जाडोमा परिवार, साथीसंगी, प्रेमी वा इष्टमित्रसँग घमाइलो डाँडामा घुम्ने योजनामा हुनुहुन्छ? त्यसो हो भने म्याग्दी जिल्लाको ‘टोड्के’ उपयुक्त गन्तव्य बन्न सक्छ है! त्यहाँ पहारिलो घाममा बसेर टलक्क टल्केका धौलागिरी हिमशृंखसँग आँखा जुधाउन पाइन्छ।
प्रकृति र अध्यात्मको दोभान (२,४३० मिटर)। शान्त वातावरण, दूधे हिमाल र शीतल हावा। त्यहाँबाट गुर्जा, चुरेन, मानापाथी, धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्।
टोड्केको वातावरण रोमान्टिक छ जहाँ पुग्दा तन र मन रिचार्ज हुन्छ। ऊर्जा बढ्छ। हिमाली मुस्कान, चराको चिरबिर र जंगलको हरियालीले लठ्ठै बनाउँछ।
अहिलेको मौसममा हिमाल टलक्कै टल्किएका छन्। जाडोमा हिउँ पर्न पनि सक्छ।
टोड्केलाई योग र ध्यान केन्द्रका रूपमा विकास गर्न सकिन्छ। आध्यात्मिक हिसाबले टोड्के क्षेत्रको ठूलो महत्व छ।
पुराणहरूमा कालाञ्जर पर्वतको वर्णन पाइन्छ। टोड्के पनि कालाञ्जर क्षेत्रमै पर्छ। स्वर्गद्वारी महाप्रभुलगायत धेरैले यहाँ तपस्या गरेका थिए। डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ।
म्याग्दी सदरमुकाम बेनी बजार मास्तिरको सुन्दर पहाडी थुम्को ‘टोड्के’ प्रकृति र अध्यात्मको दोभान हो। डाँडामा बसेर धौलागिरी हिमालसँग आँखा जुधाउँदा तन र मनमा ऊर्जा भरिन्छ।
बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगममा पर्छ टोड्के। टोड्के डाँडाको काखमा सुन्दर गाउँहरू छन्। पूर्वोत्तर दिशामा झीँ, पूर्वमा वाखेत, दक्षिणपश्चिममा पूर्णगाउँ र पश्चिममा कुहुँगाउँ छन्। मगर बाहुल्य गाउँमा होमस्टे सुविधा पाइन्छ।
पहिलापहिला टोड्केमा झीँ र पूर्णगाउँको गाईगोठ राखिन्थ्यो। आलु र मुला खेती गरिन्थ्यो। डाँडाको नाम टोड्के रहनुमा एउटा कथा छ। टोड्केको अर्थ प्वाल हो। जंगलमा ५० मिटर लामो सुरूङ छ। त्यो प्वालमा गाईवस्तु अड्किन्थे। तिनलाई बाघभालुले खाइदिन्थे। गाउँलेले टोड्को भएको ठाउँ भन्दाभन्दै ठाउँकै नाम टोड्के रहन गयो।
टोड्केको शिवालयमा स्वर्गद्वारी महाप्रभु र उनका शिष्यहरू पूजारी महाराज र रखाल महाराजकालगायतका सन्तको मूर्ति राखिएका छन्। शिवालय स्वर्गद्वारी आश्रम, प्यूठानको शाखा हो।
टोड्केबाट ५ घन्टा पदयात्रा गरेमा म्याग्दीकै मालिकाधुरी (३,३५० मिटर) मा पुगिन्छ। त्यहाँ एउटै थुम्कोमा त्रिदेवीको बास छ–मालिका, कालिका र जालिकाको। त्रिदेवीको दर्शनले मनोकांक्षा पूरा हुन्छ। मालिकाबाट अर्को ३ घन्टा हिँडेर विम गाउँमा बास बस्न सकिन्छ।
डाँडामा दुई रात बसेर रमाउन सकिन्छ। मधुमास मनाउन टोड्के उत्तम गन्तव्य बन्न सक्छ। त्यसैले डाँडालाई ‘हनिमुन डेस्टिनेशन’ का रूपमा ब्रान्डिङ गर्ने कि? टोड्के आफैंमा रोमाञ्चक गन्तव्य हो। यहाँ एउटा रिसोर्ट खुलेको छ।
एउटा कुरा, बेनीदेखि टोड्के जोड्ने सडक कालोपत्रे गरिहाल्नुपर्ने देखिन्छ।
कसरी पुग्ने?
काठमाडौं–बेनी २८२ कि.मि., बसमा ९ घन्टा। अथवा काठमाडौं–पोखरा हवाईयात्रा २५ मिनेट। पोखरा–बेनी ८२ कि.मि., बसमा ३ घन्टा। बेनीबाट टोड्केसम्म पदयात्रा गर्न ८ घन्टा लाग्छ। बेनी बजारको हुलाकचोकबाट अर्थुङे, गुफा (राम मन्दिर), पुलाश्रम, ढोलथान, केभहिल हुँदै टोड्के १४ कि.मि.। केभहिलभन्दा माथि ४ घन्टा पदयात्रामा कुनै वस्ती छैन।
बेनीबाट गाडीमा टोड्के पुग्ने पाँच वटा सडक छन्। सडक मार्गबाट जीप तथा मोटरबाइकमा पुग्न सकिन्छ, जीपमा डेढदेखि दुई घन्टा लाग्छ।
रुट १–बेनी, अर्थुङे, झीँ गाउँ हुँदै टोड्के १९ किमि।
रुट २– बेनी, अर्थुङे, पात्लेखेत, वाखेत गाउँ हुँदै टोड्के १५ किमि।
रुट ३–बेनी, अर्थुङे,, पुलाचौर, डढुवा, पूर्णगाउँ हुँदै टोड्के १४ किमि।
रुट ४–बेनी, सिम, कुहुँ गाउँ हुँदै टोड्के २९ किमि।
रुट ५–बेनी, गलेश्वर, पात्लेखेत, वाखेत, टोड्के १९ किमि।
रिसोर्टमा ५० प्रतिशत छुट भीम शेरचन, सञ्चालक, टोड्के हिल रिसोर्ट हामीले सामुदायिक रुपमा ‘टोड्के हिल रिसोर्ट’ चलाएका हौं। यसमा तीन दर्जनभन्दा बढी शेयर होल्डर छन्। ६ रोपनी जग्गामा खोलिएको रिसोर्टमा अट्याच बाथरुमसहितका १० कोठा र टेन्ट सुविधा छ। एकैपटक ६० जनासम्म बास बस्न सक्छन्। सेमिनार हलको पनि सुविधा छ।
हाम्रो रेष्टुराँमा नेपाली, भारतीय, चिनियाँ र कन्टिनेन्टल परिकार पाक्छ। रिसोर्टका सुविधायुक्त कोठामा एक रात बसेको २ हजार रुपैयाँ पर्छ। हामीले पुस २७ गतेदेखि जारी म्याग्दी महोत्सवका अवसरमा कोठामा ५० प्रतिशत छुट व्यवस्था गरेकाले एक हजार रुपैयाँ मात्र तिरे पुग्छ। तपाईं पनि आउनुस् है।
सम्पर्क
भिम शेरचन–९८५१०२३०३२ हेर्नुहोस् थप तस्बिरहरू