अमेरिकामा नेपालीहरू कति होलान्? यो प्रश्नको यकिन उत्तर कसैसँग पनि छैन। तर, अधिकांशले सोध्ने र अनुमान लगाउने आम विषयमा यो पर्छ। यही प्रश्नको उत्तर खोज्दै पङ्क्तिकारले गरेको एक सर्वेक्षणमा आधारित आलेख यहाँ प्रस्तुत गरिएको छ।
नेपालको अमेरिकासँग सन् १९४७ मा दुई पक्षीय दौत्य सम्बन्ध र सन् १९५९ मा काठमाडौंमा अमेरिकाको राजदूतावासको स्थापना हुनुभन्दा पहिले अमेरिका आउने नेपालीको सङ्ख्या विरलै थियो।
सन् १९५० मा राणा शासनको अन्त्यपछि अमेरिका आउने नेपालीको सङ्ख्यामा क्रमशः वृद्धि हुँदै थियो। तर, सन् १९६० मा प्रजातन्त्रको हत्या पछि यो क्रममा शिथिलता आयो। अमेरिकामा सन् १९९० मा तत्कालीन अमेरिकन राष्ट्रपति जर्ज बुसको समयमा पारित Immigration Act of 1990 (अहिले कायम रहेको सबैले सजिलै बुझ्ने डीभी चिट्ठा यसैको उपज हो) र सन् १९९१ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् श्रृजित वातावरणले नेपालीको अमेरिका आउने महत्वपूर्ण भूमिका रह्यो।
सन् १९४७ मा प्रजातन्त्रको स्थापनाको लगत्तै सुरू भएको नेपालीको अमेरिका आउने क्रम सन् १९६० मा प्रजातन्त्रको अन्त्य पछि शिथिलता आएको पनि सन् १९९१ मा प्रजातन्त्रको पुनर्स्थाना पछि यो क्रममा तीव्रता आयो।
अमेरिका आउने नेपालीको सङ्ख्या सन् १९८० को दशकभन्दा अगाडि नगन्य भएको र तथ्याङ्कको सहज उपलब्धताको आधारमा यो लेखमा सन् १९८६ र त्यस पछिका तथ्याङ्क मात्र समावेश गरिएको छ।
लेखमा समावेश सबै तथ्याङ्कहरूका श्रोत U.S. Department of Homeland Security (अमेरिकाको गृह मन्त्रालय) हो। यी तथ्याङ्कहरू लेखकले एनआरएनए अमेरिकाको जुन १५-१६, २०१८ मा सनफ्रान्सिस्कोमा सम्पन्न पहिलो विज्ञ सम्मेलनमा प्रस्तुत गरेको कार्यपत्रमा समावेश थिए।
विषयवस्तुको आधिकारिताका लागि यो आलेखमा अमेरिकामा स्थायी बसोबासको प्रमाणपत्र (ग्रिन कार्ड) लिएका नेपालीको तथ्याङ्क मात्र प्रस्तुत गरिएको छ।
ग्रिन कार्ड के हो?
ग्रिन कार्डले अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अधिकार दिन्छ।
यसबाट अदालतमा जुरीको रूपमा सेवा गर्न भने पाइँदैन। ग्रीनकार्ड लिएकाले अमेरिका प्रवेश गर्दा भिसा लिईरहनु पर्दैन। तर, अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्दा नेपाली पासपोर्ट नै प्रयोग गर्नु पर्छ। नेपालीहरूले ग्रिन कार्ड विभिन्न तरिकाले पाएका हुन सक्छन्।
जस्तै अमेरिकन नागरिकता लिएका परिवारका सदस्य मार्फत, जागिर मार्फत, धार्मिक कामदारको रूपमा, अन्तर्राष्ट्रिय सञ्चार माध्यममा काम गर्ने रूपमा, मानव तस्करीबाट दुःख पाएकाहरू र अन्य।
कुन वर्षमा कतिले लिए ग्रिन कार्ड?
आर्थिक वर्ष | ग्रिनकार्ड लिने | | आर्थिक वर्ष | ग्रिनकार्ड | | आर्थिक वर्ष | ग्रिन कार्डलिने |
1986 | 86 | | 1997 | 447 | | 2008 | 4,093 |
1987 | 78 | | 1998 | 476 | | 2009 | 4,514 |
1988 | 106 | | 1999 | 453 | | 2010 | 7,115 |
1989 | 134 | | 2000 | 617 | | 2011 | 10,166 |
1990 | 184 | | 2001 | 949 | | 2012 | 11,312 |
1991 | 174 | | 2002 | 1,138 | | 2013 | 13,046 |
1992 | 212 | | 2003 | 2,095 | | 2014 | 12,357 |
1993 | 257 | | 2004 | 2,842 | | 2015 | 12,926 |
1994 | 257 | | 2005 | 3,158 | | 2016 | 12,851 |
1995 | 312 | | 2006 | 3,733 | | 2017 | 11,610 |
1996 | 431 | | 2007 | 3,472 | | 2018 | NA |
यो तथ्याङ्कबाट के देखिन्छ भने आर्थिक वर्ष १९८६ मा जम्मा ८६ जना नेपालीले अमेरिकाको स्थायी बसोबासको प्रमाणपत्र (ग्रिनकार्ड) लिएका थिए। आर्थिक वर्ष २००२ मा १ हजारभन्दा धेरैं नेपालीहरूले ग्रिन कार्ड लिए र आर्थिक वर्ष २०११ आउँदा यो सङ्ख्या १० हजार नाघ्यो।
आर्थिक वर्ष १९८६ देखि आर्थिक वर्ष २०१७ सम्म जम्मा १ लाख २१ हजार ६ सय १ जनाले अमेरिकाको ग्रीनकार्ड पाएको तथ्याङ्कमा देखिन्छ।
सन् १९८६ को अक्टोबरदेखि सन् २०१७ को सेप्टेम्बरको अन्त्यसम्म (Fiscal Year 1986 to Fiscal Year 2017) मा जम्मा १ लाख २१ हजार ६ सय १ जना नेपालीले अमेरिकाको ग्रीनकार्ड पाएको देखिन्छ।
(बन्जाडे एनआरएनए अमेरिकाको बोर्ड अफ डाइरेक्टर हुन्।