अमेरिकास्थित टेक्सासको म्युनिसिपल विमानस्थलमा सोमबार बिहान सानो विमान दुर्घटना हुँदा दस जनाको मृत्यु भएको छ।
स्थानीय आगलागी नियन्त्रण विभागका अनुसार विमानको दिशा परिवर्तन भइ 'ह्याङ्गर (विमान पार्किङ गरिने बन्द कोठा)' मा ठोक्किएको थियो। ठक्करपछि आगलागी भएको उनीहरूले जनाएका छन्। ह्याङ्गरभित्र त्योबेला कोही मान्छे नभए पनि अर्को एक विमान र हेलिकप्टरमा क्षति पुगेको अधिकारीहरूले बताएका छन्।
'बिचक्राफ्ट बिइ-३५० किङ एअर' विमानले बिहान ९ बजे फ्लोरिडाका निम्ति उडान भरेको थियो।
दुर्घटना लगत्तै आकस्मिक सेवाहरू उपलब्ध भए पनि विमानमा भएका दसै जनाको मृत्यु भएको छ। दुई कर्मचारी र आठ जना सर्वसाधारणमध्ये कसैको पनि ज्यान बचाउन नसकेको म्युनिसिपल विमानस्थलका प्रवक्ता मेरी रोजेनविल्थले बताइन्।
उनीहरूको पहिचान अहिलेसम्म जारी भएको छैन।
विमान के कारणले दुर्घटना भयो भन्ने यकिन नभए पनि इञ्जिनमा समस्या आएको हुनसक्ने प्रारम्भिक अनुमान छ। यसबारे अध्ययन भइरहेको अधिकारीहरूले जनाएका छन्।