अमेरिकास्थित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ मे १८ देखि २० सम्म हुने घोषाणा गरेको छ। वासिङ्गटन डिसी क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने दोस्रो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको सोसाइटिले जनाएको छ।
नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशन लगायत सबै विधाका चलचित्रहरुको आवेदनका खुला गरिएको बिज्ञप्तिमा जनाइएको छ।
नेपाल बाहेक अमेरिका, दक्षिण एसिया सहित विश्वभरी बनेका चलचित्रहरु यस महोत्सवले उच्च प्राथमिकतामा राख्ने जनाइएको छ। महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता/निर्देशक तथा कलाकारसंग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिनेछ। अतिरिक्त चलचित्रका विभिन्न विधामा आधारित भएर विषयगत छलफल तथा कार्यशालाहरुको पनि आयोजना हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिनेछ। महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसंगको सहकार्यमा आयोजना गरिनेछ।
चलचित्रको आवेदन अनलाइन मार्फत दिन सकिने व्यवस्था गरिएको छ र फिल्म सोसाइटीको कार्यालय अमेरिकाको ठेगानामा सिधै आवेदन पठाउन पनि सकिने छ। नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने छन्।