पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौं।
पूर्वमा मेची पार गर्दै आफ्नो सीमा छाडी सिलिगुरी हुँदै हामी इतिहासमा कतै नेपालको दाबी गरिएको टिस्टा नदीलाई पछ्याउँदै गयौंं।
लामो समयावधिसम्मको परीक्षा र परीक्षालगत्तै सर्भ क्याम्पको चटारोपछि चुनावको मुखैमा इन्जिनियरिङ विषयलाई प्राथमिकतामा राख्दै खोज तथा अनुसन्धानमूलक यात्रा तय गर्नु आफैंमा चुनौतीपूर्ण थियो।
अझ २७ गते रातबाटै सीमा नाका बन्द हुनाले समयमै सीमा पार गर्नुपर्ने थियो। यात्रामा सम्मेलित थियौं तीन पूर्वेली ( राजन कार्की, योगराज पोखरेल र म ) तथा दुई सुदूरपश्चिमेली ( सुवास तामाङ र उमंग जोशी )।
काठमाडौंबाट अघिल्लो दिन धरान पुगी धरान बजार, भेडेटार तथा इ.अ.सं, पूर्वाञ्चल क्याम्पसको भ्रमणपछि हाम्रो यात्रा थियो सिलिगुरीतर्फको।
सिलिगुरीबाट बस चढी अलिक पर पुग्दा पुरानो रेलको छुकछुक आवाजले कान टालिएका थिए।
करिब ५ मिनेटपश्चात् रेलले हाम्रो बाटो खाली गरेपछि यात्रामा खुसी छायो।
अलिअलि उकालो गर्दै सुरू भएको यात्रामा बसको गतिसँगै छेउमा सङ्लो बगिरहेको खोला देखिन्थ्यो।
हामी सबैको पहिलो यात्रा त्यसैले पनि यही खोला भनेर ठम्याउन सक्ने आँट कसैमा भएन।
एकातिर पहाडको भिर अर्कातिर बगिरहेको खोला। लागिरहेको थियो हामी धादिङको बाटो त्रिशूलीको बगरमा हिँडिरहेका थियौं। तर पनि केही भिन्नता थिए।
सडकको बनावट, भिरलाई दिइएको इन्जिनियरिङ सुरक्षा भिन्न देखिन्थे नेपालभन्दा। यत्तिकैमा हामी एक अर्कालाई भिरको भित्ता देखाउँदै प्रश्न गर्थ्यौं, ‘त्यो पाइप किन राखेको, त्यो कसरी/ किन बनाएको ?’ सिपेज भएर बग्ने पानीलाई व्यवस्थापन गर्न तथा एक्टिभ सोइल प्रेसरलाई थेग्नजस्ता सहज इन्जिनियरिङ शब्दले भरिएका मिश्रित जवाफ आउँथे। हामी यात्रामै इन्जिनियरिङ हाजिरी जवाफ( क्विज ) खेलिरहेका हुन्थ्यौं। धेरै प्राकृतिक चिजबिज नदेखिए पनि यात्रा पृथक अनि रमणीय थियो। यत्तिकैमा हाम्रो बसले हिँडिरहेको आफ्नो पथ मोड्यो , बसले पुल पार गर्न लाग्दैथियो। बोर्डमा हामीले ‘टिस्टा रिभर’ लेखेको देख्यौं। ‘टिस्टा’ शब्द देख्दैमा हाम्रो छाती गर्वले फुलिएर कत्रो भएको थियो। म मनमनै गीत सम्झिरहेको थिएँ।
‘पश्चिम किल्ला काँगडा, पूर्वमा टिस्टा पुगेथ्यौं
कुन शक्तिको सामूमा कहिले हामी झुकेथ्यौं।’
कुनै बेला विशाल नेपालको अंश थियो, टिस्टा। इतिहासको सुन्दर पानामा वीर सहिदले दिलाएको टिस्टा। यत्तिकैमा गोरखालीका कुरा गर्दा गर्दै बसले पूर्ण यात्राको लगभग आधा बाटो पार गरिसकेको थियो।
टिस्टा कटेपछि केही पर देखियो ‘कालिपोङ्ग’ जाने बाटो।
याद आए ‘पानी पर्यो सरर गीत’ ; ‘असार’ बोलका गायक बिपुल क्षेत्री। भारत बसेर पनि नेपाली गीत गाउन पोख्त क्षेत्रीका फ्यान अवश्य हामी पनि थियौं।
यत्तिकैमा हामी ५ जना नै गाउन थाल्यौं गीत
‘तिमी जाने सिलिगुरी म जाने सिक्किमतिर’
र यहाँबाट हामीलाई औपचारिक रूपमा सिक्किमको यात्रा सुरू भएझैं लाग्यो।
क्षेत्रीकै केही नेपाली गीतहरूमा रमिरहँदा बसबाट खोलामा टिस्टा त्रिवेणी राफ्टिङ क्षेत्रमा बोटमा रमाइरहेका आकृतिहरूले दृश्य मनमोहक देखिन्थ्यो। त्यसपछि हामीले बसबाट त्यही क्षेत्रमा बनेका केही विशाल/लामा पुलहरूको बनावट एवम् विशेषता हेरिरहेका थियौं र निर्माण प्रक्रिया अनि स्थायित्वका कुराहरू गरिरहेका थियौं। बाटो अलिक अप्ठ्यारो भएकाले धेरै यात्रुले असहज महसुस गरिरहँदा हामी भने अर्कै पीडामा थियौं। ‘रम्फू’ भन्ने स्थान कहिले आउला भन्ने पर्खाइमा थियौं। किनकी हामीलाई सिक्किम बस्नका लागि पूर्व पास लिइनुपर्नेजस्ता विभिन्न अफवाहहरू सिलिगुरीमा सुनाइएका थिए। त्यसैले पनि रम्फू पुगेर पनि कतै सिक्किम पस्न नपाइने हो कि भन्ने डर भने मनमा थियो।
पहाडको भिर, नजिकको खोला सतह छोडेर बस एक्कासि सहर प्रवेश गरिसकेको थियो। रम्फू पुल वारि पश्चिम बंगाल छाडेर हामी सिक्किम प्रदेश लागिसकेका थियौं। मनमा केही ढुकढुकी बढ्यो। म र सुवास हाम्रो नागरिकता लिएर रम्फूमा ‘फरेनर्स रिपोर्टिङ अफिस’ मा गएर वैदेशिक पर्यटक आगमनको कागजपत्र मिलाउन लाग्यौं। हतार हतारमा कागज बनाइयो दुई दिनभित्र फर्किने गरी। बस रम्फू चोकमा पुगेको रहेछ। सुन्दर शान्त अनि थोरै आवतजावत सहितको सहर रम्फू सहर। साथीहरूले चिसो किनेका रहेछन्। पिएर तनमन पनि रम्फूको वातावरण जस्तै चिसो भएको थियो।
अब अघिसम्म नेपालको बसझैं उकुसमुकुस बनेको बस अब सिटमा सीमित व्यक्तिहरूसहित अघि बढ्यो। मलाई शारीरिक रूपमा असहज भएकाले उमंगसँग सिट साटेर म लास्टको सिटबाट चालकसँगै रहेको सिटमा पुगेँ। धेरै बेरपछिको मौनता तोडेर सुवास, म र डाइभर दाइको गफगाफ सुरू भयो।
उनले नेपाली र सिक्किमेलीको सम्बन्धका गफ सुनाएँ।
आफ्नो मावली पनि नेपाली रहेको र एक वर्ष अघिको नेपालको पोखरा घुमाइको वृत्तान्त सुनाएँ। हामी एकाएक सिक्किमको विशेषता सोधिरहेका थियौं।
अब ठ्याक्कै नेपालको काभ्रे सिन्धुली खण्डको सडकझैं बाटोको सुरूआत भयो। चिसो मौसम अनि डाइभर दाइले बजाएको चर्चित नेपाली गीतहरूले हामी नेपालभन्दा बाहिर छौं भन्ने भान अलिकति पनि हुन दिएन।
केही सिक्किम भाका नेपाली गीतका शब्दहरूलाई हाम्रा ओठले पनि पछ्याइरहेका थिए। यात्राका दौरान हामीले बन्दै गरेका केही पुल तथा टनेलको अवलोकन समेत गर्यौं।
बसका ड्राइभर दाइले टनेल र पुलले कता कुनकुन ठाउँ जोड्छ भन्ने थुप्रै जानकारी दिनुभयो। त्यसपछि अलि समयमा थप रमझम र सुन्दर देखिने सहर आयो, रानीपुल। रानीपुलबाट बस ठाडै उकालो लाग्यो।
‘सिक्किम विश्वविद्यालय’ तथा ‘सिक्किम मणिपाल विश्वविद्यालय’ क्षेत्रहरू पनि सडकबाट देखिन्थे।
साँझ परिसकेको थियो, हाम्रो मनमा सिक्किम कतिबेला पुगिएला परिसकेको थियो। केहीबेर अझ ठाडो उकालो चढेपछि बस झ्याप्प रोकियो। सिटमा लगभग हामी १० जना बाँकी थियौं होला।
अब कता बस्ने कता जाने भन्ने समस्या बहुत भयो। सुवासले दाइ बनाएको डाइभर दाइले पनि होटलको मोलतोलमा हाम्रो चित्त बुझ्दो रकम नभनेकाले हामी मन खिन्न बनाउँदै अघि बढ्यौं। कुनै प्रकारका बोर्डहरू टाँगिएका थिएनन्। सिक्किमको कुन ठाउँ छौं भन्ने ठेगान पनि हुन सकिरहेको थिएन। मनमा कतिबेला रूम खोजेर आन्नदले सास फेरौंला बाहेक केही थिएन। हामीले बसबाट झरी पाँच मिनेट हिँडेपछि गुरूद्वार देख्यौं।
चारैतिर बत्तीले रातको समयमा गुरूद्वार निकै आकर्षक देखिन्थ्यो। हामी ‘देउराली बजार’ भन्ने ठाउँमा रहेछौं। त्यसपछि हामीले आफ्नो बासस्थान मिलाउनतर्फ दिमाग घुमायौं।
करिब चार/पाँच ठाउँ मोलमलाइ गरेपछि बल्ल एक ठाउँमा हाम्रो कुरा मिल्यो। केटाहरूले मलाई बार्गेनिङ गर्न अघि सारे।
मैले धेरैबेर अनुरोध गरेपछि यो पर्यटक आउने मौसम हो भन्दै हामीले भनेको शुल्कभन्दा केही सय बढीमा रूम मिल्यो। रूम पुगेर हामी फ्रेस भयौं र खाना खायौं। यत्तिका बीच हामीले धेरै कुरा महसुस गरिसकेका थियौं। सिक्किमको रातको त्यो चिसो समय, सिक्किमका मान्छे। त्यहाँको बोलिचाली। घरहरूका बनावट, तिब्बती शैलीका घरहरू। सबैभन्दा गज्जब त त्यहाँको प्रशासन रहेछ। धेरै कुरामा स्थानीयलाई प्राथमिकता दिइएको रहेछ। त्यसैले पनि हामी बुझ्न गएका अधिकांश होटलका मालिक नेपाली भाषा बोल्ने स्थानीय हुन्थे। सानो संख्यामा भने बंगालबाट आएर चर्को शुल्क तिरी होटल व्यवसाय गर्नेहरू रहेछन् भन्ने कुरा मैले हामी बसेको होटल धनीबाट जानकारी पाएँ।
सिक्किममा हाम्रो लागि मुख्य आकर्षणको बिन्दु थियो ‘चाँगु लेक/ त्सोमंगो लेक’ भुटिया भाषा (सिक्किमेली भाषा) मा ‘त्सो’ शब्दको अर्थ हुन्छ ताल अथवा लेक र ‘मंगो’ शब्दको अर्थ हुन्छ शिर अथवा टाउको। त्सोमंगोको लाटो आशय ‘तालको उदगम’ वा ‘तालको शिर’ हुन्छ।
खाना खाएपछि होटलका दाइसँग चाँगु लेक घुम्नेबारे सोधपुछ गर्दा दु:खद जानकारी पाएँ। दु:खद यसर्थमा कि चाँगु लेक घुम्न अघिल्लो दिन नै गान्तोक (गेङ्टक) मा रहेको कार्यालयबाट पास लिइएको हुनुपर्ने रहेछ। साथमा लोकल गाइड अनिवार्य रहेछ। हामी सिक्किम बस्ने नै दुई दिनको पास छ। जमेको बरफ हेर्ने र तालमा झुम्ने योजनाले फेल खायो।
सिक्किम यात्राको दु:खद सुरूआत भयो। हामीसँग सीमित मात्र पाकेट खर्च थियो त्यसकारण केही जुक्ति लगाएर वा पास मिलाएर अर्को दिन जानेगरी बस्न हामी सक्दैन थियौं। हामीले त्यतिबेला विभिन्न उपाय लगाएर आर्थिक हिसाब किताब गर्यौं। इस्टिमेटिङ तथा कस्टिङ र इकोनोमिक्स लगायतका विषयलाई हामी अनुभव गरिरहेका थियौं। यसरी पनि पाठ पढिने रहेछ। पैसाले मात्रै हाम्रो यात्रा रोकिँदैन भन्ने हामीलाई ज्ञात थियो।
त्यसैले भोलिपल्टको दिन सबेरै उठेर पैदल नै सिक्किम घुम्ने योजना सहित सुत्यौं। रातमा केहीबेर पानी परेकाले मौसम चिसो थियो। बिहान आँखा खोल्न नपाउँदै बन्धु (योगराज पोखरेललाई मायाले बोलाउने नाम) भन्ने साथीले चिच्याउन लागे, ‘केटा हो! उठ्, उठ। यहाँ त क्या गज्जब रछ।’
बाहिर पुगेर हेर्दा रातभर पानीले रूझाएर सफा बनाएको सिक्किम सहर तल बादल देखिन्थे। हामी बादल माथि देखिन्थ्यौं अनि अलिक पर हरियाली। सिक्किमको त्यो बिहानी अद्वितीय सुन्दरताले हामीलाई तानिरह्यो।
हामी रूमबाट निस्कियौं। एम जी मार्केट नजिकको मिठाइ पसलमा चियासहित पुरी तरकारी खाएर बाटो ततायौं। गन्तव्य थियो - बक्थाङ् झरना
बाटोमा हामीले सिक्किमको प्रहरी कार्यालय, सिक्किम हाइ कोर्ट लगायतका थुप्रै सरकारी कार्यलयहरू नियाल्दै गएका थियौं। निक्कैबेर हिँडेपछि बक्थाङ झरनाको पानीझैं खुसीले बगिरहेको मनसहित केही थान तस्बिर कैद गरी नजिकै रहेको शिव मन्दिरको दर्शन समेत गरी हामी अघि बढ्यौं।
गोन्जाङ गुम्बा पुगेर हाम्रा पाइला रोकिए। सुन्दर शान्त गुम्बामा मनलाई स्थिर बनाई प्रार्थना गरेर शरीर स्थिर बनाउन पेट पूजा गर्नतर्फ लाग्यौं। मीठो नेपाली भाषा सहितको सत्कारले खाना प्रचुर मीठो थियो। नेपालबाट आएका भन्दा होटलकी दिदीले गर्नुभएको व्यवहारले मन प्रफुल्लित थियो। आखिर पुर्खाले नेपाल र नेपालीका नाममा निकै आदरणीयता छाडेर गएका रहेछन् भन्ने अनुभूत भएको थियो।
सिक्किम प्रवेशसँग ‘अन्त कि, आम्बो, अनि कि …’ थेगोहरू हाम्रा जिब्रामा अड्किएका थिए।
खाना खाएर थकाइ मारेपछि हामी उकालो चढ्यौं। एक्कासि बजार क्षेत्र देखियो, ट्याक्सी स्ट्यान्डमा रहेका ट्याक्सीवाला दाइहरूसँग अन्तिमपल्ट चाँगु लेक पुग्ने मार्गबारे सोधपुछ गरेर हामी ६००० फिट उचाइमा रहेको ताशी भ्यू पोइन्ट, बोजोघारीको दुई तल्ले टावरको पहिलो तल्लामा पुग्यौं। शान्त स्थान, भित्तामा महात्मा गान्धीलगायत थुप्रै भारतीय नेताहरूका फोटो टाँसिएको थियो।
त्यो पहिलो तल्ला साँच्चै कुनै नेताको कार्यकक्षझैं देखिन्थ्यो। चारैतिर सोफा, चौडा भित्ता। भित्तामा सुप्रसिद्व नेताका तस्बिरहरू, बिचमा सिसाको टेबल। सोफामा केहीबेर उकालो चढाइको थकाइ मेटेर हामी टावरको माथिल्लो तल्ला चढी हेर्दा सिक्किमको चौतर्फी सुन्दरताले मन्त्रमुग्ध भएका थियौं। भौगोलिक बनावटमा नेपालजस्तै। खुला क्षितिज त्यसको तल मनोरम हिमाल, पहाड, डाँडाकाँडा, अनि सुन्दर गान्तोक सहर स्पष्ट देखिन्थ्यो टावरबाट।
टावरको तल एक क्षेत्रमा गार्डेन अनि कलात्मक वस्तुहरूको बिक्री। एक हिसाबले त्यो ठाउँ व्यापारिक केन्द्र देखिन्थ्यो। हस्तकलाले कुँदिएका बुद्धका प्रतिमा, खुकुरी, तरबार, कपडाहरू। टावर क्षेत्र सानो स्थानमा भए पनि व्यवस्थित थियो।
उक्त क्षेत्र घुमघामपछि हामीले अघि हिँडिरहेको सिंगताम-चुङ्थाङ सडकखण्ड छोडेर जवारलाल-नेहरू सडक समाएर पाइला चालेका थियौं।
गान्तोक सहरको अचम्मको कुरा, हामीबाहेक कोही पनि पैदल हिँडिरहेका थिएनन्। अझ त्यहाँ ट्याक्सीबाहेक अरू केही साधन सडकमा देखिँदैनथे। स्थानीय होस् कि पर्यटक सबैले ट्याक्सी चढ्ने। बिरलै एक दुई मोटरबाइक देखिन्थ्यो सडकमा त्यो पनि घन्टौंपछि। हामी त्यो शान्त सडकलाई नछोडी बेलामौकामा सुन्दर पिचमा बसी फोटो खिच्दै, सडकको तल्लो खण्डमा रहेको गान्तोक सहरको सुन्दरतालाई नियाल्दै अघि बढिरह्यौं। प्लान्ट कन्जर्भेटरीको छोटो भ्रमण पछि फुक्को नेपाली वाईवाई चाउचाउ चपाउँदै हाम्रो यात्रा जारी रह्यो।
बेलाबेलामा एक अर्काको खिसिटिउरी गर्दै, सडकखण्डमा रहेका इन्जिनियरिङ महत्वका विषयलाई अध्ययन तथा सवालजवाफ गर्दागर्दै दिउँसोको ३ बजिसकेको थियो।
हामीसँग घुम्नलाई अझै केही स्थान बाँकी थिए यद्यपि हामी गणेश टोकलाई आफ्नो अन्तिम गन्तव्य बनाउने तबरले हिँड्यौं। स्थानीय भाषामा टोक शब्दको अर्थ रहेछ, मन्दिर। निकै लामो हिँडाइपछि साँझको समयमा चकमन्न सडकबाट सुन्दर बजार देखियो। खाजा, नास्ता, सामानका ठेला देखिए। त्यसको छेउमा विशाल मन्दिर। जुत्तालाई र्याकमा राखी, हातखुट्टा धोइ हामीले गणेशजीको दर्शन गर्यौं। मन्दिर दर्शनपछि खुसीले गमक्क हुँदै मन्दिरकै अर्को दिशामा रहेको टावरबाट फेरि गान्तोक सहर नियालिरह्यौं। हामीलाई मन्दिरको वास्तुकलाले खिचिरहेको थियो। घामले रूम फर्किन सुझाव दिइरहेको थियो। समयका सामु हामी नतमस्तक थियौं। तथापि हामीलाई अब कुन बाटो फर्कनपर्छ भन्ने यकिन थिएन, जुन बाटो हामी आयौं त्यो निकै लामो थियो। अझ भन्दा अबेर रात नै पर्थ्यो होला सो बाटो फर्किएको भए।
फोनको अफलाइन म्याप घुमायौं र एउटा सानो ओरालो गल्ली समायौं। अन्दाज गर्दै हिँड्दा एउटा स्कुले भाइसँग भेट भयो। उनी पनि ओरालो झर्दै थिए। हामीले देराउली बजार पुग्ने बाटो सोध्यौं र उसकै पछि पछि लाग्यौं।
हामी सबैको एउटै प्रश्न थियो भाइलाई, ‘कतिमा पढ्छौ? कुन भाषामा पढाइ हुन्छ ?’
उसले ‘नेपाली’ भन्ने जवाफ दिएपछि खै किन हो मन अनायासै दंग थियो। उसले विकल्पमा ‘हिन्दी’ भाषा पनि राखिएको छ तर अधिकांशको रोजाइ नेपाली नै हुन्छ भन्ने थप जानकारी दियो।
म त्यतिबेला आफ्नै देशलाई सम्झिरहेको थिएँ। नेपालमा त नेपाली विषय र भाषा नै कठिन बन्दै गएको छ। मौलिकता र नेपाली भाषाको प्रयोग कम हुँदै गएको छ क्रमशः स्कुले विद्यार्थीका लागि कठिन विषय नै नेपाली बनेको छ। बरू हामी हिन्दी बोल्न रूचाउँछौ, रमाउँछौं। यसो भन्दै गर्दा प्रतियोगितात्मक संसारमा नेपालमा अन्य भाषाको प्रयोग वा सिकाइ हुनुहुँदैन भन्ने मान्यता भने होइन मेरो।
छाडौं यो गन्थनमन्थन। भाइसँगको परिचयले हामीलाई बाटो देखाइदियो। थोरबहुत सिक्किमको मौलिकता जान्न सहयोग मिल्यो। कसोकसो ओरालो लाग्दालाग्दै हामी फेरि एम.जी मार्केट नजिक आइपुगेका थियौं। साँझको अनुपम सुन्दरताले भरिएको सहर र सडक आँखै अघि देखि हाम्रो मुखमा गुन्जियो -
‘लाग्दैन धुलो गोडैमा
एमजी रोडैमा।’
सायद यति भन्दा धेरै गीतको अंश हामी कसैलाई याद पनि थिएन। केही मिनेटको हिँडाइपछिl रूम पुगियो। झन्डै झन्डै वर्षाले हिर्काइसकेको थियो धन्न हामी जोगिन सफल भयौं। रूम पुग्ना साथ पानी दर्कियो। करिब २२ किलोमिटर पैदल यात्रापछिको शिथिल शरीरलाई बल्ल राहत मिलेको थियो। खाना खाएर, होटलको हिसाबकिताब बुझायौं। किनकि भोलिपल्ट बिहानै हाम्रो यात्रा दार्जिलिङ तर्फका लागि निर्धारित थियो।
दुई दिनको समयमा धेरै कुराको सिकाइ, अनि मिठा अनुभवसहित हामी सिक्किमबाट बिदा हुने भएका थियौं। अब अर्कोपल्ट आउँदा टन्न पैसा बोकेर परिवारसँग आउने लगायतको गन्थनमन्थन पछि हामी निद्राको शरणमा पर्यौं। सिक्किम यात्रामा हामीले केही विश्वविद्यालय भ्रमणको उद्देश्य राखे पनि सो दिन कारणबस विश्वविद्यालय बन्द भएकाले हाम्रो शैक्षिक पाटोको भ्रमणमा भने विश्राम लागेको थियो। घुमाइ, सिकाइ एवम् अनुभव सहितको अध्ययन जारी रहनेछ।
दार्जिलिङ यात्रा अर्को अंशमा ...