नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्धेश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधिसहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झाँकी तथा प्रदर्शनी गरेका छन्।
उक्त शहरमा चलिरहेको हर्नडन मेलामा करिब ८० हजारदेखि १ लाखसम्म अमेरिकनको सहभागिता हुने अवसरलाई प्रयोग गर्दै अबदेखि हरेक साल झाँकी गरिने जानकारी आयोजकले दिएका छन्।
यहाँका तीन वटा आयोजक स्थानीय संस्थाहरू आदर्श नेपाली समाज, एनआरएनए भर्जिनिया च्याप्टर र श्री ओमकीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयास स्वरुप उत्तरी भर्जिनिया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम शुरु गरिएको बताए।
कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्कोर हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना शन्देश दिएका थिए।
सांसद कनल्लीले आफ्नो शुभकामना सन्देशमा भर्जिनिया जहिले पनि विविधतामा विश्वास गर्ने भएकोले नेपालीको र्यालीलाई स्वागत गर्दै नेपालमा भूकम्प गएको बेला यसै क्षेत्रको फेयरफ्याक्स काउन्टीबाट ठूलो स्वयंसेवक समूह बनाइएको स्मरण गराए।
प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीले नेपाल चिनाउने यस प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवश्यक सहयोग गर्ने बताए।
हर्नडन शहरकी उपमेयर जेनिफर बेकरले हर्नडनमा आफूले पहिलो पटक यसरी नेपालीलाई भेट्ने मौका पाएको र नेपालको कला र संस्कृतिबाट धेरै नै प्रभावित भएकोले आफू नेपाल घुम्न जान आतुर रहेको बताइन्।
शहर काउन्सिल मेम्बर बिल मकेनीले नेपाली समुदायका समस्या समाधान गर्न आफूले जस्तोसुकै प्रयास पनि गर्ने बताए। अतिथीलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरु प्रस्तुत गरेर देखाएका थिए भने आदर्श नेपाली समाजका तर्फबाट प्रदीप ढकालले नेपाली र नेपालको झलक तथ्य परक रुपमा प्रस्तुत गरेका थिए।
त्यसपछि नेपाली समुदायले हजारौं अमेरिकनको सहभागिता रहेको स्थानीय हर्नडन मेला चलिरहेको स्थानहुँदै नेपाली र अमेरिकन झण्डा र ब्यानरसहित नगर परिक्रमा गरेका थिए।
सो झाँकी प्रदर्शनीमा नेपाली र अमेरिकी राष्ट्रिय गीतका साथै सगरमाथाको देश नेपाल, गौतम बुद्ध जन्मेको देश नेपाल जस्ता नाराहरु गुन्जाइएको थियो।