राति ८ बजेतिर जलजला पुग्दा ज्याकेटमा तप्प तप्प पानीका छिटा खस्न थालेका थिए। कुहिरोले वरपर केही देखिएको थिएन। एउटा सानो झुप्रोभित्र देखिएको उज्यालोले मनलाई आमोदप्रमोद बनायो।
झुप्रोभित्र चार जना मान्छे आगो तापिरहेका थिए। एकजना कम्मल ओडेर कुनामा पल्टिएका थिए।
दिउँसै खबर गरेकाले फूलबहादुर विक हामीलाई पर्खिरहेका रहेछन्। उनी यो झुप्रोका मालिक हुन्। १३ वर्षीया छोरी मार्स्या उनलाई सघाइरहेकी थिइन्। अन्य तीनजना पाहुना यो रातका लागि हाम्रा साथी थिए। हामी पाँच जना थियौं।
खाना खाइवरी हामी सबै सामान्य गुन्द्रीमाथि बिछ्याइएको पातलो म्याट्रेसमा पल्टियौं। सिरक उस्तै पातलो थियो। जाडो यति धेरै थियो कि हामी सबैले दुई–दुई वटा ज्याकेट लगाएका थियौं। मोजा, पञ्जा र टोपी खोल्ने आँट कसैको थिएन। तै पनि ज्यान तातेको थिएन।
‘आहा मलाई त स्वर्गै पुगेजस्तो भयो। पूर्णिमाको जुनले हिमालहरूलाई कति सुन्दर देखाएको। मेरो इच्छा यही हेर्ने थियो। पुरा भयो। ल अब सुतौं अनि विहान सनराइजमा फेरि हिमाल हेरौंला,’ हाम्रो नजिकै सुतेका व्यक्ति बोलिरहेका थिए।
अर्काले जबाफ फर्काए–हो हो। कति सुन्दर दृष्य देखियो। हाम्रो नेपालमा बाहेक अन्तबाट यस्तो देख्न कहाँ पाइन्छ र!
उनीहरूको संवाद सपना हो कि विपना भन्ने द्विविधामा थिएँ म। जाडोसँग संघर्ष गर्दै निदाउने कोसिस गरिरहेको थिएँ। उठेर सोध्ने जाँगर चलेन।
बिहान पाँच बजे मोबाइलको अर्लामले ब्युँझायो। उनीहरू हिमालकै कुरा गरिरहेका थिए।
मैले सुनेको उनीहरूको संवाद राति दुई बजेतिरको रहेछ। अहिले कुहिरोले हिमाललाई छोपिसकेछ। फूलबहादुरले छ बजेतिर सुर्योदय हुने समयमा हिमाल देखिने बताएपछि म अर्लाम लगाएर फेरि पल्टिएँ। अर्लाम बज्दा सबैजना उठिसकेका थिए। बाहिर हिमालहरू मुस्कुराउन थालिसकेछन्।
यहाँबाट ७ हजार २४६ मिटर अग्लो माउण्ट पुथादेखि माछापुच्छ्र्रेसम्मका दर्जनबढी हिमालहरू नजिकै देखिने रहेछन्। अन्नपूर्ण पहिलो र तेस्रो, धवलागिरी पहिलोदेखि छैठौंसम्म, चुरेन, निलगिरी, गुर्जा हिमालको दृष्यले मनै लोभ्याउने रहेछ। सूर्योदयसँगै हिमश्रृङ्खलामा बादलको लुकामारी सुरू हुन्छ। दर्जन हिमालहरू पालैपालो देखिन्छन्, पालैपालो लुक्छन्।
म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ मा पर्ने जलजला (समुद्र सतहदेखि ३४१८ मिटर उचाइमा रहेको) ढोरपाटन सिकार आरक्षको महत्वपूर्ण ठाउँ हो। फुलबहादुर विकले यहाँ बसेर पर्यटकलाई सेवा दिन थालेको १६ वर्ष भयो।
४७ वर्षका उनी पहिले ट्रेकिङ गाइडको काम गर्थे। विदेशी पर्यटकहरूलाई लिएर देशका विभिन्न ठाउँ पुग्थे उनी। सन् २००९ को मार्चतिर जलजला पुग्दा त्यहाँबाट देखिएको हिमश्रृंखला देखेर उनीसँग गएका हल्याण्डका ४ जना पर्यटक मोहित भएका थिए। उनीहरू त्यही ठाउँमा केही समय बिताउन चाहन्थे। तर त्यहाँ न बस्ने ठाउँ थियो, न त खाने कुरा। हिउँ परेपछि बेसी झरेका भेडाका बथान उक्लिसकेका थिएनन्। भएका केही झुप्रा र गोठहरू रित्ता थिए।
ढोरपाटन भ्यालीबाट हिँडेर गुर्जाघाट हुँदै जलजला पुगेका पर्यटकलाई म्याग्दी हुँदै पोखरा पुर्याएपछि फूलबहादुर फेरि जलजला पुगे। अनि त्यहाँ एउटा झुप्रो बनाएर पर्यटकलाई सेवा दिने निर्णय गरे। त्यतिखेर त्यता ढुंगाको पर्खाल लगाएजति ठाउँलाई आफ्नो मान्ने चलन थियो। उनले घोडा र खच्चडमा सामान बोकाएर जलजलामा झुप्रो तयार पारे। त्यसयता हरेक वर्ष चैतदेखि कात्तिकसम्म यहीँ बस्ने गरेका छन् फूलबहादुर।
‘यहाँको सबैभन्दा राम्रो सिजन भनेको दसैं, तिहारताका हो। यो समयमा दैनिक ५–७ जना पर्यटकहरू आइराख्नुहुन्छ। कहिलेकाहीँ त धेरै पनि आउनुहुन्छ। म दुःखम्, सुखम् उहाँहरूलाई खाना खुवाउने, सुताउने गर्छु,’ उनी भन्छन्, ‘विहान उठेर हिमाल हेर्दा पर्यटकले लिएको आनन्दले मेरो मनमा खुसीको बहार चल्छ। मनमनै सोच्छु, यो एक्लो ठाउँमा म नबसेको भए उहाँहरूले कसरी यो दृष्य हेर्न पाउनुहुन्थ्यो होला र।’
फूलबहादुरले यो झुप्रोको नाम जलजला होमस्टे एण्ड कफी सप राखेका छन्। यहाँ मिलेर सुत्यो भने १० जनासम्म अट्न सकिन्छ। चौरमा दुईवटा टेण्ड पनि राखेका छन्। सुतेको एक रातको पाँच सय रूपैयाँ लिने गरेको उनले बताए। खानाको ३०० देखि ५०० रूपैयाँ लिन्छन्। एक रातको बसाइ र विहानको नास्ता गरेर १५ सय रूपैयाँ जति खर्च हुन्छ।
‘कहिले काहीँ त पर्यटक आउँदैनन्। त्यो समय म एक्लो हुन्छु। काग र स्याल कराउँछन्। गाई र घोडाको घण्टी बज्छ। यीनैलाई साथी सम्झिएर बस्छु,’ फूलबहादुर भन्छन्, ‘त्यसमा पनि म रमाउने गरेको छु। पर्यटक नआउने भएर हो, आउने भए त बाह्रै महिना बस्ने थिएँ।’
कात्तिकको बीचतिरबाट यहाँ हिउँ पर्न थाल्छ। पर्यटक आउन छाड्छन्। त्यसपछि फूलबहादुर आफ्नो गाउँ म्याग्दीको लुलाङ जान्छन्। आलु खेती गर्न थाल्छन्। चैत लागेपछि फेरि जलजला फर्कन्छन्। चैतमा उनी जलजला फर्कँदा ढकमक्क फुलेका लालिगुराँसले स्वागत गरिरहेका हुन्छन्। बाटोको दुबैतर्फ फुल्ने लालीगुराँस पर्यटकलाई पनि आकर्षित गर्छ।
उनको आम्दानीको मुख्य स्रोत नै जलजलाको होमस्टे हो। होमस्टे चलाउन बेलाबेलामा श्रीमती र छोराछोरीले पनि सघाउने फूलबहादुरले बताए।
काठमाडौंका ६४ वर्षीय दिनेश आचार्यले एक सय देश घुमेका छन्। नेपालका ७७ वटै जिल्ला विभिन्न पर्यटकीय गन्तव्यसम्म पुगेका उनी यसपाली पहिलो पटक जलजला पुगे। जलजलाबाट देखिएको हिमश्रृंखलालले उनको मन लोभ्यायो।
‘गुगल म्याप हेर्दा जलजला भन्ने ठाउँको नाम याद गरिरहेको थिएँ। तर पुग्ने मेसो परिरहेको थिएन। यसपाली योजना बिनै ढोरपाटन आइयो,’ उनले भने, ‘हामीले रातमा यति सुन्दर हिमश्रृङ्खला देख्यौं कि स्वर्गै आएजस्तो भयो। पूर्णिमाको जुनले १०–१२ वटा हिमाल आकर्षक देखिएका थिए। आकाश झलमल्ल थियो। धित मर्नेगरी हेरियो।’
उनले जलजलामा पर्यटकीय विकासको संभावना प्रचुर देखेका छन्। पर्यटकका लागि सुरक्षा, खाना र बस्नको उचित व्यवस्था भए यहाँ ठूलो संख्यामा पर्यटक आउने संभावना रहेको उनी बताउँछन्।
‘यो प्राइम लोकेशन रहेछ। यस्तो ठाउँमा पर्यटकले बस्ने, खाने व्यवस्था मिलाउनुपर्छ। कानुनले धेरै कुरा गर्न नदेला तर संरक्षणमा पनि ध्यान दिँदै लिजमा दिएर भने पनि यस्तो ठाउँमा केही गर्नुपर्छ,’ उनी भन्छन्।
उनले बागलुङको बुर्तिबाङबाट ढोरपाटनसम्म पुग्ने सडकको स्तरोन्नती गर्नसक्ने हो भने ढोरपाटन सिकार आरक्षमा पर्यटकको चहलपहल बढ्ने बताए।
‘म जति पनि देशहरू घुम्छु नेपाल जति सुन्दर कहीँ देख्दिनँ। नेपालका ठाउँहरू त जति पटक पुगे पनि अघाउँदिन,’ उनी भन्छन्, ‘हामीलाई प्रकृतिले धेरै दिएको छ। गर्न नसकेको यसको व्यवस्थापनमात्रै हो।’
कावासोतीका २७ वर्षीय हिराप्रसाद भुषालले झुप्रोमा सुत्दा सानोमा गाउँमा गोठमा रात बिताएको सम्झना भएको सुनाए। उनले जलजलाको विषयमा साथीहरूबाट सुनेका थिए।
‘एक पटक ढोरपाटनस्थित उत्तरगंगा मन्दिरसम्म आएर फर्किएको थिएँ। यहाँ मैले बिल्कुलै नौलो अनुभूति गरें। अब यहाँसम्म आउने ट्रेकिङ रूटलाई व्यवस्थित बनाउनुपर्छ,’ उनी भन्छन्, ‘म्याग्दी देखि रूकुमसम्म पुग्ने रूट रहेछ यो। यसको प्रवर्द्धन गर्नु आवश्यक छ।’
जलजला म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै रूकुम जाने बाटोको केन्द्रमा पर्छ। यहाँबाट एक घण्टा हिँडेर मरेनी पुगिन्छ। त्यहाँसम्म मोटरबाटो आइपुगेको छ। मरेनीबाट लुलाङ, लमसुङ, खोरिया, मुना, हलियागाउँ, मछिम, सिवाङ, ताकाम, धारापानी, दरबाङ, बाबिचौर, तातोपानी हुँदै म्याग्दीको सदरमुकाम बेनी पुगिन्छ।
चितवनबाट हिँड्दा हाम्रो गन्तव्य ढोरपाटन भ्यालीसम्म मात्रै थिएन। उचाइका भिराला पाखामा फुलेका विभिन्न रंगका फूलहरू, फाँट, भिर र पाखामा चरिरहेका घोडा, भेडादेखि नाउर, झारलका बथान अनि त्यहाँबाट देखिने सुन्दर हिमश्रृङ्खलाको फोटो, भिडिओले हामीलाई ढोरपाटनतर्फ अघि बढाएको थियो।
आरक्षको सुरक्षार्थ तैनाथ देविबक्स गुल्मका मेजर प्रिन्स खत्रीले हामीलाई ‘जलजला’का लागि सिफारिस गरेका थिए। समूहमा रहेका पाँचै जनालाई यो ठाउँको बारेमा थाहा थिएन। मेजर खत्री अघिल्लो दिनमात्रै जलजला पुगेका थिए। उनीसँग गएको सेनाको टोलीले तल्लो जलजला नजिकैसम्मको बाटो (बर्खामा बिग्रिएको) गाडी गुड्न मिल्ने बनाएको रहेछ।
उनले जलजलाको बयान यसरी गरे कि हामीलाई सबै कुरा छाडेर त्यहीँ जाने बनायो। जलजला पुग्न करिब २ घण्टा गाडीमा गएर एक घण्टाजति हिँड्नुपर्ने जानकारी पाउँदा दिउँसोको २ बजिसकेको थियो। हामीसँग आफ्नो गाडी थिएन। स्थानीय राजेन्द्र विकको बोलेरो गाडीमा हामी ४ बजेतिर जलजलातर्फ अघि बढ्यौं। साढे ६ बजेतिर हामी तल्लो जलजला नजिकै पुगेर गाडीबाट ओर्लिंदा चिसो सिरेठोले हाम्रो स्वागत गरेको थियो। एउटा ज्याकेट लगाएका हामीले झोलाबाट अर्को ज्याकेट पनि निकालेर लगायौं। पाइन्टमाथि अर्को पाइन्ट लगायौं। त्यहाँबाट जुनेली साँझमा हिँडेर जलजला पुग्न हामीलाई करिब डेढ घण्टा लागेको थियो।
ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार जलजला आरक्षका प्रमुख गन्तव्यमध्ये एक हो। आरक्ष कार्यालयले यस क्षेत्रलाई व्यवस्थित गर्न सडक र ट्रेकिङ रूटमा सुधार गरिरहेको छ।
‘जलजलाको प्रवर्द्धन गर्नकै लागि २५ लाख रूपैयाँ बजेटमा तल्लो जलजलासम्म सडक निर्माण गरेका छौं। यहाँ हाइअल्टिच्युड जंगल सफारी गर्न सकिन्छ। त्यसपछि केही समय हिँड्दा जलजला पुगिन्छ,’ कँडेल भन्छन्, ‘पर्यटकले मनोरञ्जन लिने, जनताको आयआर्जनमा सुधार हुने गरी गार्पा, टिकाधारा, काँडेधुरी, पोखरेधुरीलाई पनि प्रवर्द्धन गर्नतिर लागेका छौं।’
उनले ती क्षेत्रमा राज्यले टेण्टेन्ड क्याम्प र टि सप सञ्चालन गर्न सक्ने बताए। संरक्षणमा असर नगर्नेगरी राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गर्दा पर्यटन फस्टाउने उनी बताउँछन्।
‘जलजलाबाट छातीकै बराबर जस्तोगरी हिमाल देखिन्छ। गार्पा, टिकाधाराबाट अझै नजिक देखिन्छ। भाग्य भए गोठमै नाउर, झारल देखिन्छन्। हामी यी कुरा पर्यटकलाई देखाउनुपर्छ भन्नेमा छौं,’ प्रमुख संरक्षण अधिकृत कँडेलले भने, ‘यसका लागि राज्यले पूर्वाधार विकास र सञ्चारमा लगानी गरिदिनुपर्छ। स्थानीय तह, स्थानीय जनताको पनि सहयोग चाहिन्छ।’
ढोरपाटन सिकार आरक्षमा गत वर्ष साढे १५ हजार पर्यटक पुगेका थिए। कँडेलले बुर्तिबाङदेखि देउरालीसम्मको सडक राम्रो भयो भने पर्यटक ५० हजारभन्दा बढी पुग्ने दाबी गरे।
‘व्यवस्थित होटल लज भए भने त एक लाख नाघ्छन्,’ उनी भन्छन्, ‘पर्यटकलाई आकर्षित गर्न यहाँ सिकार, हाइअल्टिच्युट प्याराग्लाइडिङ, साइक्लिङ, र्याफ्टिङ, ट्रेकिङ, हाइकिङ, बर्ड वाच, मन्दिर, गुम्बाहरू छन्।’