टेक्सास राज्यको ह्युस्टनस्थित साइप्रस लेकबाट झिसमिसे बिहानीमा ६ जनाको हाम्रो टोली बाटो लाग्यो। हामी लुजियाना राज्यको सुन्दर न्यु ओर्लियन्स सहरबाट क्रुजको यात्रा गर्न हिँडेका थियौं। ह्युस्टनबाट न्यु ओर्लियन्स पुग्न झन्डै सात घण्टा लाग्यो।
हामीले होटल म्यारिएटमा झोलीतुम्बा बिसायौं। मौकामा पुगेका बेला सहर पनि हेरौं भनेर हामी होटलबाहिर निस्कियौं। त्यहाँ कोही गोरा, कोही काला, कोही एसियाली जस्ता विविध रूपरङका मानिसहरूको जमघटले संसारको मानव विविधता देखाउँथ्यो।
न्यु ओर्लियन्स सहरको एउटा विशेषता रहेछ खुला क्यासिनो। सहरमा जताततै क्यासिनो चल्दो रहेछ। ठूला तारे होटलमा मात्र कहाँ हो र! ग्यास स्टेसनमा पनि क्यासिनो! वरिपरिका अरू राज्यबाट पैसावाल जुवाडेको पनि निर्बिघ्न गन्तव्य रहेछ न्यु ओर्लियन्स।
नीलो पानी बग्ने विशाल मिसिसिपी नदी र त्यसमाथि आकाश नै छुन्छ कि जस्तो भएर तेर्सिएको पुल सहरको सौन्दर्यका अनेक आयामहरूमध्ये मुख्य रहेछ। त्यो पुलका सामुन्ने डाउनटाउनका विशाल भवनहरू त गन्तीमै नआउने!
अमेरिकाको क्यालिफोर्नियाबाट फ्लोरिडासम्म तनक्क तन्किएको आई टेन सडकबाट अनेक बुट्यान वनजंगल, नदीनाला, दलदल, खोल्सा र तिनका पुलपुलेसा हुँदै यस सहरमा पुग्ने म, मेरी जीवनसँगिनी सपना, छोरी साधना, ज्वाइँ प्रकाश, नाति प्रशम र नातिनी सान्भी थियौं। हामी न्यु ओर्लियन्स सहरको मादकतामा धेरै बेर हरायौं।
दास प्रथाको समयमा न्यु ओर्लियन्स दास किनबेचको बजार थियो। अफ्रिकाबाट समातेर ल्याइएका अश्वेत दास यहाँ किनबेच गरिन्थे, कपास खेतीको काममा लगाइन्थे। दासहरू गाईबस्तुजस्तै पटकपटक किनबेच हुन्थे। यस्तो किनबेचको बजार पनि न्यु ओर्लियन्स नै थियो।
अमेरिकाका सोह्रौं राष्ट्रपति अब्राहम लिंकनले दासप्रथा अन्त्यको घोषणा गरेपछि मुक्त दासहरूका लागि अमेरिकी सरकारले न्युओर्लियन्समै घर बनाइदियो। मुक्त दासहरूलाई खेतीपातीका लागि जग्गाजमिन पनि दियो।
इतिहासको त्यही पृष्ठभूमिका कारणले होला, अश्वेत मूलका मानिस धेरै देखिन्थे। अश्वेत मानिसको भिडभाडमा हामी निकै सतर्क थियौं। फुटपाथमा हिँड्दा पनि कसैलाई सिधा नजरले हेरेनौं। किन हो कुन्नि! मनमा एक किसिमको भय छाएको थियो।
घुम्दै जाँदा सहरको एक ठाउँमा फ्रान्सेली बस्ती देखापर्यो। कुनै समय न्यु ओर्लियन्स सहर फ्रान्सेलीहरूको उपनिवेश थियो। फ्रान्सेली शासक र प्रशासकहरूले आफ्नै बास्तुकला र शैलीमा घर बनाएका थिए।
त्यहाँका मानिसहरू ती फ्रान्सेली घर अझै जस्ताका तस्तै छन् भन्थे। ती घर काठमाडौं दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र र पाटन दरबार क्षेत्रका पुराना घरसँग मिल्दाजुल्दा देखिन्थे।
फ्रान्सेली बस्तीमा फ्रान्सेली मूलकै मानिसको बाहुल्य देखिन्थ्यो। त्यस बस्तीका साइन बोर्ड पनि फ्रान्सेली भाषामै रहेछन्। बस्तीका बाटा साँघुरा थिए। त्यहाँ हिँड्दा हाम्रो राजधानी सहरका असन र इन्द्रचोकतिरको झल्को आउँथ्यो।
न्यु ओर्लियन्स सहरको प्रसिद्ध परिकारको नाम रहेछ बेने। बेने खान मानिसहरू लाम लागेर घण्टौं पालो पर्खिंदा रहेछन्। यति प्रसिद्ध बेने त चाख्नै पर्छ भन्ने ठानेर म पनि लाइनमा बसें। मेराअगाडि करिब ५० जना खास दूरी कायम गरेर लाममा लागेका थिए।
आधा घण्टामा बेने हात लाग्यो। के न होला भनेको त हाम्रो मालपुवा झैं रहेछ। फरक के भने त्यसमा बाहिरबाट चिनी छरेको हुँदो रहेछ। बेनेमा मैले कुनै पनि अर्थमा खास विशेषता पाइनँ।
भारतको वनारस घुम्न जानेहरू त्यहाँको पेडा खाए पनि पछुताउँछन्, नखाए पनि पछुताउँछन् भन्ने आहान छ। न्यु ओर्लियन्सको बेने पनि वनारसकै पेडा बराबर भयो। बेने नखाई फर्किए पछुतो हुने थियो, खाएर पनि पछुतायौं।
खाइयो, पछुतो त्यसमा भएन; आधा घण्टा लाम लागेकोमा पछुतो भयो।
सहरमा यत्रतत्र घोडाले तान्ने बग्गी देखिए। सौखिन मानिसहरू गाडीमा भन्दा बढी बग्ग्गीमा चढ्दा रहेछन्। बग्गी चढेर सहर घुम्नु उच्च प्रतिष्ठा ठानिँदो रहेछ। हामीले आवश्यकता अनुसार आफ्नै गाडीमा वा पैदल यात्रा गर्यौं।
सहरका विभिन्न ठाउँ घुमेर हामी त्यहाँको अग्लो पुलमुनिको बाटोमा उभिएका थियौं। सङ्लो पानी लिएर सलल बगेको मिसिसिपी नदी र त्यस नदीमा तैरिरहेका ठूला र साना अनगन्ती पानीजहाज धेरै बेर निर्निमेष नियाल्यौं।
पुल किन यति धेरै अग्लो बनाउनु परेको होला! गल्फ अफ मेक्सिको र मिसिसिपी नदीको पुलमुनि हुँदै विशाल पानीजहाज र कार्गो जहाज आवतजावत गर्दा रहेछन्। तब पो चाएिको रहेछ गगनचुम्बी पुल!
हामी मिसिसिपी नदीका किनारमा उभिएर त्यहाँको मनोरम प्राकृतिक दृश्यको रसपान गर्दै थियौं। मिसिसिपी नदीमा एउटा ठलो क्रुज देखियो। त्यसमा लेखिएको थियो– कार्निभल भलोर।
मेरी पत्नी सपनाले क्रुजतिर देखाउँदै भनिन्– भोलि हामीलाई मेक्सिको कोजुमेल टापुमा लैजाने कार्निभल भेलोर त हामीलाई पर्खेर बसिरहेको रहेछ त!
म र सपना दुबैजना उत्सुक थियौं कार्निभल भलोरमा यात्रा गर्न। सन् २००९ मा पहिलोल्ट अमेरिका भ्रमण गर्दा हामीले फ्लोरिडाको मायामीमा कार्निभल क्रुज देखेका थियौं। त्यसै बेला हामी क्रुजमा यात्रा गर्न लालायित थियौं तर पूरा हुन पाएन। हाम्रो चाहना यसपालि हाम्रा ज्वाइँछोरीमार्फत् पूरा हुन लागेको थियो।
भोलिपल्ट हामी जीवनको पहिलो अनुभवका रूपमा क्रुजमा पाइला टेक्ने तरखरमा थियौं। सहरको गगनचुम्बी एघार तले पार्किङ भवनको नवौं तलमा गाडी पार्किङ गरेर हामी नजिकै रहेको क्रुज सम्पर्क कार्यालयमा पुग्यौं। त्यहाँ मिनीबसको लाइन थियो। क्रुजको टिकट देखाएपछि त्यहाँका कर्मचारीहरूले हाम्रा लगेज बसमा चढाइदिए। हामी पनि बसमा चढ्यौं।
मिनीबसमा रहेका सबै यात्रुका अनुहार सरसर्ती पढें। अधिकांश यात्रु अफ्रिकी र अमेरिकी जोडाजोडी अनि उनीहरूका बालबच्चा थिए। हामी बसेको सिटको ठिक सामुन्ने गोरा अमेरिकीको वृद्ध जोडी देखियो। उनीहरू दुबैजना कम्तीमा असी हिउँदबर्खा खाएका जस्ता देखिन्थे। मेरा पछाडितिर अश्वेत युवक र श्वेत युवतीको एक जोडी आफ्नै प्रणयलीलामा मग्न थियो।
बसका यात्रुमध्ये वृद्ध जोडी साँच्चै आकर्षक देखिन्थ्यो। डाँडामाथिको घामजूनजस्ता भए पनि उनीहरू बैंसालुझैं लीलामा मस्त थिए। मैले नजानिँदो पाराले उनीहरूको लीला चिहाएँ। लाग्यो, उमेरले प्रणयलीलामा तगारो नहाल्ने रहेछ! सपनाले ‘त्यता नहेर्नू’ भन्ने संकेत गरिन्।
हामी क्रुजको सेक्युरिटी पार गरेर आफ्ना लगेज गुडाउँदै अघि बढ्यौं। त्यो वृद्धजोडी हाम्रा पछाडि थियो। क्रुजमा सेक्युरिटी जाँचको लाइन निकै लामो थियो। उनीहरू मेरै छेउमा उभिएका थिए।
केही बेरमा वृद्ध पुरुषले सोधे– तिमी कहाँबाट आएका हौ?
मैले भनें– नेपाल।
सुन्नासाथ बुढाबा निकै उत्साहित भए अनि भने– ओ, सुन्दर र बहादुरको देश नेपाल तर म पुग्न पाइनँ; मैले नेपाल र नेपालीका विषयमा धेरै सुनेको छु।
‘कहाँ सुन्नुभएको?’
उनले अलिक विस्तारमा भने– एक समय पाकिस्तानमा अमेरिकी सेना बस्थ्यो, म त्यसको प्रमुख मेजर जनरल थिएँ। सेनाको मेजर हुँदा पाकिस्तानका मेजर जनरलले नेपाल र नेपालीका विषयमा धेरै कुरा सुनाएका थिए।
मैले आश्चर्यजनक स्वरमा ‘ओहो!’ भनें।
उनले फेरि भने– बहादुर नेपालीले नै पाकिस्तान र चीनबाट भारतलाई जोगाइदिएका हुन् रे! यदि गोर्खाली सेना भारतमा नहुँदो हो त कस्मीर धेरै पहिले पाकिस्तानको हुने थियो भनेर पाकिस्तानी मेजर जनरल मलाई सुनाउँथे।
बुढाबाका कुराले म रोमाञ्चित भएँ।
मैले कुराको प्रसंग बदल्दै सोधें– कोको आउनुभएको छ क्रुज यात्रामा?
बुढाले हँसिलो मुहारमा आफ्नी पत्नीतिर देखाउँदै भने– मी एन्ड माई बिउटिफूल लाइफ, नट वन्ली वाइफ!
मैले औपचारिकता जनाउन वृद्धालाई ‘हेलो !’ भनें। उनले पनि सोहीअनुसार प्रतिक्रिया जनाइन्।
बुढाले मलाई सोधे– तिमीले पहिलो पनि क्रुुजमा यात्रा गरेका थियौ?
मैले ढाँट्नुपर्ने थिएन। भनें– पहिलोपल्ट हो। अनि सोधें– तपाईंहरूको नि?
बुढाले हाँस्दै भने– हामी त वर्षैपिच्छे आउँछौं, कहिले त वर्षको दुईपल्ट पनि आउँछौं।
मैले जिज्ञासा राखें– यसरी बारम्बार किन आइरहनुहुन्छ?
उनले विस्तारमा प्रष्ट पारे–
हाम्रो घरमा हामी दुईजना मात्र छौं। छोराछोरी हामीसँग छैनन्। उनीहरू १८ उमेर वर्ष पुगेपछि हिंडेका हुन्, कोहीसँग त आजसम्म भेट पनि भएको छैन। तिमीहरूलाई कस्तो छ, खाना खायौ कि खाएनौ, तिमीहरूको दिन कसरी बित्दैछ भनेर सोध्ने पनि कोही पनि हुँदैन। हामी एक्लोपन मेटाउन क्रुजमा आइरहन्छौं। यात्रामा तिमीजस्ता थुप्रै मानिस भेट्न पाइन्छ। सुखदुःखका कुरा गर्न पाइन्छ। सित्तैमा खान पाइन्छ, खाना बनाउनु पर्दैन। क्रुजमा भेट हुनेले तिमीलाई कस्तो छ, खाना खायौ कि छैन, खाना मीठो छ कि छैन भनेर सोध्छन्। यसले मलाई आनन्द दिन्छ। आज तिमीसँग आफ्नो मनको कुरा भन्न पाएँ।
मैले स्वीकृति सूचक टाउको हल्लाएँ।
यतिकैमा उनले सोधे– तिमी कति वर्षका भयौ?
मैले फुर्तिसाथ भनें– आई एम सेभेन्टी इयर्स ओल्ड!
बुढा बडो मजाले हाँसे अनि ठट्यौलो पारामा भने– यु आर सेभेन्टी इयर्स ओल्ड, आइ एम नाइन्टी सेभेन इयर्स योङ मेन!
फेरि उनीहरू बुढाबुढी दुबैजना मजाले हाँसे। म पनि हाँसे।
त्यतिकैमा हामीलाई सेक्युरिटी जाँचका लागि अगाडि बोलाए।
त्यही बेला बुढाले मलाई सोधे– तिम्रो नाम के हो?
मैले उनको सजिलोमा लागि ‘एलडिजी’ भनें।
मैले पनि उनको नाम सोधें। भने– मेरो नाम कार्ल वार्कर हो। सबैले वार्कर भनेर बोलाउँछन्।
मैले औपचारिकता प्रकट गरें– धन्यवाद वार्कर! मिठो कुरा गर्नुभयो।
उनले पनि औपचारिकता पूरा गरे– धन्यवाद एलडिजी!
यतिकैमा हामी सेक्युरिटीमा फोटो खिचाउन अघि बढ्यौं।
सुरक्षा जाँच गर्ने र फोटो खिच्ने काम सकियो। लगेज त्यही बुझायौं। हामी अनौठो उत्साहका साथ कार्निभल भलोरमा पस्यौं। लिफ्ट चढेर पहिलो तलाको आफ्नो कोठा खोज्दै थियौं। हाम्रा लगेज त हाम्रै कोठाको ढोकासामु पो राखिएका रहेछन्!
लगेज थन्क्याएर सबैजना बाहिर निस्कियौं।
हामी सरासर क्रुजको लिफ्टतिर गयौं। एघार तले त्यो क्रुमा पचासवटा भन्दा बढी लिफ्ट रहेछन्। नवौं तलासम्म लिफ्ट चल्दो रहेछ, बाँकी दुई तलाका लागि ठूल्ठूला भर्याङ थिए।
हामी लिफ्ट चढेर सबैभन्दा माथि गयौं। कोही खाइरहेका, कोही स्वीमिङ पुलमा डुबुल्की मारिरहेका, कोही आराम कुर्सीमा अर्धनघ्न पल्टिरहेका, कोही भलिबल खेलिरहेका! थरीथरीका ती दृश्य हाम्रा लागि रोमाञ्चक थिए।
क्रुजको सबैभन्दा माथिल्लो तलामा गल्फकोर्ट रहेछ। हामीले पनि एकछिन गल्फ खेल्यौं। त्यहाँबाट देखिने न्यु ओर्लियन्सको सुन्दर डाउनटाउन हेरेर समयलाई जिस्कायौं।
क्रुजको चालकदलबारे जनाकारी आयो। नौ सदस्यीय चलकदलमा प्रमुखको नाम रहेछ जीवन पटेल। नाम सुनेर मेरो मनमा बडो आनन्द सञ्चार भयो, प्रमुख चालक आफ्नै छिमेकी रहेछन् जस्तो लाग्यो।
क्रुज हिँड्न थाल्यो। क्रुज हिँड्दा गल्फ अफ मेक्सिकोको पानी छिटोछिटो बगेको जस्तो देखिन्थ्यो। क्रुज र पानीझैं मेरो मन पनि छिटोछिटो चलेजस्तो भयो। हजारौं यात्री आआफ्नै धुनमा थिए, कसैलाई कसैको मतलब थिएन।
माथिल्लो तलामा निकै बेर घुमफिर गरेर हामी नवौं तलामा उत्रियौं। त्यहाँ आठ दस ठाउँमा खाना राखिएको थियो। मानिसहरू आआफ्नो इच्छाअनुसार खाइरहेका, पिइरहेका र आआफ्नै तरिकाले रमाइरहेका थिए।
एक ठाउँमा वार्कर र उनकी पत्नी पनि खाइरहेका देखें। नजिकै गएर सोधें– तपाईंहरूलाई कस्तो छ? खानेकुरा मिठो छ?
वार्करले सबै ठिकठाक र खाना पनि मिठो रहेको बताए। उनकी पत्नी मुस्कुराइन्। ‘रमाइलो गर्दै खानुहोला’ भनेर बिदा भएँ।
हामीले भिडभाड कम भएको ठाउँमा गएर परिकारहरू लियौं, जुस पियौं।
हामी आफ्नै धुनमा थियौं, एकजना सेफ नजिकै आएर हामीसँग नेपाली भाषामा बेले। आफ्नो परिचय दिए, हाम्रो परिचय लिए।
उनी त हामीले नेपाली भाषा बोलेको सुनेर आएका रहेछन्। उनी रहेछन् त्यस क्रुजका प्रमुख सेफ बद्री चौलागाईं! पुर्ख्यौली घर काभ्रे रहेछ, हाल काठमाडौंको कुमारीगालमा स्थायी बसोबास रहेछ।
मेरो हर्षको सीमा नै रहेन। एकै आँतको भाइ वर्षौंपछि भेटिएझैं भयो। निकैबेर सुखदुःखको कुरा भयो।
साँझ पर्यो। हामी आफ्नो कोठामा फर्कियौं।
रातमा त क्रुज वायुवेगमा दौडँदो रहेछ। ननिदाउन्जेल बेलाबेला उठेर झ्यालबाट बाहिर हरें। मनमा एकतमासको आनन्द अनुभूति भयो।
मनको उमंगमा कुन बेला निदाएँ, पत्तै भएन। कोठामा टेलिफोनमा घण्टीबज्दा पो झल्याँस्स बिउँझिएँ। फोन उठाउँछु त पल्लो कोठाबाट छोरी बोलिन्– सन राइज हेर्न छतमा जाने होइन?
कोठाबाटै पनि सूर्योदय छर्लंगै देखिन्थ्यो तैपनि समूहमा हेर्नुको मजा नै बेग्लै भन्ने ठानेर क्रुजको छतमा गयौं।
त्यहाँ त घामको पहिलो झुल्को हेर्नेको भिड रहेछ। समुद्रको पूर्वतर्फ क्षितिजमा रातोपन देखिन थाल्यो र क्रमशः बढ्दै गयो।
छतमा बिहान घुम्ने ठाउँहरू रहेछन्। त्यहीँबाट हामी घाम उदाएको दृश्य हेर्दै हिंड्न थाल्यौं। एकैछिनमा समुद्रबाट घाम त फुत्त निस्किएझैं भयो। मलाई श्रीअन्तु, नगरकोट र घान्द्रुकको दृश्य सम्झना भयो।
समुद्रबाट हुने सूर्योदय विशेष आकर्षक हुँदोरहेछ!
सूर्योदयपछि हामी कोठामा फर्कंदै थियौं। बाटोमा गोरी एक महिला आफ्नो मोबाइल फोन हेरेर रुँदै गरेकी देखिइन्। मैले चिहाएँ, मोबाइलमा एउटा कालो बिरालो ‘म्याउँ...’ गर्दै थियो।
ती महिला त आफूले छोरी मानेर पालेको बिरालो क्रुजमा लिएर आउन नपाएकोमा पो डाको छोडेर रोएकी रहिछन्! छेउमा रहेका साथीहरू उनलाई फुल्याउने प्रयासमा थिए।
यता मैले नेपालमा छाडिएको नाति आविसलाई सम्झें। यो संसारमा मायाप्रेम पनि विचित्रैको हुँदोरहेछ!
कोठामा नुहाइधुवाइ सकेर ब्रेकफास्ट खान गयौं। ब्रेकफास्ट लिएर गहुँगोरो वर्णका एक युवक आए। टेबलमा ब्रेकफास्टका प्लेट राख्दै भने– हजुरहरूका लागि मैले नेपाली स्टाइलकै ब्रेकफास्ट बनाइदिएको छु।
यसरी अचानक नेपाली भाषामा बोलेपछि र नेपाली पाराकै परिकार ल्याएपछि मैले उनको परिचय मागें। उनी भक्तपुरको पलाँसेका जयेन्द्र मगर रहेछन्। उनले हाम्राबारेमा अघिल्लै दिन थाहा पाएका रहेछन्।
हामी खाँदै थियौं। पछाडिबाट आवाज आयो– हेलो एलडिजी! फर्केर हेर्छु त हिजोको हितैषी वार्कर जोडी रहेछ। वार्करले सोधे– खानेकुरा मिठो छ?
‘मिठो छ,’ मैले सोधें ‘तपाईंहरूले खानुभयो?’
खाइसकेका रहेछन्।
ती दुवै वृद्ध मिजासिला थिए। क्रुजमा धेरै मानिसलाई हलोहाई गर्दै गरेका देखिन्थे।
क्रुज यात्राको तेस्रो दिन हामी मेक्सिकोको कोजुमेल नजिकै पुग्यौं। ब्रेकफास्ट खाँदै कोजुमेल टापु नियाल्यौं। हरियो वनले ढाकिएको कोजुमेल साँच्चै सुन्दर देखियो।
बिस्तारै क्रुज रोकियो। केही बेरपछि कमिलाका ताँतीझैं भएर मानिसहरू बाहिर निस्किए। हामीले माथिबाटै केही त्यो रमिता हेर्यौं।
हामी पनि आआफ्ना राहदानी र क्रुजले दिएका परिचयपत्र बोकेर बाहिर निस्कियौं। मानिसहरू क्रुजलाई पृष्ठभूमिमा राखेर धमाधम फोटा खिच्दै र खिचाउँदै थिए। हामीले पनि त्यसै गर्यौं।
कोजुमेल टापुमा प्रवेश गर्नासाथ मेक्सिकोका परम्परागत वेशभूषामा नाच्दै गाउँदै निस्केका मानिसहरूले निकैबेर मनोरञ्जन गराए। मलाई हाम्रो गाउँतिरको झाँगड जातिको नृत्य सम्झना भयो।
मेक्सिकनहरूको नाच हेर्दै सुरक्षा जाँच पूरा गरेर एउटा ट्याक्सीमा चढ्यौं र बिचतिर हानियौं । बाटामा लहरै नरिवलका बोट थिए, बुट्यानी वन थियो। मोटरसाइकल र साइकलमा धेरै मानिस देखिन्थे। ठाउँठाउँमा फुसले छाएका घरले नेपाली गाउँको छनक दिन्थ्यो।
कोजुमेल टापुमा दसवटा बिच निकै प्रसिद्ध रहेछन्, तीमध्ये हामी एउटामा पुग्यौं। यात्रुहरूको मनोरञ्जनका लागि जिपलाइन उडान, स्नोर कलिङ, जेट स्की र यस्तै अन्य साहसिक खेलको व्यवस्था रहेछ। यस्ता खेलमा मानिसहरू झुम्मिएका थिए।
जिपलाइनमा त्यहाँको वनमाथि रमाउन पाइने रहेछ। स्नोर कलिङमा समुद्रभित्र डुबुल्की मार्दै गहिराइमा पुगेर त्यहाँका माछा, अन्य जीव र जीवाशेष हेर्न पाइने रहेछ।
जेट स्की चाहिँ समुद्रमाथि चल्ने बाइक रहेछ। त्यसमा बसेपछि पानीमाथि बेगले गुडेर मजा लिन पाइने रहेछ।
यी खेलमा सबैको आँट नपुग्ने रहेछ। खेल्न आँट नहुनेहरू अरूले खेलेको हेरेर रमाउने रहेछ। हामी पनि हेरेरै रमायौं।
कोजुमेलको रमाइलो बिर्सिनसक्नुको भयो। भरपूर आनन्द लिएर हाम्रो टोली कोजुमेल टापुलाई बाईबाई गर्दै साँझपख कार्निभल भलोरतर्फ अघि बढ्यो।