नेपाली महिलाहरुको संस्था एनडब्लुजिएन न्यूइंगल्याण्ड च्याप्टरले अमेरिकी सरकारले रद्ध गर्नलागेको अल्पकालिन संरक्षण दर्जा (टेम्पोररी प्रोटेक्टेड स्टाटस)बारे जानकारीमूलक परामर्श कार्यक्रम गर्ने भएको छ ।
गत महिना अमेरिकी सरकारले २०१५ देखी ९ हजार नेपालीलाई दिँदैआएको टिपिएस सुविधा २०१९ को जुन २४ देखी खारेज गर्ने घोषणा गरेको थियो।
आगामी मे २६ मा बोष्टन क्षेत्रको समरभिलमा आयोजना गर्न लागिएको उक्त परामर्शमा अध्यागमन वकिल चन्दा थापाले अध्यागमन सम्बन्धी उपयोगी
जानकारीहरु दिने च्याप्टरकी अध्यक्ष रुक्मिणी कार्कीले जानकारी दिइन्।
आगामी वर्षको जुन २४ अगाडि आफ्नो स्टाटस परिवर्तन नगरे टिपिएसमा रहेका सबै नेपालीले स्टाटस गुमाउने छन् । स्टाटस गुमेपछि उनीहरु कानुनी रुपले अमेरिका बसिरहन पाउँने छैनन्।
कार्कीका अनुसार टिपिएस भएका नेपालीहरुले आफ्नो अध्यागमन स्टाटसका बारेमा कानुन व्यवसायीलाई प्रश्न सोध्न सक्नेछन् । उक्त परामर्श कार्यक्रम ५ मिडलसेक्स एभिन्यू, समरभिल म्यासाचुसेट्समा दिउँसो १ वजेदेखी ४ वजेसम्म हुने कार्कीले जानकारी दिइन्।
तीन वर्षअघि नेपालमा विनाशकारी भूकम्प गएपछि अमेरिकी सरकारबाट नेपालीहरुले टिपिएस प्राप्त गरेका थिए। म्यासाचुसेट्समा टिपिएसमा रहेका नेपालीको संख्या करिब साढे ५ सय छ ।
भिसाको म्याद गुज्रिन लागेका तर भूकम्पका कारण नेपाल फर्किन सम्भव नभएका नेपालीका लागि लक्षित गरी उक्त अल्पकालिन संरक्षण दर्जा अर्थात
टिपिएस प्रदान गरिएको थियो।
उक्त सुविधाबाट विद्यार्थी भिसाका डिपेन्डेन्ट र दक्ष कामदार भिसाका डिपेन्डेन्टले पनि लाभ लिएका थिए।