प्रत्येक वर्ष हजारौको सङ्ख्यामा नेपालीहरू डी. भी. भिसा चिट्ठाको माध्यमबाट अमेरिकाको स्थायी बासिन्दा बनिरहेका छन् र विगतमा जस्तै यस वर्ष पनि केही हजार नेपालीहरू डी. भी. भिसा को चिट्ठा परी ग्रीन कार्ड पाउने आशामा बसी रहेका छन् । सबभन्दा पछिल्लो चिट्ठा डी. भी.-२०२० हो जुन सन् २०१८ को अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म खुल्ला भएको थियो र एस समयमा चिट्ठा को लागि फर्म भर्ने व्यक्तिहरूले आफूलाई चिट्ठा परे नपरेको नतिजा सन् २०१९ को मे ७ गते देखि सेप्टेम्बर ३० सम्म हेर्न सक्नेछन् ।
अमेरिकाले Immigration and Nationality Act of 1990 को 203(C) अन्तर्गत संसारभरका छानिएका देशहरूबाट प्रत्येक वर्ष ५०,००० जनालाई डी. भी. भिसा चिट्ठा मार्फत ग्रीन कार्ड अर्थात् स्थायी बासिन्दाको प्रमाणपत्र प्रदान गर्दछ । ग्रीन कार्ड चिट्ठामा भाग लिन सबै देशहरूमा जन्मिएका व्यक्तिहरूले पाउँदैनन्; कुन देशमा जन्मिएका व्यक्तिहरूले त्यो वर्षको डी. भी. भिसा चिट्ठामा भाग लिने पाउनेछन् भनी अमेरिकाले प्रत्येक वर्ष चिट्ठामा भाग लिन पाउने देशहरूको सूचि तयार पार्दछ । यसो गर्दा विगतका पाँच वर्षहरूमा ५०,००० भन्दा कम सङ्ख्यामा अमेरिकामा बसाई सरेका देशहरूलाई मात्र चिट्ठामा भाग लिन पाउने देशहरूको सूचिमा राखिन्छ । र सूचिमा परेका देशमा जन्मिएका (बर्तमानमा संसारका जुनसुकै देशको नागरिक भएका वा जुनसुकै देशमा बसेका) व्यक्तिहरू मध्ये कम्तीमा उच्च माध्यमिक (१२ कक्षा) तहको अध्ययन पुरा गरेका वा दुई वर्षको कामको अनुभव भएका व्यक्तिहरूले यसमा भाग लिन पाउँछन् ।
बर्तमानमा डी. भी. भिसा चिट्ठा को उद्देश्य अमेरिकामा सबै तिरका मानिसहरू बसाई सरुन् भन्ने हो अर्थात् एउटा वा दुइटा देशहरूका नागरिकहरूको मात्र बाहुल्यता नहोस्; यहाँ बसाई सर्ने मानिसहरूमा विविधता होस् भन्ने बुझिन्छ । प्रत्येक वर्ष संसारभर बाट दुई करोड भन्दा बढी मानिसहरूले डी. भी. भिसा चिट्ठाको लागि फर्म भर्छन् । ती मध्ये ५०,००० ले अमेरिकामा स्थायी बसोबास र काम गर्न पाउने गरी ग्रीन कार्ड को चिट्ठा पाउँछन् । यसरी चिट्ठा पर्ने व्यक्तिहरू अन्य सबै प्रक्रिया पुर्याए पछि अमेरिकामा यहाँको स्थानीय बासिन्दा को रूपमा आउन सक्छन्, अन्य बासिन्दाहरू सरह सबै सुविधाहरू प्राप्त गर्न सक्छन् र समय पुगे पछि अमेरिकाको नागरिकताको लागि निवेदन दिन पाउँछन् ।
कसरी सुरु भयो डी. भी. भिसा चिट्ठा ?
आज डी. भी. भिसा चिट्ठालाई अमेरिकामा सांस्कृतिक विविधता ल्याउने भिसा अर्थात् diversity visa को रूपमा चिनिन्छ । तर यो भिसा सुरु गर्दा यसको उद्देश्य विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिक परिवेश भएका देशका व्यक्तिहरूलाई भित्र्याउने उद्देश्य थिएन; अमेरिकामा विविधता ल्याउने उद्देश्यले यो कानुन बनाइएको थिएन अर्थात् कम सङ्ख्यामा अमेरिकामा बसाई सरेका देशहरूबाट मानिसहरूलाई अमेरिकामा ल्याउने उद्देश्यले यो सुरु गरिएको थिएन । वास्तवमा जब सन् १९८६ मा U.S. Congress ले कानुन ल्यायो त्यस बेला उक्त कानुनको उद्देश्य आइरिश (Irish) र इटालियन (Italian) आप्रवासीहरूलाई अमेरिकामा बसाई सर्न सहज गर्ने थियो । त्यो समयमा अमेरिकामा अन्य भिसामा भएका आइरिश र इटालियनहरूले यहाँको ग्रीन कार्ड पाउन सकिरहेका थिएनन् किनकि कामबाट ग्रीन कार्ड पाउन धेरै जना सँग अमेरिकामा चाहिएको काम गर्ने दक्षता (skills) थिएन, र नातेदारबाट प्रायोजक (sponsor) गराई ग्रीन कार्ड लिन धेरै जना व्यक्तिहरूका अमेरिकाको नागरिकता लिएका नजिकका परिवारका सदस्य थिएनन् । त्यसले गर्दा धेरै आईरिश र इटालियनहरूले अमेरिकाको स्थायी बासिन्दा हुन पाइरहेका थिएनन् । हुन त U.S. Congress ले यसलाई विविधता भिसा (diversity visa) को रूपमा पास गर्यो किनकि यदि उनीहरूले जनतालाई सही बताएको भए अर्थात् इटालियहरु र आइरिसहरुको लागि भनेर छुट्टै कानुन बनाएको जानकारी गराएको भए जनताबाट समर्थन हुँदैन थियो । त्यो समय बहु-सांस्कृतिक विचारको लोकप्रियता को समय थियो र अमेरिकाले पनि नयाँ कानुनलाई यसैको रङ्गले पोतिदियो र भन्यो यो विविधता भिसा चिट्ठा (diversity visa lottery) हो । अझ पछाडि गएर यो डी. भी. भिसा चिट्ठा को सुरु गर्नु भन्दा पहिले किन धेरै आइरिश र इटालियनहरूले ग्रीन कार्ड पाउन सकेका थिएनन् भनी कारणहरू खोतल्दै जाँदा यस अघि सन् १९६५ को अध्यागमन सम्बन्धी सुधार र त्यसबाट सृजित अवस्था जिम्मेवार भएको थाहा हुन्छ ।
अमेरिकी सरकारले सन् १९६५ मा दशकौँ सम्म कायम रहेको युरोपियनहरूलाई फाइदा पुग्ने गरी कायम रहेको दरबन्दी प्रणाली (quota system) लाई अन्त्य गरी नयाँ नियम ल्यायो जसमा प्रत्येक देशलाई वार्षिक २०,००० सम्म मानिसहरू अमेरिकामा आप्रवासीको रूपमा पठाउन सक्ने प्रावधान थियो । यस्तो भएता पनि सबै देशले वार्षिक २०,००० मानिसहरू अमेरिका पठाउन सकेनन् । नयाँ नियम अनुसार आप्रवासीको निवेदन दिने व्यक्तिहरूको निवेदन उपर निर्णय गर्दा निजको नजिकको नातेदार अमेरिकामा छ वा छैन वा निज व्यक्ति शरणार्थीको दर्जामा छ कि छैन भनी तथ्य केलाउन थालियो र यी कुनै पनि माध्यमले नपुग्ने व्यक्तिहरूले ग्रीन कार्ड पाउन सकेनन् । नयाँ कानुन लागु भयपछि धेरै भन्दा धेरै आप्रवासीहरू एसिया र दक्षिण अमेरिकाबाट आउन थाले र आइरिश र इटालियनहरूले अमेरिकाको ग्रीन कार्ड पाउन कठिन हुँदै गयो ।
कुन कुन देशमा जन्मिएकाले डी. भी. भिसा चिट्ठामा भाग लिन पाउदैनन ?
कुनै पनि देशबाट यदि अघिल्ला पाँच वर्षमा अमेरिकामा विभिन्न तरिकाबाट ५०,००० भन्दा बढी व्यक्तिहरू बसाई सरेका रहेछन् भने त्यस्ता देशहरूमा जन्मिएका व्यक्तिहरू diversity visa lottery अर्थात् विविधता भिसा चिट्ठा मा भाग लिन योग्य हुँदैनन् । सबैभन्दा पहिलो पल्ट सन् १९९५ को विविधता भिसा सुरु हुँदा निम्न १२ राष्ट्रहरूका मूल निवासीहरू डी. भी. भिसा चिट्ठामा भाग लिन अयोग्य थिए: क्यानडा, चीन (मुख्य भूमिमा जन्मेका), डोमिनिकन गणतन्त्र, एल साल्भाडोर, भारत, जमैका, मेक्सिको, फिलिपिन्स, दक्षिण कोरिया, युनाइटेड किंग्डम र भिएतनाम । पछि बङ्गलादेश, ब्राजिल, कोलम्बिया, हैटी, नाइजीरिया, पाकिस्तान, र पेरु पनि थपिए । अमेरिकामा विगत पाँच वर्षमा बसाई सरेका व्यक्तिको सङ्ख्याको आधारमा केही राष्ट्रहरू कुनै वर्ष सूचिमा समावेश गरिए भने अरू वर्ष सूचिबाट हटाइए जस्तै ताइवान, इक्काडोर, ग्वाटेमाला, पोल्यान्ड र रसिया । यसले यी देशबाट अमेरिकामा बसाई सर्ने स्तरमा परिवर्तन भएको प्रतिबिम्बित गर्दछ।
पछिल्लो डी. भी. भिसा चिट्ठा २०२० को लागि विगत पाँच वर्षमा ५०,००० भन्दा बढी आप्रवासीहरू पठाउनाका बाबजुद क्युबा, इराक, इरान, ईथियोपिया, नेपाल, म्यांमार, ग्वाटेमाला, इजिप्ट, अफगानिस्तान, इक्काडोर र होन्डुरस विविधता भिसा चिट्ठामा सहभागी हुन नपाउने देशहरूको सूचिमा छैनन्। यस्तो हुनुको कारण यहाँ ५०,००० "आप्रवास" को शब्दले केवल परिवारद्वारा प्रायोजित, रोजगारी बाट, वा अमेरिकी नागरिकको नजिकका नातेदारको माध्यमबाट आप्रवासी बनेका व्यक्तिहरूलाई सङ्केत गर्दछ । यसमा अन्य श्रेणीहरू जस्तै कि शरणार्थीहरू (refugees and asylum status) र पछिल्ला वर्षहरूमा डी. भी. भिसा चिट्ठा बाट आप्रवासी बनेकाहरू गणना गरिँदैन ।
प्रत्येक वर्ष कति नेपालीहरूले डी. भी. भिसा चिट्ठा को लागि फर्म भर्छन् ?
विविधता भिसा चिट्ठा (diversity visa lottery) मा भाग लिन कुनै शुल्क लाग्दैन । र त्यसो गर्ने एक मात्र तरिका दर्ता अवधिको समयमा अमेरिकी सरकारको वेबसाइटमा गई आवश्यक कागजात समावेश गरी उपलब्ध इलेक्ट्रोनिक फारम भरे पुग्दछ । नेपालमा धेरै कम्पनीहरू र वेबसाइटहरू छन् जसले आवेदकहरूलाई सेवा शुल्क लिएर फर्म भर्न सहयोग गर्छन् । अन्यलाई फर्म भर्न शुल्क बुझाउनु भनेको पैसाको नोक्सानी मात्र हो; व्यक्तिहरूले आफै फर्म भर्नु र अन्यलाई शुल्क बुझाएर फर्म भर्नुमा केही फरक छैन चिट्ठा पाउने सम्भावनामा । सन् २००७ देखि सन् २०१८ सम्मको तथ्याङ्कहरू केलाउँदा के देखिन्छ भने प्रत्येक वर्ष डी. भी. भिसा चिट्ठाको लागि आवेदन दिने नेपालीहरूको सङ्ख्या बढ्दो छ।
(Source: The U.S. Department of Homeland Security)
आर्थिक वर्ष २००७ को लागि जम्मा १८९,४८४ जना नेपाली निवेदकहरू र तिनले समावेश गरेका १३७,८४६ परिवारका सदस्यहरू गरी जम्मा ३२६,३३० जना व्यक्तिहरू डी. भी. भिसाको चिट्ठा मा समावेश थिए । कति जनाले डी. भी. भिसाको लागि फर्म भरे हेर्न Entrants को सङ्ख्या हेर्नु पर्छ । आर्थिक वर्ष २००७ देखि २०११ सम्म यो सङ्ख्यामा खासै वृद्धि भएको देखिँदैन तर आर्थिक वर्ष २०१२ देखि डी. भी. भिसा को लागि फर्म भर्नेहरूको सङ्ख्या क्रमशः बढेको देखिन्छ । आर्थिक वर्ष २०११ मा जम्मा १९४,३७३ जनाले फर्म भरेका थिए भने यो सङ्ख्या आर्थिक वर्ष २०१२ मा २३८,६७८ थियो भने आर्थिक वर्ष २०१८ को लागि ७२८,८१८ पुगेको देखिन्छ ।
प्रत्येक वर्ष कतिजनाले डी. भी. भिसा चिट्ठाको लागि निवेदन दिन्छन् (Number of Entrants) र ती निवेदनहरूमा कति जना परिवारका सदस्यहरू (Number of Derivatives) समावेश गरिएका थिए भन्ने तथ्याङ्क केलाउँदा निवेदक र समावेश गरिएका परिवारको सङ्ख्या ६०:४० हुन आउँछ । आर्थिक वर्ष २००७ मा यो अनुपात ५८:४२ थियो भने आर्थिक वर्ष २०१८ मा यो ६१:३९ थियो । यसको अर्थ डी. भी. भिसा चिट्ठा मा समावेश गरिएका प्रत्येक १०० हरू मध्ये ६० जना निवेदक र ४० जना परिवारका सदस्य थिए । आर्थिक वर्ष २०१८ लाई आर्थिक वर्ष २००७ सँग दाजेर हेर्दा खासै अन्तर देखिएको छैन ।
(Source: The U.S. Department of Homeland Security)
अमेरिकाको ग्रीन कार्ड पाउनेमा डी. भी. भिसा वाला बढी
अमेरिकाको ग्रीन कार्ड पाउने व्यक्तिहरूको सङ्ख्यामा डी. भी. भिसा चिट्ठा द्वारा भिसा पाउनेको हिस्सा धेरै ठुलो रहेको छ । आर्थिक वर्ष २००३ मा जम्मा २,०९५ जना नेपालीहरूले अमेरिकाको ग्रीन कार्ड प्राप्त गरेको मा ठुलो हिस्सा १,४९५ अर्थात् ७१% डी. भी. भिसाले ओगटेको थियो । डी. भी. भिसा बाट ग्रीन कार्ड पाउने नेपालीहरूको सङ्ख्या आ. व. २०१५ मा ३,४७१ पुग्यो भने आ. व. २०१७ मा ३,२०५ रह्यो । डी. भी. भिसा चिट्ठा मार्फत ग्रीन कार्ड पाउनेको सङ्ख्यामा बृदी भए पनि पछिल्ला वर्षहरूमा अन्य माध्यम बाट ग्रीन कार्ड पाउनेको सङ्ख्यामा पनि बृदी भएकोले डी. भी. वाला को अंश कम हुँदै गएको देखिन्छ । जस्तै, आ. व. २०१०-२०१२ मा डी. भी. भिसा चिट्ठा वाला हरू जम्मा २० प्रतिशतको हाराहारी थिए किनकि त्यस समयमा शरणार्थी को माध्यमबाट ग्रीन कार्ड पाउनेको सङ्ख्या ठुलो थियो।
(Source: The U.S. Department of Homeland Security. Also see https://setopati.com/global/america/171144 )
के डी. भी. भिसा चिट्ठा बन्द हुँदै छ ?
अमेरिकामा डी. भी. भिसा चिट्ठा को अन्त्य हुनु पर्छ भन्ने व्यक्तिहरू पनि धेरै छन् । तिनीहरूका अनुसार डी. भी. भिसा मा आउने व्यक्तिहरू कम क्षमताका हुन्छन् र उनीहरूले अमेरिकनहरूका जागिर खोसी दिन्छन् । केही त डी. भी. भिसा मार्फत आतङ्ककारी पनि देशमा छिर्छन् भन्ने पनि छन् । तर वास्तविकता त्यस्तो छैन ।
अमेरिकाले प्रत्येक वर्ष १२ लाख भन्दा बढीलाई आप्रवासीहरूको रूपमा स्वीकार गरी ग्रीन कार्ड प्रदान गर्छ । यस कारण डी. भी. भिसा चिट्ठा प्रणालीलाई, जसबाट प्रति वर्ष जम्मा ५०,००० जनालाई ग्रीन कार्ड प्रदान गरिन्छ, अन्त गर्दा अमेरिकाको आप्रवासनमा ठुलो अन्तर पर्दैन, अर्थात् ग्रीन कार्ड भिसा चिट्ठा बाट आउने व्यक्तिले अमेरिकन अर्थतन्त्रमा धेरै ठुलो असर गर्दैन र डी. भी. वाला ले अमेरिकन हरूको जागिर खोसी दिन्छन् भन्ने तर्कमा सत्यता छैन ।
त्यस्तै, अक्टोबर ३१, २०१७ मा न्यु योर्क सहरमा ट्रक आक्रमणबाट आठ जना मानिस मारिएका थिए भने १२ जना घाइते भएका थिए । उक्त घटनामा संलग्न व्यक्ति डी. भी. भिसा चिट्ठामा अमेरिकाको ग्रीन कार्ड लिएको भेटिए पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले डी. भी. भिसा चिट्ठा बन्द गर्नु पर्ने बताएका थिए ।अमेरिकामा दिनहुँ जसो हिंसाका घटनाहरू भई रहेका हुन्छन् र समग्रमा हेर्दा यस्ता घटनाहरूमा आप्रवासीहरू विरलै संलग्न भएको पाइन्छ । यस्ता छिटपुट रूपमा आप्रवासी संलग्न भएका घटनाहरूले विदेशीहरू प्रति अमेरिकी आम जनतामा नकारात्मक धारणा बनाउँछ तर आतङ्कका घटनाहरूमा सबै रङ्गका व्यक्तिहरू संलग्न छन् र यो एउटा घटनालाई मात्र आधार बनाएर लाखौँ को सङ्ख्यामा रहेका कानुन मानी आफ्नो जीविकोपार्जन गरिरहेका आप्रवासीहरूलाई दोष लगाउनु मनासिब देखिँदैन ।
अन्तमा, डी. भी. भिसा को नतिजा पर्खी बसेका लाखौँ नेपाली दाजु भाइ दिदी बहिनीहरूलाई शुभकामना !!
(डा. अर्जुन बन्जाडे NRNA NCC of USA को Board of Director हुनुहुन्छ)