अमेरिकाका लागि आगामी बडा दसैँको टिका/जमराको साइत अक्टोबर ७ तारिखका दिन रहेको छ। टेक्ससमा बिहान ११ः२७ मा, क्यालिफोर्नियामा बिहान ११ः०५ मा, न्युयोर्कमा बिहान ११ः२१ मा र केन्टमा ११ः५५ मा साइत रहेको छ।
तिथि अनुसार नेपालमा टिकाजमराको साइत ८ तारिखका दिन रहे पनि अमेरिकामा भने एक दिन अघि नै रहेको अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले जनाएको छ।
अमेरिकास्थित नेपाली मन्दिरका गुरुहरूका बीचमा नै ७ वा ८ तारिखमा मनाउने भन्ने विषयमा सामान्य विवाद देखिएपछि अन्तिम निर्णय स्वरूप अन्तर्राष्ट्रिय पंच्नाग निर्णय समितिले याे जानकारी गराएको हो।
समितिको निर्णय सार्वजनिक भएपछि अमेरिकास्थित केही नेपालीहरूले नेपालमा बुवाआमाले टिका नलगाईकन आफूले लगाउन नमिल्ने भएकोले समितिको निर्णय संस्कृति विरोधी भएको भनी आलोचना गरेका छन्।
तर टेक्ससको डालसस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रमा कार्यरत आचार्य मेघराज निरौलाले भने पंच्नाग समितिको निर्णय नै अत्यन्त वैज्ञानिक रहेको बताए।
नेपाली हिन्दु मन्दिरका गुरु समेत रहेका निरौलाका अनुसार नेपालको पात्रो अनुसार पनि यस वर्ष विजया दशमी तिथि अक्टोबर ७ सोमबार दिउसो ०३ः०६ बजेबाट नै सुरु हुन्छ र अक्टोबर ८ मङ्गलवार दिउसाे ०४ः१९ सम्म रहन्छ।
यसरी नेपालमा सोमवार नै दशमी तिथि सुरु भए पनि मङ्गलवार दिनभर दशमी नै रहने हुँदा सोमवारको रात्रिको समय कटाएर मंगलरवार बिहान १०ः३५ बजेका लागि साइत जुराइएको हो।
नेपालमा सोमवार दिउसाे ०३: ०६ मा सुरु भएको दशमी तिथि अमेरिकामा टेक्ससको स्थानीय समय अनुसार अक्टोबर ७ सोमवार प्रातः ४ः २२ मा नै सुरु हुन्छ र नेपालमा मङ्गलवार बेलुका ०४ः १९ बजे दशमी तिथि पुरा हुँदा टेक्ससमा त्यसको १० घण्टा ४५ मिनेट पहिले अर्थात् अक्टोबर ८ मङ्गलवार प्रातः ५ः ३४ मा नै दशमी तिथिको घडिपला समाप्ति हुन्छ। सूर्योदय भने सो दिन अक्टोबर ८ मा डालसमा प्रातः ७ः २९ मा मात्र हुन्छ।
यसरी अक्टोबर ८ मङ्गलवार टेक्ससमा सूर्योदयभन्दा ०१ घण्टा ५५ मिनेट पहिले नै दशमी तिथि पूर्ण भएर एकादशी लागिसक्ने देखिन्छ। यसो हुँदा अक्टोबर ८ मङ्गलवारको बिहान अरुणोदय काल (सूर्योदयभन्दा ०४ घडी पहिलेसम्मको समय अर्थात २४×४ =९६ मिनेट) लाई पनि दशमी तिथिले छुँदैन।
अपितु सोमवार सूर्योदयभन्दा पहिलेदेखि सुरु भएर दिनभर र रातभर पनि दशमी तिथि नै परेको हुन्छ। तसर्थ अमेरिकामा टिकाको साइत पनि सोमवार नै गर्नुपरेको निरौलाले आफ्नो सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।