पुग्नु थियो शे-फोक्सुन्डो ताल, अनुभव गर्नु थियो तालको सुन्दरता, नियाल्नु थियो टाढा-टाढासम्म देखिने सल्लाघारी, हरिया पहाडहरू, कलकल बगिरहने खोला, जान्नु थियो डोल्पाको परिवेश, खानु थियो स्याउ, रमाउनु थियो प्रकृतिसँग।
डोल्पा जाने योजना बन्दा १२ जना थियौं। आइपुग्दा २ जना मात्र भयौं। यहाँसम्म आइपुग्दा हामी २ जनाले अरू १० जनालाई सम्झिरह्यौं। फलानो/फलानो आएको भए कस्तो हुँदो हो भनेर बाटोभरि कुरा गरिरह्यौं।
उकालो ओरालो, साना ठूला पहाड छिचोल्दै, आराम गर्दै गफिँदै बिहान नेपालगन्जबाट हिँडेका हामी दुई साँझ पर्नै लाग्दा जुफाल पुग्यौं।
हामी आउने बाटो कुरेर बसिरहेको निराजन बाटो मुन्तिर टुसुक्क उभिएको थियो। हामी आउने भएपछि नेपालगन्ज जाने योजना रद्द गरेर जुफालमै बसेको थियो। त्यो साँझ निराजनसँगै बसियो अरू अरू साथीहरूसँग गफिँदै। थाकिएको थियो गफ गर्दागर्दै सुतेको पत्तै भएन।
भोलिपल्ट उठ्दा आङ गह्रौ भएको थियो।
२ वटा झोला तयार पारिए। झोला चाहिने सामानले भरिए। एउटा झोला लोके र अर्को निराजनले बोक्ने भए। म खाली थिएँ।
त्यो ताल जुन ताललाई हामी हेर्ने भनेर नै नेपालगन्जबाट सकसपूर्ण यात्रा गर्दै डोल्पा आइपुगेका थियौं। आँखाभरी आइरह्यो। कस्तो होला। कस्तो ठाउँमा होला। आफैले नै बनाएको तालको काल्पनिक आकृति आँखा अघि आइरह्यो।
डोल्पाको मौसम चिसो थियो।
न्यानो कपडा नल्याएकोमा धकधक लागिरह्यो। जुत्तादेखि बाक्लो भेस्टसम्म निराजनकै लगाएको थिएँ।
मलाई सुलिगाड चेकपोस्टमै राखेर केटाहरू दुनै पुगे। बाटोभरी खाने कुरा लिन। दुनैबाट केटाहरू फर्किंदासम्म अलि घाम चर्किसकेको थियो। आफूले खाजा खाएर मलाई ल्याइदिएका थिए।
सुलिगाड चेकपोष्टको झोलुङ्गे पुलबाट लागियो शे-फोक्सुण्डो ताल।
-1744373587.jpg)
सुलिगाड खोला र हामी विपरीत दिशामा थियौं। हामी खोलातर्फ उक्लिँदै थियौं भने खोला ओर्लिंदै थियो। खोला मुहानबाट बग्दैबग्दै ठूली भेरीसँग भेट्ने रफ्तारमा थियो। प्रेमिकालाई प्रेमीले भेट्न जान लागे जस्तै रफ्तारमा थियो। हामी कहिले रफ्तारमा त कहिले सुस्ताउँदै साथैमा लिएको खाने कुराहरू खाँदै खोलाको मुहानतर्फ उक्लिँदै थियौं।
खोलाको तिरैतिर साँघरो, घोडा/खच्चड हिँडिरहने, ढुंगैढुंगाको, हिलैहिलो बाटो हुँदै बेलाबखत आराम गर्दै बाटोमा भेटिने गाउँमा स्याउ र काँक्रा खाँदै अगाडि बढिरह्यौं। हिँडिरह्यौं।
गीतकै धुनमा हिँडेका हामी मस्त थियौं।
एक्कासि, म्युजिक स्पिकर बज्न छाड्यो। चार्ज सकिएको रहेछ। बाटोमा बिजुली थिएन। चार्ज हुन पाएन।
उकालो/ढुङ्गैढुङ्गाले बनेको बाटो चढ्दै गर्दा एक्कासि मेरा खुट्टा चस्किएर सहनै नसक्ने दुखाइले पिरोल्यो। तालसम्म पुग्ने आँट खोलासँगै बगिगयो।
चस्किएको खुट्टामा ब्यान्डेज गर्दैगर्दा लोकेले भन्यो, 'तिमी यसो गर अब आउने गाउँमै बस। तिमी हिँड्नै सकेका छैनौ। हामी गएर आउँछौं। तिमी जान सक्दैनौ।'
निराजनले पनि लोकेले भनेकै कुरामा सहमत जनाए जस्तो गर्यो।
उनीहरूको कुरा सुनेर निरास भएको म एकछिन सोचेँ- यो पालि गइनँ भने म कहिल्यै जान पाउने छैन अनि दुखाइलाई सहँदै मैले भनेँ- म जान्छु तर तिमीहरू मेरै नजिकै नजिकै हुनुपर्छ।
त्यसपछि हामी हिँड्यौं।
उनीहरू अगाडि हुन्थे म पछिपछि हुन्थेँ। निराजन र म नजिक नजिक हुन्थ्यौं लोके अगाडि पुगिसकेको हुन्थ्यो।
म धेरै टाढा हुँदा बाटो कुर्थे नजिक पुग्नै लाग्दा हिँडिसक्थे।
घोडेटो बाटो हिँड्दै गर्दा आत्तिएका हामी बाटोमा भेटिनेहरूलाई सोध्थ्यौ, 'ताल कति टाढा छ?'
उनीहरूसँग कुरा गर्दै जादाँ थाहा हुन्थ्यो उनीहरू कोही मुगुका थिए, कोही सुर्खेतका थिए, कोही जुम्लाका थिए त कोही डोल्पाकै थिए।
उनीहरूमध्येकै एक जनाले महिलाले मलाई इन्कित गर्दै भनिन्- अरू त गैहाल्छौ यो बाबु चाहिँ पुग्न गाह्रो मान्या छु। उनले साथैमा लिएर आएको औषधि दिइन् अनि भनिन्, 'यो खाइहाल यसले लेक लाग्नबाट जोगाउँछ।'
मैले औषधि खाएँ।
त्यसपछि उनले सबै जनालाई भिक्स मिठाइ दिइन्।
उनीहरूले हामीलाई सम्झाउँदै भने, 'बाटोमा होसियार भएर हिँड्नू ,घोडा/खच्चड आउँदा खोलातिर नभई पहाडतिर अडिनू'
हामीहरू 'हुन्छ' को भावमा टाउको हल्लाउथ्यौं।
उनीहरू आत्मीयता देखाइदिन्थे। मन नै हुरूक्कै भएर आउथ्यो।
पहिलो दिनको रात घ्वाने भन्ने ठाउँमा सुत्ने प्रयोजनका लागि बनाइएको पालमा बिताइयो।
१२ वर्षमा मेला लाग्दो रैछ जसलाई शे मेला भनिँदो रैछ। शे मेलाबाट फर्किएका लामाहरूसँग गफिँदै, नाच्दै, भोटे चियाको स्वाद लिँदै बस्यौं। केटाहरूले ती लामाहरूलाई नचाए। लामासँगै आएकी लामाकी छोरीलाई पनि नचाए माहोल तताए। पालमा १० जना लस्करै सुत्यौं।
बिहानको चिसो सिरेटो चलिरहेकै बेला यात्रा सुरू गरियो। खुट्टा बेस्सरी चस्किएका थिए। दुबै पाइला सँगै चाल्न सकेकै थिइनँ। बाटोमा होटल भेट्दा एकदम खुसी हुन्थेँ। आराम गर्न पाइन्छ भनेर। बाटोमा भेटिएको सिडाक गाउँ पुग्दा अलि उज्यालो भएको थियो।
चिया खाने भनेर होटलभित्र पस्यौं। लोके बाहिर थियो।
-1744373586.jpg)
-1744373586.jpg)
होटल साहुनीसँग गफिएका हामीलाई जाम, जाम भन्दै आत्त्यायो अनि चिया खाइवरी हिँड्यौं।
लोकेले बाटोमा भेटिएका हाडे ओखर टिप्दै झोलाभरि बनाएको थियो। अनि भन्थ्यो, 'यो सबै लगेर घर वरिपरिका केटाकेटीलाई दिन्छु।
अनि पनि उनीहरू खुसी हुन्छन्।
अलिकति हिँडेपछि माथिबाट पानी बगिरहेको ठाउँमा अडिएर निराजनले भने, 'क्याराभान भन्ने फिल्म छ, त्यसको हिरो घोडाबाट लडेर खोलामा खसेर मर्यो उसकै सम्झनामा अलि अगाडि एउटा प्रतीक्षालय बनेको छ त्यहाँ आराम गरौं है।'
३० मिनेट हिँडेपछि त्यो प्रतीक्षालय पुगियो। त्यहाँ ३ जना केटाहरू चुरोट खाइरहेका थिए।
हामी गएपछि ६ जना भयौं। लोकेले आफ्नो झोलामा भएको चाउचाउ निकाले।
निराजनले खुकुरी रम निकाले ३ वटा गिलासमा अलि अलि राखे र तान्न सुरू गरे। मैले एक घुट्की के निले थेँ मुख तितो भयो।
केटाहरू 'यो खाँ औषधि हुन्छ। खुट्टा दुखाइ कम हुन्छ' भन्दै थिए तर मैले निल्न सकिनँ। केटाहरूले नि खान सकेनन् त्यो गिलास त्यही छोडेर हिँड्यौं। पानी सिमसिम परिरहेको थियो। बाटो चिप्लो थियो।
हिँड्दै गर्दा बाटोमै भटिएका र्याचि जस्ता अन्य गाउँहरू प्रकृतिको काखैमा बसेका थिए।
चुनुवार गाउँको झरना होटलबाट देखिने ठाडो पहाड देखिएको थियो त्यो देख्दा म आत्तिएको थिएँ।
त्यो पहाड काटेपछि त आइगयो त ताल भन्दै होटल साहुले हौसला बढाइ दिए।
यो पहाड काट्न एकदम कष्टकर भयो। केटाहरू माथि पुगिसकेका हुन्थे। उनीहरू हौसला दिन माथिबाट भन्थे, 'हामी माथि पर्खिन्छौं है।'
तालबाट फर्किएकाहरू मलाई हेर्थे अनि यो कसरी पुग्ने होला भन्दै सोच्थे अनि भन्थे- पुग्न सक्छौ त?
मःअँ पुग्छु भन्थे।
फेरि उनीहरू हौसला दिँदै भन्थे- बिस्तारै हिँड, नआत्तिएर हिँड।
उकालो काटेपछि ३६१३ मिटर उचाइमा रहेको सुलिगाढ झरना टाढैबाट देखियो। झरनामा देखिने इन्द्रेणीको मनोरम दृश्यले भएभरको थकान बिर्साइदियो। झरनाबाट आउने पानीका कणहरूले आँत नै तरंगित बनाइदियो।
उकालो ओरालो गर्दै ढुङ्गैढुङ्गाबाट बनेको गेटामा पुगेपछि एकछिन सुस्तायौं। त्यो गेट स्वागत गेट थियो। त्यो गेटले अब ताल नजिकै छ भन्ने आशा जगायो।
अलि हिँडेपछि स-साना घरहरूले मिलेर बनेको रिग्मा गाउँ पुग्नै लाग्दा झमक्क साँझ परिसकेको थियो। रिग्मा गाउँपछि देखिने आकाशको नीलो रङ पानीमा लतपतिएझैं लाग्ने शे-फोक्सुण्डो ताल काञ्जिरोवा हिमालको काखैमा शान्त सौम्य भएर बसेको थियो। चराहरू चिरविर, चिरविर गरिरहेका थिए। त्यो दृष्य आनन्दमय थियो।
आँखाले हेरिनसक्ने तालका वरिपरि रंगी-चंगी फूलहरू फुलेका, घोडा/खच्चड, चौरीहरू चरिरहेका थिए।
स्वर्गभन्दा फरक थिएन शे-फोक्सुण्डोको सेरोफेरो।
कस्तो अचम्मको ताल!! वरिपरि पहाड बीचमा ताल कस्तो मनोरम दृश्य।
तालको पानी स्वच्छ नीलो थियो। जसले आकाशको प्रतिबिम्ब झल्काउँथ्यो। सपनाजस्तो ठाउँ! तालको नीलो पानीले हाम्रो मन नै मोहित बनायो! जीवनमा पहिलो पटक यस्तो प्राकृतिक सुन्दरता नजिकै अनुभव गर्न पायौ, मन रोमाञ्चित भयो! यो नीलो पानी, हरियाली पहाड, र हिमाली हावाको शीतलता—साँचै, असली स्वर्ग यही थियो!
खुसीले खुला हात फैलायौं र दौडियौं। तालको पानी स्पर्श गर्यौं।
प्रकृतिसँग, नाच्यौं, घुम्यौं, रमायौं। मनग्गे फोटो खिच्यौं। भिडिओ बनायौं। भोलिपल्ट बिहानै फर्किनु थियो। फर्किनुको पीडा छुट्टै किसिमको थियो। ताल नजिकै रहेको होटलमा बसियो। थाकेकाले जसरी रमाइलो गर्नुपर्थ्यो त्यसरी गर्न सकिएन। जसरी खुसी मनाउनु थियो, त्यसरी मनाउन सकिएन।
होटलको साहु मिजासिलो रमाइलो मान्छे रहेछ। जिस्किँदै आगो तापियो। खाना खाइयो। बाटोभरी खिचेका फोटोहरू हेर्दाहेर्दै निदाइयो। बिहानै उठ्दा खुट्टा उठाउनै नमिल्ने गरी दुखेका थिए। मलाई फर्किनै मन थिएन। शरीरले आराम खोजिरहेको थियो। गोजीमा २-४ दिन बसेको भए दाम सकिने अवस्थामा थियो। त्यसैले बस्न सकिएन।
काउन्टरमा साहुलाई हिसाब बुझाउँदै गर्दा भन्यो- तपाईंहरू माथि जानू, जहाँबाट वाई सेप देखिन्छ। त्यो गज्जबको दृश्य छ।
उसका कुरा सुनेपछि मैले भनें- म यहीँ छु तिमीहरू जाऊ। म जान सक्दिनँ। म नगए पनि तिमीहरू यहाँसम्म आइसकेका छौं। पुगेर आऊ।
केटाहरूले मानेनन्।
आएको बाटो फर्कने तरखरमा लाग्यौं। अझ झन्, फर्किंदा ओरालो यात्रा गर्नु थियो। सम्झिँदा अत्यास लागिसकेको थियो। सुलिगाढ झरनाको ओरालो झर्दै गर्दा हिँड्न नसकेपछि लोकेन्द्रले बोकेर ओरालो झारे। निराजनले भिडिओ बनाए। एकछिन रमाइलो भयो। बाटोमा भेटिनेहरू मलाई खुट्टा खोच्याएको देख्दा हेर्थे र जिल खान्थे। खुट्टाको दुखाइले गर्दा हिँड्न नसक्ने हुँदा बिस्तारै लखरलखर हिँड्थे। साथीहरू मभन्दा पर पुगिसकेका हुन्थे।
-1744373586.jpg)
-1744373591.jpg)
एकछिन मेरो बाटो कुर्थे। अलि टाढैबाट उनीहरूको अनुहारमा हेर्थें, निन्याउरो अनुहार बनाएर बसेका हुन्थे। म नजिकै पुग्दा किन्चित हाँसो हाँस्थे र अगाडि बढ्थे। हिँड्नै गाह्रो भएपछि घोडा पाइन्छ कि भनी घोडा खोज्न थालियो। सम्झना होटल नजिकै विदेशिको समान बोकेर आइरहेका खच्चडका हुलमा एक खाली घोडा देखियो। मालिकको खोजी गरियो।
मालिकले भन्यो, 'यो घोडा विदेशीले बुक गर्या छ तर उनीहरू हिँडेरै जाने भन्या छ। चढ्ने भए चढ दिनको २५०० लाग्छ।'
निराजनले बार्गेनिङ गरेर १५०० मा कुरा मिल्यो।
म घोडा चढ्ने भएँ।
केटाहरूको साथै मेरो मुहारमा खुसीको आभा झल्कियो।
घोडा भेटिएको खुसीमा खाना खानै छोडेर घोडा चढेँ। घोडा चढ्दा बेलाबेला मुटुले ठाउँ छोड्यो। घोडा उकालो चढ्दा करायो उसलाई गाह्रो भयो। धेरै उकालोमा घोडाले बोक्न सकेन म झरेँ।
घोडाको साहुले भन्यो, 'तिमी बिस्तारै बिस्तारै हिँड्दै आऊ माथिसम्मै यस्तै उकालो छ। म ध्वानेमा घोडा छोडिदिन्छु। त्यहाँबाट घोडा चढेर आउनू। म छेप्का गैहाल्छु।'
मैले 'हुन्छ' भनेँ।
उकालो चढ्दै गर्दा सम्झना होटलमा छुटेका लोके र निराजनले मलाई बाटोमै भेट्टाए।
लोके झोक्कियो, 'उकालो हिँड्न सजिलो होला भनेर पो घोडा चढेको हो, त्यो मूलालाई पैसा दिन्नँ अब।'
ध्वाने पुगेपछि एक कुनामा बाँधेको घोडा लोकेले डोर्यायो र निराजनको सहयोगमा घोडा चढेँ। छेप्कासम्म पुग्दा अलिअलि उकालो/ओरालो गर्नुपरेता पनि खुट्टाले कष्ट भोग्नु परेन।
छेप्काको न्यू डाँफे होटलबाट भोलिपल्ट बिहानै सुलिगाढ चेकपोष्टको यात्रा तय गर्नुपर्ने थियो। बिहानपख हिँड्दै गर्दा घोडा मालिकले घोडा ल्याइदिएन। फर्किंदा खुट्टा दुखेर बाटोको यात्रा कष्टकर हुने भयो भनेर चिन्तित भएँ।
ताल जाँदा चिया खाएका ध्वाने र सिडाकका होटलका साहुनीहरू बाटोमा भेटिए।
उनीहरू होटलको सामान लिन घोडा डोर्याउँदै जाँदै थिए। खुट्टा दुखेर हिँड्न नसकेको दुख साथीहरूले उनीहरूलाई सुनाइदिएपछि उनीहरूको मन पग्लिएर घोडा चढ्न दिए। म घोडा चढे निराजनले डोर्याए।
फर्किंदा धेरै मान्छे बाटोमा भेटिए। मलाई हिँड्न गाह्रो भएको देख्नेहरू पनि थिए। घोडा चढेको देख्दा उनीहरू अलिक खुसी देखिन्थे।
एक ठाउँमा माथि बाटो बन्दै थियो। हावाको वेगले ढुङ्गाहरू माथिबाट तल खसिरहेका थिए। म घोडाबाट ओर्लनु पर्ने भयो। म ओर्लिएँ। त्यहाँ मान्छेको भिड थियो। माथिबाट ढुङ्गा खस्दा चोट लाग्ने डरले कोही जान सकिरहेका थिएनन्। लोकेले आँट ल्यायो र माथि हेर्दैहेर्दै दौडियो र पार गर्यो।
त्यसपछि निराजनले गरे।
अब मेरो पालो थियो। खुट्टा उठाउनै सक्ने अवस्थामा थिएनन्। लोकेले भनेको थियो, तिमी नआत्तिएर बिस्तारै आउनू, हामी माथि हेर्छौं। ढुंगा आयो भन्दा तिमी रोकिनू नत्र दौडिनू।'
बाँच्नको आशले मान्छेको दु:ख पनि केही समयका लागि हराइ जाने रहेछ। दुखाइलाई प्रवाह नगरी विस्तारै खोच्याउँदै हिँड्न थालेँ।
निराजन भिडिओ बनाउने तरखरमा थिए।
-1744373588.jpg)
-1744373588.jpg)
हिँड्दा हिँड्दै दौडिए एक ठाउँमा लडेँ तर धन्नै तल हुत्तिइनँ। निराजनले भिडिओ बनाउँदै गरेको मोबाइल बन्द गरे। लोके मलाई उठाउने भनेर दौडिन तयार थियो। सकिनसकी उठेर बल्ल बल्ल त्यो बाटो पार गरेँ।
त्यसपछि साहुनी र साहुनीको घोडा पार गर्नतर्फ लोके र निराजन लागे।
अलिकति हिँडेपछि, फेरि घोडा चढेँ। साहुनीहरूले छेप्कादेखि सुलिगाड चेकपोष्ट सम्मको यात्रा सजिलो बनाइदिए। मसँगै साथीहरूको मुहार हर्षले उज्यालो भयो। साँझपख सुलिगाड (ठूली भेरी र सुलिगाड खोला मिसिने ठाउँ) चेकपोष्ट पुगियो।
खुट्टाले गर्दा निराश भएको मलाई साथीहरूले आँट दिए, हौसला बढाइदिए, उकालो/ओरालोमा हात समाइदिए, पाइलामा पाइला मिलाइदिएर तालसम्म पुर्याएर सकुशल फर्काइदिए।
जुफाल आइसकेपछि, आनन्दको स्वास लिएँ।
आफू गएको ठाउँ सम्झिएँ। आफू हिँडेको बाटो सम्झिएँ। निराजनले र लोकेले दिएको साथ सम्झिएँ। साथमा गतिला साथी भए जस्तै कष्टकर यात्रा पनि सहज हुने रहेछ। तालमा पुगेर फर्किसकेपछि लाग्यो।
डोल्पाले काठमाडौंलाई गोल्डेन स्याउ र यार्सा बर्सेनि पठाइरहन्छ। त्यसको बदलामा काठमाडौंले घोडेटो बाटो सही आरामदायी बाटो बनाइदिन किन सकेन होला?
आरामदायी बाटो बनाइदिएमा शे-फोक्सुण्डो सम्मको यात्रा गज्जबको हुने थियो।
यात्रा कति सहज हुन्थ्यो।
-1744373586.jpg)