पर्साको ठोरीमा आयोजना हुने ठोरी महोत्सवमा २ करोड ५० लाखको कारोबार हुने अनुमान गरिएको छ।
पर्यटन प्रवर्द्धनका लागि आयोजित प्रथम ठोरी महोत्सव–२०७५ मा २ करोड ५० लाखको कारोबार हुने बताईएको हो।
ठोरी गाउँपालिका वडा नं २ को राईधारामा शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर अयोजक कपुरबोट मिडिया प्रा.लिका अध्यक्ष सन्तोष देउजाले महोत्सवमा भारतीय पर्यटक बढी आउने बताए।
उनका अनुसार महोत्सवको नेपाली र भारतीय गरी १ लाख पर्यटकले अवलोकन गर्नेछन् ।
‘महोत्सवको बीचमा नयाँ वर्ष पर्ने भएकाले विदा मनाउन भारतीय पर्यटकहरू बढी आउँने देउजाले दाबी गरे।
‘आन्तरिक एवम् वाह्य पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास भइरहेको ठोरी प्रदेश–२ कै गहनाका रुपमा लिन सकिन्छ। ऐतिहासिक, धार्मिक, साँस्कृतिक, जातिय विविद्यता तथा प्राकृतिक सौन्दर्यताको हिसावले रमणीय रहेको ठोरीलाई पर्यटकीय गन्तव्य बनाउने साध्यको रुपमा अघि बढाउन महोत्सवको परिकल्पना गरिएको हो,’ उनले भने।
कृषि, पर्यटन र व्यापारबाट समृद्धिको खाका कोरी, पुस १३ देखि २३ सम्म ‘जाऔँ है ठोरी’ भन्ने मुख्य नाराका साथ महोत्सव सञ्चालन हुने भएको हो।
पत्रकार सम्मेलनमा बोल्दै ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठले ठोरीको विकासको आधार कृषि र पर्यटन नै भएको बताए। उनले महोत्सवले ठोरीको पर्यटन प्रवद्धनमा योगदान पुग्ने दाबी गरे।
पत्रकार सम्मेलनमा जिल्ला समन्वय समिति पर्साका उप-प्रमुख ठाकुर न्यौपानेले ऐतिहासिक ठोरीलाई प्रदेश न २ कै पर्यटकीय मुटुको रुपमा हेरिने गरेकोले यसको सोही अनुसार प्रचार प्रसार हुनुपर्ने बताए। ठोरीको पहिचान र समृद्धिका लागि महोत्सवले योगदान पुर्याउने उनले बताए।
पर्यटकीय नगरीको रूपमा रहेको ठोरीलाई चिनाउने अभियानलाई सफल पार्न महोत्सव आयोजक समितिका जगेन्द्र पौडेलले आग्रह गरे।
ऐतिहासिक महत्वका साथ लिइएको महोत्सवको उद्घाटन नेपाल सरकारका नागरिक उड्डयन तथा पर्यटन मन्त्री रविन्द्र अधिकारीले गर्ने भएका छन्।
नेपालको सन्दर्भमा महोत्सवको आयोजना सहर केन्द्रित भइरहेको अवस्थामा ग्रामीण पर्यटनको विकासको लागि विभिन्न चुनौतीका बीच पनि ठोरीको पहिचान र समृद्धिका लागि महोत्सव कोसेढुँगा सावित हुने आयोजकको विश्वास छ।
महोत्सवका प्रेस संयोजक प्रेम लामाका अनुसार हिमाली श्रृंखलाका कारण नेपालको उत्तरी भेगको पर्यटन विकास भइरहेको पाइन्छ भने पहाडी मध्य भागको पर्यटन विकास डाँडाकाँडा तथा पहाडका साथै महत्वपूर्ण पूरातात्वीक सम्पदालाई मानिन्छ। हिमाली तथा मध्य क्षेत्रको तुलनामा तराइ–मधेसको पर्यटनको विकास अपेक्षाकृत हुन नसकी रहेको सन्दर्भमा यो महोत्सवले पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र भारतको बाल्मिकी टाइगर रिजर्ब जोड्ने संगम भूमी ठोरी हुन गइरहेको यस महोत्वसले तराई मधेसको पर्यटनको विकासलाई उचाईमा पुर्याउने काम गर्छ।
महोत्सवमा बिभिन्न जातजातिको साँस्कृतिक झाँकी प्रदर्शन, कृषि प्रदर्शनी, बैँक तथा वित्तिय संस्था, अटोमोबाइल, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक सामाग्री, गार्मेन्ट, जुत्ता तथा चप्पल, निर्माण सामाग्री, हस्तकलाका सामाग्रीहरु, एफएम सीजी, रिटेल, स्थानीय होटल तथा रेष्टुरेन्ट, चिल्ड्रेन फनपार्कलगायत १५० भन्दा बढी स्टलहरु रहने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ।
११ दिनसम्म चल्ने महोत्सवमा राष्ट्रिय, स्थानीय तथा भारतीय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ।
महोत्सव स्थलमा मदिरा किनबेच गर्न र सेवन गर्न निषेध गरिएको बताउँदै आयोजकले जुवाजन्य कुनै पनि खेल खेल्न/खेलाउन नपाईने बताएको छ ।
महोत्सव स्थलमा राखिने मनोरञ्जनात्मक पीङ, झुला लगायतका खेलहरु जडान गर्ने कार्य भइरहेको छ भने महोत्सव स्थललाई घेरा लगाउने, प्रवेशद्वार निर्माण गर्ने, स्टल निर्माण, महोत्सव स्थलको सरसफाई तिव्रताका साथ भईरहेको छ ।
भारतीय पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा रहेको ठोरीमा थप भारतीय पर्यटकहरुलाई भित्र्याउनका लागि भारतीय व्यवसायी, त्यहाँका राजनीतिक दलका प्रतिनिधि, मुखिया, व्यवसायी, भारतीय सीमा सुरक्षा बल, सोहद्र थानाका प्रहरी प्रहरी प्रमुख लगायतसँग छलफल तथा समन्वय भईरहेको आयोजकले जनाएको छ।