उस्टर स्टेट युनिभर्सिटीको 'वेलनेस सेन्टर' को विशाल हल गत आइतबार बिहानैदेखि झकिझकाउ थियो। दिन चढ्दै जाँदा चहलपहल बढ्न थाल्यो।
यो म्यासाचुसेट्स राज्यको उस्टर सहरस्थित साउथ इस्ट एसियन कोलिसन अफ सेन्ट्रल म्यासाचुसेट्सको नेतृत्वमा आयोजित ‘१६ औं एसियन फेस्टिभल’ को दृश्य हो।
दक्षिण एसिया र दक्षिणपूर्वी एसियाका विभिन्न राष्ट्रको रहनसहन, भेषभूषा र संस्कृति झल्काउने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल लगायत कम्बोडिया, कोरिया, चीन, जापान, ताइवान, थाइल्यान्ड, फिलिपिन्स, बर्मा, भारत, भियतनाम, भुटान र लाओस गरी १२ भन्दा बढी राष्ट्रको प्रतिनिधित्व थियो।
कार्यक्रममा नेपालका तर्फबाट नाचगान, झाँकी तथा 'फेसन-शो' जस्ता प्रस्तुति गरिएका थिए। वासिङ्टन डिसीस्थित नेपाली दूतावासबाट उपलब्ध गराइएका 'भिजिट नेपाल २०२०' को सन्देश दिने पर्चा र झोलाहरू पनि बाँडिएका थिए।
नेपाल स्टलका स्वयंसेवकहरूले सांस्कृतिक र पर्यटकीय महत्वका ठाउँबारे वर्णन गरे। नेपालप्रति रूचि देखाउँदै आएका दर्शकहरू स्वयंसेवकबाट नेपाली शब्द पनि सिक्दै थिए।