अमेरिकाका ६० प्रतिशत युवाले नयाँ दल चाहेको एक सर्वेक्षणले देखाएको छ।
एनबिसी न्यूजले गरेको एक सर्वेक्षणकाअनुसार अमेरिकामा हाल रहेका डेमोक्रयाट र रिपब्लिकनभन्दा अर्कै दल चाहेको उनीहरूले बताएका छन्।
अक्टोबर २६ देखि नोभेम्बर १० सम्म गरिएको सर्वेक्षणमा ती दुई राजनीतिक दलले अमेरिकामा राम्रो काम गर्न नसकेको गुनासो उनीहरूको छ। त्यसैले, उनीहरूले यी दुईको सट्टामा अर्काे राम्रो कामगर्ने दल चाहेको बताएका हुन् ।
उक्त सर्वेक्षणमा सहभागी भएकामध्येका ६० प्रतिशत युवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरिरहेको कार्यसम्पादनको विरोध गरेका छन् ।
उनीहरूले राष्ट्रपति ट्रम्पको कार्यशैली नरुचाएको र उनले जारी राखेका कामहरू जनताले मन पराउने खालका नरहेको पनि बताएका छन् ।
संयुक्त राज्य अमेरिका हाल सबै राजनीतिक विषयहरूमा गलत दिशातर्फ उन्मुख भइरहेको उनीहरूले जनाएका छन् ।
राजनीतिक दलले जनताको वास्ता नगरेकोले आफूहरूले अर्कै दल चाहेको उनीहरूले बताएका छन्।
राष्ट्रिय रूपमा नै प्रतिनिधित्व हुनेगरी उक्त सर्वेक्षणमा विभिन्न जात जाति, वर्ग र क्षेत्रका आधारमा नागरिकलाई संलग्न गराइएको थियो ।
विभिन्न क्षेत्र, वर्ग र समुदायका गरी १ हजार ८७६ जना १८ वर्षदेखि ३४ वर्ष उमेर समूहका युवाहरूलाई सो सर्वेक्षणमा सहभागी गराइएको थियो।