दक्षिणी क्यालिफोर्नियामा दुई दिनभित्र दोस्रो शक्तिशाली भूकम्पको झट्का महशुस गरिएको छ।
शुक्रबार राति सवा आठतिर ७.१ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भूगर्भसम्बन्धी निकाय युएसजीएसले जनाएको छ। यसअघि बिहीबार पनि ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
दोस्रो भूकम्पको केन्द्रबिन्दु पनि लस एन्जलस सहरभन्दा करिब अढाइ सय किलोमिटर उत्तरमा रहेको रिजक्रेस्ट नगर नजिक रहेको जनाइएको छ।
हालसम्म गम्भीर प्रकृतिका कुनै पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको बताइएको छ।
विज्ञहरूका अनुसार बिहीबारको झट्का शुक्रबारको झट्काको पूर्व कम्पन थियो। यी भूकम्पसँगै थुप्रै परकम्पन आइरहेको बताइएको छ।
लस एन्जलसको अग्निनियन्त्रण विभागका अधिकारीहरूका अनुसार भूकम्पपछि गरिएका प्रारम्भिक सर्वेक्षणहरूमा कतै ठूलो पूर्वाधार क्षति भएको पाइएन।
तर पछिल्लो कम्पनपछि केही स्थानीय स्तरमा बिजुली गएको विवरण प्राप्त भएका छन्। (बीबीसी)