अमेरिकाका विभिन्न ठाउँहरूमा गत सातामा मात्र भएका बन्दुक आक्रमण बाट ३४ जनाले ज्यान गुमाएका छन् भने ५० जना घाइते भएका छन्।
मेक्सिको सँग सीमा जोडिएको अमेरिकी सहर एल-पासोमा भएको बन्दुक आक्रमणमा २० जनाको मृत्यु भएको थियो। टेक्सस राज्य भित्र अवस्थित यो सहर अमेरिकाकै सुरक्षित सहर मानिन्छ।
एल पासोस्थित वाल-मार्टमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको ज्यान गएको थियो। घटनामा २६ व्यक्ति घाइते भएको त्यहाँका गभर्नर ग्रेग एबटले जनाएका छन्।
घटनामा संलग्न भएको भन्दै त्यहाँको प्रहरीले आक्रमणकारी लाई नियन्त्रणमा लिएको छ। ती बन्दुकधारीले एके-४७ राइफलबाट वाल-मार्टको सपिङ कम्प्लेक्स प्रवेश गरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए। आक्रमणकारी डालस, टेक्सस निवासी २१ वर्षीय प्याट्रिक क्रुसियस भएको टेक्सस प्रहरीले जनाएको छ। आक्रमणपछि ती बन्दुकधारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए।
सो आक्रमण त्यहाँको स्थानीय समय अनुसार ११ बज्न केही मिनेटअगाडि भएको बताइएको छ। सो स्थान स्थानीयमाझ चर्चित क्षेत्र हो र त्यहाँ सपिङ सेन्टरसँगै रेस्टुरेन्टहरू समेत रहेकाले सप्ताहन्तमा मानिसहरूको भिडभाड हुने गर्दछ।
एल-पासोमा घटना भएको १३ घण्टा नबित्दै दोस्रो बन्दुक आक्रमण ओहायो राज्यको डेटोनमा स्थानीय समयअनुसार आइतबार बिहान साढे १ बजेतिर भएको थियो।
मध्य सहरमा एक जना बन्दुकधारीले अन्धाधुन्ध गोली हानेका थिए। गोली लागेर नौ जना मानिस मारिएका छन् भने १६ जना घाइते भएका छन्। गोली लागेर बन्दुकधारीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
त्यसको चार दिन अघि मात्र मिसिसिपी राज्य स्थित साउथ हेभन सहरमा रहेको वाल-मार्टका कर्मचारीहरूको बैठकमा चलाएको गोलीबाट दुई जना कर्मचारीको ज्यान गएको छ। प्रहरीका अनुसार बन्दुक आक्रमण गर्ने एन्थोनी ब्राउन हुन्।
यसै गरी गत साता नै क्यालिफोर्निया राज्यको गिल्रोय सहरमा चलिरहेको एक मेलामा एक आक्रमणकारीले चलाएको गोलीबाट ६ वर्षीय बालिका सहित ३ जनाको मृत्यु हुनका साथै ६ जना गम्भीर घाइते भएका छन्।