केही दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले ट्विटरमार्फत आफ्नो भनाइ सार्वजनिक गरे । उक्त ट्विटमा डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रतिनिधिसभामा रहेका ४ जना प्रगतिशील सदस्यहरूलाई लक्षित गरेर अमेरिका मन नपरे आफ्नै देश फर्किन सुझाव दिए । आफ्नो देशमा सरकारले काम गर्न नसके पछि अमेरिका आउने र हामीलाई नै सिकाउने भन्दै फर्केर गएर आफ्नो देशको समस्या समाधान गरेर फर्केर आएर हामीलाई सिकाऊ भन्ने उनले स्पष्ट सन्देश दिए । त्यसमा स्पष्टीकरण दिँदै मन नपरे आफ्नै देश फर्के पनि केही फरक नपर्ने कुरा व्यक्त गरे ।
यति बेला अमेरिकी मिडिया त्यही ट्विटको वरिपरि घुमिरहेको छ । धेरैले यसलाई "जातिभेदी" अर्थात् रेसिस्ट भनेर आलोचना गरेका छन् भने रिपब्लिकन पार्टीका अधिकांश नेताहरू कि त यस मामिलामा चुप छन् कि त यसलाई राष्ट्रपतिको वर्तमान अध्यागमन नीतिप्रतिको आक्रोशको प्रतिबिम्ब भन्दै बचाउ गरेका छन् । राष्ट्रपतिको ट्रंपको उक्त ट्विट जातिभेदी भएको भन्दै अमेरिकी तल्लो सदन हाउसमा उनी विरुद्ध "भर्त्सना प्रस्ताव" पारित गरिएको छ । यसले एकातिर रिपब्लिकनहरू डेमोक्र्याट विरुद्ध एकजुट भएका छन् भने अर्को तिर डेमोक्र्याटहरु राष्ट्रपति विरुद्ध एकजुट भएका छन् ।
अमेरिका आप्रवासीहरूले बनेको देश हो । ट्रंपका आफ्नै हजुरबुवा जर्मनीबाट सन् १८८५ मा अमेरिका आएका हुन् भने उनकी आमा पनि स्कटल्याण्डमा जन्मेकी हुन् । उनकी पहिली श्रीमती चेक गणतन्त्रमा जन्मेकी हुन् भने वर्तमान श्रीमती मेलानिया ट्रंप स्लोभेनियामा जन्मी हुर्केकी हुन् । उनको व्यवसाय अमेरिका भन्दा बाहिर पनि निकै छ । उनको कम्पनीमा काम गर्नेहरू पनि आप्रवासीहरू धेरै छन् । खुल्ला बजार र खुल्ला समाजको भरपुर फाइदा उठाउँदै बिलिनियर देखि राष्ट्रपति समेत बनेका ट्रंप किन अमेरिकाको यिनै दुई परिचयका खम्बाहरूको विरुद्धमा छन् भन्ने धेरैमा कौतुहलता देखिन्छ ।
ट्रंपलाइ नजिकबाट चिनेकाहरू उनीमा कुनै नैतिक वा नीतिगत धरातल नभएको कुरा व्यक्त गर्छन् । उनी कुरालाई बढाई चढाई गर्न, तथ्यलाई आफ्नो पक्षमा बंग्याउँन अत्यन्त चतुर छन् । आफूलाई मन नपरेको व्यक्ति वा आलोचक लाइ उनी तल्लो स्तरमा झरेर आलोचना गर्छन् । आफ्नो फाइदाको लागि उनले जे पनि गर्छन् । उनीसँग कुनै सिद्धान्त र नैतिकता नभएकोले उनी जुन दिशामा जान पनि स्वतन्त्र छन् । एउटा व्यवसायीको रूपमा रहँदा उनीमा लागेको त्यो स्वच्छन्द बानी अहिले पनि जस्ताको तस्तै छ । यति बेला अमेरिकामा गोराहरूको वर्चस्व घट्दै गएको र अल्पमतमा परिने भय उनीहरूमा व्याप्त रहेको अवस्थाको भरपुर फाइदा उठाउन ट्रंप व्यस्त छन् । २०१६ को चुनावमा उनले त्यही गोरा मानसिकतालाई नगदिकरण गरेर व्हाइट हाउस सम्म पुग्न सफल भए ।
ट्रंप जातिभेदी हुन् वा होइनन् भन्ने कुरामा राजनीतिक विभाजन भए पनि उनका अभिव्यक्तिहरू र क्रियाकलापहरू हेर्ने हो भने त्यो छर्लङ्ग देखिन्छ । रिचार्ड निक्सनको पालामा उनका परिवारद्वारा सञ्चालित संस्थाले अस्वेत जातिहरूलाई विभेद गरेको आरोपमा कारबाही गरिएको थियो । विशेष गरी उनलाई "बर्थर" षड्यन्त्रको सूत्रधार मानिन्छ जसमा उनले पूर्व राष्ट्रपति ओबामा अमेरिकामा जन्मेको नभई केन्यामा जन्मेको कुरा प्रस्तुत गरेका थिए । त्यही जगमा उनले अमेरिकाको राजनीतिमा प्रवेश गरे । त्यस्तै उनले मेक्सिकनहरुलाई हत्यारा र बलात्कारी भन्ने विचार व्यक्त गरे । सेप्टेम्बर ११ मा ट्विट टावर ध्वस्त हुँदा न्यु जर्सीमा मुसलमानहरूले उल्लास मनाएको दाबी समेत उनले गरे । राष्ट्रपति बने पछि उनले धर्मकै आधारमा ६ वटा मुस्लिम देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा बन्देज लगाए ।
त्यति मात्र होइन अफ्रिकी देशहरूलाई "दिशा आउने प्वाल देश" भनेर होच्याउने काम गरे । उनले अन्य देशबाट अमेरिका आउनेहरू त्यो देशमा अपराध गरेर शरण लिन आएका हुन् भन्ने कुरा व्यक्त गर्दै आएका हुन् । डिभी परेर आउनेहरूलाई समेत सम्बन्धित देशले खराब मान्छे छानेर पठाएको भन्ने तर्क प्रस्तुत गर्दै आएका छन् । उनले विशेष गरी गैर गोरा जातिलाई "विदेशी" को रूपमा हेर्ने गर्छन् । अमेरिकामै जन्मेका ३ जना काँग्रेसका सदस्यहरू र उनको श्रीमती भन्दा अघि अमेरिकाको नागरिक भइसकेकी अर्की सोमालियामा जन्मेकी काँग्रेसकी सदस्य लाइ आफ्नै देशमा फर्केर जान भन्नु पक्कै पनि सडकमा भेटिएको जड्याहा व्यक्तिले भन्न सुहाए पनि स्वतन्त्र संसारको वकालत गर्ने अमेरिकी राष्ट्रपतिको मुखबाट सुनिनु दुखलाग्दो कुरा हो । अमेरिकाको शासन व्यवस्थामा रहेका त्रुटि हटाउन माग गर्दा अमेरिका विरोधी भइन्छ भन्ने मानसिकता नै गलत छ ।
उनलाई जातिभेदी भन्ने र नभन्नेको आफ्ना आफ्नै तर्क भए पनि ट्रंप २०२० को चुनावी अभियानमा लागिसकेको यो प्रमाण हो । जति धेरै डेमोक्र्याटहरुलाई आक्रमण गर्यो त्यति रिपब्लिकनहरूको समर्थन प्राप्त गरिने जानेका ट्रंपले यो सूत्रलाई अझै धेरै प्रयोग गर्ने कुरा सर्बशिद्ध छ । आप्रवासी समस्या नै आफ्नो विजय हुने कारण थाहा पाएका ट्रंपले विगत करिब ३ वर्षमा आप्रवासी समस्या समाधानको लागि दुवै पार्टी मिलेर ल्याएका प्रस्तावहरू लत्त्याइदिएका छन् । जति धेरै आप्रवासीहरूलाई गाली गर्यो त्यति धेरै गोराहरूको समर्थन पाइने र त्यसले आफू विजयी हुने उनको आकलन देखिन्छ । फलस्वरूप एक राष्ट्रपतिको रूपमा एक ढिक्का बनाउन भन्दा विभाजित गर्न नै राष्ट्रपति ट्रंप उत्सुक देखिन्छन् । तर क्षणिक रूपमा ट्रंपलाइ यसले फाइदा गरे पनि लामो समय देखि अमेरिकाले स्थापित गरेका स्वतन्त्रता, खुल्ला समाज, खुल्ला व्यापार र विश्व भाइचाराको नारा भने अप्ठेरोमा पर्ने कुरामा कुनै द्विविधा छैन ।