दूतावासबाट गोप्य ईमेल तथा कागजातहरु चुहावट भएपछि अमेरिकाका लागि बेलायती राजदूत सर किम डारोचले राजीनामा दिएका छन्।
जुलाई ७ मा गोप्य इमेलहरु चुहेएपछि उनी आलोचनामा परेका थिए। त्यस पछिको दवावले बुधबार राजीनामा दिएका हुन्। उनको कार्यकाल २०२० सम्म बाँकी थियो।
बेलायत सरकारलाई पठाइएको सो गोप्य इमेलमा ट्रम्प सरकार अयोग्य र असामान्य रहेको उल्लेख गरिएको एजेन्सीहरुले बताएका छन्। लगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले उनको आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्पले राजदूतलाई महामुर्ख र घमण्डीको संज्ञा दिएका थिए।
त्यसै क्रममा जुलाई ८ मा रात्रि भोज कार्यक्रममा समेत उनलाई नआउन ट्रम्पले आग्रह गरेका थिए। ट्रम्पले भनेका थिए “हामी अब उनीसंग कुनै किसिमको सम्झौता गर्ने छैनौँ ।”
बुधबार राजीनामा दिने क्रममा उनले कागजातहरुको चुवाहटले गर्दा आफूलाई अप्ठ्यारो पारेको र कामकारबाही यथावस्थामै रोक्ने बताए। उनले भने, “घटना पछिको परिस्थितिले चाहे अनुरुप काम गर्न सकिएन।”
राजीनामालाई विदेशी तथा राष्ट्रमण्डलका सचिव सर साईमोन मिक्डोनाल्डले स्वीकृत गरेका छन्। उनले राजीनामाको सिफारिसलाई अफसोचका साथ स्वीकृत गर्नु परेको बताएका थिए। उनले भने “आफ्नो काम इमानदारिताका साथ निभाउँदा पनि डारोच घटनाको सिकार भए।”
साथै बेलायती प्रधानमन्त्री, विदेश मन्त्री र अन्यले डारोचलाई साथ दिएको उनले बताए। इमेल कसले चुहावट गरे भन्न्ने विषयमा अनुसन्धान जारी छ। सो इमेल कम्तीमा पनि १०० जनाले चलाउने गरेको बताइएको छ।
राजदूत डारोचलाई निकाल्न षडयन्त्र भएको हुन सक्ने कतिपयको अनुमान छ। बेलायतका डिप्लोम्याट बोरिस जोनसनले सहयोग नगरेकै कारण पनि डारोचले राजीनामा दिएको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन्।
यस चुवाहटलाई पहिले ह्याक गरिएको अनुमान समेत गरिएको थियो तर विदेश मन्त्रालयले ह्याक नभई चुवाहट नै रहेको स्पष्ट पारेको छ। यस घटनामा राजदूतमाथि आरोप लागे पनि सत्यतथ्य पत्ता लगाउन अनुसन्धान जारी छ।
यो विषयमा कसैले अपराध गरेको ठहर भएमा आधिकारिक गोप्य धारा अनुसार दुई वर्ष जेल चलान तथा असिमित जरिवाना तिराउन सक्ने एजेन्सीले बताएका छन्। बेलायती नेताहरुले अमेरिकाका राष्ट्रपति ट्रम्पले बेलायतलाई चिडाएको आरोप लगाए।