गुल्मीका पर्यटकीय स्थलहरूमा स्वदेशी तथा विदेशी अतिथि सत्कार गर्न गुल्मीको रेसुंगा नगरपालिकाले प्रवर्द्धनात्मक कार्यक्रम सुरू गरेको छ।
'जाऊ हिँड रेसुंगा' अभियान अन्तर्गत देशमा प्रमुख सहर र छिमेकी देशहरूमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न थालिएको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी गराए।
गुल्मीका पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्ने ध्येयसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा वैशाख २० गते काठमाडौं कार्यक्रम आयोजना गरिने मेयर पन्थीले जानकारी गराए।
'पश्चिम नेपालको प्रसिद्ध ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय क्षेत्र रेसुंगामा, रुरुसहितका पर्यटकीय क्षेत्रमा अतिथि सत्कार गर्नको लागि हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्न थालेका हौं,' मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पन्थीले भने, 'पहाडी जिल्लाहरूमा जनसंख्या वृद्धिदर घट्दै गएको गाउँ बस्तीहरू सुनसान हुन थालेको अवस्थामा मानिसहरूको आवत-जावत बढाउन पनि पर्यटन प्रवर्द्धनका कार्यक्रम अघि सारिएको हो।'
उनले प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुंगामा र आसपासको क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षौंभरि विभिन्न कार्यक्रम आयोजना गरिने जानकारी गराए।
काठमाडौंमा आयोजना गरिने प्रवर्द्धनात्मक कार्यक्रममा गुल्मीका पर्यटकीय स्थलहरूको विषयमा जानकारी गराउने, त्यहाँको मौलिकता र उत्पादनहरूका विषयमा समेत जानकारी गराइने बताइएको छ। विशेष गरी पश्चिम नेपालकै प्रसिद्ध धार्मिक स्थलहरू रेसुंगा र रुरु क्षेत्रको धार्मिक महत्त्व र यस क्षेत्रको प्राकृतिक सुन्दरताका विषयमा प्रचार गर्न खोजिएको उल्लेख गरिएको छ।
यस कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रतिनिधिहरू, उच्च तहका कर्मचारीका साथै सरोकारवालाहरूलाई निमन्त्रणा गरिएको बताइएको छ।
उनले काठमाडौंसहित प्रमुख सहरहरू पोखरा, बुटवल नेपालगञ्ज लगायतका क्षेत्रमा पनि प्रवर्द्धनात्मक कार्यक्रम गरिने मेयर पन्थीले जानकारी गराए।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससँगै रेसुंगाको प्रवर्द्धनको लागि प्याकेज निर्माण गर्न आग्रह गरे।
बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुंगा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुंगाको पर्यटन प्रवर्द्धन गर्दा छिमेकी जिल्लाहरूको समेत पर्यटन प्रवर्द्धन हुने बताए।