अमेरिकाको राजधानी वासिङ्टन डिसी मेट्रो क्षेत्रका नेपालीहरूले सप्ताह पुराण बाट दश लाख अमेरिकी डलर सङ्कलन गरेका छन्।
सामुदायिक भवन सहितको मन्दिर निर्माणार्थ नेपाली अमेरिकन कक्यूनिटी सेन्टरले आयोजना गरेको सो सप्ताहमा बिस लाख भन्दा बढी कबोल भएकोमा कूल १० लाख १२ हजार ६ सय ७९ डलर सङ्कलन भएको छ भने १० लाख १७ हजार ३ सय ६२ डलर सङ्कलन गर्न बाँकी रहेको पुराण आयोजकहरूले एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन्।
मन्दिर तथा सामुदायिक भवन बनाउन अमेरिकाका विभिन्न राज्यहरूमा सप्ताह तथा अन्य कार्यक्रमहरू आयोजना भए पनि एकै सप्ताहबाट यति ठुलो रकम सङ्कलन भएको यो संभवत पहिलो पटक हो।
वासिङ्टन डिसी मेट्रो क्षेत्रमा पर्ने डिसी, मेरिल्याण्ड र भर्जिनिया राज्यमा रहेका नेपाली समुदायका लागी आफ्नै सामुदायिक केन्द्र, मन्दिर तथा दाह-संस्कार केन्द्रको समेत स्थापना गर्ने लक्ष्यमा साथ सो पुराणको आयोजना गरिएको थियो। पुराणको सञ्चालन वाचन प्रवीण पण्डित दिनबन्धु पोख्रेलले गरेका थिए।
आफ्नो क्षेत्रमा पहिलो पटक साता ब्यापीरुपमा आयोजित सो सप्ताह पुराणमा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।
सञ्चारकर्मी तथा पुराण आयोजक समितिका एक सदस्य निदेश अधिकारीले सेतोपातीलाई दिएको जानकारी अनुसार सप्ताहमा दान दिन वा संस्थाको सदस्य बन्न समय नपुगेकाहरूद्वारा सदस्यता बन्ने क्रम जारी छ ।
रकम सङ्कलनका लागी आयोजक संस्था नेपाली अमेरिकन कक्यूनिटी सेन्टरले संस्थाको सदस्यतालाई विभिन्न भागमा विभाजन गरेको थियो। जस अन्तर्गत हाल सम्म ३० जना संस्थापक बेनेफ्याक्टर, ११ जना संस्थापक संरक्षक सदस्य, ६ जना प्लाटिनम सदस्य, १ सय ४३ जना ट्रस्टी ( गुठियार ) सदस्य र सर्वाधिक रूपमा ५ सय २९ जना आजीवन सदस्य भएका छन् २५०० डलर तिरेर बन्न सकिने आजीवन सदस्य अगष्ट महिनाको १४ तारिख सम्म एक हजार डलरमा बन्न सकिने सञ्चारकर्मी अधिकारीले बताए।
सामुदायिक भवनका लागी हाल आवश्यक जमिन खोज्ने कार्य जारी छ।