योबेला गुराँस फुल्ने बेला। पहाडमा गुराँसका ढापहरू गुराँसका फूलहरूले रक्ताम्य हुन्छन्। पूर्वको गुफापोखरी क्षेत्रलाई गुराँसको राजधानी भनिन्छ। गर्मीको यो मौसममा पनि चिसो भैरहने गुफापोखरी क्षेत्रमा राष्ट्रिय फूल हेर्न अनि तराईको गर्मी छल्न औधि रमाइलो हुन्छ। हामी पनि तराईको प्रचण्ड गर्मी छल्न र बालबालिकाहरूलाई पहाडी जनजीवन देखाउन वैशाखको पहिलो सप्ताह गुफापोखरी पुगेका थियौं।
पूर्वी नेपालको सुन्दर हिल स्टेसन हो- गुफा पोखरी।
पचासको दशकदेखि गुफापोखरीको पर्यटकीय चर्चा सुरू भएको हो। यसअघि ताप्लेजुङ जाने र मधेस झर्नेहरूको बास बस्ने थलो मात्र थियो गुफापोखरी। मैले पनि गुफापोखरीलाई सञ्चारकर्मी डम्बरकृष्ण श्रेष्ठले पचासको दशकमा खिचेको फोटोमै पहिलो पटक देखेको हो।
यस पटकको यात्रा तेस्रो पटक थियो मेरो। त्यो बेला डम्बर कृष्ष्णहरू आठ घण्टा हिँडेर पुगेका थिए। अहिले गाडी पुग्छ। दबाब दिने नेतृत्वको अभावले होला, बजेट अभाव देखाउँदै दश वर्षदेखि बनाउन सुरू गरेको बाटो अझै तयार हुन सकेको छैन।
टुटे देउरालीबाट गुफापोखरी जाने बाटो कालोपत्रे भएको खण्डमा धरानबाट एकै दिनमा गुफा पोखरी आउजाउ गर्न सकिने हुन्छ। भारतीय पर्यटकहरूलाई हिउँ खेलाउन सबभन्दा नजिकै हुन्छ। सडक कालोपत्रे भएको खण्डमा बिहारी पर्यटकका लागि नयाँ र आकर्षक गन्तव्य हुन्छ गुफापोखरी।
आकाश खुलेको बेला मनमोहक हुन्छ गुफापोखरी। क्षितिजमा रहेका कंचनजंगा र मकालु हिमाल आँखै अगाडि देखिन्छन्। सूर्योदयको लालीसँगै बिहानै पोखरीमा डुबुल्की मार्न आइपुग्छन् हिमालहरू।
आकाश खुलेको बेला डाँडाहरू परपरसम्म देखिन्छन्। नागी डाँडा, गुरासको जंगल भएका ढापहरू, पारी नुनढाकी बजार, चैनपुर बजार देखिन्छन्।
यो बेला हिमाल हेर्न, पहाड छुन, सूर्योदय हेर्न गुफापोखरी उत्कृष्ट हुन्छ।
गुफापोखरी तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रको संगमस्थल हो।
तेह्रथुम, ताप्लेजुङ र संखुवासभा तीन जिल्लामा पर्ने तीनजुरे, मिल्के र जलजले तीन वटा पहाडी क्षेत्रहरू हुन्। टिएमजे बसन्तपुरको सेरोफेरो, गुराँसको राजधानी र सभापोखरी भएको क्षेत्र हो।
तेह्रथुमको बसन्तपुर मास्तिर टुटे देउरालीबाट तीनजुरे सुरू हुन्छ। तीनजुरेबाट नै गुराँसका जंगलहरू पनि भेटिन सुरू हुन्छन्। तीनजुरेमा रक गार्डेन र पाथीभरा माताको मन्दिर छ। मिल्के क्षेत्रमा ठूल्ठूला गुराँसका ढापहरू छन्। यहाँका दुई शिखर मानव उत्पत्तिसँग जोडेर प्रचलित छन्। यहाँका मेन्छ्यायाम र मेन्छ्याम नामका शिखरमा पनि युमाथान र भ्युटावर बनाइएको छ। प्रसिद्ध गुफापोखरी यही मिल्के क्षेत्रमा रहेको छ। जलजले प्रसिद्ध र पवित्र सभापोखरी रहेको क्षेत्र हो।
समुद्र सतहबाट २,८९० मिटर उचाइमा रहेको गुफापोखरीमा एउटा पोखरी छ। डाँडामा छ पोखरी। आकाश खुलेर सफा भएको बेला पोखरीमा बिहानै डुबुल्की मार्न आइपुग्छन् हिमालहरू। पोखरीको कंचन पानीमा कञ्चनजंगा र मकालुको छाया सुन्दर देखिन्छ।
पोखरीको उत्तर पट्टी ढिस्कोमो गुराँसको बोट छ। पोखरीको पहिचान बनेको छ गुराँसको त्यो बोट। पर्यटकले खिच्ने हरेक फोटोमा प्रायः ढिस्कोमाथि रहेको त्यो बोट छुटेको हुँदैन।
संखुवासभाको चैनपुर नगरपालिकामा पर्छ गुफापोखरी। नजिकै अरू दुइटा साना गाउँ छन्। सुके बजार र जोरपोखरी बजार। तीन गाउँ गरी जम्मा ४० घर छन्। अधिकांश घरमा होटल सञ्चालित छन्। होमस्टे जस्तै गरी चलेका होटलमा मीठो खानासँगै न्यानो आतिथ्यता पाइन्छ। अधिकांश शेर्पा र भोटे समुदायको बसोबास छ। गाउँमा लिम्बू, तामाङ र बाहुनहरू पनि छन्। शेर्पा र भोटेहरू याक र चौरी पाल्छन्। पर्यटकहरू उनीहरूले उत्पादन गर्ने चौरीेको छुर्पी र घ्यू तराईदेखि राजधानीसम्म लैजान्छन्। एक हजार दुई सय रुपैयाँमा बिक्री हुन्छ घ्यु र छुर्पी।
वर्षातका तीन महिनाबाहेक अरू सबै समय गुफापोखरी घुम्न रमणीय हुन्छ। जाडोमा हिउँ पर्छ। हिउँले छपक्कै ढाक्दा हिमाल चढेझैं लाग्छ। घरका छाना, नांगा डाँडा र गुराँसका बोटहरू सबै सेताम्मे हुन्छन्। चैत वैशाखमा गुराँस फुलेर वातावरण रक्ताम्मे हुन्छ।
सुके बजारको सिरानमा दुई जुम्ल्याहा शिखर छन्। मेन्छ्याम र मेन्छ्यायाम। ती शिखरमा युमाथानसँगै महादेवथान पनि छ। महादेवथानको कथा रोचक छ। उहिल्यै सृष्टि रचनापछि मानवहरूको खुसीयाली हेर्न महादेव यहाँ आइपुगेछन्। लिम्बू युवायुवती सृष्टि रचनाको खुसीयालीमा एक आपसमा हात समातेर धान नाच्दै पालम गाउँदै रहेछन्। उनीहरूको रमाइलोमा महादेव त्यही भुलिएछन्। निकै समयपछि पनि महादेव नआएको देखेर पार्वतीले ध्यानदृष्टिले हेर्दा यहाँ लिम्बू युवतीको हात समातेर महादेव नाचिरहेको देखिन्छन्। पार्वती पनि लिम्बू युवतीको रूपमा आएर महादेवसँगै नाच्न थालिछन् र महादेवलाई लिएर अलप भइछन्। महादेव पार्वती अलप भएको ठाउँमा महादेवथान बनाइएको छ।
स्थानीयका अनुसार त्यहाँ महादेवलाई किरातेश्वरका रूपमा आराधना गरिन्छ।
द्वन्द्वकालमा केही घरधनीहरू मधेस झरे। द्वन्द्वको रापमा सेकिन नसकेकाहरूका घरहरू घरमुली आउने आशमा जर्जर अवस्थामा पनि ठिङ्ग उभिएका छन्। गुफापोखरीमा पर्यटकीय चहलपहल हुन थालेपछि एक दुई घरधनी फर्किएको पनि स्थानीय प्राथमिक विद्यालयकी प्रधानाध्यापक हिमा खनालले सुनाइन्।
पहिले पहिले आन्तरिक पर्यटकहरू गुफा पोखरीसम्म नै पुग्थे। आजभोलि तीनजुरेबाट फर्किन्छन्। गुफापोखरी पुगेर फर्किन नभ्याइने तर तीनजुरेमा प्रशस्त गुराँस हेरेर फर्किन सकिने भएकाले बास बस्ने गरी जाने पर्यटकहरू घटेको पनि उनले सुनाइन्। पछिल्लो समय धरान विराटनगरबाट गुराँस हेर्न अत्यधिक पर्यटकहरू तीनजुरे जाने गरेका छन्। तथापि गुफापोखरीमै पनि शुक्रबार र शनिबार अलि घुइँचो हुने गरेको हिमालले बताइन्।
हिमाका बुवा हरिप्रसाद खनाल त्यहाँका पुराना व्यापारी हुन्। विगतमा काठको सानो घरमा होटल चलाएका उनले अहिले भने पक्की घर बनाएका छन्। उनको घरमा छ वटा स्तरीय कोठामा पाहुनालाई सुताउने व्यवस्था छ। होटल भने पनि होमस्टे जस्तै गरी सञ्चालन गरेका छन्। स्थानीय शेर्पाहरूका पनि होटल परिवारले सञ्चालन गर्ने भएका कारण न्यानो आतिथ्यता पाइन्छ।
तेह्रथुम र संखुवासभाका स्थानीय ताप्लेजुङ पाथीभरा जाँदा यही बाटो आउजाउ गर्छन्। उहिले-उहिले यो ठाउँमा चौरीका गोठ मात्र थिए। पहाडबाट मधेस झर्नेहरू यही गोठहरूमा बास बसेर जान्थे। मानिसको आउजाउ बढ्न थालेपछि बस्तीको विकास भयो। बस्ती विस्तारै बजारमा परिणत हुँदै गयो।
बजार बसेपछि सडकको आवश्यकता हुँदै गयो। तर, विडम्बना पहाडका कुना कुनामा सडक पुग्दै गयो त्यही सडक हुँदै पहाडबाट मानिसहरू मधेस झर्न थाले।
‘सडक आएपछि विकास आउँछ भन्थे सडक आएसगै गाउँ रित्तिँदै गयो’ खनालले गुनासो गरे। तथापि गुफापोखरी वरिपरि जग्गा किन्नेको लहर बढेको पनि उनै खनालले सुनाए।
उनले भने ‘बजारको धेरै जग्गा टुक्रा टुक्रा पारेर कित्ताकाट गरिएको छ’।
गाउँमा प्रहरी चौकी, स्वास्थ्य केन्द्र, प्राथमिक विद्यालय र सूचना केन्द्र छ।
विगतमा यहाँका गुराँस दाउरा बालेर मास्ने गरिएको थियो। आइयुसिएन भन्ने अन्तर्राष्ट्रिय संस्थाले सचेतना जगाएपछि गुराँस संरक्षणमा स्थानीयको चासो बढेको छ। जंगलहरू समुदायमा हस्तान्तरण भएपछि गुराँस संरक्षण हुँदै गएको छ।
गुराँस हेर्न, गुराँसबारे अध्ययन गर्न र गर्मी छल्न गुफा पोखरी कोशी प्रदेशको उत्कृष्ट स्थल हो।
कसरी पुग्ने: धरान–बसन्तपुर–देउराली ९३ किमी कालोपत्रे सडक, देउरालीबाट २८ किमी कच्ची सडक गुफापोखरीसम्म।