गत वर्ष कैलाश मानसरोवर क्षेत्रको तिर्थाटन गरी फर्कनुभएका मित्रहरू कविता कुँवर र कल्पना तिम्सिनाले गर्नुभएको वर्णन साथै उपलब्ध गराउनुभएको प्रसादको प्रभावले यस वर्ष मलाई पनि उक्त क्षेत्रको दर्शन गर्ने सौभाग्य प्राप्त भएको हुनुपर्छ। यस अपूर्व अवसरका लागि उत्प्रेरणा दिनुहुने दुवै मित्रहरू विशेष गरी कल्पना जी प्रति ऋणी छु।
सानै उमेरदेखि सुन्दै आएको भगवान शिवजीको बासस्थान कैलाश मानसरोवर साँच्चै स्वर्गको कुनै भू-भाग हुनुपर्छ झैं लाग्थ्यो। मनमा थोरै डर र उत्कट अभिलाषासहित २०८१ साउन ३० गते हाम्रो कैलाश यात्रा सुरू भयो।
१३०० मिटर उचाइमा रहेको काठमाडौंबाट सुरू भएको यात्रा ७२ किलोमिटर पार गरेपछि त्रिशूली (६०० मी ) बजारमा खाना खायौं। त्यसपछि रसुवाको धुन्चे हुँदै ७७ किलो मिटर पार गरेपछि स्याफ्रुबेंसी (१७०० मी) मा बास बसियो।
यात्रामा ४ वटा बसमा सहयोगी दल समेत ७० जना यात्रुहरू सम्मिलित थियौं। बिहानको हल्का चिया खाजासँगै हाम्रो दोस्रो दिनको यात्रा सुरू भयो।
उत्तरबाट बगेको लिङदे खोला र पश्चिमबाट बगेको केराङ खोला मिलेर भोटेकोशी नदी बनेको रहेछ।
भोटेकोशीको किनारैकिनार १७ किलोमिटर कच्ची मोटरबाटो पार गर्दै तत्कालीन टिमुरे गाविस हाल गोसाइँकुण्ड गाउँपालिका वडा नं २ मा रहेको नेपाल तर्फको अध्यागमन प्रक्रिया सकेर १ सय ५० वर्ष पुरानो ऐतिहासिक गढी रसुवागढी नाका पुग्यौं।
पहिले नै चाइनिज एम्बेसीबाट कागजी भिसा लिइसकिएको हुँदा नेपाल तिब्बत सिमानामा रहेको मितेरी पुलसँगै जोडिएको चिनियाँ अध्यागमन कार्यालयमा सुरक्षा जाँच प्रक्रिया सकिएसँगै हाम्रो चीन तर्फको यात्रा सुरू भयो।
ट्राभलको पूर्वतयारी अनुसार हामीलाई लिनका लागि चाइनिज बसहरू तयार रहेछन्। सबै प्रकृया सकेर रसुवागढी नाकाबाट ३६ किलोमिटर पर रहेको चीनको नयाँ सहर केरूङ पुगेर खाना खाँदा साँझको झण्डै ६ बजिसकेको थियो यद्यपि त्यहाँको समय नेपालको भन्दा २ घण्टा १५ मिनेट अगाडि भएकोले नेपाली समय भने ३:४५ मात्रै भएको थियो। यो सामान्य कुरा हो।
यात्रामा यस्तो भइरहन्छ त्यसैले हरेक यात्रुहरूले आआफ्नो हाते झोलामा केही न केही खानेकुराहरूको जोगाड गर्नुपर्छ र गरेकै हुन्छन्। झन् यस्तो अवस्थामा यात्रा अवधिभर एकै परिवार बनेका यात्रुहरूका खानेकुराहरू एक-आपसमा साटासाट गरेर खाँदा भोक घट्ने र आत्मीयता बढ्ने अवसर पनि प्राप्त हुन्छ नै।
ट्राभल एजेन्सीले खाद्य सामग्री र पकाउने टोली यतैबाट लाने रहेछ। स्तरीय होटलहरूमा बास बसे पनि यात्रुहरूलाई सोही होटलको किचेन प्रयोग गरी नेपाली भान्सेहरूद्वारा खानेकुरा पकाउने र खुवाउने प्रबन्ध गरिने रहेछ।
किचेन सामग्री र स्टाफहरूको लागि छुट्टै गाडी भएकोले हरेक स्टेसनमा हामी पुग्नुभन्दा पहिले नै भान्से टोलीले खानेकुराको प्रबन्ध गरिसकेका हुन्थे।
खाना खाएर पुन: रातको खाना ९ बजे खाने सूचना लिएर हामी आ-आफ्नै सुरमा केरूङ सहर घुम्न निस्कियौं। सिमाना काटेसँगै हामीसँग भएको नेपली नोटहरू फगत कागजमा रूपान्तरण हुने भएकोले चीनको १ युआन बराबर २० रूपैयाँ तिरेर लगिएका चाइनिज पैसाले भ्रमण अवधिभर हाम्रा अतिरिक्त आवश्यकताहरू पूरा गर्दै गयौं।
यात्राको तेस्रो दिन हामी आजको रात पनि उचाइ अनुकूलनको लागि २७०४ मिटर उचाइमा रहेको केरूङ सहरमा नै बास बस्नेछौं। त्यसैले बिहानको नास्ता पछि हामीलाई तिब्बती खेतीपाती, पर्यटकीय स्थलहरू,पर्यावरणीय गाउँ हुँदै महाकरूणामय अवलोकितेश्वर पागछोलिङ गुम्बा (विवाह गरेर ल्हासा जाने क्रममा भृकुटीले निर्माण गरेको) को भ्रमण गराइयो। जसबाट संक्षेपमा भए पनि हामीले नेपाल तिब्बत सम्बन्ध, तिब्बती खाद्य तथा कृषि संस्कृति, गाउँको रहनसहन,पर्यावरण संरक्षणको नमूना र आध्यात्मिक लाभ समेत लिन सफल भयौं।
सहरको चारैतिर पहाडले घेरिएको केरूङ सहरको पूर्वी भागबाहेक तिनैतिर नजिकै देखिने पहाडहरूमा परिरहेका हिउँ र त्यसको सिरेटोले साँच्चै यात्रुहरूलाई भने रोमान्चित गराउने रहेछ।
करिब ४-५ घण्टा हिँडेको थकाइसँगै करिब ३ बजेतिर खाना खाएपछि केहीबेर आराम गरेर पुनः घुम्न निस्कियौं।
नेपालको तामाङ समुदाय र तिब्बती अनुहार खासै भिन्न नभएकोले एकपटक नबोली चिन्न नसकिने धेरै नेपालीहरू केरूङमा भेटिए। चीन सरकारले दुई देशबीच सिमाना जोडिएको पालिकामा बसोबास गर्ने नेपालीहरूलाई काम गर्नको लागि निश्चित क्षेत्र र समयका लागि अस्थायी पास उपलब्ध गराउने हुनाले श्रमिकदेखि मध्यम स्तरको व्यापार गरेर बसेका नेपालीहरूसँगको देख भेटले नेपालमै छौं कि झैं लाग्दो रहेछ।
यात्राको चौथो दिन केरूङबाट २५० किलोमिटर पर रहेको सागा सहर पुग्ने तालिका अनुसार हाम्रो यात्रा सुरू भयो।
सडकको दायाँ बायाँ मरूभूमि झैं देखिने तिब्बती पठारको बीचमा नागबेली परेको बाटोको यात्रा साँच्चै अविस्मरणीय यात्रा थियो। झण्डै निर्जन लाग्ने पठारहरूमा चरिरहेका हजारौं भेंडा, च्याङ्ग्राका बथानहरू, सयौं स्थानहरूमा सोलार प्यानलबाट निकालिएको बिजुली र त्यसको वितरण प्रकृया, सरकारद्वारा ठाउँ ठाउँमा विकास हुँदै गरेका साना ठूला सहरहरू, निर्माणधीन आयोजनाहरू, छरिएर रहेका घरहरूको एकीकृत बस्तीहरू, बस्तीको नजिकै देखिने गुम्बाहरू जस्ता विकासका धेरै पूर्वाधारहरू हेर्दा ६ महिना हिउँले ढाकिने भूगोलको जनजीवनलाई सहज बनाउँदै चीन सरकारले विस्तार गर्दै गरेको विकास साँच्चै लोभलाग्दो छ।
५३०० मिटर उचाइमा रहेको लालुङ ला पास हुँदै पवित्र नदी ब्रम्हपुत्रको दर्शनसँगै हाम्रो आजको बास ४५०० मिटर उचाइमा बनाइएको सागा सहरको सुविधा सम्पन्न होटलमा भयो।
यात्राको पाचौं दिन हाम्रो गन्तब्य थियो ४६०० मिटर उचाइमा रहेको (छुइ गोम्पा) मानसरोवर ताल।
तर दुरी भने हिजोको भन्दा झण्डै दोब्बर अर्थात् ४४५ किलोमिटर।
लामो बाटो दृश्यहरू लगभग हिजो जस्तै तर पनि आँखालाई आराम नदिइकनै मानसरोवरको छेउमा पुगियो। यद्यपि झण्डै ५० किलोमिटरको बाटो बाँकी नै थियो। तर हाम्रा ४ वटामध्ये एउटा गाडी सामान्य दुर्घटनामा परेकोले उक्त बसमा भएका साथीहरूलाई लिन जानुपरेको हुँदा उक्त दिन उज्यालोमा मानसरोवरको दर्शन गर्न सकिएन।
राति अबेर गरी मानसरोवर नजिकै रहेको गेष्टहाउसमा हाम्रो बास भयो।
आज यात्राको छैठौं दिन अर्थात जनैपूर्णिमाको दिन।
हिलोमा भासिने जोखिमका कारण सबेरै उठेर सरोवरमा नुहाउन जानेहरूलाई स्वयं सेवक हरूले रोक्दा रहेछन्। हामीलाई भने ट्राभल एजेन्सीले पालभित्र नुहाउने ब्यवस्था गरेको थियो। विभिन्न एजेन्सीबाट गएका हजारौं भक्तजनहरू एकसाथ मानसरोवरका वरिपरि जम्मा भएर पितृकार्य देवकार्य गरिरहेका थियौं। यो महत्वपूर्ण धार्मिक यात्रामा अर्धाङ्गिनीको साथ जान पाएको भए म धन्य हुने थिएँ तर उनको घुँडामा समस्या देखिएकाले सम्भव भएन। अरू तीर्थयात्रीले झैं हामीले पनि यस पवित्र तीर्थस्थललाई साक्षी राखेर घरबाट लगेको जनै फेर्यौं अनि उपलब्ध गुरू पुरोहितको हातबाट डोरो बाँध्ने काम गर्यौं। अनि मन्दिर नभएको तिब्बतमा नजिकै रहेको ऐतिहासिक गुम्बाको दर्शन गर्यौं।
१२० किलोमिटर क्षेत्रफलमा फैलिएको मानसरोवर तालको गहिराइ ९० किलोमिटर रहेको छ। हिजो बेलुकी र आज गरेर तालको दुई तिहाइ अर्थात् ९० किलोमिटर दुरी परिक्रमा गर्दै बेलुकी हामी ५० किलोमिटर पर रहेको अर्को नयाँ सहर दार्चेन पुगेर बास बस्यौं।
यात्राको सातौं दिन बाट हाम्रो कैलाश परिक्रमा सुरू भयो। दार्चेन होटलबाट ८ किलोमिटर बसमा यात्रा गरेपछि यमद्वार पुगिने रहेछ। यमद्वारबाट १२ किलोमिटर तिरैतिर हिँडेपछि ४८९० मिटर उचाइमा रहेको दिरापुकको सामान्य होटलमा बास बस्नुपर्ने रहेछ।
कैलाश पर्वतलाई दाहिने पारेर गरिने यात्रामा दुबैतर्फको हिउँ र हिउँबाट निस्कने सिरेटोबाट बच्ने न्यानो कपडा र एकैछिनमा फेरिने मौसमले पार्ने पानीबाट बच्न वर्षादी अनिवार्य बोक्नुपर्ने रहेछ।
उकालो यात्रा भएकोले बाँकी सामान ठूलो झोलामा दार्चेन होटलमा नै छोड्नुपर्ने र मझौला झोलामा ५ केजीमा नबढ्ने गरी २ रातलाई पुग्ने सामग्री बोक्नुपर्ने रहेछ। टोपी थर्मल पहिरन स्वेटर लगाएतका कपडाहरू स्याफ्रुबेंसीदेखि नै प्रयोग गर्नुपरे पनि पन्जा बाक्लो मोजा गलबन्दी पानी नपस्ने ट्रेकिङ जुत्ता रेनकोट, हल्का तर न्यानो ज्याकेट र बलियो लठ्ठीको काम भने अब सुरू हुनेरहेछ।
यात्राको सुरूआतदेखि नै एजेन्सीले पानी उपलब्ध गराए पनि तातोपानीको लागि एक वा आधा लिटरको थर्मस सन ग्लास, सन क्रिम,टर्च लाइट र हल्का खानेकुराहरूको जुगाडले हाम्रो यात्रालाई थप सुरक्षित बनाउने रहेछ।
उच्च हिमाली भूभाग भएकोले यमद्वारदेखि जुतुलपुक सम्मको १२ किलोमिटर बाटो पार गर्न झण्डै ८ घण्टा लाग्ने रहेछ।
हामी साँझ झमक्क पर्नै लाग्दा होटलमा पुग्यौं तर धेरै साथीहरू राति अबेरसम्म आइपुग्दै हुनुहुन्थ्यो। कैलाश पर्वतको उत्तर तर्फको फेदीमा बास बस्ने हुनाले मौसमले साथ दिएको खण्डमा कैलाश पर्वतको राम्रो दर्शन प्राप्त गर्न सकिन्छ। परिक्रमा गर्न नसक्ने धेरै भक्तजनहरू यहीँबाट यमद्वार हुँदै दार्चेन होटल फर्कन्छन् र परिक्रमा गरेर आउने साथीहरूलाई कुर्ने गर्छन्।
आज यात्राको आठौं दिन। हिजोबाट सुरू भएको कैलाश परिक्रमालाइ निरन्तरता दिने दिन।
सवेरै बिहानको नास्ता खाएर झिसमिसेमै हाम्रो यात्रा सुरू भयो। बास बसेको स्थान दिरापुक ४८९० मिटर बाट उँभो लाग्दै ५६३० मिटर उचाइमा रहेको डोमाला पास पुग्न सहज भने छैन। त्यसैले यात्रा सिजनमा हरेक दिनजसो कोही न कोहीले नश्वर शरीर छोडेकै हुन्छन्। हामी गएको दिन १ जना र त्यसको भोलिपल्ट २ जना गएको नमिठो खबर सुनियो तर देख्न परेन। झण्डै मर्नेको संख्या पनि सानो नहुने रहेछ। विभिन्न कंपनीका गाइडहरू र यात्रुहरूले सकेसम्म बचाउने प्रयास भने गर्ने रहेछन्।
फोक्सोलाई भार नपार्ने गरी बिस्तारै हिँड्ने र थोरै थकाइ लाग्नेबित्तिकै आराम गर्ने गर्नाले यात्रा सहज हुनेरहेछ। यो सँगै मनतातो पानी, अक्सिजनको सानो बोतल र खानेकुराहरूको बन्दोबस्त अनिवार्य जस्तै हुन्छ।
पहिले नै बुक गर्ने हो भने हिँड्न नसक्नेहरूलाई १०२० युआन तिरेपछि डोमालासम्म घोडाको पनि ब्यवस्था रहेछ। तर उकालो पछि झर्नुपर्ने ठाडो ओरालो भने आफै झर्नुपर्ने रहेछ। डोमाला पास भन्दा केही पर गौरीकुण्डको पनि दर्शन पाइन्छ तर कुण्डमै पुग्न ठाडो र असजिलो बाटो ओर्लन र उक्लन पर्ने हुँदा थकित धेरै भक्तजनहरूले त्यो आँट भने गर्दैनन् र टाढैबाट दर्शन गर्छन् जुन हामीले पनि गर्यौं।
घोडेटो गोरेटोमा हिँड्दा थोरै मान्छे पनि धेरै देखिन्छन्। यो यात्रा अन्य खेल जस्तो होइन चाहे उकालो होस् या ओरालो हिँड्दा अगाडिको मान्छेलाई भेट्टाउने भन्दा पनि पछाडिबाट आउँदै गरेको मान्छेलाई कुरेर हिँडियो भने जित निश्चित हुन्छ।
उकालो उक्लिँदा फोक्सोलाई र ओरालो झर्दा गोडालाई भार पर्ने हुँदा छिटो हिँडेर शरीरलाई जोखिममा पार्नु गलत हुनसक्छ।
हामीले यिनै कुराहरूलाई ख्याल गर्दै झण्डै २२ किलोमिटरको यात्रा सम्पन्न गरेर ४७९० मिटर उचाइमा रहेको जुतुलपुकको होटलमा बास बस्यौं। जहाँ राति अबेरसम्म भक्तजनहरू आइरहनुभएको थियो।
अप्ठ्यारो पर्दा २२ किलोमिटरमध्ये उकालो उक्लिएर ओरालो झरिसकेपछि झण्डै ७ किलोमिटरसम्म बाटोमा मोटर चढेर पनि बास बस्ने होटल जुतुलपुक पुग्न सकिन्छ। यसको लागि प्रतिब्यक्ति ६०० युआन थप खर्च लाग्ने रहेछ।
आज यात्राको नवौं दिन।
अब हाम्रो फर्कने यात्रा सुरू भयो। हामीले हिजोको डोमाला पासबाट नै फर्कन सुरू गरिसकेका हौं। आज हामी जुतुलपुकबाट २ घण्टा पैदल यात्रा गरेपछि दार्चेन पुगेर खाना खाने र सिधै ३६५ किलोमिटर पर रहेको साँगा फर्कियौं। बीच बाटोमा हिउँ र पानी परेर अवरूद्ध भएको बाटो खुलाउन समय लागेकोले जाममा परेका यात्रुहरूले हिउँमा नाचगान गरेर रमाइलो त गरियो। तर होटल पुग्दा भने धेरै ढिलो भइसकेको थियो।
आज यात्राको दशौं दिन। साँगाबाट सुरू भएको हाम्रो यात्रा ३७५ किलोमिटर पर रहेको केरुङ सहरको लागि थियो। एउटै प्रकृतिको भूभाग भएको र जाँदा हेरिसकिएकोले फर्कंदा बसमा रमाइलो गर्दै एक आपसमा आत्मीयता र खानेकुराहरू साटासाट गरेर हामीले दशौं दिनको यात्रा सम्पन्न गर्यौं।
उक्त दिन समयमै केरूङ आइपुगेकोले बजार निस्कने अवसरको सदुपयोग गर्दै केही कोसेलीहरू खरिद गर्यौं। दोश्रो र तेश्रो रात बास बसेको होटलमा आजको तेश्रो रात पनि बास बसियो।
आज यात्राको एघारौं दिन हो।
कार्यक्रम तालिका अनुसार आज हामी काठमाडौं पुग्नुपर्ने थियो तर अघिल्लो दिन बेलुकी नै बाढीले चीन तर्फको बाटो बिगारेकोले यात्रा अनिश्चित भएको खबर आयो। सबैलाई १० दिन छोडेको घरको न्यास्रो लागिसकेको थियो। झिनो आसा लिएर हामी रसुवागढी नाकातर्फ अगाडि बढ्न होटलबाट केही किलोमिटर वरसम्म लागेको गाडीको लाइनमा बस्यौं। केरूङबाट ठूला ठूला ढुंगा बोकेका टिपरहरू बाटो बिग्रिएको स्थानतर्फ गइरहेका थिए। करिब ३ घण्टा जति कुरेपछि आज कुनै हालतमा बाटो बन्दैन भन्ने खवर आयो। हामी सबै निरास भएर पुन: चौथो रात पनि त्यही होटलमा बास बस्न फर्कियौं। वि च्याट र भि पि एन डाउनलोड गरेको भए पनि फोन बिग्रिएर घरतिर खासै सम्पर्क हुन सकिरहेको थिएन। साथीको मोवाइलबाट आज आउन नसक्ने जानकारी गराएर मन नलाग्दा नलाग्दै फेरि केरूङ बजार घुम्न निस्कियौं। प्याकेज सकिएकोले उक्त दिनको खाजा खाना एजेन्टले खुवाए पनि होटलको बिल भने यात्रुहरू आफैले भुक्तानी गरियो।
आज यात्राको १२ औं दिन। अवस्था हिजो जस्तै थियो। गाडी लाइनमा बस्यो। ट्रकहरूले निरन्तर ढुंगा ओसारिरहेका थिए। सवैको अनुहारमा निरासाले छोप्दै थियो करिव ३ घण्टापछि बिस्तारै गाडीहरू अगाडि बढ्न थाले। आसाको सन्चार त भयो तर आज पनि घर पुग्ने सपना भने सपनामै सीमित रहने निश्चित भयो।
मेला भर्न आएका यात्रुहरू त्यो पनि दुई दिनसम्म बाटो रोकिएर खुल्दा चीनतर्फको अध्यागमन खचाखच भिड भयो। अध्यागमन कर्मचारीहरूले आफ्नो देशमा आएका पर्यटकहरूलाई स्वागत सत्कार र सहयोग गर्ने भन्दा पनि अवैधानिक शरणार्थीलाई गरेजस्तो ब्यवहार गरेको देख्दा निकै दुख लाग्यो।
त्यस्तै ब्यवहारले पनि दश दिन अगाडिसम्म स्वर्ग लागिरहेको चीन छोडेर आफ्ने माटोमा टेक्न आतुर नेपाली मनहरूलाई त्यो दिन घर भन्दा प्यारो सिमाना वारिको टिमुरे भयो। त्यसदिन हामी स्याफ्रुबेंसीमा बसेर भोलिपल्ट अर्थात् यात्रा सुरू भएको तेह्रौं दिनमा सबैसँग बिदा भएर घर पुग्यौं।
अन्तमा सहयात्रीहरू क्रमशः मेरो बाल्यकाल देखिको साथी बिनोद फुयाँल, कल्पना तिम्सिना, सुरेश श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, भुगोल शेरचन, सोनिता शाह, नर्बदा थापा, रीता कडेल, र रेनु मल्लप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै सामिप्यता बिस्तार हुँदै गर्दा छुट्टिनु परेका अन्य महानुभावहरूप्रति मिठो सम्झना।