पाँच वर्षपछि दिल खोलेर पहाड उक्लने साइत जुर्यो।
साइत जुराएको थियो यसुमती राष्ट्रिय निकुञ्जले। साइत जुराउन भाइहरू लेखराज र प्रकाशले ठूलो भुमिका खेलेका थिए।
निकुञ्ज अमेरिकाको क्यालिफोर्निया राज्यमा पर्छ। यो निकुञ्जभित्रको मुख्य आकर्षक भनेको झरना हो।
विश्वको आठौं अग्लो स्थानमा रहेको यो झरना २४२५ फिट उचाइमा स्थित छ। १ अक्टोबर १८९० मा यो निकुञ्जको स्थापना भएको हो। यसुमती निकुञ्ज झरनाको साथै हाइकिङ, म्युजियम, क्याथड्रल समुन्द्र तट र इल क्याप्टेन पिकनिक क्षेत्र यसुमती निकुञ्जका अरू आकर्षकहरू हुन्। तथ्यांक अनुसार वर्षमा झन्डै ४ लाख पर्यटकहरूले भ्रमण गर्छन्।
वर्षौंको विश्रामपछि शरीरले हिँडेर पसिना बगाउने मौका पायो। शरीर बिल्कुलै दंग थियो। मभन्दा मेरो शरीरका अङ्गहरू खुसी थिए।
मैले शरीरलाई पूरै छोडिदिए स्वतन्त्र चराजस्तै। शरीरले मलाई छोडिदियो बेवारिसे बलुनजस्तै।
हावामा म पनि बलुनझैं आकासिँदै पहाडका रमणीय दृश्य नियाल्न सुरू गरें।
कानहरू चराहरूको चिरविर आवाज सुन्दै रमाउन थाले। हातहरू बाटोमा भेटिएका फूलहरू टिप्दै नाकलाई सुघाउँदै हिँड्दै थिए। जिब्रोले बाटोको चिसो हिउँको टेस्ट लिँदै थियो। झरनाबाट झरेको स्वच्छ चिसो पानी पिउँदै प्यास मेट्दै थियो। सबै व्यस्त भए। शरीर मस्त भयो।
घर छोड्नुअघि नै वाचा थियो आफ्नै शरीरसँग। पहाड चढ्ने समयभरि शरीरलाई मेरो कुनै हस्तक्षेप हुने छैन। मुटुले मलाई धन्यवाद दियो। धेरैपछि यसरी उसले तीव्र गतिमा धड्किन पाएको थियो। लाग्थ्यो बल्ल उसले पूरै रगत पम्प गर्दैछ शरीरमा। आफ्नै खुट्टाले आफैंसँग कृतज्ञता व्यक्त गरे। धेरैपछि खुट्टाले ढुंगा र माटोसँग खेल्न पाएका थिए।
यसुमती निकुञ्जको पार्किङमा गाडी पार्क गर्यौं। हल्का नास्ता लिएर विस्तारै उकालो उक्लियौं। नौ जनाको टिम थियो। बाटोमा केही विद्यार्थीहरू भेटिए। विद्यालयले उनीहरूलाई हाइकिङ र निकुञ्जको बारेमा जानकारी गराउन लिएको थियो। यो कुराले मलाई पनि छोयो। म दाङको मान्छे। मेरो घरदेखि झन्डै ५० किलोमिटरको दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ।
हाम्रा विद्यालयहरूले निकुञ्ज भ्रमण कमै मात्र गराउँछन्। गराउँदैनन् भन्दा पनि हुन्छ। विद्यार्थीहरूलाई फिल्ड रिपोर्ट तयार पार्ने असाइनमेन्ट दिइएको थियो। विद्यार्थीहरूमा तीव्र आंकाक्षा देखे। यो बडो गजबको विद्यार्थीलाई भ्रमण गराउने शैली लाग्यो।
नयाँ ठाउँको अवलोकन गर्दा रमाइलो हुने अर्कोतिर विद्यार्थीहरूले नयाँ ज्ञान पनि सिक्ने।
यो सबै विद्यालयहरूले अनुसरण गर्नुपर्ने राम्रो अभ्यास हो। पछिल्लो समय धेरैभन्दा धेरै भारतमा शैक्षिक भ्रमण लग्ने लहर चलेको छ। लहरभन्दा नि होडबाजी छ। त्योभन्दा यो अभ्यास धेरै लाभदायक र हितकर हुन्छ विद्यार्थी,अभिभावक र शिक्षकहरूलाई।
पहाड उक्लँदै गर्दा मेरा खुट्टाले कर्णालीको मुगु सम्झयो। गमगढीबाट रारा जाँदै गर्दा ताल्च एयरपोर्ट नजिकैको पहाड सम्झायो। मुगु बस्दा घुम्ने ठाउँ नै रारा हुन्थ्यो। कोही साथी भाइ आए घुमाउने ठाउँ रारा हुन्थ्यो। कसैले झ्याउ लाग्यो भने रिफ्रेस गराउने ठाउँ हुन्थ्यो रारा। कसैको दिल दुख्यो भने रारा औषधि बन्थ्यो। कसैको दिल बस्यो भने बिसाउने चौतारी रारा बन्थ्यो। रारा र गमगढी कुनै समय पानी पँधेरो थियो मेरो। यसुमतीले राराको याद ताजा बनायो।
रारासँग खेलेका सबै याद आँखा वरिपरि आए। पहाड उक्लेर एउटा टपमा पुग्दै गर्दा म पहिलो पटक मुगुको मुर्मटप पुगेको सम्झें जहाँबाट रारा स्वर्गको अप्सरा जस्तै देखिन्छ। जहाँ आँखा विचलन नभएर त्यो स्वर्ग नियालेर घन्टौंसम्म बस्न पनि उसलाई कुनै अप्ठ्यारो लागेन। उसलाई कुनै अबेर थिएन। अब कतै नजर लाउनु थिएन आँखालाई। निस्फिक्री चिहाइरहन्छ त्यो स्वर्गझैं रारालाई। मिलिचौरको वरपर फुलेका फुलहरू आँखामा झझल्को बनेर आए।
रारा एउटा यस्तो ठाउँ हो, जहाँ पुगेपछि जीवनमा भएका सबै थकान र तनाव ताजा हुन्छ। मान्छेलाई छुट्टै किसिमको ऊर्जा मिलेको आभास हुन्छ। रारा पाउँदा सारा भुलिन्छ। त्यो सुन्दरताको बयान र तारिफ शब्दमा लेख्न सकिँदैन। एकपटक प्रत्यक्ष अवलोकन गर्नैपर्ने हुन्छ। कवि होस् वा कथाकार, कलाकार होस् वा नाटककार सबै हराउँछन् राराको अलौकिक सुन्दरतामा।
यहाँ आउने जो कोहीले राराको तारिफ गरेर मात्र फर्कन्छ। आ-आफ्नो कला र क्षमता अनुसार केही न केही लेखेर फर्कन्छ। यसरी भुलाउँछ राराले जो कोही खान बिर्सन्छ। सुत्न बिर्सन्छ। यति लालायित हुन्छ त्यो सुन्दरता देखेर मानौं कोही आफैंले आफैंलाई भुलिदिन्छ केही पल। सायद त्यस्तो कोही छैन होला जो रारा पुगेर खाली फर्केको होस्।
बिस्तारै यसुमतीको झरनातिर उकालो उक्लँदै गर्दा मेरा खुट्टाले यो पटक बाजुराको बडिमालिका सम्झ्यो। चारधाम सम्झ्यो। उक्लँदै गर्दा पाटन पुग्नु अघिको पहाड त्रिवेणीको प्राकृतिक सुन्दरता सम्झ्यो। चारैतिर मैदान अनि टाढा देखिने त्यो हरियाली पहाड। पृथक चराचुरुङ्गीको आवाज। हेरेर थाक्दैन आँखा। हिँडेर थाक्दैन खुट्टा। सुनेर थाक्दैन कान। दलदल गर्ने मैदानमा हिँड्दाको मज्जा बेग्लै हुन्थ्यो। त्रिपालै त्रिपालको सहरजस्तै देखिन्थ्यो त्रिवेणी। मेलाको बेला मात्र लाग्ने हाटबजारहरू टन्नै हुन्थ्यो। नचाहेर पनि ठोकिन आए मेरो मानसपटलमा यादहरू।
त्रिवेणीबाट पहाड उक्लेर पाटन पुग्ने बाटो सम्झें। पाटनका घोडाहरू सम्झें। घोडा स्वतन्त्र थिए। मेरो मन जस्तै। मालिक थिएनन् स्वतन्त्रता कैद गर्नलाई। पाटनमा रमाएका घोडाहरू देखेर मेरो मन घोडा जस्तै स्वतन्त्र बन्थ्यो। पाटनको छुट्टै शोभा बढाउथे घोडाहरू। कुनै स्वर्गभन्दा कम थिएन पाटन।
यसुमतीको आफ्नै सुन्दरता छ। यहाँको हावापानी, वरपरको वातावरण धेरै सुन्दर छ। धेरै कुरा सिकाउँछ यसुमतीले। यसुमतीको पहिलो सुन्दरता भनेको निकुञ्ज व्यवस्थापन हो।
धेरै सरल र सभ्य तरिकाले यसको व्यवस्थापन गरिएको छ। कहीँ कतै फोहर छैन। चारैतिर उचित ठाउँमा फोहोर व्यवस्थापन गर्न डस्टबिनहरू प्रयोग गरिएको छ।
एउटा कुनै चकलेटको खोस्टा समेत भुइँमा फाल्नु हुन्न भन्ने संस्कारको विकास छ। मान्छेले हत्तपत्त भुइँमा थुक्न मन गर्दैन। धेरै अनुकूलता हेर्छ। चाहेर गल्ती गर्न खोज्दैन कोही। चाहेर अप्ठ्यारोमा पार्न खोज्दैन कोही। यो नै यहाँको प्लस पोइन्ट हो। निकुञ्ज बिल्कुल सफा छ।
यसुमती, रारा र बडिमालिकाको हावापानी बडो मिल्दोजुल्दो छ। यी तिनै ठाउँमा बेसरी हिउँ पर्छ जाडो याममा। तिनै ठाउँहरू घुम्न जाने उपयुुक्त समय भनेको गर्मीयाम नै हो। बडिमालिकामा विशेष दिनमा मात्र मान्छेको घुइँचो हुने गर्दछ। जनैपूर्णिमामा मात्र बडिमालिकाको विशेष महत्त्व रहने गर्छ। अहिले आएर स्थानीय सरकारले यसलाई पर्यटनको गन्तव्य बनाउने हेतुले केही कदम चाल्दैछ।
हामीले यसुमतीबाट सरसफाइ र अपन्त्वको भावना विकास गर्न सक्यौं भने हामी सबैभन्दा धनी हुनेछौं।
रारामा कर्णालीको म्युजियम बनाउन सकिन्छ। स्पेशल घोडा सवारलाई अलिकति व्यावसायिक बनाउन सकिन्छ। मिलिचौर भन्दा अगाडि गाउँमा धेरै राम्रा होमस्टे चलाउन सकिन्छ। हामीमा यही कुराको मात्र कमी छ। हामीले यही कुराको मात्र सिको गर्यौं भने हाम्रा सामाजिक, सांस्कृतिक र धार्मिक सम्पदाहरू विश्वमा नमूना बन्नेछन्। यसुमतीभन्दा कैयौं गुणा हाम्रा र राम्रा निकुञ्ज छन्। कैयौं धेरै झरना छन्। लाखौं पर्यटक भित्र्याउन कुनै गाह्रो छैन। सबै कुराले सम्भव छ। हामी सबै कुराले धनी छौं। सोचमात्र बदल्न जरूरी छ। हाम्रो पनि आफ्नै धरातल छ। आफ्नै मौलिकता छ। सबैलाई लोभ्याउन सक्ने प्रकृतिले दिएको सुन्दरता छ।