अमेरिकाको राजनीतिमा समाहित भएर एउटा उचाई ग्रहण गर्दे गरेका हयारी भण्डारी अर्थात एचवि भण्डारीको चुनावी रणनीतिलाई नजिकबाट हेर्ने र उनले मतदाताको घरदैलोमा डोर नकिङ्गमा पुग्दै गर्दाको अनुभव समेत हेर्न र जान्न निकै कौतुहलता लागेको थियो। तीन महिनाभन्दा बढी समय नेपाल बसेर अमेरिका ओर्लिदै गर्दा एक आप्रवासी नेपालीले अमेरिकाको मूलधारको राजनीतिमा प्राथमिक निर्वाचनमा विजय हासिल गरेको कुरा आफैंमा रोचक छदै थियो।
उनको निर्वाचनको तौरतरिकासँगै अमेरिकाको निर्वाचनलाई तल्लो तहको ईकाईबाटै अनुभव लिने हुटहुटी लागेको थियो। त्यसैले हयारीसँगै चुनावी अभियानमा हिड्ने,मतदाताको कुरा सुन्ने र चुनावी प्रक्रियामा सामेल हुने अभिप्रायले यो साता उनीसँगसँगै हिड्ने योजना अनुसार पंक्तिकार उनको अभियान हेर्न हिँडेको थियो।
खासमा यस आलेखमा पंक्तिकारले समेटेका कतिपय विषयहरूले आगामी पिँढीको लागि एउटा मार्गनिर्देशक बन्न सकोस् भनेर प्रत्यक्ष देखेका र भोगेका घटनालाई आलेखको रुपमा तयार पारेको छु।
मेरिल्याण्डको वाल्टिमोर काउन्टीमा रहेको डिष्ट्रिक ८ मा स्टेट डेलिगेटसमा प्राईमेरी निर्वाचनलाई सफलताको साथ विजय हुन सफल भएका उनी पंक्तिकारसँग भेट गर्दे गर्दा अमेरिकाको पश्चिमी तटको भ्रमणबाट आएका थिए।
उनले क्यालिफोर्निया र विसकन्सिनको यात्राको अनुभव सुनाउँदै नेपाली अमेरिकनले दिएको डाढसलाई आफ्नो जिम्मेवारीवोधको रुपमा लिएको बताए।
उनी पहिलो पुस्ताको नेपाली अमेरिकनलाई कसरी मूलधारको राजनीतिमा समाहित भएर अफिसियल्ली नेपाली भाषी नीति निर्माण तर्जुमा गर्ने निकायमा पुगेको हेर्ने चाहनामा नेपालीहरुको सहानुभूति पाएकोमा पुलकित थिए।
पहिलो पुस्ता भनेर भन्नुको तात्पर्य नेपालीहरु अमेरिकामा अलि वाक्लो गरि आएर स्थायी वसोवास गर्न थालेको दुई दशक मात्र भएको यहाँ सन् ८० कै दशकमा आउनुभएका मेरिल्याण्डमा वस्नुहुने डा.श्याम कार्कीले पंक्तिकारसँगको भेटमा बताउँदै आउनुभएको छ।
ह्यारी आफ्नो जिम्मेवारी पूरा गर्ने सिलसिलामा निर्वाचनको प्रचार, भेटघाट र समन्वयका लागि स्थापना गरिएको अफिसमा बिहान आठ बजे उपस्थित भईसकेका थिए। वाल्टिमोरको डिष्ट्रिक ८ मा पर्ने व्लेयर रोडको कार्यालयमा बिहानको कफिसँग उनी भन्दै थिए, ‘हामीहरू करिब ५ लाख नेपाली भाषी यो कर्मभूमिमा अवसरको खोजीमा दौडिरहेका छौं, त्यसमध्येको एक म हुँ,’ उनले भने। अफिस पुगेको केही वेरमा उनले “डोर नकिङ्ग ” ( घर घरमा पुगेर मतदातासँग मत माग्ने या आफनो एजेण्डा भन्ने ) को लागि दिएको पाँच पान्ने कागज समातेर निस्किए, उनीसँगै हामी पनि उनले गरेका काम र भनेका कुरालाई पछयाउँदै थियौं, करिब एक दर्जन घरधुरीमा आफ्नो भेटघाट गर्ने थिए उनी त्यही क्रममा नेपाली मूलका अमेरिकन एक बस्नेतको घरमा पुगे।
करिब ८० हजार घरधुरी रहेको उनको यो क्षेत्रमा ३ सय जति नेपालीहरुको घर भएको उनीसँग अपुष्ट तथ्यांक छ। उनी भन्दै थिए –यसरी नेपालीको घर नै ढक्ढक्याउनु पाउनु मेरो लागि एउटा अवसर र भाग्य हो। संयोग उनी जुन घरमा पुगे, त्यो घरमा एक दम्पत्तिसहित करिव चार वर्षको नेपाली अमेरिकन वालक वस्ने रहेछन्, उनले त्यहाँ भोट त माग्न परेन, एउटा आफ्नो टिचर फर स्टेट डेलिगेटस लेखिएको साईनवोर्ड गाडे, उनले साईनवोर्ड गाड्दै गर्दा पंक्तिकारसँग भने – “मैले यो साईन वोर्ड नेपाली अमेरिकनको घरमा गाड्दै छु तर यो साईन वोर्ड उ ती वालकको भविष्यलाई यो अवसरको भूमिमा एउटा वीऊको रुपमा रोपेको अनुभूति हुन्छ।’
लोकेशन हेर्दै उनी घर ढकढक्याउन पुग्थ्ये, अमेरिकामा हरेक घरमा नम्बर राखिएको हुन्छ , आमने सामने घरको नम्बर एउटा लहरमा विजोडी र अर्को लहरमा जोर नम्वर टाँसिएको हुन्छ, त्यही नम्वरको आधारमा घर पत्ता लगाउन निकै सजिलो बनाईएको हुन्छ। कतिपयले ढोका खोल्न नमान्दै गर्दा उनी आत्मविश्वासका साथ भन्थे – म एक शिक्षक हुँ, तपाईँको छिमेकमा पढाउँछु। जब उनी यसरी आफ्नो परिचय तेस्र्याउँदथ्ये अनि ढोका उघारेर उनका कुरा सुन्न ती घर धनी तयार हुन्थे। अनि उनी आफ्नो एजेण्डा र चुनावी अभियानको वारेमा व्याख्या गरिरहन्थे। कतिपयले आफ्नो स्थानीय मुद्दाहरूलाई सम्बोधन गर्न भनिरहेका हुन्थे भने कतिपय स्वास्थ्य र शिक्षा, उच्च शिक्षाको अध्ययनको अवसर लगायतका विषयमा आफ्ना प्रश्न तेर्स्याएका हुन्थे।
अनि हयारी मतदाताहरुलाई आफ्नो नीतिको वारेमा जानकारी दिँदै उनीहरुको जिज्ञासा शान्त पार्ने प्रयासमा हुन्थे। उनी आफूलाई नेपाली अमेरिकन भनेर परिचय दिईरहँदा यो विशाल भूमिमा उनी स्थायी राजदूत बनेर नेपाल कै परिचय पस्किरहेका अनुभूति हुन्थ्यो।
अनि भूपू नेपाली भनेर हुर्मत लिएर जनताको करमा राज गरिरहेका स्वघोषित जनताका नेताको कर्कश आवाज कानमा ठोकिएको अनुभूति हुन्थ्यो।
मेरिल्याण्डको ८७ डिग्री फरेनहाईटको ताक्रममा आफूले खाईपाई आएको जागिरलाई थाँती राखेर पसिनाको धारा सहित उनी जब ढोका ढक्ढक्याउने गर्दथ्ये। अनि भित्रबाट मैले तिमीलाई प्राईमेरीमा नै भोट हालेको भनेर आफ्नो घरको छेऊमा उनको नारा अंकित साईन गाड्न अनुमति दिएपछि ह्यारीमा एउटा विजयी भाव अनुहारमा छचल्किने गर्दथ्यो।
अमेरिकाको निर्वाचनमा आफूले बाँढ्ने सामाग्री र घरको यार्डमा गाडिने नारा अंकित साईन घरधनीको अनुमति विना टाँसिनु दण्डनीय मानिन्छ।
एउटा परिवारको सदस्य, म स्थानीय स्कूलमा अध्यापन गराउँछु र म काम गर्ने वर्गको हितको लागि खटेको छु भनेर उनी ढोका हान्न तम्सिरहेका हुन्थे अनि नो डेमोक्रयाट भन्नेहरुले पनि उनको प्लायर लिएका कतिपय दृश्यहरु आँखामा कैद हुँदै गर्दा उनको चुनावमा हारजित आफ्नो ठाउँमा होला। तर, मतदाताको मन जित्न र आफ्ना एजेण्डा स्पष्ट रुपमा राख्न उनी सफल भएको अनुभूति अनेकौ क्रिया प्रतिक्रियाबाट गर्न सकिन्थ्यो।
दिनभरि चुनावी अभियानमा होमिएर उनी साँझ आफ्नो रिपोर्ट लिएर अफिसमा आएपछि क्याम्पेन म्यानेजरहरुसँग जब अन्तर्क्रिया गर्दथ्ये अनि उनीहरु पनि ह्यारीको कौशल र चुनावी रणनीति सफल हुनेमा ढाडस दिन्थे।
शनिबारको बिहान उनको डिष्ट्रिकका तीनै जना उम्मेदवारहरु जम्मा भए र आफ्नो आफ्नो कार्यक्षेत्रमा बाँडिएर हिँडे। एउटा स्कूलको प्राङ्गणमा बसेर उनीहरु शिक्षाको विषयमा छलफल गर्दे थिए, ह्यारीले आफ्ना टीमका साथीहरुलाई भन्दै थिए, ‘शिक्षा यस्तो विषय हो, जुन केवल विश्वविद्यालयको डिग्राीले मात्र पनि पूरा नहुने रहेछ। त्यसैले हामीहरु अनुशासित, क्षमतावान र देशप्रति प्रतिवद्ध व्यक्तिको शिक्षामा जोड दिऔं।’
उनको विचारलाई मनन गर्दे मैदानमा सँगै उत्रिएकाहरु उक्त दिनको एजेण्डा यही बनाएर मतदाता आकर्षित गर्ने भनेर आफ्नो गन्तव्यमा गए। साँझ त्यो दिनको मूल्यांकनमा उनको आईडिया सफल भएको प्रतिक्रिया पाएपछि उनी भन्दै थिए, “हामी नेपाली अवसरको खोजीमा अवश्य छौं,अवसर पाएको खण्डमा प्रतिस्पर्धामा उत्रिन सक्ने क्षमता वोकेका छौं भन्ने लाग्छ।”
मौसम अनुसार पानी पर्ने तरखरले छिटा हान्न लागिसकेको थियो, त्यही वेला हामी फर्कन बल गर्दे थियौं,उनी भने एउटा ढोकामा पुगेर आउने भन्दै हामीलाई लिएर गए, जुन ढोकामा उनी पुगे ,त्यो ढोकामा उनले विहानै मात्रै अन्र्तवार्ता दिएर आएका स्कूलकी सहायक अध्यापिका भेट भईन्। उनले आफ्नो घरमा भएका सबैलाई चिनाउँदै भनिन् – “यी व्यक्ति एक असल र ईमान्दार शिक्षक रहेछन्, यस्तो व्यक्ति अहिलेको नीति निर्माण तहमा पुने हो भने हाम्रो यो क्षेत्र निकै अगाडि बढेको पाउनेछौं।’
मैदानबाट यसरी फर्किएपछि उनी दिनभरि फण्ड रेजिङ्गका लागि प्रयत्न गरेका स्वयंसेवकसँग सोध्थ्ये, अनि कोकसँग कस्तो कुराकानी भएको भन्ने विषयमा सानो नोटसहित स्वयंसेवकले रिपोर्ट दिएपछि उनी कतिपय आफूलाई सामाजिक अभियन्ताको रुपमा चिनाउन प्रयत्न गर्नेहरु र दिनहुँ खादा र माईकमा रमाउनेले आफ्नो प्रयत्नलाई चिन्न नसकेको उनी पाउँथ्ये।
त्यही मेसोमा एक युनिभर्सिटीमा पढ्दै गरेका विद्यार्थी जसले स्वयंसेवकको भूमिका पनि निर्वाह गरेका छन् उनले व्यङ्गात्मक शैलीमा जवाफ दिए,– ‘दाई परदेशमा सिगौरी खेल्न, सोझा साझा नेपालीलाई अनेकन नाममा व्यापार गर्ने र कसलाई लडाउने फुटाउने भन्ने फुर्सद छैंन कसरी हाम्रा अभियन्ताहरुको अनि यस्तो मूलधारको राजनीतिमा समाहित गर्ने विषय प्राथमिकतामा पर्छ त?’
उनीसँगको सँगै यात्राको अन्तिम दिनको बिहान उनले डेमोक्रयाट पार्टीको मेरिल्याण्डको टाउसनमा रहेको कार्यालयमा लिएर गए, जहाँ केही दर्जन कंग्रेसम्यान ,केन्द्रीय पदाधिकारीहरु उमेदवारहरु बिच छलफल चलिरहेको थियो।
त्यही बेला एक जनाले आफ्नो बोल्ने पालोमा ह्यारी यहाँ एक सम्भावना भएका व्यक्ति हुन् , उनले हाम्रो पार्टीको कोर्समा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् भनेर प्रशंसा गरे।
शायद उनी जस्तै धेरैको यस्तै अभिव्यक्ति या आँकलनलाई मध्यनजर गर्दे वाल्टिमोरको चर्चित पत्रिका वाल्टिमोर सनले उनलाई एक उदयीमान नेताको रुपमा प्रस्तुत गरेको होला।
यसरी अगाडि बढिरहेका ह्यारीले आफ्नो कामलाई जसरी अगाडि बढाईरहेका छन्, उनलाई विगतमा जस्तै धेरै मनकारी नेपालीहरुको साथमा साथ र काँधमा काँध चाहिएको छ। शायद यसको लागि उनलाई आर्थिक सहयोगमा कसैले पनि कन्जुस्याई नगर्नू हुन अनुरोध गर्दछु।
किनकि, उनले आफ्नो आर्थिक व्यवस्थाको लागि मात्र यो गरेका भए, उनले शिक्षक हुँदा कमाउनेभन्दा यदि चुनाव जितेको खण्डमा आफ्नो आम्दानी तीस प्रतिशतले कटौती हुनेछ।
तसर्थ अन्तिममा पंक्तिकार अमेरिकामा आफ्नो वालवालिकाको भविष्यको लागि बसेको भनेर प्रतिक्रिया दिनुहुनेहरु सहित सम्पूर्णलाई अपिल गर्न चाहन्छ निर्वाचन आउन बाँकी रहेको ९० दिनको समयलाई सदुपयोग गरेर काँधमा काँध र हातमा हात दिएर एक आप्रवासी नेपालीको सपना साकार पार्न बल गरौं।
सबैले आफनो सहयोगी मनलाई उदारताका साथ अगाडि बढाउन कुनै कसर बाँकी नराखौं। आखिर नोभेम्वर ६ तारिखको दिन निर्वाचन सकिएपछि केही कुराको अभावले हाम्रो सपनालाई अधुरो बनाएको आरोप खेप्न नपरोस्। उखानै छ नि ‘मौकामा हीरा फोर्नू’ नेपाली यही उखानलाई मनन गरौं, नेपालीलाई अमेरिकाको मूलधारको राजनीतिमा समाहित गरौं।