शनिबार बिहानै बुटवलको फूलबारीदेखि एक हुल मानिसहरू नुवाकोट तर्फको उकालो लागिरहेका थिए।
ट्र्याक सुट र स्पोर्ट्स जुत्तासहित स्याँ स्याँ गर्दै उकालो लागिरहेको उक्त हुलमा पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल समेत सहभागी थिए।
अग्लो कदमा रातो क्याप र निलो ट्र्याक सुटमा उकालो चढिरहेका पौडेललाई भेट्टाउन उनीसँगै रहेका कतिपय सहभागीहरूलाई भने हम्मेहम्मे परिरहेको थियो।
रूपन्देही क्षेत्र नं. २ बाट हालैमात्र पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित पौडेल सहितको टोलीलाई फूलबारीदेखि नुवाकोटसम्मको पैदलयात्रा (हाइकिङ) मा सहभागी गराउने चाँजोपाँजो भने नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल नाटा लुम्बिनीले मिलाएको थियो।
पर्यटन व्यवसायीहरूको प्रवर्द्धन तथा संवर्द्धन सँगै नाटा लुम्बिनीले पहिलो पटक ‘पर्यटनका लागि हामी, हाम्रो स्वास्थ्य र पदयात्रा’ नारासहित पदयात्राको आयोजना गरेको थियो।
हाइकिङमा पूर्वअर्थमन्त्री पौडेलसहित लुम्बिनी प्रदेशसभा सदस्य लिला गिरि, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता/कार्यकर्ता, उद्योगी/व्यवसायी र पर्यटन व्यवसायीहरूको सहभागिता थियो।
उक्त टोलीले फूलबारीदेखि नुवाकोटसम्मको साढे तीन किलोमिटर र त्यहाँदेखि पुनः फूलबारीसम्मको साढे तीन किलोमिटरको दूरी पैदलयात्रा गरेको थियो। सामान्यतया सहर नजिकका क्षेत्रहरूको पैदल यात्रीलाई नै हाइकिङ भन्ने गरिन्छ।
नाटा लुम्बिनीकी अध्यक्ष रचना पन्तले पर्यटनका लागि नयाँ गन्तव्यहरूको पहिचान गर्ने उद्देश्यसहित बुटवल–नुवाकोट पैदलयात्रा गरिएको बताइन्।
सहर नजिक रहेर पनि पर्यटकीय गन्तव्यहरूको पहिचान हुन नसकेकोले फूलबारीदेखि नुवाकोटसम्मको पैदलयात्रा गरी नाटा लुम्बिनीले हाइकिङको सुरूआत गरेको उनले जानकारी दिइन्।
‘फूलबारीदेखि नुवाकोटसम्म हाइकिङ गरी सुरूवात गरिएको यो अभियान अनुसार प्रदेशका १२ वटै जिल्लाका पर्यटकीय स्थलहरूमा प्रत्येक महिना एउटा कार्यक्रम गर्ने नाटा लुम्बिनीको योजना रहेको छ,’ पन्तले भनिन्।
हाइकिङमा सहभागी हुँदै पूर्व अर्थमन्त्री पौडेलले बुटवलको जितगढी, फूलबारी र नुवाकोट गढी नेपालको इतिहास बोकेका सामरिक महत्वका पर्यटकीय स्थल रहेको र यस्तै कार्यक्रमले यी ठाउँहरूको प्रचारप्रसार र प्रवर्द्धनमा सघाउ पुग्ने बताए।
बुटवलमा जितगढी, फूलबारी, नुवाकोटसँगै धेरै पर्यटकीय महत्वका स्थलहरू रहेको उल्लेख गर्दै तिनीहरूको महत्व स्थापित गर्ने र ती ठाउँहरूको उजागार गरी पर्यटन प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता रहेको बताए।
‘यो अभियानमा यस क्षेत्रका जनप्रतिनिधि, स्थानीय तह, राजनीतिक दल, संघसंस्था र पर्यटन व्यवसायीहरूको सामूहिक सहकार्यको आवश्यकता छ,’ पौडेलले भने।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले बुटवलदेखि नजिकै रहेको नुवाकोट गढी र अरू क्षेत्रलाई समेत हाइकिङको गन्तव्यस्थल बनाउन सके भारतीय पर्यटकहरूलाई पनि आकर्षित गर्न सकिने बताए।