जुन १६ र १७ तारिक सन् २०१८ मा अमेरिकाको स्यानफ्र्यान्सिसको शहरमा गैर आवासीय नेपाली संघ, अमेरिकाको पहिलो वार्षिक साधारण शभा र अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएन-आइसीसी) ले पहिलो पटक उत्तर अमेरिका क्षेत्रमा रहेका नेपाली विज्ञ डायस्पोराको एउटा ‘विज्ञ भेला’ भेला गरेको छ।
एनआरएनको स्थापनाकालिन उद्धेश्यमध्ये एउटा प्रमुख उदेश्य भए पनि पहिलो पटक मात्रै यस्तो सम्मेलन सम्पन्न गर्ने अवसर भने स्थापनाको १५ वर्षपछि मात्र उपलब्ध भएको छ।
विज्ञ भेलाको समापन अगाडि भएको समिक्षा बैठकमा उपस्थित कार्यपत्र प्रस्तोता, विभिन्न विशेषज्ञ समितिका सभापति, सह-सभापति र सदस्य, बिज्ञ भेलाको आयोजन गर्न गठित बिज्ञहरुको समिति तथा सल्लाहकार समूहका सदस्यले यो कार्यक्रम सन्तोषजनक रुपमा सम्पन्न भएको निस्कर्ष निकाले।
सम्मेलनमा प्रस्तुत कार्य पत्रको संक्षिप्त रूप सम्मिलित पुस्तक तथा निस्कर्षबारेको स्वेतपत्र समेत प्रकाशन गर्ने तयारी गरेको छ। यसैबीच सम्मलेनका केही मुख्य उपलब्धि बारे जानकारी दिन यो आलेख तयार गरिएको हो।
आयोजक संस्थाका तर्फबाट औपचारिक रूपमा संक्षिप्त प्रेस वक्तब्य विज्ञ सम्मेलनको समापनकै अवसरमा जारी गरि सकिएकै छ।
विज्ञ भेलाका सहभागी
गैर आवासीय नेपाली समुदायमा यस्तो खालको कार्यक्रम पहिलो पटक भएकाले ‘को होला त विज्ञ?’ भन्ने प्रश्नले घर गरेको थियो। विज्ञ भेलामा सहभागी हुन चाहिने आवस्यक योग्यता के होला? विज्ञ हुनलाई के चाहिन्छ? यस्तो बिज्ञता पहिचान गर्ने आधार के होला भन्ने उत्सुकता हुनु स्वभाविक पनि हो।
पहिलो पटक भएको विज्ञ भेलामा नेपाल र नेपालीप्रति माया गर्ने, आफ्नो विषयमा विज्ञता हाशिल गरेका धेरैले सहभागि जनाएका थिए। कार्यपत्र प्रस्तुत गर्ने अधिकांश प्रस्तोता अमेरिकाको विश्वविद्यालय र विभिन्न अनुसन्धान संस्थामा कार्यरत विद्याबारिधि (पीएचडी) प्राध्यापक/वैज्ञानिक थिए भने अन्य सरकारी सेवा तथा ब्यवसायमा कार्यरत विज्ञको सहभागिता थियो।
कार्यक्रममा अमेरिका, क्यानडा, बेलायत, जापान, मलेसिया, जर्मनी, रसिया, साइप्रसलगायतका देशबाट सहभागिता थियो।
छलफलको विषय
विज्ञबाट प्राप्त कार्यपत्रलाई विभिन्न सात समूहमा विभाजन गरि छलफल गरिएको थियो। सात समूहमा ‘शिक्षा र विकास’, ‘विकास टेक्नोलोजी र बिग डेटा’, ‘ग्रामीण विकास तथा प्लानिङ’, ‘कृषि तथा कृषि अर्थनीति’, ‘पर्यटन तथा राष्ट्रिय स्रोत परिचालन’, ‘स्वास्थ्य प्रविधि तथा विज्ञान’ र ‘सामाजिक ससक्तिकरण र आर्थिक विकास’ थिए।
भेलामा ३०० भन्दा बढीको सहभागिता थियो। नेपालको समृद्धि र विकासमा नेपाली डायोस्पोराको भूमिकालाई अझ बृहत बनाउने विषयमा भेला केन्द्रित थियो।
संसारकै सर्वाधिक शक्तिशाली अमेरिकाका प्रतिष्ठित विश्वविद्यालय र अनुसन्धान संस्थामा कार्यरत नेपाली समुदायले आर्जन गरेको विज्ञता, सिप र दक्षता नेपालको विकास प्रयासमा कसरि जोडन सकिन्छ भन्ने कुरामा प्रस्तुत कार्यपत्रहरुमा जोड दिईएको थियो।
भेलाको उपलब्धि
एनआरएन अभियानमा अहिलसम्म पनि आर्थिक लगानीको प्रश्न सर्वाधिक चासो र चर्चाको विषय बनेको छ, अब विदेशमा सिकेको सिप र ज्ञानलाई नेपालको विकास प्रयासमा जोड्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ। हुनसक्छ भन्ने कुरा यो सम्मलेनले स्थापित गरेको छ।
अझ एनआरएनप्रति कहिल्यै चासो नराख्ने र सकारात्मक नहुने कैयौं विज्ञ पहिलो पटक यो कार्यक्रममार्फत एनआरएनसँग जोडिन आइपुगेका छन्।
यो समूहलाई एनआरएनमा क्रियाशिल हुन उन्साहित गर्न सकियो भने अहिलेको अवस्थाबाट एनआरएनलाई ‘कामकाजी’ संस्थामा रूपान्तरण गर्न सकिन्छ।
विभिन्न विषयमा कार्यरत विज्ञ/वैज्ञानिकलाई एकै ठाउँमा ल्याउने कुरा दिर्घकालिन महत्वको काम हो, यसको निरन्तरता दिन सकियो भने।
नेपाली विज्ञको काम र क्षमता र प्रस्तुतिले कार्यक्रमका सहभागीमा उत्पन उत्साह र आत्मविश्वास यो कार्यक्रमको सबैभन्दा महत्वपूर्ण उपलब्धि हो।
व्यक्तिगत क्षमताका आधारमा नेपालीहरू संसारका जोसुकैसँग पनि प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने कुरा यो सम्मेलनमा पनि प्रतिबिम्बित भएको छ। यस्तो क्षमतालाई जोड्ने पुलको काम एनआरएनले गर्न सक्छ।
कार्यक्रम तयारी र ब्यवस्थापनका दृष्टिले पनि यो कार्यक्रमको महत्व छ। अक्सर नेपालीले आयोजना गर्न कार्यक्रममा सुरू हुन हुने ढिलाईको रेकर्ड यो सम्मेलनले तोडेको छ।
समयमा कार्यक्रममा उपस्थित हुन नसकेकोमा केही छुटेको महसुस गर्ने सहभागी पनि यो पटक देखा परे। आगामी दिनमा यो कुरालाई निरन्तरता दिने चुनौती सबै कार्यक्रमका आयोजकमा थपिदिएको छ।
कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रको प्रकाशन तयारीको काम सुरू भएको छ। विस्तृत कार्यक्रम तथा संक्षिप्त स्वेतपत्र प्रकाशन पछि यो सम्मेलनको उपलब्धिलाई कार्य रूपमा लागू गर्न एनआरएन तथा नेपाल सरकार र सम्बन्धित सबैलाई सहज हुनै छ।
(लेखक सम्मेलन तयारीका लागि गठित समितिकाका सलाहकार हुन्)