प्राय: शैलुङ जहिले पुग्दा पनि दिउँसो पुगिने। बिहानै शैलुङबाट सूर्योदय हेर्ने इच्छा कहिल्यै पूरा भएको थिएन। यसपालि जसरी भए पनि बिहानै शैलुङबाट सूर्योदय हेर्नु थियो।
जहिलै काम मात्र, घुम्नलाई समय मिलिरहेको थिएन। एक दिन समय मिल्यो त्यो पनि कामको शिलशिलामा। शैलुङ नजिकै झोर गाउँमा रहेको विद्यालयमा कम्प्युटर मर्मत गर्न जानु पर्ने भयो। घुम्न भनेपछि हुरूक्क हुने ध्रुब आचार्य दाइलाई फोन गरें।
उहाँले म पनि जान्छु भनेपछि भोलिपल्ट बिहानै चरिकोटबाट झोर गाउँको लागि मोटरसाइकलमा यात्रा सुरू भयो। करिब दुई घन्टामा चरिकोटबाट भैंसे पुगियो।
भैंसेमा खाना खाएर झोर विद्यालयतर्फ लाग्यौं। करिब आधा घन्टामा विद्यालय पुग्यौं। निजी विद्यालय रहेछ।
२५ वटा कम्प्युटर मर्मत गर्नुपर्ने भयो। ११ बजे पुगेको हामी बेलुकी साढे पाँच बजेसम्ममा कम्प्युटर मर्मत गरेर सक्यौं। त्यहाँको सरले यतै बसौं भन्नुभयो तर हामीलाई भोलि बिहानै शैलुङबाट सूर्योदय हेर्नु थियो। त्यसैले हामी खोलाखर्क गएर बास बस्ने भयौं। साँझ पर्न थालिसकेको थियो। खोलाखर्क जाने सडक नाम मात्रको सडक थियो। कतै मोटरसाइकल गुडाउँदै कतै डोर्याउँदै हामी बेलुकी सात बजेर बाइस मिनेट जाँदा खोलाखर्क पुग्यौं। त्यही एक होटलमा बास बस्यौं।
भोलिपल्ट बिहानै पाँच बजे शैलुङतर्फ लाग्यौं। सूर्योदय जो हेर्नु थियो। मनमा एउटा उत्साह अनि छुट्टै उमंग लिएर करिब बीस मिनेट हिँडेपछि हामी शैलुङको थुम्कोमा पुग्यौं। केहीबेरको कुराइपछि सूर्योदय भयो। आहा त्यो पल म शब्दमा बयान गर्न सक्दिनँ।
हेर्नुहोस् त्यसपछिका तस्बिरहरू: