यति बेला एनआरएनमा करोडपतिहरूको चर्चा छ। संस्थाका दुई पदाधिकारी, जो आगामी चुनावमा उम्मेदवार पनि छन्, ले १-१ करोड दिने घोषणाले चर्चा पाएको हो। यो दान हो कि ऋण ? चुनावको पूर्वसन्ध्यामा गरिएको यो सहयोगको कुनै विशेष अर्थ छ कि ? यो सहयोगको केन्द्रमा केही रहस्य छ? कि योमात्र समाजप्रतिको पवित्र प्रेम र समर्पणको भाव पूर्ण कर्म हो?
हालै एनआरएनका शुभचिन्तकहरूले सामाजिक सञ्जालमा एनआरएनका करोडपतिहरूको पक्ष विपक्षमा उठाउनु भएका तर्क र टीकाटिप्पणीहरूको बिस्तारमा हामीहरू अलमलियौ भने हामीहरूले एनआरएनआन्दोलनको केन्द्रीय समस्याहरू र मूल मर्मलाई छुन सक्ने छैनौ। हामीहरू सतहमा बगिरहनेछौँ।
एनआरएनमा करोडपति, अरवपतिहरुको उपस्थिति, एनआरएनको आन्दोलनको दिशाको यदि साँच्चै यथार्थ पूर्ण मूल्याङ्कन र गम्भीर बहस गर्ने हो भने हामीहरूले विपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको स्मृति, तिनको जीवनी, समाजसेवाप्रतिको दृष्टि, दर्शन र मर्म अनि एक सच्चा समाजसेवीको समाजसेवाको केन्द्रमा के रहन्छ ? भन्ने यथार्थतालाई विश्लेषण गर्नु आवश्यक छ, बुझ्न आवश्यक छ।
कथाको सारांश यस्तो छः राणाकालीन नेपालको तराईको मुख्य सहर विराटनगरमा एक जना प्रसिद्ध उद्योगपति छन्। जमिनदार छन्। तिनी त्यो समयका नेपाल कै धनी मानिस छन्। तिनको प्रशस्त व्यापार र व्यवसाय छ। प्रशस्त जग्गा जमिनहरू छन्। सरकारबाट विराटनगर नाकाको कर सङ्कलनको मुख्य जिम्मेवारी पनि तिनले पाएका छन्। राष्ट्रका प्रधानमन्त्री र अन्य शक्तिशाली व्यक्तिहरूसँग तिनको प्रत्यक्ष र मित्रवत् सम्बन्ध छ। तिनी आर्थिक रूपमा यति सम्पन्न छन् कि त्यो समयमा अरबका देशहरूबाट मगाइएका अरबी घोडाहरू चढ्छन्। कलकत्ताबाट अङ्ग्रेजी पत्रिका मगाउँछन्। अङ्ग्रेजी भाषाका दोभाषेहरु मगाएर उत्सुकतापूर्वक देश विदेशको हालखबर सुन्दछन्।
दोस्रो विश्वयुद्ध भन्दा पछाडिको समय छ। पत्रपत्रिकाबाट तिनी बुझ्दछन् कि। विश्वमा स्वतन्त्रता र परिवर्तनको लहर चलेको छ। जुन जुन देशमा दुरदृष्टि र प्रगतिशील सोचका नेतृत्व छन्, ती देश अनि समाजहरूबाट अशिक्षा, गरिबी, भोकमरी, कुरीति, अन्याय आदि अनेकन् समस्याहरू बिस्तारै हट्दै गएका छन्। समाज सकारात्मक दिशामा अग्रसर भएको छ।
तिनी फर्किएर आफ्नो समाजलाई हेर्दछन्। त्यहाँ गरिबी छ, अशिक्षा छ, अन्याय छ, पीडा छ, सामाजिक समस्याहरूको एक लामो फेहरिस्त छ। गरिबी, अशिक्षा र अन्य सामाजिक विकृतिहरूको बोझमा थिचिएका मानिसहरूको मलिन अनुहारहरूले तिनलाई स्पर्श गर्दछ। कर्तव्यबोधको एक अन्तर चेतनाले तिनी अनुभूति हुन्छन्। तिनलाई लाग्दछ, यो समाजको एक सम्पन्न र सफल व्यक्तिको नाताले दुखी, गरिब र अनेकन् समस्याहरूले पिल्सिएका प्रति मेरो पनि केही जिम्मेवारी छ। यो भावना तिनको मनको गहिराइमा फस्टाउँदै जान्छ।
एक दिन त्यस्तो आउँछ, जहाँ उनी विशाल शान्त तराईको फाँटमा अरबी घोडामा बिस्तारै बिस्तारै बढिरहेका हुन्छन्। चारैतिर प्रकृतिका सुन्दर छाँयाहरु छन्। तिनको मन सफलता र सम्पन्नताले मनको गहिराइमा जन्माउने गर्व, सन्तोष बोधबाट सन्तुष्ट छ। प्रफुल्लित छ। फेरि त्यही क्षण कतै अदृश्यतामा केही शब्दहरू प्रतिध्वनि हुन्छन्। जसको भाव छ, कृष्ण प्रसाद तिमी त धेरै सफल भयौ, प्राप्ति गर्यौ, तर तिमीले समाजलाई के दियौ ? समाजका अनगिन्ती समस्याहरूमा पिल्सिएकाहरूलाई तिम्रो सफलता, सम्पन्नताको के अर्थ छ ? अन्तरमनमा उठेका यी आवाजहरूले तिनलाई तरङ्गित गरिरहे। कतै गहिराइमा तिनलाई पगालिरहे।
जब भोलिपल्ट तिनी आफ्नो व्यवसाय (कपडा दोकान)मा फर्किए, तिनले पूर्वी पहाडबाट कामको खोजीमा तराई झरेका झुत्रेझाम्रे कपडाहरू लगाएका, गरिबी र समस्याको जाँतोमा थिचिएका मलिन ढाक्रेहरूको सानो समूह देखे। कृष्ण प्रसाद कोइरालाले आफूलाई थेग्न सकेनन्। तिनले ती ढाक्रेहरूको पुराना कपडाहरू मागे। त्यसको बदलामा नयाँ कपडाहरू दिए। अनि तिनै फाटेका, झुत्रेझाम्रे, गन्हाएका कपडाहरूको एक पार्सल बनाएर नेपालको सामाजिक अवस्था, समाजका समस्याहरू अनि समाज सुधारको पक्षमा एक लामो पत्र लेखेर प्रधानमन्त्री चन्द्र शमशेरलाई पठाइदिए।
त्यही पत्र तिनी र तिनको परिवारको दर्दनीय अवस्थाको कारण बन्यो। तिनको सर्वस्वहरण गरियो। तिनी र तिनको परिवारलाई देश निकाला गरियो। नेपालकै वैभव शाली तिनी वनारसका गल्लीहरूमा चना बेचेर परिवारलाई पाल्न थाले। फेरि समाजसेवा प्रति तिनको प्रेम यति थियो कि माफी मागे सर्वस्वहरणमा लुटिएका सम्पत्ति र देशनिकालाको सजाय माफी हुने प्रस्तावलाई तिनले अस्वीकार गरे। समाजको लागि व्यक्तिगत स्वार्थहरूलाई तिलाञ्जली दिएर जीवनको अन्त्यसम्म तिनी लडिरहे।
अन्ततः राणाकालीन जेलमै तिनले मृत्युवरण गरे।
आज जब म यिनको जीवनलाई स्मरण गर्दछु, म तरङ्गित हुन्छु कि कसरी तिनले आफ्नो सम्पत्ति, व्यवसाय झन् झन् आर्थिक रूपमा सम्पन्न हुने मार्ग छोडेर समाजसेवाको त्यो दुरह मार्ग रोजे ? कसरी कुन चेतनाले तिनले ती ढाक्रेहरूका च्यातिएका कपडाहरूमा समाजको दर्पण देखे ? अनि एक करोडपतिले कसरी दुखी गरिबको हितमा, समाजका समस्याहरूले पिल्सिएकाहरूको पक्षमा जीवन नै न्यौछावार गर्न सके ? जब म तिनलाई सम्झिन्छु, मात्र बुझ्दछु कि एक वास्तविक समाजसेवीको समाजसेवाको केन्द्रमा के रहन्छ ? तिनको मनको अन्तर गहिराइको सौन्दर्यले म प्रभावित हुन्छु।
अनि म सम्झिन्छु एनआरएनलाई, एक प्रवासीको नाताले म यसको सदस्य छु। यसको स्थापना पनि करोडपति, अरवपतिहरुबाट भएको छ। यो संस्थाको सुरुवात देखि नै यसको नेतृत्वमा आर्थिक रूपमा सम्पन्नहरू कै वर्चस्व छ। आर्थिक रूपमा कुनै नेपाली सफल हुनु हामी सम्पूर्ण नेपालीहरूको लागि एउटा गौरव हो। कुनै न कुनै रूपमा यसले हामी सम्पूर्णको शिरलाई उठाएकै हुन्छ। अनि कुनै आर्थिक रूपमा सम्पन्न व्यक्ति आफ्नो व्यापार व्यवसायलाई बिस्तार गर्न समय नदिईकन, आफ्ना व्यक्तिगत फाइदाहरूलाई थाती राखेर नेपाल बाहिरका नेपालीहरूको अनेकन् समस्याहरू, पिडाहरू, दुखहरूबाट द्रविभुत भएर जब कोही यी समस्याहरूको समाधान गर्न अग्रसर हुन्छ, जब केही कसैको पीडामा मलम लगाउन अगाडि बढ्दछ भने त्यो भन्दा सुन्दर के हुनसक्छ ?
तर यहाँ यथार्थ नितान्त पृथक् छ। सत्य यति तितो छ कि स्थापना भएको झन्डै १६ वर्ष भइसक्दा पनि करोडपति, अरवपतिहरुको निरन्तर नेतृत्व रहेको यो संस्थाले नेपाल बाहिर रहेका नेपालीहरूको समस्याहरूको समाधान त धेरै टाढाको कुरा, तिनको पीडामा मलम लगाउनु त धेरै टाढाको कुरा, नेपाल बाहिर रहेका नेपालीहरूका समस्याहरू के के हुन्, पिडाहरू के के हुन् भनी छुट्ट्याउन सम्म सकिरहेको छैन। एन.आर.एन यु ए ई को अधिकारीक वेब साइटमा नै “चुनावी नारा मात्रै ठूलाठूला घोषणापत्र जारी गर्ने र कार्यान्वयनमा ध्यान नदिने” “ अहिलेसम्म गल्फमा रहेका नेपाली कामदारहरूको हकहितमा केही पनि काम हुन नसकेको भन्ने आरोप लाग्दै आएको” कुराहरू उल्लेख छ।
नेपालको कमजोर आर्थिक स्थिति अनि रोजगारीका सम्भावनाहरू ज्यादै न्यून भएकाले देश छोड्न विवश भई नेपाल बाहिरका झन्डै अठहत्तर देशमा फैलिएका साठी लाख भन्दा बढी नेपालीहरूको आआफ्नै कथाहरू छन्, व्यथाहरू छन्, समस्याहरू छन्.......पीडा र सुस्केराहरू छन्। यहाँ सपनाहरू बाकस बनेर फर्किएका छन्। दिदीबहिनीहरूको आँसु बगेको छ। आफ्नो पहिचान गुमाएर यता न उताको भएर विदेशमा हुर्किरहेका बालबालिकाको आफ्नो पीडा छ। विभिन्न देशमा नेपाली समाज एकत्रित हुन सकिरहेको छैन। अनेकन् आर्थिक, सामाजिक छटपटीहरू छन्। प्रत्येक देशमा नेपालीहरूले भोगिरहेका अनेकन् समस्याहरूको एउटा लामो शृङ्खला छ।
अमेरिका, जुन देशमा हामीहरू बसिरहेका छौँ, त्यो देशमा डिभी लोटरी कार्यक्रमबाट आउनु भएका परिवारहरूको आफ्नै समस्या छ। पढ्न आउनु भएका विद्यार्थीहरूको आफ्नै समस्याहरू छन्। न त अमेरिकी मूलधार न त नेपाली समाज, कतै बिचमा नै रुमल्लिइरहेका अमेरिकामा हुर्किरहेका ठुलो सङ्ख्याका नेपाली बालबालिकाहरूको आफ्नै पिडाहरू छन्, समस्याहरू छन्। यिनीहरूलाई एनआरएनभन्ने संस्था छ भन्ने सम्म पनि बोध छैन।
फेरि एउटा संस्था छ, जो नेपाल बाहिरका साठी लाख नेपालीहरूको मुख्य प्रतिनिधि संस्था हो भनेर सगर्व घोषणा गर्दछ। हामीहरू नै यी प्रवासी नेपालीहरूको प्रतिनिधि, नेतृत्व वर्ग, समाजसेवी आदि हौ भन्ने पनि दाबी गर्दछ। फेरि नेपाल बाहिर रहेका नेपालीहरूको अनगिन्ती समस्याहरू प्रति उ मौन छ। उदासीन छ। उसलाई पदले ल्याउने कर्तब्यबोधको कुनै अनुभूति नै छैन। सम्मेलन, गोष्ठी, अन्तरक्रिया, शुभकामना आदानप्रदान आदि जस्ता कार्यक्रमहरूमा समय र शक्ति फालिरहेको छ, यस्तो प्रतीत हुन्छ, उ नेपाल बाहिरका नेपालीहरूको नेतृत्व लिन चाहन्छ। उ मुलुक बाहिरका नेपालीहरूको समस्याहरू, पिडाहरूको नेतृत्व लिन चाहँदैन।
स्थापना कालको सुरुदेखि नै नेपाल बाहिर अनगिन्ती समस्या, व्यथा, पीडा भोगिरहेका दाजुभाइ, दिदीबहिनीहरूको समस्याहरूलाई विस्मृत झैँ गरी एनआरएनको केन्द्रीय नेतृत्वले मुख्यतः तीन वटा मुद्धाहरु अगाडि सारेको छ। ती हुन् नेपालमा लगानी, दोहोरो नागरिकता र दोहोरो कर प्रणालीको खारेजी।
तर एक एनआरएन सदस्यको नाताले मात्र सोध्न मन लाग्छ, के साच्चि यी तीन मुद्रा नै अरवका मुलुकदेखि मलेसिया हुँदै अमेरिकासम्म पसिना चुहाइरहेका नेपालीहरूका मुख्य मुद्दा हुन त ? के कुनै संस्थाको मुख्य मुद्दा वा एजेण्डामा त्यो संस्थाले प्रतिनिधित्व गर्ने समुदायको मुख्य समस्या, पीडा, प्रतिबिम्बित हुनु पर्दैन?
जहाँसम्म लगानीको प्रश्न छ, आफ्नो मातृभूमि संवृद्ध होस् कुन नेपाली चाहँदैन? के नेपाल बाहिरका नेपालीहरूले बर्सेनि आठ, नौ अर्व डलर नेपाल पठाइरहेको यथार्थ होइन ? के यो पैसा नै नेपालमा बसिरहनु भएका सदस्यहरूको बालबालिकाको शिक्षा, स्वास्थ्य, साना उद्योग, घर जग्गा आदिमा लगानी भइरहेको छैन ? के यो नै नेपालको अर्थव्यवस्थाको प्राण होइन? के यो लगानी होइन? एनआरएनको करोडपति, अरवपति नेतृत्वले नेपालमा लगानी भनेर जति हल्ला गरे पनि एनआरएनको आधिकारिक वेबसाइटमा नेपालको आर्थिक अवस्थामा कायापलट गर्ने वा महत्त्वपूर्ण योगदान दिने लगानीको कुनै एउटा बृहद् लगानी र उपलब्धि नभएको स्पष्ट छ।
यसैले एनआरएनलाई माया गर्ने हामी प्रवासी नेपालीहरूले अब यी करोडपति, अर्बपतिको पक्ष विपक्षमा नलागी सामाजिक मुद्दाहरूमा केन्द्रित हुन आवश्यक छ। अनि बहसको केन्द्रमा यिनै तीन मुद्दालाई ल्याउनुपर्छ। अनि सोधिनु पर्दछ, किन स्थापना भएको १६ वर्ष बितिसक्दा पनि नेपाल बाहिरका नेपालीहरूको समस्याहरू मुख्य मुद्दामा एनआरएनआएको छैन? किन आजसम्म प्रवासी नेपालीहरूका मुख्य समस्याहरू के के हुन् भनेर बहस सम्म पनि चलाइएको छैन? किन एक सामाजिक संस्थाले समाजलाई परिवर्तन गर्ने, रूपान्तर गर्ने सामाजिक कार्यक्रम ल्याउन पूर्ण असफल छ? किन एनआरएनका एजेन्डाहरू यिनै करोडपति, अर्बपतिकै वरिपरि घुमिरहेको प्रतीत हुन्छ?
यसैले मुख्य प्रश्न कसले एनआरएनलाई करोड वा अर्ब दान गर्यो होइन, मुख्य प्रश्न कहाँ कसको आँशु पुछियो? कहाँ कसको व्यथामा मलम लगाइयो? कहाँ कसको कुन सपना पुरा गरियो?, कहाँ कुन समाजमा सकारात्मक योगदान भयो हो। कतै कुनै आँसु नपुछ्ने, कतै कुनै व्यथा नमेटाउने, सामाजिक रूपान्तर गर्न नसक्ने कुनै सामाजिक सेवा एक मिथ्या हो, भ्रम हो। यसमा हामी पक्ष विपक्षमा बाँडिनु गलत हुन जान्छ। हाम्रो पक्ष समाज हो। अझ स्वयं र स्वयंका एजेन्डाहरूलाई केन्द्रमा राखेर तिनैलाई मुख्य सामाजिक समस्याको पगरी ओडाई बहुसङ्ख्यक जनसमुदायको पीडा, दर्दलाई बेवास्ता गर्दै समाजसेवी बनेको गर्व गर्नु एक नैतिक क्षय हो। हस हो। यो नैतिक र इमानदारीको प्रश्न हो।
यसैले आजको मुख्य प्रश्न हो कि एनआरएनका केन्द्रीय नेतृत्वहरूलाई नेपाल बाहिरका साठी लाख नेपालीहरूको समस्या, पीडा, आँसु, वेदनाले कहिले स्पर्श गर्ला ? सम्मेलन, गोष्ठी, अन्तरक्रिया, शुभकामना आदानप्रदान आदि जस्ता सतही समाजसेवाबाट बाहिर निस्किएर सार्थक, परिवर्तनकारी समाजसेवाका कार्यक्रमहरू यिनीहरूले कहिले ल्याउलान् ? कि कहिल्यै पनि नल्याउलान् र कहिले महाकवि देवकोटाले भने झैँ 'जाऊ जाऊ मलहम लगाऊ आर्तनाद घाउ... 'यथार्थतामा परिणत होला ?
एनआरएनमा कृष्णप्रसाद कोइरालाहरू कहिले जन्मिन्छन् होला ?