सन् १९०० मा देशको जनसङ्ख्या ७ करोड ६२ लाख पुग्दा प्रतिनिधिसभा सदस्यको सङ्ख्या पनि बढेर ३८६ पुग्यो । तर सन् १९१० को जनगणना पछि सन् १९१३ देखी प्रतिनिधिसभा सदस्यको सङ्ख्या ४३५ कायम गरियो । तर सन् १९५९ देखि सन् १९६३ भने यो सङ्ख्या ४३७ कायम गरिएको थियो किनकि अलास्का र हवाईलाई पनि राज्यको रूपमा समावेश गरियो । आजसम्म प्रतिनिधिसभा सदस्यको सङ्ख्या ४३५ कायम छ ।
राज्यबाटसरकारमाप्रतिनिधित्व
सन् २००० को जनसङ्ख्याको दाँजोमा सन् २०१० को जनगणनाले Texas राज्यको जनसङ्ख्या बढेकोले उक्त राज्य बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यको सङ्ख्या पनि ४ सिटले बढेको थियो । सन् २००० र सन् २०१० को बिचको जनसङ्ख्या वृद्धिबाट ४ जना प्रतिनिधिहरू बढी पाउने, अर्थात् सबभन्दा ठुलो विजेता राज्य Texas रह्यो । त्यस्तै, जनसङ्ख्याको वृद्धिले सोही अवधिमा Florida ले २ जना बढी प्रतिनिधिहरू प्राप्त गरी विजेता बन्यो भने Arizona, Georgia, Nevada, South Carolina, Utah and Washington राज्यहरूले ले १-१- सिट बढी पाउन सफल भई विजेता बने । त्यस्तै, Illinois, Iowa, Louisiana, Massachusetts, Michigan, Missouri, New Jersey and Pennsylvania राज्यहरूले १-१ सिट गुमाए भने New York र Ohio ले २-२ सिट गुमाएर हरुवा राज्यहरूमा दर्जिय । तर ३२ वटा राज्यहरूमा कुनै परिवर्तन भएन ।आगामी Census 2020 को बिस्तृत नतिजा सन् २०२० को अन्तिमसम्म प्राप्त हुन्छ र यसको नतिजा अनुसार त्यसपछि हुने निर्वाचन को लागि प्रतिनिधि सभाको सदस्य सङ्ख्या निर्धारण गरिन्छ ।
दश वर्षको छोटो समयमा त जनसङ्ख्यामा भएको परिवर्तनको आधारमा राज्यहरू बाट हुने प्रतिनिधिहरूको सङ्ख्यामा परिवर्तन भएको देखिन्छ भने लामो समयमा जनसङ्ख्यामा भएको घटबढ को कारणले भएको परिवर्तन अझ छर्लङ्ग सँग देख्न सकिन्छ । अमेरिकी तथ्याङ्क विभागका अनुसार सन् १९४० र सन् २०१० लाई दाँजेर हेर्दा केही राज्यहरूको जनसङ्ख्या बढेकोले ती राज्यहरू बाट पाउने प्रतिनिधिहरूको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भयो - जस्तै, California का प्रतिनिधिहरूको सङ्ख्या ३० ले बढे, Florida का २१ जनाले बढे र Texas बाट १५ जनाले बढे। तर, New York ले यही समयमा १८ जना प्रतिनिधि गुमायो भने Pennsylvanian ले १५ र Illinois ले ८ प्रतिनिधि गुमाए ।
के जनगणनाको नतिजाले रास्ट्रपतिको निर्वाचनमा असर गर्छ?
अमेरिकाको राष्ट्रपतिको निर्वाचन चुनावी भोट (electoral votes) को आधारमा हुन्छ । प्रत्येक राज्यलाई त्यो राज्यको चुनावी भोट को सङ्ख्या तोकियाको हुन्छ । धेरैजसो (२ राज्यहरू बाहेक) राज्यहरूले winner-takes-all तरिका अपनाउछ्न जसमा त्यो राज्यमा खसेको भोटको बहुमत प्राप्त गर्ने उम्मेदवारले त्यो राज्यको सम्पूर्ण चुनावी भोट पाउँछ । तर Maine र Nebraska राज्यले Congressional District Method अपनाउछ्न जस अनुसार राज्यको चुनावी भोट एक भन्दा बढी उम्मेदवारलाई भोटको आधारमा बाद्दछं । राज्यबाट चुनावी भोट (electoral votes) कति हुने भन्ने चाहिँ त्यो राज्यबाट प्रतिनिधिसभामा हुने प्रतिनिधिहरूको सङ्ख्या मा सिनेटर को सङ्ख्या (२ senator per state) जोडी निकालिन्छ । प्रतिनिधिको सङ्ख्या राज्यको जनसङ्ख्या बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । त्यसैले जनसङ्ख्याले electoral votes निर्धारण गर्छ र जनगणनाले विभिन्न राज्यको जनसङ्ख्याको मापन । त्यसैले जनगणना को नतिजा राष्ट्रपतिको निर्वाचन सँग पनि जोडिएको मानिन्छ । तर आगामी राष्ट्रपतिको निर्वाचनलाई आउन लागेको जनगणनाले असर गर्दैन किनकि जनगणनाको नतिजा यो चुनाऊ पछि मात्र आउँछ । सारांशमा भन्नुपर्दा राज्यको जनसङ्ख्याको परिवर्तनले त्यो राज्यबाट प्रतिनिधि सभा सदस्यको सङ्ख्यामा असर गर्ने हुँदा यसले देशको राष्ट्रपतीय निर्वाचनलाई पनि असर गर्दछ ।
कुनै पनि राज्यको चुनावी भोटहरू (electoral votes) त्यो राज्यको प्रतिनिधि सभा सदस्यको सङ्ख्यामा दुई senator को सङ्ख्या जोडी निर्धारण गरिन्छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० चुनावी भोट (270 electoral votes) चाहिन्छ । अमेरिकामा ५० राज्यहरूबाट ५३५ र Washington DC बाट जम्मा ३ जना गरी जम्मा ५३८ चुनावी भोटहरू (electoral votes) रहेका छन् । उदाहरणको लागि, Texas राज्यमा सन् २०१० को जनगणनाको आधारमा जम्मा ३६ जना प्रतिनिधिसभा सदस्यहरू छन् र अरू राज्यहरू सरह २ जना सिनेटर हरू छन्; त्यसैले यो राज्यमा जम्मा ३८ चुनावी भोटहरू (electoral votes) छन् । मानौँ पहिले जस्तै सन् २०२० को जनगणनाले गर्दा राज्यको जनसङ्ख्या बढ्न गई प्रतिनिधि सभा सदस्यको सङ्ख्या अर्को ४ ले बढी ४० पुग्यो भने चुनावी भोटहरू (electoral votes) पनि बढेर ४२ पुग्छ र सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा Texas जित्ने उम्मेदवारले 42 electoral votes जित्छ ।
राज्यको जनसङ्ख्या वृद्धि डेमोक्रेटिक वा रिपब्लिकन कुन पार्टीको बाहुल्यता भएको राज्यमा बढेको छ त्यसले कुन पार्टीको राष्ट्रपति उम्मेदवार निर्वाचित हुने भन्ने असर गर्छ । अमेरिकाको तथ्याङ्क विभाग को अनुसार सन् १९४० र सन् २०१० लाई दाँजेर हेर्दा तिन प्रमुख विजेतामा California, Florida र Texas राज्य रहे भने तिन हरुवाहरुमा New York, Pennsylvania र Illinois रहे । एस अवधिमा California बाट प्रतिनिधि सभा सदस्यको सङ्ख्या २३ बाट बढेर ५३, Florida मा ६ बाट २७ र Texas मा २१ बाट ३६ पुग्यो। त्यही अवधिमा New York को ४५ बाट घटेर २७, Pennsylvania को ३३ बाट घटेर १८ र Illinois को २६ बाट घटेर १८ कायम रह्यो।
जनगणना र र केन्द्रीय सरकारको आर्थिक सहयोग
जनगणनाले उपलब्ध गराएको विभिन्न राज्य र क्षेत्रमा बसोबास गर्ने व्यक्ति हरूको जनसङ्ख्याले केन्द्रीय सरकारबाट त्यो राज्य वा क्षेत्र मा स्वास्थ्य, शिक्षा, बसोबास, आर्थिक विकास, सामाजिक सेवा, बाटोघाटो, यातायात र अन्य क्षेत्रमा कति आर्थिक सहयोग प्राप्त गर्ने भन्ने निर्धारण गर्दछ । निजी क्षेत्रले कुन स्थानमा र कुन क्षेत्रमा नयाँ लगानी गर्ने वा लगानी बढाउने भन्ने योजना बनाउन तथा कस्ता नयाँ बस्तु वा सेवा कुन क्षेत्रमा बिस्तार गर्ने भन्ने निर्णय गर्न सहयोग गर्छ ।
आर्थिक वर्ष २०१५ को केन्द्रीय सरकारबाट विभिन्न कार्यक्रममा बाँडिएको रकम हेर्दा सब भन्दा बढी स्वास्थ्य सम्बन्धी सहयोग कार्यक्रममा (Medical Assistance Program ) भएको देखिन्छ । त्यसपछि पनि विभिन्न निम्न आय भएका परिवारले प्राप्त गर्ने पौष्टिक आहारमा सहयोग सम्बन्धी कार्यक्रममा (Supplemental Nutrition Assistance Program ) भएको देखिन्छ । ठुलो सङ्ख्यामा आप्रवासीहरू अमेरिकामा नयाँ छन् भएकोले र कम आम्दानी गर्ने समूहमा पर्ने भएकोले केन्द्र सरकारबाट प्रदान गरिने स्वास्थ्य सेवा, कम आम्दानी हुने परिवारलाई दिइने आर्थिक सहयोग, स्कुलमा दिइने निःशुल्क खाजा जस्ता सुविधाहरूको लागि योग्य हुन्छन् । तर यो समुदायबाट यदि जनगणनामा भाग लिएनन् भने राज्यको जनसङ्ख्या कमी देखिन्छ र केन्द्र सरकारबाट यस्ता क्षेत्रमा आउने सहयोग रकम कम हुन्छ ।
अमेरिकीजनगणनामानेपालीपहिचान
अमेरिकामा हुन गई रहेको यो जनगणना नेपालीहरूको लागि पनि धेरै महत्त्वपूर्ण छ । पूर्ण र सही तरिकाले फर्म भरेको अवस्थामा यस जनगणनाले अमेरिकामा बसोबास गर्ने नेपालीहरूको बारेमा पनि जानकारी दिन सक्छ । यसबाट नेपाली परिचाहन कायम गर्न, अमेरिकामा नेपालीहरूको जनसङ्ख्या थाहा पाउन र यो जनसङ्ख्याको आधारमा अल्प सङ्ख्यक समुदायले पाउने सुविधा लिन, अमेरिकाको मूलधारको राजनीतिमा आउन र नेपाल सरकारबाट कुन कुन ठाउँमा कस्तो कस्तो सुविधा पुर्याउनु पर्छ भन्ने महत्त्व पूर्ण निर्णय गर्न सहयोग गर्दछ ।
अमेरिकामा धेरै सानो अल्पसङ्ख्यक समुदायमा पर्ने नेपालीहरूको सङ्ख्या कति छ भन्ने आफ्ना-आफ्ना अनुमान छन् तर कसै सँग पनि आधिकारिक तथ्याङ्क उपलब्ध छैन । अमेरिकामा अन्य समूहको भन्दा सानो भए पनि नेपालको परिप्रेक्ष्य मा ठुलो सङ्ख्यामा नेपाली मूलका बासिन्दाहरू छन् यहाँ। नेपालमा जन्मिएर अमेरिकाको स्थायी बासिन्दा वा नागरिकता लिएका व्यक्तिहरूका बारेमा केही तथ्याङ्क उपलब्ध छन् तर जनगणनाले नागरिकता लिएका वा ग्रिन कार्ड भएका मात्र नभई सम्बन्धित राज्य वा क्षेत्रमा बसोबास गर्ने सबैको गणना गर्दछ र हाल सम्म विभिन्न राज्यहरूमा बस्ने नेपालीहरूको सङ्ख्या आधिकारिक रूपमा उपलब्ध छैन । अमेरिकाको गैर-आवासीय नेपाली सङ्घ वा अन्य नेपाली संस्थाले नेपालीहरूको जनगणना गर्नु निकै कठिन काम हो। त्यसैले पनि अमेरिकी सरकारले गर्न लागेको यो जनगणनामा भाग लिनु र आफ्नो विवरण सही तरिकाले भर्नु महत्त्वपूर्ण छ ।
नेपालमा राणा शासनका समयमा अमेरिका आउने नेपालीहरू विरलै थिए । सन् १९५० मा राणा शासनको अन्त्य पछि अमेरिकामा आउने नेपालीहरूको सङ्ख्यामा बिस्तारै वृद्धि भयो । सन् १९६० मा प्रजातन्त्रको हत्या पछि यो क्रममा शिथिलता आएता पनि सन् १९९१ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना र अमेरिकामा सन् १९९० मा पारित डाइभर्सिटी प्रोग्राम (diversity program) सहितको अध्यागमन कानुनले गर्दा नेपालीहरूको अमेरिकामा आउने क्रम बढ्यो । त्यस्तै नेपालमा माओवादी आतङ्कबाट सृजित वातावरणले गर्दा ठुलो सङ्ख्यामा नेपालीहरूले अमेरिकामा शरणार्थी बने र ठुलो सङ्ख्यामा नेपालीहरूले ग्रिन कार्ड पाए । आर्थिक वर्ष २०१७ को अन्त सम्म जम्मा १२१,६०१ नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिएको देखिन्छ भने त्यस मध्ये ३२,४८५ नेपालीहरूले अमेरिकाको नागरिकता लिएको देखिन्छ । ग्रिन कार्ड लिएको सङ्ख्या बाट अमेरिकाको नागरिकता लिएको सङ्ख्यालाई घटाउँदा आर्थिक वर्ष २०१७ को अन्त सम्ममा जम्मा ८९,११६ जना सँग अमेरिकाको ग्रिन कार्ड भएको देखिन्छ र जसले गर्दा अमेरिकी नागरिकता लिने नेपालीहरूको सङ्ख्या आगामी वर्षहरूमा अझ बढ्ने निश्चित छ । ग्रिन कार्ड र अमेरिकी नागरिकता लिएका नेपालीहरूका सङ्ख्या बारे लेखनको यो लेख पढ्नु होला (https://setopati.com/global/america/171144)
जनगणनाकहिलेरकसरीहुँदैछ?
अमेरिकाको तथ्याङ्क विभागका अनुसार जनगणना २०२० को गणना दिन अप्रिल १ हो । अमेरिकी जनगणनाको इतिहासमा पहिलो पल्ट अनलाइन बाट पनि फर्म भर्ने व्यवस्था छ र फोनबाट पनि आफ्ना विवरण दिन सकिन्छ । त्यस्तै तथ्याङ्क विभागबाट प्राप्त कागजी प्रश्न पत्रमा आफ्नो विवरण भरि हुलाकबाट पठाएर पनि २०२० को जनगणना भाग लिन सकिन्छ । अमेरिकी तथ्याङ्क विभागले निम्न समयमा निम्न कार्य गर्ने बताएको छ:
- मार्च १२-२०: अनलाइनबाट फर्म भर्न अनुरोध सहितको निमन्त्रणा पत्र पठाउने छ
- मार्च १६-२४: सम्झना गराउनलाई अर्को पत्र पठाउने
- मार्च २६-अप्रिल ३: अघिल्ला प्रयास बाट पनि फर्म नभरेको अवस्थामा फेरि सम्झाउन एउटा पोस्ट कार्ड पठाउने
- अप्रिल ८- १६: फेरि सम्झाउनलाई एउटा पत्र पठाउने र साथमा कागजी प्रश्नपत्र पनि पठाउने
- अप्रिल २०-२७: अझै धेरै ढिलो भएको छैन भनी अन्तिम पटक सम्झाउन एउटा पोस्ट कार्ड पठाउने।
यसो गर्दा पनि फर्म नभर्ने परिवारको हकमा अमेरिकी तथ्याङ्क विभागले मे महिना देखि यस्ता व्यक्तिहरूका घरघरमा गणकहरूलाई पठाउँछ र सम्बन्धित व्यक्तलाई सोधेर फर्म भर्ने गर्दछन् । त्यसैले गणकहरू घरघर आउनु पर्ने अवस्था सृजना हुनु भन्दा पहिले नै सम्पूर्ण नेपालीहरूलाई अनलाइन वा कागजी प्रश्नपत्र मार्फत २०२० को जनगणना भाग लिन उपयुक्त हुन्छ ।
जनगणनाकोफर्ममाकेकेप्रश्नहरूछन् ?
२०२० जनगणनाको कागजी र अनलाइन प्रश्न पत्रमा घर मुली को लागि जम्मा ९ प्रश्नहरू छन् भने परिवारका अन्य सदस्यहरूको लागि घर मुलीलाई सोधिएका पाँच प्रश्न र थप दुई गरी जम्मा सात प्रश्नहरू समावेश गरिएका छन् । अन्ग्रेगिमा भएका प्रश्नहरू को नेपाली भावार्थ एस प्रकार छ:
प्रश्न #१. अप्रिल १, २०२० मा तपाई कोमा (घर, अपार्टमेन्ट, वा मोबाइल निवासमा) कति जना स्थायी रूपमा बसोबास गरेका थिए ? [अङ्क लेख्ने ]
प्रश्न #२. अप्रिल १, २०२० मा तपाईँले प्रश्न #१ मा समावेश गर्नु भएको बाहेक के तपाई कोमा अरू कुनै व्यक्तिहरू बस्नु भएको थियो ?
प्रश्न#३. के यो घर, अपार्टमेन्ट, वा मोबाइल निवास - (४ वटा मध्ये एउटा मिल्दो उत्तर मा छान्नुहोस् )
प्रश्न#४. तपाईँको टेलिफोन नम्बर के हो ?
प्रश्न#५. यहाँ बस्ने व्यक्तिको नाम लेख्नु होस । पहिले घर मुलीको नामबाट सुरु गर्नुहोस् । नाम लेख्दा अङ्ग्रेजीमा लेख्नु पर्छ र पहिलो नाम, थर र बिचको नामको पहिलो अक्षर लेख्नु पर्छ ।
प्रश्न #६. व्यक्तिको लिङ्ग के हो ?
प्रश्न #७. व्यक्तिको उमेर कति हो र जन्म मिति के हो ? उमेर हिसाब गर्दा अप्रिल १, २०२० मा कति वर्ष भयो त्यो लेख्नु पर्छ ।
प्रश्न #८. के तपाई हिस्पानिक, ल्याटिन, वा स्पानिक मूलको हुनु हुन्छ ?
प्रश्न #९. तपाईँको जात के हो ? [यो धेरै नै महत्त्वपूर्ण प्रश्न हो । हाम्रो अनुरोध के छ भने यसमा अन्य एसियाली छानी खाली ठाउँमा Nepali वा Nepalese लेख्नु पर्छ ।]
घर मुली वाहेक अन्य सदस्यको लागि प्रश्न ५ देखि प्रश्न ९ सम्म उस्तै हुन् र तिनीहरूलाई अन्य दुई प्रश्न पनि सोधिन्छ, जस्तै
# के यो व्यक्ति सामान्यतया अन्य ठाउँमा बस्छ? विभिन्न उत्तर मध्ये मिल्दो उत्तर छान्नु होस् ।
# यो व्यक्तिको घर मुली सँग को नाता के हो? यसमा पनि मिल्दो उत्तर छान्नु होस् ।
नेपालीहरूको लागि महत्त्वपूर्ण मानिएको जात सम्बन्धी प्रश्न घर मुलीको लागि प्रश्न #९ र अन्यको लागि प्रश्न #७ मा छ ।
अन्त्यमा,
अमेरिकामा हुन लागिरहेको २०२० को जनगणना नेपालीहरूको लागि पनि महत्त्वपूर्ण छ । अमेरिकामा बसोबास गर्ने अन्य समुदाय जस्तै नेपाली समुदायको पनि जनगणनामा भाग लिनुपर्ने दायित्व छ । गैरआवासिय नेपाली सङ्घ अमेरिकाको विशेष जोड के हो भने एस पटकको जनगणनामा नेपालीहरू कोही पनि नछुटुन् र फर्म भर्दा सबै नेपालीहरूले आफ्नो नेपाली पहिचान स्पष्ट खुल्ने गरी भरुन् जसले गर्दा अमेरिकामा बस्ने नेपालीको बारेमा सही तथ्याङ्क निकाल्न सकियोस् । सही तथ्याङ्कबाट नै नेपालीहरूले अमेरिकामा अल्पसङ्ख्यक समुदायको रूपमा एक परिचय कायम गर्न, सरकारबाट पाउनुपर्ने सुविधाहरू प्राप्त गर्न तथा स्थानीय स्तरमा संगसस्थाहरुले उनीहरूका स्थानीय सरकार सँग नेपालीका आवश्यकताका विषयमा कुरा गर्न सहयोग पुग्दछ। साथै, स्थानीय मूलधारको राजनीतिमा जान चाहने नेपालीहरूको लागि पनि उनीहरूका योजना बनाउन एक शक्तिको रूपमा उपयोग हुन सक्छ । सही तथ्याङ्कबाट नै नेपाल सरकारले पनि अमेरिकाको कुन-कुन ठाउँमा कस्तो- कस्तो सेवा बिस्तार गर्नु पने हो भन्ने निर्णय गर्न सहयोग गर्दछ । महत्त्वपूर्ण कुरा के हो भने जनगणनाको फर्ममा व्यक्तिको अध्यागमन सम्बन्धी कुनै प्रश्न छैन् । त्यसैले सबै नेपालीहरूले आगामी जनगणनामा भाग लिनु पर्छ र नेपाली परिचय खुल्ने गरी फर्म भर्नु महत्त्वपूर्ण छ ।
(लेखक बन्जाडे गैरआवासिय नेपाली सङ्घ अमेरिकाका वरिष्ट उपसभापति तथा सेन्सस २०२० टास्क फोर्शका संयोजक हुन्)