मध्यपश्चिम विश्वविद्यालयमा, पत्रकारिता र आमसञ्चार अध्ययनरत पत्रकारहरूले मिलेर अध्ययन भ्रमणका लागि गण्डकी प्रदेशका महत्वपूर्ण ठाउँहरूमा जाने योजना बनायौं।
समसामयिक महत्वका ऐतिहासिक दृश्यहरूको अध्ययन तथा अवलोकन गर्ने योजना अनुसार हामी गण्डकी प्रदेश पुग्नका लागि मध्यपहाडी (पुष्पलाल) राजमार्ग हुँदै जाने निश्चित गरेर साताव्यापी भ्रमणका क्रममा निस्कियौं।
हामीले गण्डकी प्रदेशतर्फको यात्राको क्रममा विकास, पर्यटन, शिक्षा, सञ्चार, आर्थिक, सामाजिक, सांस्कृतिक विभिन्न विषयवस्तुहरूलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गर्यौं।
अध्ययन टोली सुर्खेतको वीरेन्द्रनगरबाट छिन्चु–जाजरकोट सडक खण्डको बाटो हुँदै जाजरकोटको कुदुमा पुगेर मध्यपहाडी लोकमार्ग (पुष्पलाल) मा थोरै यात्रा गरेर छिन्चु–जाजरकोट सडक हुँदै जाजरकोट जिल्लाको सदरमुकाम खलङ्गा बजार पुग्यौं।
खलङ्गा बजारबाट डोल्पा–जाजरकोट राजमार्ग भएर रिम्ना पुगिन्छ। यो स्थान खासगरी माओवादीले सुरू गरेको १० वर्षे 'जनयुद्ध'का समयमा निकै चर्चामा आएको ठाउँ हो।
जनयुद्ध कालमा यस गाउँका २८ जनाले ज्यान गुमाएका थिए। रिम्ना यतिबेला भेरीको तिरैमा आफूलाई राखेर आफ्ना दुःख पीडालाई भुलाएर समय कटाउँदो रहेछ।
नेपालमा उत्तरतर्फ बग्ने नदीमध्येको एक सुरूमा उत्तरगंगाको नामबाट आफूलाई चिनाउँदै पछि डोल्पा मुहान भएर आउने ठूलीभेरीसँग आत्मीयता गाँस्दा सानीभेरी भएर सलल बगेको भेटिन्छ।
यो नदी पर्यटकीय गाउँ रिम्ना भएर ठूलीभेरी सँगसँगै अघि बढ्दो रहेछ। डोल्पा–जाजरकोट राजमार्गबाट हामी कुदुमा छोडेको मध्यपहाडी लोकमार्ग (पुष्पलाल) सँग भेट्न आतुर हुँदै पश्चिम रूकुमको सानीभेरी गाउँपालिकाको गराइलाको कच्ची सडकमा एकोहोरो अघि बढिरह्यौं।
गाडीमा कुनै साङ्गेतिक धुन नबजे पनि सानीभेरी नदीको तिरैतिर आफूलाई नचाउँदै र रमाउँदै हामी सिम्ली नजिक पुगेर मध्यपहाडी लोकमार्ग (पुष्पलाल) लाई पछ्याउन थाल्यौं।
मेरा अनन्य मित्र नेपाल पत्रकार महासंघ रूकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसीले आफ्नो जिल्लाभरी हाम्रो यात्रालाई केही सहजीकरण गरिदिनुभयो।
हामी पश्चिम रूकुमको मुसिकोट हुँदै नेपालको कान्छो जिल्लाको रूपमा चिनिएको रूकुम पूर्वको सदरमुकाम रूकुमकोट पुग्यौं।
रूकुमकोटलाई पहिला तत्कालीन राजाको बहिनीको नामबाट गाविसको नाम शोभा राखिएको पाइन्छ पछि यस गाविसको नाम परिवर्तन गरेर रूकुमकोट राखिएको रहेछ।
रूकुम पूर्वको कमलदह जुन हाल सिस्ने गाउँपालिकाको केन्द्र पनि यही रूकुमकोटमा पर्दछ। हामी कमलदहको समिपमा पुग्दा त्यहाँ हामीलाई न्यानो आतिथ्यताका लागि पर्खिरहनुभएका नेपाल पत्रकार महासंघ रूकुम पूर्वका उपाध्यक्ष सर्जना कार्की सहितका पत्रकारहरूसँग कमलदहको काखैमा बसेर छलफल गर्न भ्यायौं।
रूकुम जिल्ला एउटै हुनेबेला पहिला रूकुमको सदरमुकाम यही रूकुमकोटमै थियो रे। मुसिकोटतिरका नेता शक्तिमा भएको बेला जिल्लाको सदरमुकाम पश्चिम रूकुमको मुसिकोटमा सारिएको भन्ने थाहा पायौं। जसका कारण पनि नयाँ सविधान जारी भएपछि यो जिल्ला छुट्टै जिल्लाको रूपमा अस्तित्वमा रहेको थाहा भयो।
गुरिल्ला पदमार्गको अवलोकन गर्दै भूमे गाउँपालिकाको केन्द्र खावाङबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल) लाई छोडेर भूमे गाउँपालिकाको महतगाउँतर्फ लाग्यौं। जहाँ तत्कालीन उपराष्ट्रपति तथा जनासेनाका कमाण्डर नन्दकिशोर पुन (पासाङ) नेतृत्वमा महत गाउँमा रहेको प्रहरी चौकीमाथि गरिएको आक्रमणको तयारी र अवस्थाका बारेमा युद्धस्मारिका स्थल नै बनेको छ।
उक्त युद्धस्मारिका स्थल हेर्नका लागि हामी महत गाउँतर्फ हानियौं। तत्कालीन समयमा यो महत गाउँ निकै चर्चाको विषय पनि बनेको थियो। माओवादीले आफ्नो युद्ध अवधिका समयमा लडाइँमा गरेको महत्वपूर्ण सफलता मध्येको एउटा महत गाउँ पनि थियो। जहाँ तत्कालीन समयमा सरकारी सुरक्षा निकायको सबैभन्दा उच्च ओहदाका व्यक्ति डिएसपी ठूले राईलाई कब्जा गरिएको थियो।
माओवादी सेनाद्वारा २०५६ साल असोज ५ गते महत प्रहरी चौकीको सफल आक्रमणपछि तत्कालीन डिएसपी ठूले राईलाई युद्धबन्दी नेकपा माओवादीका तत्कालीन केन्द्रीय सदस्य (हालका महासचिव) देव गुरूङसँग साटेर रिहाइ गरेकोले पनि महत चर्चामै रहेको थियो।
महत प्रहरी चौकीको आक्रमणसम्बन्धी वास्तविक र ऐतिहासिक घटनालाई परिकल्पना गरेर बनाइएको युद्धस्मारिका स्थल रहेको युद्ध स्मारकका साथै महत प्रहरी चौकी र चौकी कब्जाको स्टाच्यू अहिले पनि सजिलै अवलोकन गर्न सकिन्छ। यो युद्धस्मारिका स्थल अझ भनौं, युद्ध पर्यटन र युद्ध पत्रकारिता गर्नेहरूका लागि त झन् अवलोकन गर्नै पर्ने स्थान हो। जहाँ गुरिल्ला मार्ग, विगत द्वन्द्वको समयमा यो गाउँमा भएका युद्ध अभ्यासका बारेमा स्थानीयहरूसँग सजिलै जानकारी लिन सकिन्छ।
हामीले पनि युद्धस्मारिका स्थलको गहिरो स्थलगत अध्ययन र स्थानीयसँग आवश्यक जानकारीमूलक छलफल गर्न भ्यायौं। यतिबेलासम्म हामीलाई साँझपखको समयले हतार बनाइरहेको थियो। तर पनि हामीले युद्धस्मारिकाका बारेमा स्थलगत अध्ययन गर्न कुनै हतार गरेनौं।
समयले नेटो काटिसकेको भए पनि महत गाउँबाट करिब २०/२५ मिनेट नजिकै रहेको तत्कालीन माओवादीले सुरू गरेको जनयुद्धको उद्गमथलोको रूपमा रहेको रोल्पाको थवाङ गाउँ हाम्रा लागि अर्को उत्सुकको स्थान थियो। यति टाढा आइसकेपछि उक्त ठाउँ नहेर्नु हाम्रा लागि पछुतो शिवाय केही थिएन। अँध्यारो भइसकेको थियो रोल्पाको थवाङ जाने र नजानेबीचको मतान्तरका बीचमा अँध्यारो भए पनि हामी थवाङतर्फ लाग्यौं।
हामी उक्त गाउँमा पुग्दा अँध्यारो भइसकेको थियो तर पनि बत्तीको झिलिमिलीले थवाङ गाउँको सन्ध्याकालीन दृश्य हेर्यौं। तत्कालीन समयमा माओवादीले यही थवाङ गाउँलाई कसरी जनयुद्ध कालको उद्गमस्थल बनायो अरू स्थानमा किन बनाएन जस्ता कौतुहलताका बीचमा छोटो समीक्षा गर्न समेत भ्यायौं।
हामी त जलजला हिमालको तलपट्टी, थवाङ गाउँको पारिपट्टि पुगेर थवाङको ऐतिहासिकताबारे छलफल गरिरहेका रहेछौं। यो सबै वातावरणको बन्दोबस्त सहभागी अरूभन्दा म अलि जानकार भएकाले मैले नै मिलाएको थिएँ।
कम्युनिष्टको बलियो छाप रहेको थवाङ गाउँको आफ्नो फरक पहिचान रहेको पाइयो।
बहुदल र पञ्चायतमा निर्वाचनका समयमा ‘नो भोट’ गरेर चर्चा कमाएको यो थवाङ गाउँ माओवादी जनयुद्धको उद्गम थलो भएपछि यस गाउँलाई माओवादीले राजधानी बनाउँछ भनेर थुप्रै अनुमान गरिएको थियो। अहिलेसम्म कतै पनि कुरा उठेको सुनिँदैन।
विसं. २०६४ सालको पहिलो संविधान सभा चुनावमा माओवादी अध्यक्ष प्रचण्डले यही क्षेत्रलाई रोजेर चुनाव निर्वाचन लडें। त्यसैले पनि रोल्पाको थवाङ निकै चर्चामै रह्यो। पछि उपचुनावमा प्रचण्डले यो क्षेत्र छोडेर काठमाडौं रोजे।
विसं. २०७० सालमा भएको दोस्रो संविधान सभाको चुनावमा थवाङले माओवादी विभाजनपछि आफ्नो समर्थन मोहन वैद्य नेतृत्वको पार्टीलाई गर्यो। यो निर्वाचनमा थवाङबासीहरूले फेरि ‘नो भोट’ गरेर पहिलाको इतिहासलाई निरन्तरता दिए। निर्वाचनमा एउटा भोट पनि खसेन। तर चुनावमा भने केही अवरोध भएन। नाममात्र थवाङ सुनेका हाम्रो टिमका अन्य सदस्यहरूले प्रत्यक्ष रूपमा देख्न पाएकोमा खुसी व्यक्त गरे।
हामी महत गाउँ हुँदै मध्यपहाडी लोकमार्ग (पुष्पलाल) लाई पछ्याउँदै लुकुम हुँदै बाग्लुङ जिल्लाको बुर्तिबाङमा पुग्दा रातिको करिब ११ बजिसकेको थियो।
मध्यपश्चिम विश्वविद्यालय, पत्रकारिता र आमसञ्चार केन्द्रीय विभागका विभागीय प्रमुख उप–प्राध्यापक खगेन्द्रप्रसाद अधिकारी,उप–प्राध्यापक भानुभक्त अधिकारी र त्रिभुवन बिसी आमसञ्चार अध्ययनरत वीरेन्द्रबहादुर केसी, प्रेमप्रकाश खड्का, चिरन्जीवी गैरे र दिलिपकुमार शाही यात्रामा सहभागी हुनुहुन्थ्यो।
हाम्रो यात्राका सहभागीहरूका लागि मध्यपहाडी लोकमार्ग (पुष्पलाल) नयाँ थियो। अरूभन्दा थोरबहुत जानकारी भएको म नै थिएँ। त्यसैले पनि कहाँ जाने, के गर्ने भन्नेबारेको व्यवस्थापन सबै सहभागीहरूको समन्वय र सल्लाहमा मैले गरिरहेको थिएँ।
हाम्रो यात्रालाई सहजै गन्तव्यसम्म पुर्याउने जिम्मा लिएका सबभन्दा कम उमेरका गुरू (सवारी चालक) ले बेलाबेलामा मैले भन्न बिर्सेका र नजानेका ठाउँहरूको जानकारी दिएर यात्रालाई थप रमाइलो र यादगर बनाइरहेका थिए।
मध्यपहाडी लोकमार्ग (पुष्पलाल) को स्तरोन्नति गर्न नेपाल सरकारले पर्याप्त बजेटको व्यवस्था गरे यसले सबभन्दा कर्णालीबासीलाई काठमाडौं यात्रामा सहज र छोटो हुनेमा सहजै अनुमान गर्न सकिन्छ।
बाग्लुङ जिल्लाको बुर्तिवाङबाट गलकोट नगरपालिकाको हटियामा रहेको रेडियो गलकोटको अवलोकनसँगै सामुदायिक रेडियोले भोग्नु परेका समस्या तथा रेडियोले समुदायमा पारेको सकारात्मक प्रभावका बारेमा रेडियाका प्रतिनिधि मित्र थमन जीसँग छोटो अन्तर्क्रिया गरेर बाग्लुङ बजार हुँदै हामी म्याग्दीको बेनीतर्फ अघि बढ्यौं।
बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेल लगायतका पत्रकार साथीहरूको आतिथ्यतालाई स्वीकार्दै पत्रकारिता बारेको अनुभव आदान–प्रदान गर्यौं।
म्याग्दीको बेनीबाट कालिगण्डकीको तिरैतिर शालिग्रामसँग नजिकिँदै हिमाल पारिको जिल्ला भनेर चिनिने मुस्ताङको यात्रामा अघि बढ्यौं।
समयमै जोमसोम पुगेर चीनसँग जोडिएकोकोरला नाकामा जानका लागि अगाडिको यात्रा गर्ने हाम्रो योजनामा ब्रेक लाग्यो रूप्से झरनामा पुगेर । सडक अवरूद्ध भएका कारण हामीले करिब २ देखि ३ घण्टा बाटोमा नै समय बिताउनुपर्यो। त्यो ठाउँमा यात्रा गर्नका लागि निश्चित समय तोकिएको हुँदो रहेछ। मुस्ताङतर्फ जानेहरूका लागि बाटो निर्माणको काम रोकेर केही समय आवत–जावत गर्ने समय निर्धारण हुँदो रहेछ।
सडक खुलेपछि कच्ची बाटोमा कतिबेला अगाडि, पछाडि त कतिबेला तलमाथि गर्दै अघि बढ्यौं।कोरला नाकामा जानका लागि हामीले कागबेनीलाई उछिनेर छुसाङ पुगेर बास बस्यौं।
भोलिपल्ट बिहानै ६ बजे नै उठेर हामीले उपल्लो मुस्ताङको यात्रा तय गर्यौं।
बिहानको समयमा खाली पेटमा समस्या होला भनेर हामीले छुसाङमा बास बसेको होटलबाट आलु उसिनेर लिएका थियौं। बाटोमा यतायता गरेर अल्मलिँदा ढिलो हुने र नाकामा समयमा पुग्न नसक्दा समस्या हुने थाहा पाएकाले जाँदा ढिलो नगर्ने बरू समय भएमा फर्किंदा रमाइलो गर्दै आउने सहमति भए अनुसार हामी सिधैंकोरला नाकातर्फ उक्लियौं। जति जति हामी उत्तरतर्फ गइरहेका थियौं हामीले हेर्दा उत्तरतर्फ देखिने हिमाल दक्षिणतर्फ देखिरहेका थिए। त्यसैले हिमालपारिको जिल्ला भनेको रहेछ भनेर हामीले भन्न कुनै समय पर्खिनु परेन।
हिमालपारिको जिल्ला अझभन्दा चीनसँग जोडिएको ठाउँमा जानका लागि जति माथि पुग्यो उति रमाइलो र मनोरम दृश्य देखिन थालेपछि हामी सबैले केही फोटो र भिडिओ नलिइरहन सकेनौं।
हामी सबैले धौलागिरी र अन्नपूर्ण हिमालका सुन्दर तस्वीर र भिडिओ क्यामेरा र मोबाइलमा कैद मात्र गरेनौं, टिकटक बनाउन समेत भ्यायौं।
जति माथि जान्छौं उति अक्सिजनको कमीको महसुस हुँदै जान थालेको महसुस हुन थालेको थियो। अल्छी लागेर हो या, त्यसो भएरै हो गाडी चालकले गाडीलाई पनि अक्सिजन चााहिन्छ, ढिलो नगर्नू भन्दै गाडीलाई बन्द नगरेरै रोके। त्यसले गर्दा हामीलाई फोटो र भिडिओ छिटो खिच्नका लागि दबाब भयो।
चीन र नेपालको सीमानाकोरला नाकामा पुगेर हामीले निक्कै बेर फोटो र भिडिओ खिच्यौं। त्यहाँ थुप्रै नेपाली र केही भारतीयहरू पनि हामीले भेट्यौं। चीनतर्फको भवन र बाटो पिच भएको हामीले पायौं भने केही वर परसम्म तारबार गरेर चीनतर्फ जानका लागि प्रवेश निषेध गरिएको हामीले थाहा पायौं।
चीनतर्फका कोही पनि कतै देखेनौं बरू चीनतर्फबाट सिसिटिभीबाट सबै कुराको अवलोकन र अनुगमन गरिरहेकाले कोही पनि बाहिर नदेखिने हामीले बुझ्यौं।
हामीले एक आपसमा चीनतर्फको विकास र नेपाल तर्फको विकासका बारेमा गफगाफ गर्यौं।
अघिसम्मको उकालो यात्राकोरला नाकाबाट फर्किएपछि अब ओरालोतर्फ सुरू भएको थियो।
उपल्लो मुस्ताङको लोमाङ्थान हुँदैकोरला नाकाको भ्रमण गरेर हामी लोमान्थान फर्किएर खाना खायौं। माथिल्लो मुस्ताङमा रहेको छुसेल गुफा, बाटोमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको अध्ययन तथा अवलोकन गर्दै लोमान्थानबाट मुस्ताङी राजाको दरबार तथा त्यहाँ रहेका महत्वपूर्ण पर्यटकीय स्थलहरूको अवलोकन गर्दै हामी मुक्तिनाथ दर्शनका लागि ओरालो झर्यौं।
बास बस्नका लागि कागबेनीबाट मुक्तिनाथ मन्दिर नजिकैको बजारमा उक्लियौं। हामीलाई लाग्यो म्याग्दी बेनीदेखि मुस्ताङको जोमसोम हुँदै मुक्तिनाथ, लोमाङथान,कोरला नाकासम्मको सडकलाई व्यवस्थित गरेर चीनसँगको नाका खुलाइ व्यापार वृद्धिमा ध्यान दिनसके आर्थिक उपार्जनको बाटो बलियो हुने थियो।
भोलिपल्ट बिहानै हिन्दूहरूको महत्वपूर्ण धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि हामी सबै बिहानको कठ्याङ्ग्रिँदो चिसोलाई बेवास्ता गर्दै मुक्तिनाथ दर्शनका लागि आवश्यक सामान किनेर मन्दिरतर्फ लाग्यौं।
हिमालको काखमा मन्दिर, चारैतिर सेतै हिउँ नै हिउँले भरिएको हिमाल देख्दा स्वर्गमा पुगेको अनुभव हुन्थ्यो।
हामीले मुक्तिनाथ मन्दिर लगायत वरपरका विभिन्न मन्दिर, गुम्बा लगायतका रमणीय स्थानको दर्शन तथा अध्ययन अवलोकन गरिसकेपछि स्याउको गाउँ भनेर चिनिने मुस्ताङको मार्फा गाउँमा खाना खाएर समयको बेगलाई पछ्याउँदै हामी रूप्से झरनाको जामलाई छिचोल्दै म्याग्दीको बेनी बजारमा आयौं।
म्याग्दीको बेनीबाट हामी बाग्लुङ, पर्वत हुँदै पोखरा पुग्ने योजनाका साथ अघि बढेका थियौं। सोही योजनाअनुसार हामी बाग्लुङको कालिका मन्दिरमा पुग्दा रात परिसकेको थियो तर पनि हामीले मन्दिर परिसरमा अवलोकन गरेर मध्यपहाडी लोकमार्ग (पुष्पलाल) हुँदै नेपाल पत्रकार महासंघ पर्वत शाखाको आथित्यतामा पर्वत जिल्लाको कुश्मा बजारमा पुगेर रोकियौं।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मित्र छविलाल तिवारी, पर्वत शाखाका अध्यक्ष सन्तोष थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका निवर्तमान महासचिव गणेश पौडेलसँग आत्मीयतापूर्ण भेटघाट भयो।
म कर्णालीको महासचिव हुँदा गणेश पौडेल गण्डकीको महासचिव हुनुहुन्थ्यो। त्यसैले पनि उहाँसँग मेरो पुरानो चिनजान र सहकार्य थियो नै। उहाँहरूको आतिथ्यतामा हामी रमाइलो गर्दै बसिरहँदा सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यूका प्रेस सल्लाहकार अग्रज दाजु दुर्गाप्रसाद शर्मा पनि हामी आएको जानकारी पाएपछि आइपुग्नु भयो।
दाइको आगमनले हाम्रो बसाइ अझ भव्य र थप रमाइलो भएको महसुस गर्यौं।
मित्र गणेश पौडेलको सहजीकरणमा पर्वत कुश्मा र बाग्लुङ जिल्ला जोड्ने पुल तथा बन्जी जम्पको अवलोकन तथा अध्ययन गर्यौं।
पर्वतबाट हामी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीसँगै पोखरातर्फ प्रस्थान गर्यौं। कास्की जिल्लाको सराङकोटबाट पोखराको दृश्य अवलोकन गर्दै पोखरामा रहेको बिन्दावासिनी मन्दिर, फेवातालको बीचमा रहेको तालबराही मन्दिरको दर्शन तथा डुंगाको सयर गर्दै फेवातालको भ्रमण गर्ने अवसर मिल्यो।
माछापुच्छेको छाया देखिने गरी फेवातालको बीचमा रहेको ताल बाराही मन्दिरको आँगनमा रमायौं।
पोखराबाट मध्यपहाडी लोकमार्ग (पुष्पलाल) हुँदै तनहुँको रूपाकोट र लमजुङको सुन्दरबजार हुँदै सदरमुकाम बेशीसहर पुग्यौं।
बेशीसहरमा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य नविन कुइँकेल लगायतका पत्रकार साथीहरूसँग भेटघाट र छलफल गरेर हामी बहुचर्चित होमस्टे लमजुङको घलेगाउँतिर लाग्यौं।
घले गाँउमा आफूखुसीभन्दा होमस्टे व्यवस्थापन समितिको सचिवालयमा पुगेपछि मात्र थाहा भयो हामी समितिले आउने पाहुनालाई स्वागत गरेर तोकेको घरमा बास बस्नुपर्ने रहेछ। सोही अनुसार हामी २० नम्बरको घरमा बास बस्यौं। दिनभरिको थकान र चिसो वातावरणले समयमै निदाउनु हाम्रा लागि अनिवार्य थियो र गर्यौं पनि त्यसै। त्यहाँ गाउँमा पाहुनाका लागि सांस्कृतिक साँझ हुँदो रहेछ तर हामी थकित भएकाले उक्त सांस्कृतिक साँझमा सहभागी हुन सकेनौं।
दक्षिण एसियाको नमूना गाउँ तथा स्मार्ट भिलेज घले गाउँ, देशको पहिलो सुखी गाउँ बन्न सफल घले गाउँ लमजुङको भ्यु टावरबाट सनराइजको अवलोकन गर्दा घले गाउँ साँच्चिकैको घले गाउँ रहेको महसुस भयो।
घले गाउँमा रहेको चिया बगान, मन्दिर, पदमार्ग, पर्यटकीय गाउँको पैदल यात्रा गरेरै अवलोकन गर्ने अवसर प्राप्त भयो।
घले गाउँबाट बिदा भएर पोखराको बेगनास तालको अवलोकन गरेर हामी पोखराबाट स्याङ्जाको पुतलीबजार, हुँदै पाल्पा, सिद्धबाबा भएर बुटवल झर्यौं। त्यसपछि यादगर ती दिनहरू मानसपटलमा ताजै राखेर हामी सबै आ–आफ्नो घरतर्फ लाग्यौं।