अमेरिका बस्ने नेपालीहरुले गोरखाका दुई जना विरामीको उपचारका लागि आर्थिक सहयोग गरेका छन्।
गोरखा आरुघाट गाउँपालिका वडा नम्बर १ मान्बुकी २३ वर्षीया सञ्जिता कार्कीको दुवै मृगौलाले काम नगरेपछि प्रत्यारोपणका लागि आर्थिक अभाव थियो।
गोरखाली समाज न्युयोर्कले एक लाख रुपैयाँ र लायन्स क्लव अफ सान लियान्ड्रो क्यालिफोर्नियाबाट दुई लाख १५ हजार गरी कुल तीन लाख १५ हजार रुपैयाँ कार्कीको परिवारलाई बुधबार हस्तान्तरण गरिएको छ।
आरुघाट गाउँपालिका २ मान्बुका ७ वर्षीय सागर दाहाल नन होकिङ्स ल्याम्फोमा रोगबाट पीडित भएकोले उनको उपचारका लागि पनि आर्थिक सहयोग जुटेको छ। गोरखाली समाज न्युयोर्कले एक लाख १८ हजार ७५ रुपैयाँ बुधबार दाहालका परिवारलाई हस्तान्तरण गरिएको हो।
नेपाली कांग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेको पहलमा न्युयोर्क बस्ने ध्रुव लामिछाने र क्यालिफोर्निया बस्ने चन्द्र धिताललगायतको सहयोगमा संकलन गरिएको आर्थिक सहयोग न्यौपाने र सान लियान्ड्रो क्यालिफोर्नियाकी अध्यक्ष माया धितालले पीडितका परिवारलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।