वर्षैभरि कामको बोझले गर्दा थकित मन र तनलाई ताजिकी भर्ने उद्देश्यले नयाँ वर्षलाई लक्षित गरेर घुमफिर गर्ने योजना बन्यो। बच्चाहरू वार्षिक परीक्षा सकाएर घरतिर गएको हुँदा घर अपायक जागिर गर्ने म जस्ताका दम्पतीलाई दश पन्ध्र दिनको व्यक्तिगत समय मिलेको क्षणलाई सदुपयोग गर्ने निधो गर्दै तय गरियो चितवनदेखि मुस्ताङसम्मको यात्रा। त्यो पनि मोटरसाइकलमा।
बन्दीपुरको बास
चैतको २८ गते साँझ ५ बजे कार्यालय समय सकाएपछि ब्याग मिलाएर घरबाट निस्किँदा साँझको ६ बजिसकेको थियो। त्यो रात बन्दीपुरमा बिताउने गरी हिँडेका हामी त्यहाँ पुग्दा ८ बजेको थियो। बन्दीपुर बजारको बत्तीको झिलिमिली हेरेर टुँडिखेल नजिकैको होटलमा खाना खाएर भोलिका लागि यात्रा योजना बनाएर दिनको मैजारो गर्दा रातिको ११ बजिसकेको थियो।
बन्दीपुरको सुन्दरतालाई बिहानको प्रहरमा नियाल्न टुँडिखेल अनि बन्दीपुर डाँडामा पुग्यौं हामी। बन्दै गरेका ग्रेटवाल, ठूलो टावर होटल, केवलकार, स्काई वाक आदि कृत्रिम संरचनाले प्रकृतिकी रानी बन्दीपुरलाई थप सिंगार्ने प्रयास गरिँदै रहेछ।
बिहानको करिब १ घण्टाको बन्दीपुर बजारको पैदल यात्रामा देखिएका पुराना शैलीका नयाँ संरचनाले संस्कृतिको संरक्षण सहितको विकासको मोडललाई चित्रित गरेको प्रतीत हुन्थ्यो।
मर्दीको मुन्तिर
बिहान ९ बजे बन्दीपुरलाई बिदा गरेर धुलो, हिलो र निर्माण सामग्रीको थुप्रोले पुरिएको पृथ्वी लोकमार्गको डोब पछ्याउँदै लेखनाथ पुग्दा १२ बजिसकेको थियो।
बेगनास तालको दृश्यावलोकनसहित भोजन गर्दै करिब २ घण्टा त्यहीँ बितायौं। त्यसपछि तुलनात्मक रूपमा सफा र नागबेली परेको सडकमा एकाकर भई वरिपरिका दृश्य हेर्दै कतै हराउँदै र कतै बाटो बिराउँदै सारङकोटतर्फको बाटो भएर लुम्ले काँडेमा पुगी प्रिय आफन्तजनकोमा नास्ता लिएपछि हाम्रो यात्राको रूप केही फेरिएको थियो।
केही क्षण अघिसम्म बाइकमा सवार हामी साँझपख साथमा केही सहयात्रीहरू थपेर पदयात्रामा होमिएका थियौं। करिब १ घण्टाको हाम्रो उकालो यात्राको उद्गगम काँडे थियो भने प्रस्थान बिन्दु ठूला खर्क अष्ट्रेलियन क्याम्प।
अष्ट्रेलियन क्याम्प त्यो स्थान रहेछ जुन पोखरादेखि मर्दी हिमाल सम्मका केही ट्रेकिङ रूटमध्ये एउटा रूटको पहिलो आराम स्थल मानिन्छ। साथै उक्त ठाउँ आजभोलि पोखरा घुम्न आउने आन्तरिक र विदेशी पर्यटकको छोटो ट्रेकिङ गन्तव्य समेत बन्ने गरेको रहेछ।
दश पन्ध्र वटाको संख्यामा मात्र घरहरू रहेको खर्कको विशेषता भनेको पहाडको बीचमा केही समथर भूभाग हुनु, माछापुच्छ्रे तथा अन्नपूर्ण हिमाल नजिकै देखिनु अनि सुन्दर पोखरा नगरीलाई समेत नियाल्न सकिनु रहेछ। लालीगुँरास फुल्ने वनको बाटो छिचोल्दै चिसो स्वच्छ हावापानी भैरहने समुद्री सतहबाट २०४० मिटरको उचाइमा अवस्थित त्यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्द पार्न सक्ने प्राकृतिक जादु उक्त स्थानको रहेको पाएँ मैले।
अष्ट्रेलियन क्याम्पमा रहेको होटल गुँरासको स्वादिलो खाना अनि सञ्चालक दाजुहरूको मिठो आतिथ्यले गर्दा पुलकित भएका हामीलाई दिनभरिको थकान मेट्न निकै सहज भएको थियो।
यसरी बन्दीपुरबाट सुरू भएको हाम्रो यात्राको दोस्रो दिनलाई कयौं यादगार दृश्य तथा क्षणहरूलाई मस्तिष्कमा कैद गर्दै मर्दीको मुन्तिर अष्ट्रेलियन क्याम्पमा पुगेर टुंग्यायौं।
मुस्ताङमा पहिलो पाइला
कास्कीको लुम्ले झरेर बिहान खाना खाएपछि हामी यात्राको मुख्य गन्तव्य मुक्तिनाथका लागि निस्कियौं। कास्कीको नयाँपुल, पर्वतको मोदी खोला, अनि ठाउँ/ठाउँमा बनेका हाइड्रोका ड्यामहरू, कुस्मामा रहेका प्रसिद्ध झोलुङ्गे पुलहरूलाई हेर्दै पर्वत र बाग्लुङको सीमानामा पर्ने मालढुंगासम्म पुग्दा बाटो काटेको पत्तै भएन।
मालढुंगादेखि बेनीसम्मको पर्वततर्फको बाटो दूरीका हिसाबले १३ किलोमिटर मात्र भए पनि निकै अप्ठ्यारो भएकाले करिब १ घण्टा लाग्यो पार गर्न हामीलाई।
त्यस्ता सडकहरूले हाम्रो शरीरलाई केही कमजोर बनाए पनि मनलाई भने झन् बलियो बन्न अभ्यस्त बनाउँदै थिए।
यात्रामा निस्किँदा दरो पार्नु पर्ने तनभन्दा मन रहेछ भन्ने पाठ सिकाउँदै थियो यात्रा पाठशालाले हामीलाई।
बेनी बजारमा कालीगण्डकीको पुल तर्दै गर्दा सम्झियौं यही कालीको शिर हो हामी पुग्ने मुक्तिनाथ। फेरि याद आयो यही कालीको पानी पुग्छ नारायणीमा जहाँबाट हामीले यात्रा थालेका थियौं।
गुगल नक्साले ९६ किलोमिटर अनि हातको घडीले साँझको साढे चार देखाएपछि जहाँसम्म पुगिन्छ जाने भनी बेनीबाट उत्तरतर्फ लाग्दा फरक अनुभूति हुँदै थियो।
म्याग्दीको प्रसिद्ध गलेश्वर मन्दिरलाई परैबाट नमन गरी यात्राको सफलताको कामना गरियो।
सडकको वरिपरि स्थिर भएर हेर्न पर्ने धेरै ठाउँहरू थिए तर हामीले गतिशील अवस्थामै भ्याइने जतिमात्र हेर्यौं। त्यसरी देखिएका प्रख्यात ठाउँहरूमा म्याग्दीको तातो पानी कुण्ड, दाना भञ्ज्याङ, रूप्से झर्ना आदि थिए।
करिब ४० किलोमिटर पट्यारलाग्दो सडक पार गरेपछि नजिकिएको हिमालको दृश्य, सुधारिएको बाटाको गुणस्तर, फेरिएको भौगोलिक बनावट, बढ्दै गएको चिसो हावाको वेग साँच्चिकै विचित्रको थियो।
यो पक्कै पनि छुट्टै ठाउँ हुनु पर्छ सायद मुस्ताङ हुनुपर्छ भनेर यकिन गर्न हामीले कसैलाई सोध्नै परेन।
अनुपम प्राकृतिक छटाले आफैं चिनाइदिने रहेछ मुस्ताङलाई। ख्याल ख्यालमै हामी मुस्ताङ पुगेछौं। मुस्ताङमा हाम्रो पहिलो पाइला टेकिएछ। अघिसम्म उत्तरमा देखिएका सेताम्मे हिमाल अब दक्षिणमा देखिने भएछन्।
के अचम्म हामी त हिमाल पारी पुगेछौं तर हिमाल नचढिकनै। धेरै ठाउँहरू सोचेभन्दा नराम्रा हुन्छन् मुस्ताङ तर सोच्नै नसकिने गरी राम्रो रहेछ। अन्त नराम्रा लाग्ने नांगा डाँडा त्यहाँ राम्रा देखिँदा रहेछन्। त्यहाँको मरूभूमि जस्तो भू-बनोट विछट्टै राम्रो देखिँदो रहेछ।
हिमाली जिल्लामा कति धेरै समथर भूभाग। सानो काली खोलाको कति ठूलो बगर। काला पहाडहरूका शिरमा सेतो हिउँ। हिउँ पग्लिदै पानी बन्दै गरेको दृश्य।
सडकको वरिपरि खुजुमुज्ज परेका साना घरहरू भएका लेते, छारताङ, ताङसरा, मार्फा आदि नाउ गरेका गाउँहरू। पालुवा पलाउँदै र फूल फुल्दै गरेका स्याउका रूखहरू।
गोधूली साँझमा यस्ता दृश्यावलोकन गर्न पाउँदा यात्राका कष्टहरू पूरै भुलेका थियौं हामीले। जोमसोम बजारमा पुग्दा झिसमिसे भैसकेको र चिसो पनि बढेको हुँदा त्यो रात त्यही व्यतित गर्ने मनासय बनाएर तेस्रो दिनको यात्रा बिसायौ हामीले।
मुक्तिनाथको दर्शन
मोटरसाइकल जोमसोममै राखेर बिहान ६ नबज्दै बसपार्कबाट मुक्तिनाथका लागि छुट्ने बस चढेको केही समयपछि कागबेनी पुगियो। कागबेनीमा पितृ तर्पण दिनेहरूको घुइँचो लाग्दो रहेछ।
जोमसोम मुक्तिनाथ रूटमा चल्ने बसहरूले कागबेनीमा करिब एक घण्टा विश्राम गर्ने अनि केही माथि चढेपछि आउने समथर भूभागमा १५ मिनेट फोटो खिच्नको लागि रोकिदिने समय तालिका नै बनाएका हुँदा रहेछन्।
त्यस्तो सुविधा दिने भएकै कारणले गर्दा होला जोमसोमदेखि मुक्तिनाथसम्मको जम्मा २१ किलोमिटरको बाटोको एकतर्फी भाडा जनही रु ५०० का दरले लाग्दो रहेछ।
केही महंगो लाग्यो हामीलाई। बस बिसौनीबाट दश मिनेट जति तेर्सो अनि त्यति नै समय सिँढीमा उकालो चढेपछि मन्दिरको मुख्य प्रवेशद्वारमा पुग्यौँ। लेक लाग्ने, हिँड्न नसक्नेहरूलाई मन्दिरसम्म चढाउन र फेरि तलसम्म ओराल्नका लागि घोडाहरूको पनि व्यवस्था रहेछ त्यहाँ।
हिमालको भित्तामा रहेको मन्दिर वरिपरि पात नभएका रूखहरू भएको वन, हिउँ पग्लेर झरेको कञ्चन पानीलाई संगालेर बनाइएका दुई वटा पोखरी, त्यही पानीलाई १०८ खण्डमा विभाजन गर्ने गरी जडान गरिएका धाराहरू, तिनै धारा र पोखरीमा नुहाई मन्दिरमा दर्शन गर्न जम्मा भएका भक्तजनहरूको घुइँचो। मन्दिरमा पुग्ने बित्तिकै आँखालाई चारैतिर डुलाउँदा देखिएको दृश्य हो त्यो।
त्यहाँका धारा र कुण्डमा नुहाएपछि जान अन्जानमा गरेका सबै पाप पखालिने, मन्दिरमा कामना गरेका कुराहरू पूरा हुने विश्वास आम मानिसमा रहेछ। नजिकै रहेको ठूलो बुद्ध मूर्ति, वरिपरि टाँगिएका ध्वजा पाताहरू हेर्दा लाग्थ्यो यो हिन्दुहरूको मात्र नभएर बौद्ध धर्मावलम्बीहरूको पनि साझा तीर्थस्थल हो। मन्दिर परिसरको दक्षिणपट्टि कुनामा सदा बलिरहने ज्वालामाई पनि रहेछ। ती सबै ठाउँहरूको अवलोकन गरी हामीले पनि मन्दिरमा दर्शन गर्यौं। यति गरिसक्दा हाम्रो आधा यात्रा पूरा भयो।
चितुवासँग जम्काभेट
'जोमसोमै बजारमा १२ बजे हावा सरर' भन्ने गीतमा श्रीमतीज्यूले टिकटक बनाइसक्दा जोमसोममा भने १ बजिसकेको थियो। त्यहीँ खाना खाएर जाँदा छुटेका केही स्थानहरू अवलोकन गर्दै फर्किने यात्रामा होमियौं।
पर्वत जिल्लाको दक्षिण भेगमा पर्ने एक जना अनन्य मित्रको घरसम्म पुग्ने योजना थियो त्यस दिनमा हाम्रो।
हराउँदै, सोध्दै खोज्दै, कतै पक्की कतै कच्ची बाटो, थोरै गाउँ, धेरै जंगल पार गर्दै निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी गन्तव्यमा त पुगियो। तर बाटामा जे देखियो त्यो दृश्यले हामीलाई आज पर्यन्त र सायद भोलिका दिनमा पनि झस्काइरहने छ।
पर्वतको लुंकु देउरालीबाट हुवाससम्म पुग्ने सडकखण्ड बीचमा पर्ने जंगलमा हाम्रो भेट चितुवासँग भयो।
सुनसान जंगल, कच्ची ओरालो धुलाम्य बाटोको कुनापट्टि शिकार झम्टिन तम्तयार भएर बसेको जस्तो अवस्थामा करिब १० मिटर परबाट बाइकको हेडलाइटले देखाएको तस्बिर कुनै खराब सपनाभन्दा कम थिएन।
फर्किनलाई मोटरसाइकल घुमाउने अवस्था र आँट हुने कुरै भएन बाटो काट्नै पर्ने भयो। मुटुको धड्कन र सासलाई केहीबेर रोकेर मोटरसाइकलको गति बढाउनुभन्दा अर्को विकल्प मसँग थिएन।
अगाडिको बाटोको अवस्था अन्जान भएकाले तीव्र गतिको कारणले गर्दा दुर्घटना हुन पनि सक्थ्यो। चितुवाले झम्टी हालेमा के गर्ने हामीसँग कुनै प्रतिकारको उपाय थिएन।
यस्तो बेलामा भगवानको नाम सम्झिने र आफ्नो व्रम्हले जे भन्छ त्यो गर्नु बाहेक अरू कुरा दिमागमा नआउने रहेछ।
मुक्तिनाथको कृपाले भनौ हिंस्रक चितुवाको छेवैबाट बाटो काटेर जाँदा समेत कुनै अप्रिय घटनाको सामना गर्नु परेन।
यात्राका अन्य धेरै कुराहरूलाई ओझेलमा पार्ने गरी यो घटना हाम्रो मानसपटलमा बास गरिरहेको छ। साथीको घरमा एक दिन बिताएर भोलिपल्ट स्याङ्जाको वालिङ हुँदै पोखरासम्म आउँदाको पल हाम्रो शरीरमात्र यात्रा गरिरहेको थियो मन भने त्यही चितुवाले खाइदिएको थियो।
अधुरो यात्रा
यात्राहरूमा सुनेका भन्दा धेरै कुराहरू देखिन्छन्। देखेकाभन्दा धेरै कुराहरू देख्न छुटेका हुन्छन्। घुमेकाभन्दा धेरै घुम्न बाँकी रहने गर्छन्। सायद यो यात्राको नियति नै हो। हाम्रो यो यात्रा पनि त्योभन्दा फरक हुन सकेन। बन्दीपुर पुग्दा नजिकै रहेको सिद्ध गुफा छुट्यो। बेगनास पुग्दा रूपा छुट्यो। अष्ट्रेलियन क्याम्प पुग्दा मर्दीसम्मको यात्रा अधुरो रह्यो। मुक्तिनाथ जाँदा अपर मुस्ताङसम्म पुग्न सकिएन। कति चाहेर कति नचाहेर पूरा भएनन्। कति जान्दा जान्दै कति नजानेर अपुरा भए। त्यसैले भनिन्छ 'अक्सर यात्राहरू अधुरा हुन्छन्'।
पाँचौं दिन बिहान पोखराबाट चितवन झरेसँगै हाम्रो यात्राले विश्राम पायो। समग्रमा यात्रा साहसिक, केही डरलाग्दो तर उपलब्धीपूर्ण बन्न पुग्यो।