कोभिड–१९ का कारण पर्यटन क्षेत्र ठप्प भएपछि समस्यामा परेका मजदुरहरूको जनजीविकालाई चलायमान बनाउन नेपाल स्वतन्त्र पर्यटन श्रमिक संघ (निटोग) ले शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जबाट ‘पुनः सुरु गरौं पर्यटन अभियान’ शुभारम्भ गरेको छ।
उनीहरूले शिवपुरी डाँडामा ‘डन्ट किल टुरिजम एन्ड वर्कस, वि वान्ट टु लिभ, वि निड वर्क फर लिभिङ, रेस्पेक्ट आवर स्किल एण्ड नलेज, नो मोर क्वारेन्टाइन, रिजुम टुरिजम, रिजुम आवर लिभिङ’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
पर्यटन सञ्चालनको वातावरण बनाउन राज्य पक्षसहित सरोकारवालालाई दबाब दिन उनीहरूले सांकेतिक रुपमा शिवपुरीमा कार्यक्रम गरेका हुन्। अब हरेक शनिबार फरकफरक पदमार्गमा यसैगरि कार्यक्रम गरिने निटोगले जनाएको छ।
‘हामी कहाँ वनजंगल पसेका हौ र? पदमार्गहरू हाम्रो कार्यथलो हो त्यसैले कर्मथलोबाटै आन्दोलन सुरु गरेका हौं। आगामी दिनमा फेरि पर्यटन कार्यालयहरूमा पनि दबाब दिनेछौं’, निटोगका अध्यक्ष रामकाजी प्रयासले सेतोपाटीसँग भने।
उनीहरूले शनिबार काठमाडौंको मुहानपोखरी (बुढानिलकण्ठ)बाट पदयात्रा सुरु गरेर नागीगुम्बा, बागद्धार हुँदै शिवपुरी डाँडामा कार्यक्रम गरि कामधेनु गाई ढुङ्गा हुँदै मुहानपोखरी फर्केका थिए।
फरकफरक विचारधारा बोकेका श्रमिकहरू जोडिएकाले अभियान सफल हुनेमा युनिट्राभ केन्द्रिय सदस्य किरण तिम्सेना विश्वस्त छन्। कार्यक्रममा पर्यटन बजार र पदयात्रा नेपाललगायत संस्थाले ऐक्यबद्दता जनाएका थिए। यो पहिलो कार्यक्रममा २५ मजदुर सहभागि थिए।
वर्ष दिन अघि स्थापित निटोगले यस अघि विभिन्न पर्यटन संस्थासँग मिलेर नेपाल पर्यटन बोर्डमा धर्ना दिने कार्यक्रम पनि गरेको थियो। पर्यटन बोर्ड, पर्यटन विभागलगायत कार्यालयलाई दबाब दिने अभियान निरन्तर जारी रहने अध्यक्ष प्रयासले बताए।