नेपालका पत्रकारहरूको उपचारका लागि अमेरिका स्थित नेपाली पत्रकारहरूले एक पहल सुरु गरेका छन्।
क्यान्सर रोगसँग लडिरहेका अग्रज पत्रकार तथा साहित्यकार रेसम विरहीको उपचारमा सहयोग गर्न नेपाल अमेरिका पत्रकार सङ्घले आर्थिक सङ्कलनको काम अघि बढाएको छ।
सङ्घको आइतबार बसेको कार्यसमितिको बैठकले विरहीको उपचारका लागि सक्दो सहयोग गर्ने निर्णय गरेसँगै गो फन्ड मी खोलेर नेजाले आर्थिक सङ्कलनको काम अघि बढाएको हो।
नेपाल पत्रकार महासङ्घले विरही र अर्का सुर्खेतका पत्रकार डिलप्रसाद शर्माको उपचारका लागि आर्थिक सहयोग गर्न समेत नेजालाई आग्रह गरेको थियो।
नेजाले आफ्नो खाताबाट २ सय १ डलर राखेर गो फन्ड मी को सुरुवात गरेको हो। नेजाले यसअघि पनि पत्रकारको सहयोगार्थ आर्थिक सङ्कलन गर्दै आएको छ।
गो फन्ड मी मार्फत सङ्कलित रकम पत्रकार महासङ्घ मार्फत पठाइने नेजाका कार्यवाहक अध्यक्ष विकासराज न्यौपानेले जनाए।