यात्राको उद्देश्य के-के होलान्?
यसो विचार गर्दा धेरै कारण पो मनले भेट्टायो। त्यसमध्येको एउटा कारण परिवार, नातागोता वा साथीभाइ भेट्ने चाहना वा आवश्यकता।
यही कारणले नै साइकल यात्रा गर्न रुचाउने मलाई बागलुङमा रहेका साथीहरूको सम्झनाले तान्यो।
नेपालभित्रको सानो नेपाल भनी चिनिने बागलुङ प्राकृतिक रूपले चिटिक्क परेको सुन्दर पहाडी जिल्ला भनी सुनेको थिएँ। यो जिल्लाले एक ताका झोलुङे पुलको जिल्लाका रूपमा पनि अर्को चिनारी बनाएको रहेछ।
जाउँ न त बागलुङ नै, एक पन्थ दुई काज हुने- साइकल यात्राको बहानामा साथीभाइ भेटिने।
यति कारण भएपछि पुगिगो नि।
सोधिहालेँ बागलुङे दुई साथीहरू अचेल कता छन्? उनीहरू त सदरमुकामका नभई अलि पर गाउँतिरका रहेछन्। उनीहरूमध्ये एकजना गिरी दाइ (गिरीप्रसाद थापा मगर) सँग चिन्न र नजिकिन जुरेको पूर्वी टिमोर हुँदा हो।
विदेशको चिनाजानी अलि गहिरो हुन्छ भने झैँ म र गिरीबीच कुराकानी तथा भेटघाट भैरहन्थ्यो। अर्का साथी रेशमबहादुर बुढा मगर पनि उतैका, अचेल ललितपुर बस्ने हामी छिमेकी। छिमेकी सबैसँग सम्बन्ध गाढा त हुन्न, तर उनीसँग छ।
उनीहरू दुवैले ‘हाल बागलुङमा छौँ’ भनेपछि त हाम्रो यात्राको लागि रोजाइको गन्तव्य बनिहाल्यो बागलुङ।
सोझियो यात्रा बागलुङतिर
कोरोनाका कारण भएको बन्दाबन्दीले उकुसमुकुस गराएको थियो। घरमा खुम्चेर बस्नु परिरहेकाले यही बेलामा साइकल यात्रामा निस्कन मन लागेको थियो। मैले गिरीलाई साइकलबाट उनीकहाँ आउन चाहेको सुनाएँ। त्यसै गरी सुनाएँ रेशमलाई पनि।
कोरोनाले गर्दा काठमाडौंभन्दा गाउँ नै सुरक्षित भनी बसाइ लम्ब्याएका रहेछन्। दुवै बुढाहरू (आफूभन्दा अलि जेठा हुनाले कहिलेकाहीं बुढा पनि भनिन्छ) गाउँमा नै भएको बेला मौका छोप्नुपर्छ भनेर यो यात्रा तुरुन्त गरौँ भनी मैले मित्र सिंहबहादुर श्रेष्ठ (भुपू. महानिरीक्षक– सशस्त्र प्रहरी) लाई सुनाएँ र सँगै जान प्रस्ताव गरेँ।
उनी साह्रै मिलनसार र साइकल यात्राका मेरा दौंतरी। सहमत भइहाले।
२०२१ को सेप्टेम्बर अन्तिम हप्ता जाने तय भयो। काठमाडौंदेखि पोखरासम्म जहाजमा जाने अनि त्यहाँबाट गिरीको गाउँ गलकोटसम्म साइकलमा जाने योजना बनाइयो। बाँकी योजना त्यहीँ गएर तय गर्ने पनि भनियो। किनकि कतिपय हेर्नलायक, घुम्नलायक ठाउँ त उतै पुगेपछि थाहा हुन्छ।
जाने भएपछि टिकट नपाएर योजना भर्सेला नपरोस् भनी जहाजको टिकट लिइयो एक हप्ता अगाडि नै। हाम्रो सोचाइ काठमाडौंबाट नै नभई पोखराबाट साइकल यात्रा सुरु गर्ने थियो।
जानु एक हप्ताअघि टिकट किनिसकेपछि सिंहबहादुरले फोनमा बताएँ, ‘सुलोचन पनि जाने रे हामीसँग।’
सुलोचन साइकल यात्राका साथी, अति मिलनसार र सफल व्यापारी। उनलाई पनि लानुपर्छ रमाइलो हुन्छ भन्ने कुरामा दुई मत भएन। अनि हामी तीन जना सुलोचनको प्राडो गाडीमा गलकोटसम्मै जाने तय गर्यौं।
यात्रामा बरु गाँस छाड्नु साथ नछाड्नु भन्छन्, त्यसैले सिंहले र मैले जहाजको टिकट माया मार्यौं, महँगो टिकट खेर जाने भए पनि। उनलाई मात्र पोखरासम्म गाडीमा आऊ, त्यहीँ भेटेर अगाडि बढौंला भन्न चाहेनौं। यात्रा त साथीको साथमा पो गर्ने हो नि।
गाडीको डिकीमा तीन वटा साइकल कोच्यौं। सबै साइकलको पाङ्ग्रा निकालेपछि, मज्जाले अटायो। लगभग बिहान ७ बजे त कलंकीबाट नागढुङ्गा हुँदै उपत्यकालाई बाईबाई भनिसकिएछ।
बिहानी नास्ता गर्नुपर्ने थियो। त्यसको पालो ह्याम्लेट रेस्टुरेन्टमा आयो। अर्गानिक कफी त भई नै हाल्यो, अम्लेट र पुरी खाएर भोकको सातो लिइयो। अरू थरीथरीका नास्ता नपाइने होइन, हामीले त्यही रोजेको।
सडक राम्रै थियो, मात्र पोखरा पुन लाग्दा खैरेनी नजिक पिच बिग्रेर कच्ची झैँ भएको रहेछ। बाटोमा भुल्दै गएकाले होला ३ बजे मात्र पोखरा पुगियो। नत्र यति समय त लाग्ने होइन। लन्चको लागि थकाली रोज्यौं।
हिँड्दाको खानाले भुँडी भर्ने मात्र कहाँ हो र, खाएर बिरामी पर्न भएन अनि रमाउनु पनि पर्यो नि! रेस्टुरेन्टको रोजाइ हाम्रो महत्त्वपूर्ण काम नै हुन्छ भ्रमणमा। त्यसैले पोखराका जानकारसँग सोधखोज गरेर रोजेका थियौँ। हाम्रो निर्णय गलत भएन। खाना मिठो थियो।
भुँडी टन्न, मन प्रसन्न भएपछि सोझियौँ ३:३० बजे त्यहाँबाट बागलुङतिर।
पोखरा बागलुङको बाटो राम्रै थियो। तर एक ठाउँमा भेटियो निकै नराम्रो पहिरो, पानी परेर खसेको! २/३ दिन त बाटो नै बन्द भएको थियो भनेका थिए गिरीले मलाई। हामीले सडक खुलेको जानकारी पाएपछि नै यो यात्रा सुरु गरेका थियौँ, त्यसैले त्यस्तो अप्ठ्यारो भएन। अन्यथा, असोजको पूर्वार्धमा थियो हाम्रो यात्रा, बाटो बिग्रेर रोकिन केहीबेर लाग्ने नै थिएन।
बागलुङबाट गल्कोटको बाटो कच्ची रहेछ प्राडोलाई नि धौधौ हुने गरी। हामी गल्कोटसम्म गाडीमा अनि साइकलमा घुम्ने विचारमा थियौँ। हामी साइक्लिस्टहरूले यस्तै बाटो रुचाउने हो, तर गाडीमा थियौँ नि त साना पहिरा र भल पसेर सडक बिग्रेका, त्यसैले अलि गाह्रो।
साइकल यात्रा गर्दा भने त्यस्तो कारणले यात्रा त्यति रोक्नु पर्दैन। साइकल चलाउन नमिले बोकिदिए भैगयो। रमाइलो नै मान्छौँ त्यसो गर्न साइकल यात्रीले। नगरेर नि हुँदैन ठाउँठाउँमा।
गुगल म्यापको प्रयोग गर्दा पनि एक दुई ठाउँमा बाटो बिराइएछ, अलमल भो। नयाँ ठाउँमा जाँदा अँध्यारो हुनु अगाडि नै पुग्न पर्ने सिकाइ भो। गल्कोट पुग्दा त बेलुकाको झन्डै ८:३० बजेछ। बेलुका पनि के भन्नु, रात नै परेको थियो भनूँ न!
कुन बेला आइपुग्लान् भनी बाटो हेरिरहेका गिरीले आफ्नो घरमा स्वागत गरे। घरमा भाउजू र सासूआमा हुनुहुँदो रहेछ। अलि बेरमा गिरीको सालो आइपुग्नु भयो। उहाँ बडीगाड गाउँपालिकाको अध्यक्ष हुनुहुँदो रहेछ, बेफुर्सदी।
मिजासिला र सबैसित मिल्न सक्ने मान्छे हुन् गिरी दाइ। उनी परिश्रमी पनि छन्, चिनेदेखि नै जान्दै आएको। यति टाढाको गाउँमा उनी भनेर आएको पाएर उनी खुसी, अनि उनी भेट्दा हामी खुसी।
सुलोचनलाई परिचय गरायौँ। सिंहबहादुरको परिचय दिन गाह्रो भएन, दुवैका साझा चिनजानका मानिस केही छन्। गिरी, भाउजू र म तीन जनाले सम्झना र गन्थनको पेटारो फुकाउँदै जाँदा निकै अबेरसम्म पो बसिएछ त।
गिरीले भोलि नजिकको खोलामा असला माछा मार्ने प्रस्तावसमेत राखे। मलाई त माछा मार्ने खासै रहर हुँदैन तर पनि कुरा सुनिराखेँ। विभिन्न परिकार तयार भएछन्, तीनपानेसहित हाम्रो आतिथ्य गर्न। रात बिसाइयो गिरीकै घरमा।
खोलाको कलकल र चराचुरुङ्गीको चिरबिर, मन आल्हादित पार्ने सङ्गीतसरी सुन्दै बिहान ५ बजे ब्युँझिएछु। दरम खोला नजिकै रहेछ। ठूलै पो रहेछ, अनुमान गरेँ ५ मेगावाट बिजुली त सजिलै निस्किएला। घर छेउमै सानो खहरे पनि बगिराखेको थियो। अति रमणीय, स्वर्ग धर्तीमा अवतरित भएझैँ।
वारिपारि अग्ला पहाड, तिनको काखमा अलिकति फाँट। समथर जमिन त्यति छैन, भएकोमा घर बनाएर बस्ती बसेको छ नेपालका खोला किनारमा बसेका अरू बस्ती जस्तै।
बिहानको चियाचमेना गिरीकहाँ नै भयो। घुम्न आएको मानिस बसिरहने कुरो आएन, अब यसपछिको गन्तव्य तय गरियो– रोल्पाको सदरमुकाम लिवाङ पुग्ने।
लिवाङ यात्रामा गिरी दम्पती पनि जोडिने भए। मगरको ठूलो जनसंख्या भएको रोल्पा गिरी दम्पतीलाई जान रहर जागेछ। त्यसको लागि बुर्तिबाङलाई बेस क्याम्प बनाउने निधो गर्यौं। त्यो दिन हामी बुर्तिबाङसम्म प्राडो गाडी लिएर जाने भयौँ। गिरीले टाटा स्ट्रोम गाडी चलाए, म त्यसैमा चढेँ गिरीसँगै।
बाटो एक घण्टाको थियो, पहिरोले बडीगाड खोला थुनेर एक वर्षसम्म तलाउ बनेको अनि राफ्टिङ्ग गरेको बताए। उनको पहिलाको घर खोलापारि रहेको भनी देखाए। त्यो लेकबाट अर्गानिक खानेकुरा (बँदेल, साग, आलु) आफूलाई आइरहन्छ भनी गर्वसाथ बताए। म पर्यटकको लागि उनी ‘फ्री’ गाइड बनी बताउँदै गरिरहे।
बुर्तिबाङबाट सिमानातिर
प्राडो गाडी बुर्तिबाङको होटेलमा पार्क गरियो अनि साइकललाई जोडजाड पारी लम्कियो लिवाङतिर। बाटो निकै मजाको थियो। बाटो निसी खोलाको किनारै किनार उकालो लाग्छ।
वरिपरिका पाखामा सल्लाका रुखहरू देखिन्थे। स्विट्जरल्याण्डको झल्को दिने खालको दृश्य थियो। फोटो खिच्यौं, सम्झनामा सजाउन र फेसबुकमार्फत प्रियहरूलाई देखाउन। अचेल त देखाउन रमाउने मानसिकता बढेको नै छ। म पनि खुसीको प्राप्तांक सय पुर्याउन कुनै कुरा, दृश्य राम्रो लाग्यो कि फोटो खिच्न लगिहाल्थेँ।
यो बाटो मध्यपहाडी लोकमार्गको खण्ड नै भएकाले चौडा अनि कालोपत्रे रहेछ। यो मार्ग पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मध्यपहाडी भागलाई जोड्ने सडकको रुपमा विकसित हुँदैछ।
कसैले भनेकोबाट सूचना लिएको- मधेस आन्दोलनले जन्माएको बाटो रे यो सडक! मधेस बन्द हुँदा पनि नेपालका पहाडी भूभागबाट नै आवतजावत हुन सकोस् भन्ने हेतुले वैकल्पिक मार्गको परिकल्पना गरिएको हो रे।
सडकमा गाडीहरू फाट्टफुट्ट मात्र भेटिने, साइकल यात्राको लागि अति नै उत्तम! अलि माथि पुग्दै गएपछि भू-बनोट अनि वनस्पति तथा मानिसका जातजातिमध्ये कसको बाहुल्यता हुने भन्ने समेत फेरिँदै जाने– प्राकृतिक तथा देशीय विशेषता नै भनौँ। त्यसको अनुभूति गर्दै गयौँ।
बाटोमा फाट्टफुट्ट मात्र बटुवा भेटिन्थे। सानातिना पसलहरू नि थिए। घरहरू स्लेट (पातलो ढुङ्गा) ले छाएका। बागलुङ स्लेटको लागि नामुद रहेको सुनेको हुँ, यहाँ त देखियो नै। काठमाडौंमा यताबाट समेत लगिँदो रहेछ।
झरीले पार्यो बित्यास
तीन बजेतिर अकस्मात मौसम बिग्रियो। हामी २२०० मिटरको उचाइमा पुगिसकेका थियौँ, हेर्दाहेर्दै आकाश गड्याङगुडुङ गर्न थाल्यो। उच्च पहाडी इलाकामा कालो बादल मडारिसकेछ छिनमै। चार बजेतिर बेसरी पानी पर्यो।
आपतविपत पर्दा पहिले आफू सुरक्षित हुन बाटोमुन्तिर एउटा टायलको छानो भएको घर देखेँ, अनि त्यतै हान्निएँ। ओत पाएपछि साथी सम्झिएँ - कता होलान्? तर अत्तोपत्तो थिएन। गति फरक पर्नाले अगाडि थिए कि पछि कुन्नी! ओत लागेको घरमा तल्लो तलामा गोठ अनि माथिल्लो तलामा एउटा कोठा रहेछ। झरीले अलिअलि भिजाइसकेको थियो हामीलाई।
घरमा माथि आउन आग्रह गरेको सुनें। लिस्नोबाट चढेर माथिल्लो तलामा गएँ खुसी हुँदै झरीले रुझेको म, साक्षात् भगवान प्रकट भई बोलाए झैँ लाग्यो। दुई जना दाजुभाइ र एक बहिनी रहेछन्। जाडो भगाउन आगो बाले अनि चिया बसाले मलाई ख्वाउन भनी।
कस्तो सत्कार, कति मनकारी ती केटाकेटी! गाउँघरमा ‘अतिथि देवो भव’ संस्कार अझै जीवित रहेछ; यस्तो लाग्यो सभ्य तथा सुसंस्कृत देखेर। यस्तै कारणले मलाई गाउँघर मनपर्छ। मैले अरू दुई साथीहरूलाई फोन गरेँ, नेटवर्क नभएको जानकारी मिठो स्वरमा बज्यो, तर त्यो कर्कश लाग्यो।
जति नै मिठो बोले पनि काम नबनाउने बोली कर्कश लाग्ने नै भो। मैले मनमनमा त्यहीँ नै आजको बास हुने भो भनी लख काटेँ। आकाश कालिएको थियो, पानी मज्जाले परिरहेको थियो।
झन्डै साढे चार बजेतिर पानी पर्ने बेग कम भो। आकाश खुल्यो अनि उज्यालोको मात्रा नि बढ्यो। अब हिँडियो भने त सिमानामा ६ बजेसम्म पुग्न सकिने ती भाइबहिनीले बताए। सिमानामा चाहिँ बास पाइने ठाउँ छ, त्यहाँवर बासको उपाय छैन- जानकारी पाइयो।
कृतज्ञता दिई फेरि यात्रा चालु गरेँ। बाटो उकालो थियो, जमिन भिजेर सफा थियो, कतै अलि चिप्लो पनि। हावा भने ओसिलो भई चिसो-चिसो भएछ। गन्तव्यतिर एक्लै लम्किएँ। अरू दुई साथीको थाहापत्तो छैन, नेटवर्क छैन फोनबाट थाहा पाउन।
त्यस्तै १०० मिटर जति अगाडि पुग्दा सुलोचनको साइकल बाटो छेउमा ठड्याइ राखेको देखें अनि त्यहीं रोकिएँ। यताउता हेरेँ। ऊ पनि ओत लाग्न छिरेको रैछ। भेट भो, भरोसा बढ्यो। गिरीले नि साइकल देखेर गाडी रोके।
कस्तो आइडिया निकालेछ सुलोचनले, आफू ओत लाग्न घरमा छिरे पनि साइकल बाटोमा नै छोडेकाले फेरि जुट्न सजिलो भो। साइकल संकेत बन्यो उसको उपस्थितिको। उसको बुद्धिलाई सलाम गर्दै धन्यवाद दिएँ।
गिरीमाथि गन्तव्यमा पुगेको भए पनि पानीमा परेर हामी बितरा पर्यौं कि भनी खोज्न फर्केका रहेछन्। उनी गाडीमा थिए भने हामी साइकलमा थियौँ बुर्तिबाङदेखि। गिरीलाई सिंहबहादुर तलै अर्थात् पछाडि नै छुटेको हुँदा उनलाई माथि ल्याइदिन अनुरोध गरियो, कारण थियो समय घर्किनु।
अझ ७ किलोमिटर (९० मिनेट) माथि चढेपछि मात्र सिमानामा पुगिन्छ भन्ने खबर मिल्यो। रोल्पा, रुकुम र बागलुङको सिमाना भएकोले चलनचल्तीको नाम नै सिमाना रहेछ। वास्तविक नाम पाटीहाल्ने रहेछ साइनबोर्डमा लेखेको, तर भन्दारहेछन् सिमाना।
अति नै रमणीय संगमस्थल भएकोले स्थानीयहरू एउटा घुम्ने, रम्ने गन्तव्य बनेछ यो। अझ हिउँ पर्दा त हिउँ खेल्न आउनेको घुइँचो नै लाग्छ रे। यसको उचाइ ३२०० मिटर रहेछ- काठमाडौंको अग्लो फुलचोकी टुप्पोको उचाइ २७०० मिटर छ, त्योभन्दा ५ सय मिटर अग्लो।
उकालो लाग्दै गएपछि घर पातलिँदै गएर हराए नै, गाईगोठ भने कताकति भेटिन्थे मान्छे नभएका। हुस्सु लागेको थियो। उचाइमा हावाको चाप कम हुने भएकोले कान पनि टालिन लागेको महसुस भयो। अलि दिउँसो भएको भए मजा नै हुन्थ्यो, तर बेलुका साढे पाँच भैसकेकोले मन अलि आत्तिन थालिसकेको थियो। तर मनमा गन्तव्यमा पुगिन्छ अँध्यारो नहुँदै भन्ने आशा थियो।
हावा पूरै चिसो थियो, नहोस् पनि किन यो उचाइमा? प्रयास गर्दागर्दै पनि सिमाना पुगुन्जेल अँध्यारो भैसकेको थियो। गिरीले गाडीबाट रेस्क्यु गर्ने सोचेर फर्कन आँटेका मात्र के थिए, म ठ्याक्कै पुगेँ ६:१० बजे झिसमिसे अँध्यारोमा! यसरी झिवाखोला, निशी, पन्ध्रहजार घुम्ती, स्याउले भन्ज्याङ हुँदै ४३ किलोमिटरको यात्रा तय गरिएछ सिमाना पुग्न।
गिरीको गाडीले त्यो दिनको यात्रा सहज बनायो। सिंहले त गाडी नभएको भए सिमाना पुगिन्न भनेर पटकपटक भनेका थिए। अनि मलाई पनि, त्यो ७ किमि उकालोमा निकै ढाडस दिएको थियो उनको गाडीले। डुब्न लागेकालाई परालको त्यान्द्रोले समेत बचाउन सक्छ भने गिरीको गाडी छँदैछ नि भन्ने ढाडस त हुनुसम्मको नै भैगो नि।
गिरी एक प्रेरणादायी व्यक्ति हुन् भन्ने मेरो ठम्याइ छ। उनी मेहनती तथा सहयोगी पनि छन्। त्यसै गुणका कारण उनले १३ वर्ष पुग्दा नपुग्दै बेलायती सेनाबाट अवकाश पाए, यिनै गुणले गर्दा सबैका प्यारा भए अनि एकपछि अर्को जागिर पाउँदै गए।
उनलाई पत्याएर उनका हाकिमहरूले ठूलो कामको जिम्मा दिन्थे भन्छन् उनी। झन्डै ६२ वर्षको हुँदासम्म युएन लगायतका संस्थाहरूमा काम गरेर अवकाश लिएका उनी अहिले हाँसीखुसी जीवन बिताउँदै छन्। उनले घरमा पत्नी विष्णुमाया थापा मगरबाट पाएको साथ सहयोगले उनमा ऊर्जा भरेको भन्छन् उनी।
विष्णुमाया भाउजू त उदाहरणीय महिला, सन्तान पाएपछि अक्षर चिनेकी उनले ४३ वर्षमा एसएलसी गरिन् र अहिले स्नातकोत्तर समेत गरिसकिन्, स्नातक त दुई विषयमा छ। अझ विद्यावारिधि नै गर्ने धोको राखेर प्रयास पनि गरेकी रे। पूर्वी टिमोर बस्दा यी भाउजू पढी बस्थिन्, अनि जाँच दिन भन्दै नेपाल आइरहन्थिन्।
त्यो रात हाम्रो बास तिलाचन माउन्टेन होटलमा भयो। थकाइमाथि भोक- के चाहियो र! खाना देख्दा थालसँगै खाउँ जस्तो लाग्यो। दाल, भात तरकारी र मासु सबभन्दा पोसिलो तथा उपयुक्त ठान्यौँ। सुत्न कोठा सानो र सिंगल बेडको थियो। बाथरुम भने थियो कमन।
खोलेसबाङतर्फ पो मोडियौँ हामी
घोडा बेचेर सुतेझैँ सुतिएछ, बिहान उठ्दा त ७ बजिसकेको। बाहिर पानी सिमसिम परिराखेको। राति नि परेको रै छ। रातभरि पानी परेकोले बाटो हिलो हुने अनुमान गरेपछि गिरीको गाडी लिवाङ जान सक्दैन भन्ने लख काटियो। ढोरपाटन पनि जान नसक्ला गाडी- यो पनि लख नै थियो।
कहाँ जाने त उसो भए? मैले खोलेसबाङ, रेशमको घर जान प्रस्ताव राखेँ। सर्वसम्मति भयो। खोलेसबाङ चाहिँ डाँडाको माथितिर पर्दोरहेछ। त्यहीँ ब्रेकफास्ट खाएर तीन भाइ साइकलमा अनि गिरी दम्पती टाटा स्ट्रोममा बुर्तिबाङतिर लागियो।
बाटो ओरालो भएकोले गति सरदर ३० किमि प्रतिघन्टा हुने गरी हुँइकियौँ, अझ भनौं बग्यौं। ९० मिनेटमै पो पुगिएछ बुर्तिबाङ। हिजो यही बाटो साइकल कुदाउन ५-६ घन्टा लागेको थियो; ओरालो र उकालोको भिन्नता!
बुर्तिबाङको दरबार होटेलमा साधारण चिया मात्र खाएर खोलेसबाङतिर लाग्यौँ। बुर्तिबाङ ढोरपाटन नगरपालिकाको एक प्रमुख पहाडी बस्ती हुनुको साथै पश्चिम बागलुङ, रुकुम, गुल्मी तथा प्युठान जिल्लाको एक व्यापारिक केन्द्र पनि मानिने रहेछ।
ढोरपाटन एक प्रसिद्ध पर्यटकीय क्षेत्र, त्यसको प्रवेशद्वार रहेछ बुर्तिबाङ, निकै चहलपहल भएको। यहाँको जनसंख्या २६ हजार हाराहारी छ रे।
रेशमलाई अब हामी तपाईंको गाउँमा आउँदै गरेको भन्यौँ। रेशमले आफू मख्ख परेको सुनाए। हुन पनि त्यति टाढा हामी पुगौँला भन्ने अनुमान नै हुने भएन। साधारण दालभातको मात्र व्यवस्था गर्नु होला, धेरै थरी खाना बनाउने दु:ख नगर्नु होला भन्नै पर्थ्यो, भनें पनि मोबाइलबाट।
उनको त्यो दुर्गम ठाउँमा नि साइकले यात्री आउनु उनको लागि मात्र नभई गाउँकै लागि खुसीको कुरा, खोलसेबाङसम्म पर्यटक घुम्न आए भनेर मोबाइलमा नै खुसी पोखे उनले।
बुर्तिबाङबाट ७ किलोमिटर दूरी भुजी खोला किनार पार गरे भालिबाङ पुगिँदो रहेछ, अनि भालिबाङबाट ७ किलोमिटर पूरै उकालो बाटो काटेपछि खोलेसबाङ पुगियो। पानी सिमसिम परिराखेको थियो। खोलेसबाङ पूरै कुहिरोभित्र लुकिराखेको थियो।
७ किमि त हो नि भने जस्तो लागेथ्यो, तर बाटो ठाडो उकालो ७ डिग्री ग्रेडिएन्ट भएको अनि सारै उबडखाबड। ठाउँठाउँमा ठेल्दै, अनि कतै चढ्दै गर्याथ्यौं, लाग्यो बाटो त सकिँदै सकिन्न। पसिनाले पूरै जीउ भिजिसकेको थियो।
सिंहलाई जाडोले निकै अत्याएछ- यो गन्तव्य छनोट गरेकोमा रिस समेत पोख्यो भुत्भुताउँदै, ‘यस्तो ठाउँमा नि ल्याउने हो!’ जसोतसो रेशमको घर पुगियो। विचरा भाउजू एक्लैले हामीलाई खाना तयार गरिराख्नु भएको रहेछ।
हामी भने जाडोले थुरथुर काम्दै भात खान थाल्यौँ। मैले काठमाडौंबाट मिठाई कोसेली लगेको थिएँ, भाउजूलाई कृतज्ञ हुँदै दिएँ। रेशमले आफैले बनाएको तीनपाने चखाए। सत्कार अत्यन्त न्यानो गरे। सम्झनाको लागि फोटो खिच्ने काम भयो। अनि फर्क्यौं पनि हार्दिक धन्यवाद दिई।
खोलेसबाङ तमानखोला गाउँपालिकामा पर्नेरहेछ। मगर र दलितको बसोबास रहेको यो ठाउँमा १५० घरधुरी रहेको जानकारी रेशमले दिए।
खोलेसबाङ र बुर्तिबाङको यात्राले केही कुरा सिकायो। यसमा गन्तव्य पुग्ने अठोट, संयम, अतिथि सत्कारले यात्रामा रस भर्ने रहेछ भने मौसमको प्रतिकूलताले यात्रा तुहाउन मलजल गर्दोरहेछ।
यसो विचार गरी हेर्दा, जीवनमा पनि यस्तै त हुन्छ नि! सधैं अनुकूल मात्र त कहाँ हुन्छ र, प्रतिकूल परिस्थिति पनि आउँछ। प्रतिकूल परिस्थिति आए पनि नडगमगाइ अगाडि बढ्नेले जीवनका उद्देश्य, लक्ष्य प्राप्त गर्छ।
त्यस रात हामी बुर्तिबाङ फर्कियौं, अनि वास्तविक नभए नि नाम दरबार भएको होटेल बसियो। भोलिपल्ट हामी गल्कोट हुँदै पोखरा पुग्यौँ। पोखरामा एक दिनभरि साइकलमा घुमी पर्सिपल्ट काठमाडौं फर्कियौं।