मेरो घरको बार्दलीबाट धौलागिरी, अन्नपूर्ण, निलगिरी हिमाल र आसपासको हिमश्रृंखला प्रष्ट देखिन्छ।
म जन्मेको, हुर्के-बढेको, खेलेको, घाँसदाउरा गरेको, गोठाला गएको सबै परिवेशको साक्षी हुन् यी हिमालहरू।
उमेरसँगै ममा थुप्रै परिवर्तन आए, अध्ययन र रोजगारीका लागि आफ्नो ठाउँ छाडेँ तर मेरो मन तिनै हिमाल, खोला, झरना र पहाडहरूको नजिक छ। मलाई म्याग्दीका सम्भव भएसम्मका प्रत्येक ठाउँ पुग्ने मन छ, अनि भौतिक रूपमा यहाँ उपस्थित हुन नसक्ने तपाईंहरूलाई यहाँका सुन्दर ठाउँहरूको बारेमा केही कुरा सुनाउन मन छ। यसै क्रममा म म्याग्दीका धेरै गाउँ डुलेको छु।
राजधानीको अस्तव्यस्त जीवनबाट केही दिन टाढा हुन मन लाग्यो। अनि कार्यालयबाट केही दिनको बिदा मिलाएर म जन्मभूमि म्याग्दीतिर लागेँ। नयाँ बसपार्कबाट रात्रीबसमा चढेर बिहान ६:३० तिर बेनीबजार पुगेँ।
‘बेनीको बजार जता माया उतै छ नजर किरे मिरे जाले रूमाल’ भन्ने गीतले प्राय:ले बेनी बजारलाई सम्झनुहुन्छ होला।
बेनी बजारभन्दा केही माथि मेरो घर छ। त्यो दिन बुवा आमासँग बिताएँ र भोलिका लागि तयारी गर्दै थिएँ।
म्यासेन्जरमा घण्टी बज्यो। साथीहरू पुष्कल खत्री, कुमार सुवेदी, आशिष रेग्मी, निखिल ढुंगाना र बिराज खत्री हाम्रो भ्रमण टोलीका साथीहरूसँग म पनि केहीबेर कुरा गरेँ।
हामी बेनी, गलेश्वर धाम, पोखरेबगर, घार, पाउद्वार, खोप्रा लेक हुँदै खयर पुग्ने भयौं। त्यसका लागि आवश्यक सामग्री, बासस्थानको सम्पर्क नम्बर, बाटोको नक्सा, आवश्यक औषधी सबैको बारेमा छलफल पनि गर्यौं। योजना अनुसार हामी बेनी हुँदै घारसम्म मोटरसाइकलमा जाने भयौं र त्यहाँबाट पैदल जाने सल्लाह गर्यौं।
भ्रमणको पहिलो दिन
बिहान म उठ्दा ममी पहिले नै उठेर बाटोमा खाने केही खाजाको व्यवस्था गरिदिँदै हुनुहुन्थ्यो। म पनि तयार हुँदै थिएँ, बाहिर मोटरसाइकलको हर्न बज्यो साथी पुष्कल तयार भैसकेछ। म पनि झोला लिएर निस्किएँ। बेनी-गलेश्वर सडक निर्माणका क्रममा भएकाले बिहान ६ बजेभित्रै गलेश्वर पुग्नु थियो। सबै साथीहरू गलेश्वर भेट भयौं। विशाल शिलामाथि अवस्थित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिर दर्शन गरी बिहान सात बजे हामी आफ्नो गन्तव्यतर्फ लाग्यौं।
बेनी जोमसोम सडक निर्माणाधीन छ, केही ठाउँमा पक्की त कतै उवडखावड बाटो हुँदै हामी पोखरेबगर पुग्यौं। पछिल्लो समय पोखरेबगर निकै व्यवस्थित हुँदै गएको छ। बैंक, होटलहरूको व्यवस्थाले बजारलाई विकसित गराएको छ। त्यहाँ खाजा खाएर हामी भूपी शेरचन राजमार्ग छाडेर घार गाउँतिर लाग्यौँ। घार गाउँको सुन्दरता नियाल्दै हामी फेदीमा रहेको जलविद्युत आयोजनामा पुग्यौं, त्यो नै हाम्रो मोटरसाइकल यात्राको अन्तिम बिन्दु थियो। आयोजनाको टहरोमा मोटरसाइकल राख्यौं।
एउटा उखान छ नि हिँडेदेखि छेउ लाग्छ, बसे लेउ लाग्छ। सुरूआतमै फोटो भिडिओ बनाउनमा अबेर गर्यौं भनें बेलुका गन्तव्यमा नपुग्न पनि सकिन्छ। हामी ६ जना साथीहरू आ-आफ्ना झोला बोकेर पैदलयात्रा सुरू गर्यौं।
हाम्रो यात्राको सुरूआतमा नै एउटा खोला थियो, त्यसमाथि रहेको काठको पुल पार गरी हामी उकालो लाग्यौं। खोलाबाट केही मिनेटको दूरीमा एउटा सुन्दर पुरानो घर छ। साथीहरूले त्यस घरमा गएर हँसिया मागें र नजिकै रहेको मुरलीबाँसको झ्याङ्बाट लौरो बनाएँ। कमिलाको ताँतीजस्तै हामी ६ भाइको लहर उकालो लाग्यो।
साथी पुष्कलले गीत घन्कायो,
झमझम पर्यो पानी गुर्जा घाटैमा
जाडो बड्यो सानी आउन काखैमा ..............
म्याग्दीको पश्चिमी भेगको बखान गर्ने यो गीत वास्तवमै सुन्दर छ। गायकको आवाजसँगै थप ६ जन्तुको आवाजले गुञ्जियो त्यो गीत। बिहानको १० बजिसकेछ, डाँडाको चौतारीमा पुग्यौं र बस्यौं। साथी विराजले बाँसको टटेलाबाट फिरफिरे बनाएँ, फिरफिरे घुमाउँदै झण्डै ५ मिनेट उकालो चढेपछि थाहा भयो विराजले त फिरफिरे घुमाउने चक्करमा लौरो चौतारीमै भुलेछन्। विराज दौडँदै लौरो लिन पुगे। हामी भनेँ लटरम्मै पाकेका औँसेलु खानमा व्यस्त भयौं।
विज्ञानमा एउटा प्रश्न आउँथ्यो घाम लागेर आकाश खुला भएको दिनभन्दा बादल लागेको दिन किन धेरै गर्मी अनुभव हुन्छ? त्यो प्रश्नको गर्मी हामी महसुस गर्दै थियौँ। चर्को घामबाट बचाए पनि धुम्म आकाशले गर्दा हामी पसिनामा लिथ्रुक्क थियौँ।
‘दिदी, पाउद्वार गाउँ कतिखेर पुगिन्छ?’ भाइ निखिलले पँधेरो नजिक भारी बिसाइरहेका दिदीहरूलाई सोधे। पाउद्वार गाउँ त्यहाँबाट झण्डै १० मिनेटको दूरीमा पुगिँदो रहेछ।
पुराना कुचुमुच्च पारेर बनाइएका ढुंगाका घर र ढुंगाको छपनि प्रयोग गरी बनाइएको बाटोले सुन्दर नेपाली स्थानीय शैली दर्साएको थियो। पर्यटकहरू आउन थालेपछि केही आधुनिक लजहरू समेत बनाइएको रहेछ। पाउद्वार गाउँबाट झण्टै चार घण्टाको उकालोपछि हामी लरेनी पुग्यौं।
पछिल्लो समय नेपालका पहाडी भू-भागमा डढेलो लाग्ने समस्या बढिरहेको छ। त्यसै बारेमा एक जना स्थानीय दाइलाई सोध्दा उहाँले भन्नुभयो, ‘आगलागीपछि त्यहाँ राम्रो घाँस पलाउँछ भनेर भेंडा गोठालाहरूले आगो लगाउँछन्, त्यो आगो फैलिन्छ र थुप्रै बिरूवा नाश हुन्छन्।’
हामी लरेनी भन्ने ठाउँ आइपुग्यौँं। पर्यटकका लागि यस ठाउँमा एउटा सानो लज खोलिएको रहेछ। पाउद्वार गाउँभन्दा झण्डै ४ घण्टाको दूरीमा एक्लो घर छ।
पर्यटकहरूका लागि खाना खान उपयुक्त हुनेगरी एउटा रेस्टुरेन्ट सञ्चालन गरिएको रहेछ। गर्मीयाममा त्यो ठाउँ पर्यटक र गोठालाहरूको चहलपहल भए पनि जाडोयाममा त्यो ठाउँ खाली हुने रहेछ। रेष्टुरेन्टमा उसनेको आलु र टिम्मुरको छोप खाजा खाएर हामी उकालो लाग्यौँ।
‘उ… खोप्रा…..’ साथी पुष्कलले टाढा माथि डाँडोमा रहेको सामुदायिक लज देखाउँदै भन्यो।
खोप्रा देखेपछि हामी उत्साहित भयौं।
ढकमक्क फुलेको गुराँसको जंगल हुँदै उकालो चढ्दै थियौं एक्कासि असिना सहितको पानी पर्यो।
पानीबाट बच्न हामी रेनकोट बोकेका थियौँ तर असिनाबाट रेनकोटले बचाउन सकेन। एउटा ठूलो गुराँसको रूखमुनि बस्यौं।
झण्डै आधा घण्टापछि पानी बन्द भयो। ठाडो उकालो बाटो सुरू भयो। हामी पहाडको धारमा थियौं। त्यो धारबाट एकापट्टी डरलाग्दो भिर छ भने अर्कापट्टी जंगल छ। जंगलपट्टीको भाग हुँदै खोप्रा जाने व्यवस्थित हिँड्ने बाटो बनाइएको रहेछ।
हामी खोप्रा पुग्दा साँझ परिसकेको थियो। खोप्राको लजमा पहिल्यै फोन सम्पर्क गरिसकेकाले हामी पुग्दा खाना तयार भैसकेको थियो।
बाहिर चिसो भए पनि आगो ताप्ने व्यवस्था भएकाले लजभित्र न्यानो थियो। दक्षिण भारतको केरलाका एक जना टुरिस्ट र उनका गाइडसँग केहीबेर कुरा भयो।
७६ वर्षका ती बृद्धको हिँडाइ देखेर नेपाली गाइड नै छक्क रहेछन्।
जर्मनबाट नेपाल घुम्न आएका एक जोडी पर्यटक पनि हामीसँग आगो ताप्दै थिए। उनीहरू आज खयर गएका थिए तर बाटोमै हिउँ परी मौसम बिग्रेका कारण बीचबाटै फर्कनु परेको कुरा थाहा भयो। उनीसँग भएका नेपाली गाइडका अनुसार खयर पुग्ने बाटो हिउँले सबै ढाकेको रहेछ। केहीदिन अघि मात्र एक क्रोएसियन नागरिक हराएका र उनलाई पछि जीवितै उद्धार गरिएको भन्ने पनि सुन्यौँ। भोलि आफू जाने गन्तव्यका बारेमा त्यो कुरा सुनेर डर पनि लाग्यो।
आगो ताप्दै गर्दा एक टुरिष्ट गाइडले भिडिओ कलमा कुरा गर्दै थिए। नेपाल टेलिकमको टावर नटिप्ने ठाउँमा वाइफाइ कसरी चल्न सक्छ? म छक्क थिएँ। पछि बुझ्दा थाहा भयो, त्यहाँ महाविर पुनले विकास गरेको वाएरलेस इन्टरनेट जडान गरिएको रहेछ। महावीर पुनको पहलमा म्याग्दीको नाङ्गी र राम्चे आसपासका गाउँहरूमा ताररहित इन्टरनेट पुर्याइएको रहेछ। अहिले महावीर पुन म्याग्दीको पहिचान बनेका छन्।
दोस्रो दिन
झण्डै ५:३० भएको हुँदो हो साथी आशिषले ढोका बाहिरबाट चिच्याउँदै भन्यो ‘केटा हो यस्तो राम्रो भ्यू त मैले जीवनमै देखेको थिइनँ, हेर त’। ज्याकेट र जुत्ता लगाएर बाहिर पुग्यौं,
ओहो! कति सुन्दर, सेताम्य हिमालहरू। सोचेभन्दा कयौंगुणा सुन्दर थियो त्यो दृष्य।
आँखै नझिम्की हेरें हिराझैं टल्किएका थिए धौलागिरी, अन्नपूर्ण, निलगिरी। खुला आकाश हिउँले सेताम्य जमिन वास्तवमै स्वर्गको परिदृष्य यस्तै हुन्छ होला।
खोप्रा लेक अति नै सुन्दर रहेछ। जाडो मौसम सकिएपछि यहाँ चौंरी र भेंडाहरूको चहलपहल हुँदो रहेछ। अहिले जाडो मौसम भएकाले मानिसहरू र पशुहरूलाई बेसी झारिएको रहेछ। खोप्रामा चौ्रीको रगत खाने मेला पनि लाग्छ।
आजको हाम्रो गन्तव्य हिजोको भन्दा थप कठिन र रमाइलो हुनेवाला थियो। बिहानको खाजा खाएर हामी ७ बजे खोप्राबाट निस्कियौँ।
बिहानपख सूर्यको किरणले हिउँ हिराजस्तै चम्कियो। हिमालहरू थप सुन्दर देखिँदै थिए। बाटोमा तस्वीर खिच्दै हामी अगाडि बढ्यौं।
त्यो उचाइ त्यो विकटतामा पनि त्यस्ता सुन्दर चौतारी कसरी बने होलान्? हामी छक्क थियौं। तर पछि बुझ्दा थाहा भयो पहाडी क्षेत्रमा आफ्ना बुवाआमाको सम्झनामा चौतारी बनाउने चलन रहेछ। यो बाटो खयरबराह जस्तो धार्मिक स्थलमा जाने बाटोमा भएकोले पनि होला यहाँ ठाउँ/ठाउँमा चौतारीहरू बनाइएका थिए।
भिरालो जमिन, बाक्लो हिउँ, चिसो मौसम, थाकेका खुट्टा यात्रा निकै कष्टकर थियो तर सकेसम्म खयरबराह पुग्ने हाम्रो इच्छाले त्यो कष्टलाई बिर्साइदियो। हामी जति धेरै हिँड्दै थियौं, उति हिमालको नजिक पुग्दै थियौं।
हामी झण्डै ४३०० मिटरको उचाइमा आइसकेछौं। एक्कासि मौसम बिग्रियो नजिकैका साथीहरू पनि नदेख्ने गरी बाक्लो कुहिरो लाग्यो।
हामी भने बाटो पछ्याउँदै हिँडिराख्यौं। केहीबेरमा हामी भेंडीगोठ पुग्यौं। गर्मी मौसममा यहाँ भेंडाहरू राखिँदो रहेछ तर अहिले जाडो मौसम भएकाले ती भेंडाहरू बेसितिर झारिएको रहेछ। विस्तारै हिउँ पर्न पनि सुरू गर्यो। त्यहाँबाटको झण्डै दुई घण्टाको दूरीमा समुद्री सतहबाट ४६२६ मिटरको उचाइमा रहेको खयर बराह मन्दिर पुगिँदो रहेछ।
खयर प्राकृतिक रूपमा सुन्दर त छँदैछ यो धार्मिक रूपमा पनि अति महत्वपूर्ण ठाउँ हो। प्रत्येक जनै पूर्णिमामा ठूलो संख्यामा भक्तजनहरू यहाँ आउँछन्।
खयर बराह मन्दिर परिसरमा रहेको जमेको ताल
मन्दिरको परिसरमा एउटा सुन्दर ताल छ। अहिले यो ताल चिसोले जमेको रहेछ। साथी विराज तालको माथि बसेर लौरो तालमा गाड्दै रहेछन्। त्यत्तिकैमा लौरोले हिउँ छेडेर तल झरेछ। अब पर्यो फर्साद त्यो ठाडो ओरालो बाक्लो हिउँमा लौरो बिना कसरी झर्ने?
खयर बराहबाट झण्डै १ घण्टाको ठाडो ओरालो झरेपछि भेंडीगोठ झरिँदो रहेछ। दिउँसोको ३ बजिसकेको थियो। हामी त्यहाँबाट फर्कियौं। बिहानको भन्दा बाक्लो हिउँले बाटो थप अप्ठ्यारो बनाएको थियो।
तर सुन्दर प्राकृतिक दृष्यले त्यो दुखाइ मेटाइरहेको थियो। हामी खोप्रा लेकमा रहेको लजमा फर्कंदा साँझ परिसकेको थियो। लजमा पुगेर खाना खायौं। बाहिर हेर्दा बाक्लो हिउँ परिरहेको थियो। आज दिनभरको यात्राले थकित बनाएकोले हामी छिट्टै सुत्यौं।
तेस्रो दिन
दुई दिनको हिँडाइले होला बिहान उठ्दा ढिला भैसकेछ। सूर्यको प्रकाशले हिमालहरू चम्किला भैसकेका थिए। आज हामी घर फर्कने दिन। खोप्राबाट हामी तल झर्यौं। उकालो बाटोभन्दा ओरालो बाटोमा हिँडाइ छिटो हुन्छ।
हामी खाना खाने बेला पाउद्वार पुगिसकेका थियौं। खोप्रामा लज भएका दाइ र पाउद्वारमा खाना खुवाउने दाइ जुम्ल्याह हुनुहुँदो रहेछ। केहीबेर रमाइला कुरा गरेर हामी दिउँसो २ बजेतिर हाम्रो पैदल यात्रा सुरू भएको ठाउँमा आइपुगेका थियौं। केहीबेर खोलामा पौडी खेल्यौं। हिँडाइले थकित शरीरलाई चिसो पानीले आनन्दित गरायो।
अब हाम्रो मोटरसाइकल यात्रा सुरू भयो। घार गाउँमा सुन्तलाको व्यावसायिक खेती गरिँदो रहेछ। चौतारामा सबै साथीहरू बसेर सुन्तला खायौं। पोखरेबगरबाट केहीबेरको दूरीमा पर्ने ठाउँ हो तिप्ल्याङ्ग।
यस ठाउँमा प्रत्येक वर्ष फागु पूर्णिमाको दिन तारो हान्ने प्रतियोगिता हुने रहेछ। म्याग्दीको लेकाली भेगतिर प्रख्यात यो खेल निकै नै रोमाञ्चक थियो। मुस्ताङ घुम्न हिँडेका पर्यटक समेत बीचमै गाडी रोकेर सो खेल हेर्दै थिए। हामी त्यहाँबाट बेनीबजार आयौं।