वैशाख १४ गते निर्धारित समयमा खाँडाचक्र नगरपालिका, कालीकोटको कार्यक्रम सकाएपछि साथीहरूसँगको सल्लाह मुताविक हाम्रो पाँच जनाको समूह मुगुको राराको यात्रामा निस्कियो।
भीमकाय ढुंगाबीच बगेको तीला कर्णालीको तिरैतिर कालीकोटको ताली, पिली, सेरावाडा, टिमुरे, गाल्जे, राँचुली, धनाघाट, भिग्मा, नाग्मा हुँदै जुम्ला जिल्लाको हिमा गाउँपालिकाको बागबजार, जुगाडा, बाझागाड, कोइरेली, बड्की, आचार्यलीसम्मको यात्रा रोमाञ्चकताले भरिपूर्ण रह्यो।
करिब ३ घण्टा ३० मिनेटको यात्रापछि हामी जुम्लाको सिंञ्जा उपत्यका प्रवेश गर्यौं।
जुम्लाको नराकोट, चुले गाउँ, विष्टबाडा, बैरागीडाँडा, घोडेढुङ्गा, गुम्गाड, प्याखुरेवाडाबाट नेपाली भाषाको पहिलो आधिकारिक अभिलेख भेटिएको र आर्य संस्कृतिको उत्पत्तिको जननी मानिने सिंञ्जा उपत्यका पुग्न र देख्न पाउनु मेरो जीवनको अभिन्न अङ्ग बन्यो।
बीचमा बगेकी हिमा नदी, किनारमा झुल्दै गरेका गहुँका फाँटहरू, त्योभन्दा माथि रहेका ग्रामीण सुन्दर बस्तीहरू हेर्दा सबैको मन आल्हादित भएको त्यो दृष्य कैद गर्न फर्किएका नयनहरू, मोबाइल र क्यामेराले प्रष्टै झल्काउँथ्यो।
सिञ्जा उपत्यका हुँदै कनकासुन्दरी गाउँकार्यपालिकाको कार्यालयबाट अगाडि बढ्ने क्रममा वारीका पाखाभरि देखिएका स्याउका बोटहरूले यहाँका ग्रामीण बस्तीहरू बिस्तारै व्यवसायिकतातर्फ लम्कँदै गरेको महसुस गर्न सकिन्थ्यो।
बाटोमा देखिन थालेका कोणधारी बोटबिरूवाले हामी विस्तारै उचाइमा प्रवेश गरेको संकेत गर्दै थिए।
सिमसिम पर्दै गरेको पानीले पूर्व योजना बिनाको यात्रालाई चिसो अनुभूति दिलाएर चुनौती दिँदै थियो। वरिपरि लागेको बादल र सिमसिम पानीले बाटोमा पारख गर्न सकिने सुन्दरतालाई ढाकिदिएको थियो।
करिब छ घण्टाको यात्रापछि हामी पाण्डवचोक, भण्डारीबाडा, गोरुचौर, गोठेज्यूला, बोतामालिका र जिय हुँदै साँझ ७:२५ मा बुलबुले पुग्नै लाग्दा मध्य वैशाखामा हिउँ परिरहेको अनुभव गर्ने मौकाले सबै साथीहरूमा रोमाञ्चकता थप्ने नै भयो।
झिसमिसे अँध्यारोमा पर्दै गरेको हिउँ धेरै समय खेल्ने सबैको धोको भए पनि गन्तव्य रारा भएकोले हाम्रो यात्राको क्रम नै प्राथमिकतामा पर्यो।
बुलबुलेमा नेपाली सेनाको चेक पोष्टबाट अगाडि बढेपछि हिउँ खेलेर भिजेको र थाकेको आँतले न्यानो र आरामको खाँचो जताउँदै थियो।
करिब १ घण्टा ३० मिनेटको माथिल्लो पहाडी भेगको गाडीको यात्रापछि हामी मुगुको ताल्चा विमानस्थल पुग्नै लागेको स्वागतद्वारले जानकारी गराइरहेको थियो।
ताल्चामा साथीको माध्यमबाट पूर्ण खत्री दाइभाउजूको होटलमा खाना र बासको लागि पहिल्यै जानकारी गरिएकोले पुग्ने बित्तिकै गाँस र बासको प्रबन्ध हुनेमा हामी विश्वस्त थियौं।
गाडीबाट उत्रिएर दर्के पानीसँगै ताल्चा विमानस्थलको धावनमार्गको बीचैबीच करिब दश मिनेटको दौडाइपछि हामी बस्ने होटलसम्म पुग्न सफल भयौं। बुलबुलेमा हिउँले भिजेको शरीर, करिब दश मिनेटको दर्के पानीको भिजाइलाई बिनातयारी सामान्य कपडामा गरिएको यात्राले त्यहाँको चिसोमा शरीर माथिल्लै रेक्टरमा कामिरहेको थियो।
होटलमा सुधारिएको फलामको चुलो र बल्दै गरेको आगो देख्नेवित्तिकै हामी मौरी धारमा गोलबद्ध भएझैं गोलबद्ध हुन पुग्यौं।
खाना खाएर भोलिपल्ट बिहानै राराको सुन्दरता पारख गर्ने कल्पना गर्दै विस्तारामा पल्टिएको शरीर दुई पटकको भूकम्पको झड्का महसुस गरे पनि उठ्न भने विल्कुल मानेन।
भोलिपल्ट उठ्ने बित्तिकै ताल्चा विमानस्थलको अवलोकन पछि ८:३० मा राराको चेक प्वोइन्ट पुगियो। त्यहाँ खाना बस्नको राम्रो व्यवस्था भएको पाइएकोले राराबाट फर्किंदा मार्सी चामलको खाना खाने प्रबन्ध गरी खाजा खाएर हाम्रो समूह रारातर्फ उकालो लाग्यो।
केही समय उकालो हिँडेपछि भेटिएको विशाल फाँट र त्यसको वरिपरि रहेका धुपीका लामबद्ध कोणधारी रूखहरूले हामीलाई जोडदार स्वागत गरेको प्रतित भइरहेको थियो।
विशाल फाँटको छेउका रूख, चरिरहेका भेंडाका बथान, फाँटमा फुलेका पहेंला र सेता फूलहरूले जो कोहीको मन नलोभ्याउने प्रश्नै थिएन।
फाँटको पल्लो छेउमा रहेको सूचकले हामी अब राराको नजिकै पुगेको संकेत गरिरहेको थियो।
त्यहाँबाट दश मिनेट ढुंगाबाट बनाइएको सिँढीको बाटो तल झर्दै गर्दा सल्लाका बाक्ला बोटहरू घरमा लगाइएका वालपेपरमा देखिने भित्तेचित्रभन्दा कत्ति पनि कम थिएनन्।
जंगल पार गर्नासाथ परैबाट देखिएको गगन छुने नीलो जलको सतहले स्वर्गानुभूति नगर्ने को नै पो थियो होला र?
तालको सामिप्यमा जाँदै गर्दा सबैको मुखवाट वाह! शब्दबाहेक केही निस्किएको थिएन।
राराको रसस्वादन गर्न मोबाइलका क्यामेराभन्दा आँखाहरू नै लालयित थिए।
सुन्दरताको पारखमा पाँच दश मिनेट अवाक भएका हामी त्यहाँको पानी शिरमा सिञ्चित गरेर केही फोटोहरू संग्रहित गरी डुङ्गा सयर गर्नतर्फ लाग्यौं।
एक घण्टा तीस मिनेटको डुङ्गा सयरको शुल्क तिरेर हाम्रो पाँच जनाको समूह राराको सैन्दर्य पारख गर्नतर्फ कुना कुना चाहर्न लाग्यौं। डुङ्गा सयर गर्ने, तालको छेउमा सयरको तयारी गर्ने र अन्य उपस्थित पर्यटकहरू सबैका मोबाइल, क्यामेरा धित मरूञ्जेल फोटो, भिडिओ खिच्न र नाचेको भिडिओ (टिकटक) बनाउन व्यग्र र व्यस्त देखिन्थ्यो।
हामीलाई पनि त्यस कर्मबाट छुट थिएन। किनकि त्यो जलविहारलाई जीवन्त बनाई मानसपटलमा स्वर्गानुभूति दिलाउनु जो थियो।
सुन्दरताको लागि रारा र वरिपरिको प्रकृतिप्रति कृतज्ञ हुँदै करिब तीन घण्टाको राराको सैन्दर्यमा डुबुल्की मारेर हामी फर्कने तरखरमा लाग्यौं। आँखाहरू अझै त्यही सैन्दर्यपानको लागि लालयित थिए।
हामी उकालो लाग्दा ओरालो बाटोमा साह्रै अप्ठ्यारो गरी हिँड्दै गर्नु भएका पाँच जना मुम्बई निवासी झण्डै साठी वर्ष पार गर्नुभएका महिला पर्यटकहरूको राराको सैन्दर्य पारख गर्ने साहसलाई कदर गर्दै फेरि रारालाई भेट्ने र मर्मु पिक (डाँडा) बाट रारा नियाल्ने धोको थाती नै राखियो।