गैर आवासीय नेपाली सङ्घ (एनआरएन) को अन्तर्राष्ट्रय समितिदेखि लिएर एनआरएन अमेरिकाको राष्ट्रिय समितिसम्म अहिले विभिन्न विभाग गठन गर्ने र संस्थामा 'बफादार' भनिएकालाई मनोनीत गर्ने प्रक्रिया बढेको छ। आफ्ना नाजिकका सबैलाई कुनै पदमा मनोनीत गरेको आरोप खेपिरहेको एनआरएनले धेरै राम्रा काम गरेको भए पनि पछिल्लो मनोनयनको प्रक्रियाले केही हद सम्म आलोचनाको सामना गर्नुपरेको छ।
पदमा मनोनीत व्यक्तिहरूको समाजसेवा प्रतिको चाह, उनीहरूको योग्यता र विषयवस्तुको ज्ञानलाई मध्यनजर नगरी गरिएका यी मनोनयनले पद र संस्थाको गरिमा लाई घटाएको महसुस गरिएको छ।
विगत दुई महिनादेखि सुरु भएको एनआरएनको मनोनयन अहिलेसम्म पनि जारी छ र यो सिलसिला कहिलेसम्म जारी रहने भन्ने लेखाजोखा छैन ।
एक अनुमान अनुसार अहिले संसारभरि तीनहजार भन्दा बढी नेपाली सङ्घ संस्थाहरू होलान् । यति धेरै संघसंस्थाहरुमा 'नेपाल सरकार, परराष्ट्र मन्त्रालय, काठमाडौँ'को छाप लागेको संस्था एनआरएन मात्र हो। धन माथिको रातीगेडी हुनुपर्ने यो संस्थामा आफ्नै सदस्यद्वारा आलोचित हुनु सुखद् सन्दर्भ हुँदै होइन । एउटा बेलगाम घोडा झैँ अर्थात जम्बो मन्त्रिमण्डल बनाएर सरकार टिकाउन बाध्यतामा जकडिएको हङ्ग पार्लियामेन्टबाट निर्वाचित प्रधानमन्त्रीलाई झैँ के गाह्रो पर्यो एनआरएनलाई नुन र सुनलाई एउटै बकेटमा राख्नुपर्ने ? प्रश्नहरू धेरै उब्जिए। जताततै सुनिने गरेको पेन ड्राइभबाट निर्माण भएको नेतृत्वको आफ्नै बाध्यता पनि होलान् ।
एनआरएनको वर्तमान नेतृत्त्वले योग्यता नजाची मनोयन गर्नुका कारण यो विवादको सृजना भएको देखिन्छ। मेगावाट र किलोवाट नबुझ्नेहरु जब बिधुत उत्पादनमा, प्राविधिक तथा व्यावसायिक शिक्षा नै नबुझेकाहरू प्राविधिक शिक्षा व्यवस्थापनमा, अर्थ नबुझ्नेहरु अर्थ व्यवस्थापनमा, एउटा कविता समेत नलेखेकाहरू साहित्यिक उपसमितिमा मनोनीत भएका छन् ।
एनआरएन विधानको परिच्छेद २ को खण्ड ५ परिभाषाको बुँदा नं. ५.१ अनुसार 'गैर आवासीय नेपाली' को परिभाषाले गैर आवासीयनै नभएकाहरु जब जिम्मेवार पदमा मनोनयन हुन्छन् अनि सामाजिक सञ्जाल बधाईले भरिन्छ त्यसले पैदा गरेको सामाजिक वितृष्णालाई गलत नाजायज भन्न मिल्दैन ।
गत अक्टोबर तेस्रो साता काठमाडैाँमा भएको सम्मेलनबाट पारित गैर आवासीय नेपाली सङ्घ २००३ को २०१७ को संशोधन सहित बनेको विधान अनुसार यतिखेर १४१ सदस्यीय अन्तर्राष्ट्रिय समन्वय परिषद् कार्यकारिणी समिति, सो कमिटीलाई सहयोग गर्न १६ सदस्यीय प्याट्रन तथा सल्लाहकार समिति अनि ५१ सदस्यीय अनररी काउन्सिल गठन भैसकेको छ। सोही विधानको दफा १७.८ अनुसार ५४ वटा कार्यदल तथा टास्कफोर्सहरू गठन बेजोड ढङ्गले गठन भैरहेका छन् । ५४ मध्ये ३३ कमिटी बन्ने क्रममा छन् । हालसम्म गठित कमिटीहरू मध्ये सदस्य तथा सल्लाहकार गरी 'ओपन युनिभर्सिटी' कमिटी-५२, स्पोर्ट्स एण्ड युथ-४९, फाइनान्स एण्ड सस्टेनिबिलिटि-४५, पोलिसी एण्ड प्रोसिड्युर-४४, फोरेन इम्प्ल्योइमेण्ट एंड रिलिफ-४६, वन एनसीसीवन च्यारिटि-४२, टुरिजम प्रोमोसन-४९, उज्यालो नेपाल-४४, प्रोमोसन अफ नेपाली गुड्स अब्रोड-४४, हेल्थ एण्ड हाइजिन-४१ सदस्यीय (यहाँ सम्पूर्ण सङ्ख्या राख्दा लामो हुने भएकोले प्रस्तुत नगरिएको) एवम् रीतले जम्बो कमिटीहरू गठन भएका रहेछन्।
दक्ष, सक्षम र अनुभवीहरूले प्राय: कमिटी तथा टास्क फोर्सको नेतृत्व गरेको हुँदा परिणामको अपेक्षा भने गर्न सकिन्छ तर कमिटीको साइज हेर्दा कतै काम गर्न सक्ने र चाहनेलाई पनि त्यो भीडले अप्ठेरो पार्ने त हैन भन्ने सहज आशङ्का हुन्छ। सर्सर्ती हेर्दा एनआरएन आईसीसीको कार्यकारिणी समितिदेखि टास्कफोर्स सम्म मात्र एकहजारका हाराहारीमा सदस्य हुने देखिन्छ। सङ्ख्या आफैँमा शक्ति हो जब यो सदुपयोग हुन्छ र अर्थपूर्ण ढङ्गले निर्माण गरिन्छ। आशङ्का यति मात्र हो जम्बो कमिटीहरू निर्माणको पछि अर्को चुनावको प्रपञ्च त छैन ? यतिखेर सबै कमिटीहरूका बाँकी डेढ वर्षमा २/३ वटा मिटिङ्ग बसुन, कम्तीमा कमिटीमा भएका सबैले एक अर्काको परिचय पाउन, अनि जे जति सकिन्छ आफ्नो कार्यक्षेत्रमा छलफल होस्।
यी त भए आईसीसीका कुरा । ७८ देशमा रहेको राष्ट्रिय समन्यव परिषद्ले अन्तर्राष्ट्रिय समन्यव परिषद्को सिको गरेर त्यसै गरी कमिटी गठन गरिरहेका छन् । मेरो उद्देश्य कमिटी निर्माणमा असहमति जनाउनु हैन । मात्र जथाभाबी योग्य-अयोग्य सबै एउटै बकेटमा राख्दा हाल सदस्य नरहेको तर बाहिर बसेर गतिविधि नियालिरहेको निमित्त संस्थाप्रतिको आकर्षण भन्दा विकर्षण पो हुने हो कि भन्ने डर र शङ्का मात्र हो।
यो आलोचनाका बाबजुद पनि निकै राम्रा काम पनि नगरेको होइन एनआरएन आईसीसीले। सन् २०१५ को भूकम्पमा नेपाल सरकार भन्दा पहिला उद्धारमा जुट्नेहरु थिए एनआरएन। नेपाल सरकारको पुनर्निर्माण प्राधिकरणसँग सम्झौता गरेर लाप्राकमा ५७३ घर निर्माण कार्यको जिम्मा लिएको छ। बागमती शंखमूलघाट नजिकै एनआरएनए पार्क निर्माण हुँदैछ। एनआरएनकै १५ करोड आर्थिक सहयोगमा निर्माण हुने यो पार्क सम्भवत नेपालकै नमुना हुनेछ ।नेपाल हाउस अर्को उत्कृष्ट प्रोजेक्ट हो। नेपाली हस्तकला, संस्कृति र पहिचान को परिचय गराउन सकिने प्यागोडा शैलीका नेपाल चिनाउने भवन नेपालीहरू को बसोबास रहेको देशमा निर्माण गर्ने यस योजना अन्तर्गत हाल सम्म जापान, दक्षिण कोरिया, रसियामा निर्माण भैसकेका छन्। अन्य मुलुक पनि अर्थ सङ्कलनमा जुटेको छ।
त्यसै गरी पशुपति क्षेत्रमा निर्मित किरियापुत्री भवन, त्रिभुवन विमानस्थलमा वितरित ट्रली, नेदरल्याण्डको हेगमा अन्तर्राष्ट्रिय न्यायालय अगाडी प्रतिस्थापन गरिएको शान्तिका प्रतीक बुद्धको प्रतिमा, नेपालकै देबघाटमा निर्माणाधिन बृध्दाश्रम, बाढीपैरोको आकस्मिक कोषमा संकलित चार करोड सहयोग, नेपालकै सुर्खेत, कंचनपुर, नुवाकोट र दमकमा सञ्चालित प्राविधिक तालिम केन्द्रबाट हालसम्म ११९८ ले तालिम तथा रोजगारी प्राप्त गरिसकेका छन्। त्यसै गरी एनआरएन अमेरिकाकाज क्षेत्रका निबर्तमान क्षेत्रीय संयोजक सोनाम लामाको एक करोड ४० लाख सहयोगमा मुक्तिनाथमा निर्माणाधिन ३२ फिट अग्लो ढुङ्गाको बुद्ध मूर्ती स्थापना, खुल्ला विश्वविद्यालयको अवधारणामा द्रुत गतिमा अघिबढिरहेको छ।
एनसीसीले पनि राम्रा कार्यहरू गरेका छन् । तर यी सबै हुँदाहुदै पनि, भएका कामले भन्दा मनोनयनले प्राथमिकता पाएको छ।