अमेरिकामा आप्रवासीको रूपमा आएर छोटो समयमा नै मूलधारको राजनीतिमा स्थापित भई चुनाव जितेर इतिहास रच्न सफल ह्यारी भण्डारी अहिले मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेटसमा प्रतिनिधित्व गर्छन्।
उनको शपथ ग्रहण हुन त केही समय बाँकी रहेको छ। अर्थात् आगामी जनवरी ९ तारिखको दिन शपथ गरेपछि उनी मेरिल्याण्ड राज्यको बहालवाला डेलिगेट हुनेछन्। खासमा नीति निर्माण र कानुन बनाउन मात्र केन्द्रित हुने र संसदीय अभ्यासमा जस्तो सरकार बनाउन या कार्यकारीलाई मतदान गर्न पाउने व्यवस्था नभएको कारणले यो पद डेलिगेट पद हो।
नेपाल र अमेरिकाको राज्यव्यवस्थाको कतिपय सिद्धान्तहरू मेल खाँदैंनन्, तर सरसर्ति हेर्दा नेपालको प्रदेश सभाको सांसदको पदसँग डेलिगेटको भूमिका केही हदसम्म समान देखिन्छ।
चुनाव सम्पन्न भएर शपथ नखाने बेलासम्म अमेरिकामा एक्जिुकेटिभ पावर भएकाहरूले आफ्नो भावी टिमको लागि विभिन्न विषयमा सहकार्य र समन्वय गर्न पूर्ववर्तिक टिमसँग काम गर्छन्। यसलाई ट्रान्जिसनल टिम भन्ने गरिन्छ।
तर निर्वाचित भएका डेलिगेटहरुको लागि भने निर्वाचनवाट विजयी भएर आएपछिको एक महिनामा निकै व्यस्त कार्यसूचीमा सहभागी गराइने रहेछ। यसै सिलसिलामा नवनिर्वाचित डेलिगेटलाई मेरिल्याण्डको राजधानी एनापोलिसमा दुई दिने ओरिन्टेशन कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा निर्वाचित प्रतिनिधिहरूले आफू र आफ्नो निकटवर्तिलाई समेत समावेश गराउने अभ्यास रहेछ। यसरी जाने क्रममा ह्यारी भण्डारीले पंक्तिकारलाई पनि मौका प्रदान गरेका थिए। दुई दिनको कार्यक्रममा डेलिगेटले के कसरी काम गर्ने भन्ने देखि आवश्यक पर्ने हरेक कुराको बारेमा लामो समय देखि कार्यरत कर्मचारीहरू,अध्येता र विज्ञहरूले जानकारी दिएका थिए।
हाउस अफ डेलिगेटले निर्वाचित भएसँगै बढ्ने उत्तरदायित्व पनि उत्तिकै छ। उनीहरूको लागि कार्यक्रम अवधि भरि के कस्ता ईथिकल प्राक्टिसमा बसेर काम गर्नुपर्छ, बजेटको निर्माणको प्रक्रिया र अधिवेशन भरि पेस गरिने विलको प्रक्रिया तथा आफ्नो कार्यालय सञ्चालनको विषयमा विभिन्न तरिकाले भए गरेका अभ्यास र प्रयासको बारेमा विस्तृत जानकारी दिइएको थियो।
खास गरी हाउसमा अनेक बिलहरू आउने र पास गर्नुपर्ने भएकाले ईथिकल कमिटीले प्रतिपादन गरेका नियममा बसेर जनताको सेवामा कटिबद्धताका साथ लाग्नुपर्ने उनीहरूको दायित्व रहेको छ।
यसलाई सरोकारवाला निकायका प्रतिनिधिहरूले अहिले सम्म गरेका प्रयासहरूको बारेमा महत्त्वपूर्ण तरिकाले जानकारी गराएका थिए। स्मरणीय छ आगामी जनवरी ९ तारिखवाट सुरु हुने ४३९ औ बैठक राज्यको लागि निकै महत्त्वपूर्ण समय हो।
मेरिल्याण्डको हाउस ९० दिनसम्म चल्ने भएकाले र यस अवधिभर करदेखि नागरिकले राज्य तवरमा पाउने सुविधाहरू, पूर्वाधार निर्माण ,लगानी तथा रोजगारको वृद्धि लगायतका सयौँ विषयमा कानुन बनाइने भएकाले सेसन निकै महत्त्वपूर्ण र संवेदनशील समय हो। यो समयमा डेलिगेटहरुलाई तनाव, विल पासको हतारो देखि लिएर आफ्नो मतदाताहरूसँग विभिन्न मुद्दाहरूमा परामर्श गर्न पर्ने बाध्यता रहेको रहेछ।
पंक्तिकारले सरसर्ति हेर्दा कस्तो लाग्यो भने डेलिगेटलाई ९० दिन विल पास गर्न र अरू बाँकी समय विभिन्न विषयमा जानकारी,अनुसन्धान र त्यसको असरको बारेमा समेत ध्यान दिन समय व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ।
डेलिगेटलाई आवासीय सुविधा समेत प्रदान गरिएको हुन्छ। मेरिल्याण्ड राज्यको स्टेटको नियम अनुसार मासिक रूपमा तिर्ने गरी हाउस नजिकै घर लिएर बस्ने या त्यही नजिकको होटेलमा बस्ने भनेर निधो गर्नुपर्ने रहेछ। त्यो बापतको रकम सिधै घर धनी या होटेलवालाले पाउने रहेछन्।
यसले गर्दा घर भाडा सम्बन्धी आर्थिक कारोबारमा डेलिगेटको कुनै भूमिका नै नहुने भयो। रोचक त के लाग्यो भने, नेपालमा सांसदहरूलाई भाडामा दिन भनेपछि घरधनीहरू खुसी नहुने र अनेकन् समस्याहरू सृजना भएको घटनाहरू सार्वजनिक हुने अवस्थावाट हाम्रो पुस्ता गुज्रिएको हो। तर यसको ठिक विपरीत यहाँ भने आफूहरूको चलन चल्तीको भन्दा कम दरमा डेलिगेटसलाई घर भाडामा दिने चलन रहेछ। त्यसैले तीन महिनाको अवधिमा एनापोलिस जस्तो अमेरिकाको नै पुरानो सहरमा डेलिगेट तथा सिनेटरहरुको व्यस्त कार्यसूचीले गतिविधिलाई अत्यधिक चलायमान बनाएको हुने रहेछ।
च्याम्वरको इतिहास:
अमेरिका इतिहासको बहुआयामिक पाटोलाई संस्थागत रूपमा जगेर्ना गर्न सफल भएको विश्वकै अग्रणी देश हो। यसका हरेक स्थान र भवनका ऐतिहासिक पक्षलाई यति लोभ लाग्दो तरिकाले संरक्षण गरिएको हुन्छ की त्यो पहिलो पटक भेटने जो कसैलाई वाह भन्न बाध्य पार्दछ।
यस्तैमा मेरिल्याण्डको जनरल एसेम्वली भएको भवन यस्तो ऐतिहासिक भवन रहेछ, जुन भवनमा अमेरिकाका पहिलो राष्ट्रपति जर्ज वाशिङ्गटनले कमाण्डर ईन चिफबाट राजीनामा त्यही भवनमा दिएका रहेछन्। उनले लेखेको राजीनामा पत्रको हस्तलिखित कागज समेत निकै जतन गरेर राखिएको छ। डिसेम्बर २३,१७८३ अर्थात् २३५ वर्ष अगाडि कोरिएको अमेरिकाको त्यही इतिहासले वाशिङ्गटनलाई पहिलो राष्ट्रपति बनायो।
उक्त विषयमा जानकारहरूका अनुसार राष्ट्रपति हुनको लागि सैन्य बर्दी परिवर्तन गर्दा जनताको सही प्रतिनिधित्व समेत हुने भएकाले उनले राजीनामा दिएका थिए।
च्याम्वरमा मतदान गर्ने अवसर:
कार्यक्रम अवधिभर मेरिल्याण्ड जनरल एसेम्वलीका कर्मचारीहरू तथा विज्ञले विभिन्न विषयमा जानकारी दिने देखि अपनाउनु पर्ने आचारसंहिताको बारेमा समेत प्रकाश पारेका थिए। अन्तिम दिन च्याम्वरको प्रोसेसको बारेमा जानकारी दिने थियो, त्यही सिलसिलामा हामीहरूलाई पनि सोही च्याम्वरमा लगियो।
च्याम्वरको दायाँ र बायाँ दुई ठुला स्क्रिनमा डेलिगेटसका नाम सहित विलमा मतदान गरेको विषयमा स्वीकार गर्ने , अस्वीकार गर्नेको नाम र अङ्क सहित तुरुन्त जानकारी हुने रहेछ। आफ्नो टेबुल अगाडि रहेको बटम थिचेर मतदान गरेपछि त्यो मतदान सभामुखको च्याम्वर अगाडि र दुई तर्फ डिस्प्लेमा देखिने रहेछ।
त्यसलाई प्रयोगात्मक रूपमा व्याख्या गर्ने सिलसिलामा सभामुखले कल गरेपछि अरू डेलिगेटहरु र उपस्थित व्यक्तिहरू जस्तै पंक्तिकारले पनि विभिन्न तीन वटा नमुना बिलहरूमा मतदान गरेको थियो।
जनताले मत दिएर विजयी गराएका डेलिगेटको भूमिका निर्वाह गर्न पाउने दुर्लभ अवसर प्राप्त भएकोमा पंक्तिकार दङ्ग परेको थियो। खासमा जनताले आफ्नो अमूल्य मत दिएर विजयी गराउने विधायकहरूको कत्रो भूमिका हुन्छ भन्ने कुरामा ती ऐतिहासिक भवन अनि त्यसमा अपनाइएको पूर्वअभ्यासको तयारीलाई हेर्दा निकै रोमाञ्चक अनुभव भएको थियो।
पंक्तिकारको मनमा संसदीय अभ्यास ,त्यो पनि सङ्घीयता सहितको अभ्यासमा लागेको नेपालका नीति निर्माताहरूले पनि अङ्गीकार गरेको खण्डमा देशलाई सुन्दर ,सम्पन्न र सुसभ्य देशको रूपमा निर्माण गर्न लामो समय लाग्छ जस्तो लाग्दैनन्।
बजेट ४४ अर्ब डलर:
खासमा डेलिगेटहरुको महत्त्वपूर्ण काम भनेको मेरिल्याण्ड राज्यको बजेट पास गर्नु पनि हो। अहिले मेरिल्याण्डको बजेट ४४ अर्ब डलरको बजेट रहेको छ। यो नेपालको चार वर्षको बजेट भन्दा अलि बढी हो,त्यसमध्ये व्यक्तिको आयकरको हिस्सा ५५ प्रतिशत रहेको छ।
यसले अमेरिकामा नागरिकले किन कर तिरेका छन् र उनीहरूको कर तिरेको पैसालाई कुन काममा कुन प्रयोजनको लागि बनाइएको छ भन्ने स्पष्ट पार्न अपारदर्शी र सुव्यवस्थित तरिकाले सरकारी निकायहरूले काम गरिरहेका हुन्छन्। सबैभन्दा रोचक पक्ष के हुन्छ भने रिपब्लिकन गभर्नर ल्यारी होगनले ल्याउने बजेटलाई बहुमत सदस्य भएको हुनाले डेमोक्रयाट पार्टीले त्यसलाई अनुमोदन गर्नुपर्ने हुन्छ।
कार्यकारी अधिकारी गभर्नर सँग हुने भएकाले र अमेरिकाकै दोस्रो पपुलर गभर्नर समेत भएकाले उनको विजयमा लिवरल डेमोक्रयाटहरुको समेत मतदानले निर्णायक भएको हो।
चार हजार विल पास गर्नु पर्ने:
९० दिनको समयमा निकै सक्रियताका साथ काम गर्नुपर्ने संरचना रहेको छ। आगामी सेसनमा करिब चार हजार विल पास गर्नुपर्ने दायित्व रहेको छ। कुल १४१ सदस्य रहेको मेरिल्याण्डको जनरल एसेम्वलीमा डेमोक्रयाट पार्टीको ९८ सिट र रिपब्लिकनको ४३ सिट रहेको छ। मेल्यिाण्डमा राज्य तहका ४७ सिनेटर रहेका छन्। विभिन्न कमिटीमा विधयेकहरु छलफल भएपछि कतिपय अवस्थामा अलग अलग र कहिले संयुक्त रूपमा विल पास गरिने अभ्यास रहेको छ।
अन्त्यमा ,नेपाली मूलका ह्यारी भण्डारीले अमेरिका आएको केवल तेह्र वर्षको अवधिमा नै विधायक बन्न सफल भएका छन्। यसलाई अझै व्यवस्थित गरेर आगामी केही दशकमा नै अरू धेरै नेपालीहरूले पनि यस्तै सुनौलो अवसर पाउन सकून र अमेरिकाको मूलधारको राजनीतिमा उचाइ प्राप्त गर्न सकून। भण्डारीलाई रोल मोडेल मान्ने धेरै नेपालीहरूको शुभेच्छा जस्तै पंक्तिकार पनि सफल कार्यकालको कामना गर्न चाहन्छ।