फूलको अनुपम सौन्दर्य देखेर हरेक मान्छेको मन मोहित बन्छ। फूल हेर्न,समीपमा जान, स्पर्श गर्न, जानकारी लिन र सुगन्धको अनुभूति गर्न लालायित हुन्छ मान्छे। फूललाई मानव जीवनको भावनात्मक सुन्दरता, पवित्रता, असल स्वभाव र कोमलताको प्रतीक पनि मान्न सकिन्छ। फूल प्रकृतिको निरन्तरता र वातावरणको संरक्षक हो।धार्मिक, सॉस्कृतिक, सामाजिक, शारीरिक, मानसिक, भावनात्मक र वातावरणीय महत्त्व र फाइदाहरू धेरै भएको फूलको आर्थिक महत्त्व र दायरा वर्तमान समयमा बढ्न थालेको छ। विश्वमा वार्षिक करिब १० बिलियन डलर बराबर फूलको निर्यात हुने अनुमान गरिएको छ।
फूल उत्पादन, प्रशोधन र निर्यात गर्ने प्रमुख राष्ट्रहरूमा निदरल्यांनड, कोलम्बिया, ईक्वेडर र केन्या हुन भने बेलायत, जर्मनी, फ़्रांस र विश्वका प्राय सबै देशहरूमा पनि फूलको उत्पादन, प्रयोग र बिक्री वितरण हुन्छ। फूलको व्यावसायिक उत्पादन र कारोबार तीव्र गतिमा बढिरहेको छ।
फूल र अमेरिका:
अमेरिकीहरू फूल, बोटबिरुवा र हरियालीका पारखी हुन्छन्। प्रायस: सहरहरूका प्रत्येक घरले एक वा दुई छाया वा शीतल दिने बोटबिरुवा रोपेर हुर्काउनु पर्ने नीति नियम, अधिकांश घरहरूमा फूलबारी र बरबगैचा अनि प्रत्येक टोल र छिमेकको नजिकै पार्क उद्यानहरू, सडक छेउमा बोटबिरुवा र तिनीहरूको संरक्षण संवर्द्धनमा जनता र स्थानीय सरकारले गरेको काम र हरियाली कायम राख्न, वातावरण सुन्दर बनाउन गरेको प्रयास उल्लेखनीय छ। हरेक सुपर मार्केटहरूमा फूल पाइन्छ र अमेरिकनहरू विशेष अवसरहरूमा फूलको उपहार दिन मन पराउँछन्।
बजारमा कुनै दिन किनमेल गर्ने क्रममा चेक आउट काउन्टरमा एक क्रेता बास्केट भरि सुन्दर गुलाबका पुष्प गुच्छा सहितका फूलका कटहरूसमेत लिएर चेक आउटको प्रतीक्षामा थिए। मैले ऑखाहरू फूलमा राख्दै तारिफ गर्दै भने कति मनमोहक फूलहरू! यी काहॉ र कसले उत्पादन गर्यो होला! जहॉ जसले गरे पनि म प्रशंसा गर्न चाहन्छु र तपाईँलाई पनि यी सुन्दर फूलहरूको लागि बधाई!
खुसी भएर धन्यवाद दिँदै ती फूल पारखिले भने, “यी गुलाबका कटहरू कोलम्बियामा उत्पादन भएका हुन। आकार, सुगन्ध र सुन्दरतामा त्यहाँबाट आएका फूलहरू उच्च गुणस्तरका हुन्छन्। म फूल किन्दा कोलम्बियाको प्राकृतिक वातावरण र त्यहाँका फूलबारी र उद्योगमा काम गर्ने मान्छेहरूसँग भावनात्मक रूपमा जोडिएको हुन्छु। तपाईँलाई थाहा छ! अमेरिकाको फूल बजारमा कोलम्बिया अग्रस्थानमा छ।” यति भन्दै ती मानिस बिदा भए। कफि, सङ्गीत(साकिरा)र कुनै समयमा कोकेन (लागूपदार्थ)हरुले कोलम्बियाको बारेमा बुझेको यो पंक्तिकारलाई कोलम्बियाको फूल अर्थ शास्त्र बुझ्ने र फूलको माध्यमबाट पनि कोलम्बिया चिन्ने उत्सुकता जाग्यो।
फूल र कोलम्बिया:
यु एस ब्युरो अफ ईकोनोमिक्स एनालाईसिस(BEA)को एक तथ्याङ्क अनुसार २०१७ मा अमेरिकामा ३५.२ बिलियन डलरको फूलको कारोबार भएको र फूलमा प्रति व्यक्ति खर्च सोही वर्ष १०७.८९ डलर रहेको देखिन्छ।अमेरिकामा खपत हुने ताजा फूलको ८० प्रतिशत क्यालिफोर्नियामा उत्पादन हुन्छ भने आयात हुने अधिकांश फूलहरू दक्षिण अमेरिकी देशहरू जस्तै ईक्वेडर, मेक्सिको, ग्वाटेमाला र ७८ प्रतिशत फूलको आपूर्ति कोलम्बियाले गर्छ। अर्थात् अमेरिकी फूल बजारमा पाइने १० फूलहरूमध्ये ७ फूल कोलम्बियाका उत्पादन हुने गर्छन्।
लामो समयको आन्तरिक राजनीतिक द्वन्द्व र लागु पदार्थको कारोबार बाट आक्रान्त यो देशले विगत पचास वर्षहरूमा पुष्प बयवसायमा विश्वमै अग्रणी अर्थात् फूल उत्पादन र निर्यातमा निदरल्यान्ड पछि दोस्रो स्थान लिन सफल भएको छ। अमेरिकाको मुख्य फूल आपूर्तिकर्ता कोलम्बिया हो। परम्परागत कफि पछि यसको दोस्रो प्रमुख कृषि जन्य निर्यात गर्ने बस्तु फूल पर्छ। नेतृत्वमा प्रतिबद्धता र ऑट भएको भए धेरै अवसर र सम्भावना भएको नेपालले पनि कृषिमा क्रान्ति गर्न सक्थ्यो।
कसरी सम्भव भयो त?
सन १९६७ मा अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीबाट हार्ट कल्चर विषयमा ग्राजुएट गरेका एक कोलम्बिया विद्यार्थी डेभिड चेभरले अमेरिकी बजारमा फूलको सम्भावना देखे। आफ्नो देशको माटो र हावापानी बुझेका उनी स्वदेश फर्किए र केही साथीहरुसंग मिलेर फ्लोरामेरिका भन्ने कम्पनी खोले। सरकारको सहयोग, आफ्नो मेहनत र आफूले सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा ल्याउन सक्ने उपयुक्त वातावरण बन्यो र छोटो समयमै उनी फूल उत्पादन र अमेरिकी बजारमा फूलको बिक्री वितरणमा सफल बने। उनको कम्पनी विस्तारित भयो। कोलम्बियाको पुष्प व्यवसायमा यसले क्रान्ति नै ल्याइदियो।
देश विदेशमा भएका भिजन, ज्ञान, सिप र विज्ञताहरू नेपालको लागि प्रयोग हुने र राज्यले पनि त्यसलाई चिन्ने र केही गर्ने वातावरण बनाई दिए नेपालले पनि केही गर्थ्यो होला।
एसोकोफ्लोरेसको स्थापना:
सन १९७३ मा पुष्प व्यापार र निर्यात गर्ने संस्था वा समूह एसोकोफ्लोरेस (Asocolflores)को स्थापनाले कोलम्बियाको पुष्प व्यवसायमा अर्को नयॉ आयाम सृजना गर्यो। यसले द्वन्द्व र लागु पदार्थ कारोबारबाट विस्थापितहरूलाई हर्टिकल्चर सम्बन्धी तालीम र रोजगार दिने कामहरू गर्न २००३ मा स्कुल अफ फ्लोरिकल्चर स्थापना गर्यो। फूल उत्पादन, प्रशोधन सम्बन्धी एक बर्से तालीम दिएर यस व्यवसायमा काम र रोजगार दिने काम गर्न थाल्यो। धेरै मान्छेको जीवनस्तर सुधार भयो।
यस संस्थाले फूल खेतीको सम्भावना, देशको प्राकृतिक अवस्था यस व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अध्ययन गरेर विज्ञान र प्रविधिको प्रयोग मार्फत तल्लो तह(grass root)मा उपलब्ध साधन र स्रोत प्रयोग गरी त्यसलाई आवश्यक प्राविधिक/आर्थिक सहयोग, सिप र तालीम मार्फत पुष्प व्यवसायमा बिशेषत महिलाहरूमा उद्यमशीलताको विकास गर्न थाल्यो। एक तथ्याङ्क अनुसार फूल व्यवसायबाट कोलम्बियाले १,५०,००० मान्छेलाई प्रत्यक्ष र अरू हजारौँलाई अप्रत्यक्ष रोजगारी दिएको छ र जसमा ७० प्रतिशत महिला छन्।
यो व्यवसायलाई सफल र दिगो बनाउन रासायनिक मलखादको कम प्रयोग, प्राङ्गारिक मल र प्राकृतिक वर्षाको उपयोगबाट वातावरणीय सन्तुलन कायम राख्दै गुणस्तरीय उत्पादनबाट रोजगार सृजना गरी फूलको उत्पादन, प्रशोधन, बजारीकरण र विश्वव्यापी प्रवर्धनमा यो समूहले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।
नेपालको फ्लोरीकल्चर एसोसिएसनले पनि पुष्प मेला जस्ता परम्परागत कामहरूमा मात्र सीमित नभई आफ्नो सोच भिजन र कार्यको दायरा बढाउन आवश्यक देखिन्छ।
दक्षिण अमेरिकी देशहरूमा प्रति व्यक्ति आय र कुल ग्राहस्थ उत्पादन राम्रो भएको कोलम्बियाको कृषि क्षेत्रको योगदान करिब ८ प्रतिशत छ। कोलम्बियाको फूल उत्पादन र वितरणसँग सम्बन्धित संस्था एसोकोफ्लोरेस (Asocolflores) को तथ्याङ्क अनुसार २०१७ मा यो देशले २,४६,११८ टन प्रशोधित फूल निर्यात गरेर १.४ बिलियन यु एस डलर नाफा गरेको रहेछ। अमेरिका, बेलायत, जापान, क्यानडा, रसिया र अन्य देशहरूमा समेत कोलम्बियाले फूल निर्यात गर्छ।
विज्ञान र प्रविधिमा त्यति विकास नगरेको बिकसोन्मुख देश कोलम्बियाले त्यही उत्पादन हुने अधिकांश फूलहरुको प्रजनन(breeding) डच ल्याबहरूमा गर्छ र अमेरिकाको पनि यो व्यवसायलाई विभिन्न आर्थिक प्राविधिक सहयोग रहेको छ।
दूरदर्शिता र अठोट भए विभिन्न कठिनाइको बाबजुद पनि गर्न सकिन्छ र सित्तैमा पाएको प्रकृति स्रोत साधन र मेहनतबाट सफलता र संबृद्दी हासिल गर्न सकिन्छ भनेर कोलम्बियाबाट नेपालले पनि केही सिक्न सक्छ।
फूल, चीन र कृषि पर्यटन:
चीनमा फूललाई कृषि पर्यटनसँग जोडिएको छ। फूलको अर्थ शास्त्रलाई कृषिको नयॉ आयाम मानेर आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न थालिएको छ। प्राकृतिक बनफूलहरु, प्रजनन गरिएका विभिन्न प्रजातिका फूलहरू र कृषि जन्य फलफूलका रुख बिरुवामा लाग्ने फूलहरूले वसन्त मात्र होइन सबै सिजनमा मान्छेहरू रमाउने सैयौं स्थानहरू जस्तै किन्दाओQingdao, , लिउजिआउ Liujiawu, , गाउजिआ Gaojia, लेपिंग Leping, र जिआञ्जि Jiangxi जस्ता स्थानहरूमा विकास गरिएका छन्। भनिन्छ, कतिपय स्थानमा त वसन्तमा फूलहरुको सागर नै देखिन्छ र सुगन्धको हावा चल्छ जसले धेरै विदेशी पर्यटकहरूलाई आकर्षित गर्छ।
नेपालले पनि गुरॉस, पारिजात, बुकी, जाई, जुई चमेली, सुनाखरी, गुराँस, चाँप, चिमालो, प्याउली जस्ता बनफूल पाइने क्षेत्रहरू जस्तै पूर्वी पहाडी भागका केही स्थान र रारा, खप्तड, डडेलधुरा जस्ता स्थानहरूलाई पर्यटनका महत्त्वपूर्ण स्थानको रूपमा सुधार र विकास गर्न सक्छ भने तोरी, फापर, ऑप, आरु, स्याउ, सुन्तला जस्ता अन्न र फलफूलका बोट बगानहरूलाई समेत विकास गरी कृषि पर्यटनको विकास गर्न सकिन्छ। निजी खेतबारी र बगानमा पर्यटक घुमाएर आर्थिक आर्जन गर्ने काम अन्यत्र पनि हुने गर्छ।
फूल र नेपाल:
नेपाली बजारमा रु.१ अरब भन्दा माथि फूलको कारोबार हुने गरेको देखिन्छ। यो सिजनल फूल, पुष्प गुच्छा, कट फ्लावर र फूलका बोट बिरुवा सहितको बजार हो । बर्सेनि फूलको माग र बजार करिब १२ देखि १५ प्रतिशतका दरले बढ्दै गएकाले फूल व्यवसायको सम्भावना बढ्दै गएको फ्लोरिकल्चर एशोशिएन नेपालको तथ्याङ्क छ । कृषि विकास मन्त्रालय अन्तर्गत पुष्प व्यवसाय प्रवर्द्धन नीति २०६९ जारी गरिएको छ। आर्थिक वर्ष २०७१।७२ देखी पुष्प व्यवसाय प्रवर्द्धनका लागि करिब २ करोड र आर्थिक वर्ष २०७३।७४ मा ४ करोड ७१ लाख विनियोजन भएको रहेछ आर्थिक वर्ष २०७२।०७३ मा विनियोजन भएको ५ करोड बजेट भने समयमा पुष्प व्यवसाय अनुदान कार्यविधि नआउँदा ३ करोड त फ्रिज भएको देखिन्छ ।
मानिसहरूको सामाजिक आर्थिक स्तर बढ्दै गएसँगै नेपालमा व्यावसायिक फूल खेती तर्फ आकर्षण बढिरहेको छ। धेरैजसो जिल्लाहरू जस्तै झापा, दाङ, चितवन, धादिङ, काभ्रे, नुवाकोट, बाँके, बर्दिया, सुर्खेत, धनगढी र काठमान्डु उपत्यका वरिपरि र अन्य भूभागहरूमा फूलको व्यावसायिक खेती गरिएको र गत वर्षभन्दा यस वर्ष बढी फूल उत्पादन भएको समाचार प्रशंसनीय हो। नेपाल फूलमा आत्मनिर्भर बन्दै छ। आर्थिक आर्जन हुने,सुन्दरता छर्ने र आनन्द दिने फूलको व्यक्तिगत र व्यावसायिक प्रयोजनको लागि उत्पादन हुने क्रम बढेबाट कृषिलाई टेवा दिन, रोजगारी र आय सृजना गर्न र वातावरण स्वच्छ र सुन्दर बनाउन यस क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने आशा गर्न सकिन्छ।
निष्कर्ष:
कोलम्बिया र केन्या जस्ता देशहरूले गर्न सक्छन् भने नेपालले फूल व्यवसायलाई विकास र बिस्तार गर्न अवश्य सक्छ। जसको लागि नेपाल फ्लोरिकल्चर एसोसियसन मार्फत यस सम्बन्धी तालिम दिन फ्लोरिकल्चर स्कुल स्थापना गर्न सकिन्छ। नेपाली माटो र हावापानीमा उत्पादन हुन सक्ने फूलका विभिन्न प्रजातिहरूको विविधताको पहिचान गरी विद्यालय तथा विश्व विद्यालयहरूमा फूल सम्बन्धी अध्ययन गर्ने पाठ्यक्रम र फ्लोरिकल्चर विभाग स्थापना गर्न सकिन्छ।
यसै गरी स्थानीय सरकारहरूले व्यक्तिगत र व्यावसायिक रूपमा फूल उत्पादन गर्न चाहनेहरूलाई परामर्श, सहयोग र तालीम दिने, फूल खेतीमा लागेकालाई प्रोत्साहन, आर्थिक-प्राविधिक सहयोग, यातायात-बजारको व्यवस्थापन गरी अध्ययन अनुसन्धान र आधुनिक प्रजनन प्रविधि प्रयोग बाट नेपालको माटो सुहाउने फूलका बीउहरू उत्पादन गर्ने, विभिन्न देशका सरकार र अन्य विदेशी संघसंस्थाहरुसंग समेत सहकार्य र सहयोगको लागि आग्रह गर्ने, निर्यात गर्ने बजारको पहिचान गर्ने, फूल छिट्टै नाश हुने बस्तु भएकोले भण्डारण र प्रशोधन गर्ने स्थान, बजारमा पुर्याउन तीव्र कनेक्टिभिटी वा ढुवानीका साधन र कार्गो जस्ता कुराहरूको व्यवस्थापन गर्ने र प्रविधिको प्रयोग गरी यस व्यवसायलाई अनलाइन बनाउने जस्ता कुराहरूमा ध्यान दिएर काम गरे छिटो प्रतिफल दिने सजिलो र रमाइलो फूल खेती नेपालका बॉझा खेतबारीहरू र त्यसै अनुत्पादक बसिरहेका प्लटिङ गरिएका घडेरीहरूमा पनि हुने र धेरै मान्छेहरू स्वरोजगारको बाटोतर्फ अग्रसर भई जीविकोपार्जन गर्न सक्नेछन् ।
अन्तमा प्राकृतिक रूपमा सुन्दरताले भरिपूर्ण देश नेपालमा हरेक घरहरूमा फूलमय वातावरण, फूल फूलका गॉउ बस्तीहरू, फूल सहर, फूल प्रदेश र फूल फूलको देश अनि सबै फूल जस्तै मान्छेहरू भइदिए नेपाल सॉच्चीकै स्वर्ग बन्थ्यो होला! फूल फूलको मौसममा यो लेख मार्फत फूल जस्तै पवित्र शुभकामना यहॉहरुलाई।