भर्खरैमात्र सकिएको अत्यन्त मीठो मर्दी हिमालको मेरो यात्रामा मैले पहिलो पटक राम्ररी देखें, छोएँ अनि मज्जासँग खेलें फाप्रेसँग! अनि यात्रामा मर्दी हिमाल बनिन् मेरी मर्दी मायालु। आखिर के हो त यो ‘फाप्रे’ भनेको? न यो नेपाली शब्दकोशमा भेटिन्छ, न कहीँ दिनवर देख्नमा आउँछ वा सुन्नमा आउँछ।
केही दशकअघि मैले ‘फाप्रे’ भन्ने शब्द पहिलो पटक सुनेको थिएँ। मेरै पोखेरेली छिमेकी नेपाली साहित्य जगतका महान साहित्यकार सरूभक्त ज्यूले लेख्नुभएको गीतमा। त्यसबेला पोखेरेली चर्चित ब्याण्ड कन्दराले गाएको अति चर्चित गीत ‘हङकङ पोखरा’ भन्ने गीतमा यो शब्द पहिलो पटक सुन्न पाएको थिएँ र त्यसबेला यो नयाँ शब्दले सबैलाई एउटा जिज्ञासा छोडेको थियो। गीतमा जोडिएको छ फाप्रेको डंगुर। गीतको अन्तरा यस्तो छ.… ‘हिउँ त होइन फाप्रेको डंगुर, माया भयो अमिलो अंगुर ~ हङकङ पोखरा निर्मोही आफ्नो को छ र’ ।
केही समयअघि सरूभक्त दाइले एक अन्तर्वार्तामा यसो भनेका थिए, ‘गीतमा प्रयुक्त फाप्रे शब्दलाई धेरैले त्यतिबेला फापर हो कि भनेर अनुमान गरे। यो शब्द नेपाली शब्दकोशमा पनि छैन।’
भर्खरै जब मलगायत मेरा दुई सहयात्री भाइहरू कास्कीको माछापुच्छ्रे गाउँपालिकाको सुन्दर गाउँ सिदिङ् हुँदै अत्यन्तै सुन्दर मर्दी हिमालको यात्रामा थियौं। अकस्मात् हिउँ पर्न थाल्यो अनि हामी धेरै खुसी भयौं यात्रामा हिउँ परेको देख्दा।
केही समय फुरूरू उडेको कपासझैं हामीलाई अंगालो मार्दै आएको सेतो हिमाली कुहिरो र भर्खरै झरेको हिउँसँग खेल्दै हिँड्यौं हामी विस्तारै माथि हाई क्याम्पतिर।
जब हाई क्याम्प पुग्यौं, त्यहाँ जताततै हिउँको वर्षात् भइरहेको थियो, कति रमाइलो, कति सुन्दर, स्वर्गबाट झरेका सेता फूलहरू हुन् कि जस्तै, हाम्रा क्यामराका बटनहरू धेरै व्यस्त थिए। हामी स्वर्गलोकमा पुगे सरी हिमपातसँग खेल्दै, रमाउँदै थियौं अनि अचानक एक कुनाबाट सुनियो कसैको स्वरमा ‘फाप्रे’!
फर्किएर हेरें। हाम्रा होटल साहुजी रूम सोल्टी हुनुहुँदो रहेछ र उहाँको स्वरबाट त्यो शब्द निक्लेको मैले निर्क्योल गरें। म झसंग भएँ अनि सोल्टीलाई प्रश्नमात्र के गर्न आँटेको थिएँ रूम सोल्टीको अनुहार र स्वर दुबैमा निराशता देखें।
म दंग परें अनि आश्चर्यका साथ सोधें, ‘सोल्टी निराश किन? उहाँको प्रतिउत्तर थियो- यो फाप्रेको काम छैन भन्दै झन्डै थुकेनन् फाप्रेलाई रिसले। मलाई अचम्म लाग्यो तर कारण यस्तो रहेछ।
सिदिङ गाउँको लेकमाथि खाने पानीको साह्रै अभाव रहेछ र खाने पानी दिनहुँ मान्छेले बोकेर माथिका होटलहरूलाई पुर्याउनु पर्दोरहेछ।
पर्यटकहरूलाई पिउनेदेखि नुहाउने पानी धेरै तलबाट मान्छेले बोकेर दिनहुँ लानुपर्ने ठूलो समस्या रहेछ। हामी धन्य छौं यहाँका पर्यटन व्यवसायीहरूप्रति।
पानीको अभावमा कस्तो कठिनाइ भोग्नुपर्यो भन्ने अनुभव मेरो काठमाडौंको अमृत साइन्स कलेजमा पढ्दाको अप्ठ्यारो समय अझै ताजा छ मसँग।
विडम्बना-जलस्रोतको दोस्रो धनि देशमा हामी अझै पनि पानीको अभावको कुरा गर्दैछौं।
हजारौं नेपालीहरू पानीको अभावमा दिनहुँ अझै तड्पिरहेका छन्। यसरी दिनहुँ पानी ओसार्नु पर्ने र फाप्रेको निराशा यस्तो पो रहेछ।
अहिलेको हिउँदमा हिउँ थोरै परेकोले पयर्टन व्यवसायीहरूमा निराशा झन् बढ्न गएको रहेछ।
फाप्रे लेकाली अर्थात् गाउँले शब्द रहेछ। जसको अर्थ रहेछ, हिउँको खार। हिउँ पर्नु अगाडि सानो खालको असिनाजस्तो एउटै गोलाकार दाना फुर्र फुर्र पर्दो रहेछ त्यसैलाई फाप्रे भनिँदो रहेछ। न त हिउँ न त असिना, बीचको। पूर्ण रूपमा हिउँ नभई सेकेण्डरी हिउँ रहेछ फाप्रे। यो शब्द नेपाली शब्दकोशमा पनि भेटिँदैन।
मैले छोएर हेर्दाको अनुभव कपासजस्तो हलुका, हातमा लिँदा हात नभिजाउने, हातमा पनि नपग्लिने, कृत्रिम हिउँजस्तो। हेर्दा र उचाल्दा ठ्याक्कै स्टाइरोफोमका दानाजस्ता जो हाम्रो प्याकेजिङमा धेरै देख्न पाइन्छ।
यो न हिउँ न असिना भएकोले न यसलाई पगालेर पानी पिउन मिल्ने न यसलाई बरफझैं खाना मिल्ने!
बल्ल बुझियो रूम सोल्टी र स्थानीयहरूको फाप्रेप्रतिको निराशताको कारण। हिउँ र असिना जसरी पगालेर पानी बनाएर पानीको अभावको पूर्ति यसले नगर्दो रहेछ। तर फाप्रे आफैंमा भने धेरै सुन्दर छ पृथक छ। फाप्रे फुर्र फुर्र पर्दा कति रमाइलो, न छाता उड्नुपर्ने, न जिउ भिजाउने डर कति राम्रो चिज।
४,२०० मिटर माथिको लो-ओक्सिजनमा हिँड्दा सेताम्मे वर्षात् हुँदा स्वर्गबाट झरेका फूलका दानाहरूजस्तै देखिँदा रहेछन्। फाप्रे अनि फाप्रेले ढाकेको त्यो सेतो पहाड र ढकमक्क लालीगुराँसले ढाकेका ती घना जंगल कति रमाइला! अहा कति सुन्दर। हिउँ नपर्दा हिउँजस्तो अनि असिना नपर्दा असिना जस्तो दुईको भूमिका एक्लै निभाउने गज्जबको चिज।
धन्य छु अनि आभारी छु फाप्रेप्रति म, किनकि यो यात्रा झन्डै असम्भव थियो। फागुन महिनामा प्राय: हिमालहरू हुस्सुले ढाकिरहने हुँदा यो महिना पर्यटकीय हिसाबले अलि अफ सिजन जस्तै हो। पदयात्रामा जाँदा हिमाल देखिन्छ भन्ने ग्यारन्टी हुँदैन। म गत दुई हप्तादेखि हरेक बिहान मेरो सुन्दर नगरी पोखराबाट मेरो कोठाको पर्दा नियालेर हेरिरहेको हुन्थें, कहिले हिमाल खुल्छ भनेर। लाग्थ्यो हाम्रा हिमालहरू यी बाक्ला बादलुका ताता धुम्टोहरू छिट्टै छोड्ने तयारीमा छैनन्। लाग्थ्यो हाम्रा हिमालहरू यो हिउँदको जाडोमा त्यही बाक्ला बादलभित्र अझै रमाइरहेका छन्।
म फर्किने बेला पनि भयो अनि झिनो आशा र सानो निराशा बोकी लागें काठमाडौंतिर। दुई दिनपछि खबर आयो हिमाल खुल्यो अनि मर्दी हिमालमा हिउँ परेको अपडेट आयो चन्द्र सोल्टीबाट। म उफ्रिँदै फर्कें पोखरातिर अनि लागेको थिएँ मर्दी हिमाल पदयात्रामा मेरा प्रिय भाइहरू बिनोद र रोहिनका साथ।
तुलनात्मक हिसाबले मर्दी हिमाल पदयात्रा निकै नयाँ हो। सन् २०१२ बाट औपचारिक रूपमा सुरू भएको यो पदयात्रा पछिल्ला वर्षमा यसको सुन्दरता र छोटो पदयात्रा गर्न खोज्नेमाझ निकै चर्चित बनेको छ।
२०७२ सालको भूकम्प र कोरोनाको महामारीले यस क्षेत्रलाई पनि असर नपारी छोडेन। विकासको नाउँमा बनेका अनियोजित मोटर बाटाहरूले पहिलेका चर्चित मुस्ताङ, धान्द्रुकलगायत अन्य पर्यटकीय पदयात्राहरूलाई तहसनहस पारेको देख्दा अत्यन्त दुःख लाग्छ तर यहाँ धुलो मोटर बाटोमा हिँड्नु पर्ने बाध्यता भने रहेन छ।
हामी धन्य छौं त्यहाँका स्थानीय, माछापुच्छ्रे गाउँपालिका अनि अन्नपूर्ण संरक्षण क्षेत्रसँग आज हामी जताततै लालीगुराँसले ढाकिएका घना जंगलबीच सुन्दर ढुंगाहरूले छापिएका सुन्दर पदयात्रामा माथि हिमालको आधार शिविरसम्म पुग्न सक्छौं।
कति सुन्दर छन् यी ढुंगे गोरेटाहरू। हामीलाई डोहोर्याइ डोहोर्याइ ठ्याक्कै पुर्याइदिन्छन् मर्दी हिमालको काखमा।
कतै मौसम खराब हुने हो कि भन्ने ढुकढुकीमाझ भयो हाम्रो यात्राको सुरूआत बिहान सवेरै ६ बजे मेरो सुन्दर नगरी पोखराबाट, २०७९ फागुन १६ गते।
हामी प्रित्तम देउरालीको मिठो खाजा लिई लाग्यौं मर्दी हिमालको बाटोतिर।
हामी हिँड्दै र खेल्दै गयौं ती सिम्रिक रङका ढकमक्क फुलेका लालिगुराँसहरूसँग, सिदिङ लेकका गोठ र गोठालाहरूसँग अनि हाम्रो यात्रामा साथ दिँदै थिए मोदी खोला पारिका सुन्दर गाउँ घान्द्रुक र छोम्रोङका मनमोहक दृश्यहरू।
हामी फोरेस्ट क्याम्प, लो क्याम्प, बादल डाँडा हुँदै पुग्यौं हाई क्याम्पमा हाम्रो दुई दिने यात्रामा।
जब हाम्रो समुद्री सतहदेखि ३,००० मिटर माथिको यात्रा सुरू भयो हाम्रा पाइलाहरू विस्तारै विस्तारै सुस्ताउँदै गए।
हाम्रा मुटुका धड्कनहरू अलि ठूलो सुनिँदै गए अनि स्वासप्रस्वास प्रणालीका पनि एक एक भान हुँदै गए। कतै कसैलाई लेक लाग्ने त होइन भन्ने डर पनि लाग्यो।
हामीले लेक लागेर फर्केका दुई जना देखिसकेका थियौं अनि दक्षिण भारतीय टोलीका ३ जना हेली उद्धारमा पर्खंदै गरेको पनि देखेका थियौं।
हामी हिँड्दै गयौं माथि, कहिले पानी बोकी हिँड्ने भरियाका साथ त कहिले सामान बोकी हिँड्ने खच्चडका साथ। जब सकियो जंगल अनि भयो हाम्रो यात्रा कपास जस्ता बाक्ला, सिमलका भुवाजस्ता समाते मुट्ठीभरि आउला जस्ता हिमाली हुस्सुसँग।
हामी हिँड्यौं लडीबुडी खेल्दै ती काउकुती लाउने हुस्सुहरूका साथ अनि तिनै अनगिन्ती सेताम्मे फाप्रे र हिउँले ढाकिएका डाँडाहरू साथ।
डोहोर्याउँदै थिए हामीलाई तिनै सुन्दर ढुंगे गोरेटो बाटाहरूले मर्दी हिमालतिर। रातको मीठो विश्राम भयो हाई क्याम्पमा। राति आँखामाथि आकाशतिर पुगे। कति विशाल छ आकाश। कति सुन्दर ग्यालेक्सी। कति चम्किला छन् ताराहरू भर्खरै हातैले टिपेर ल्याऊँ जस्ता। कहाँ पाउनु यी सुन्दर दृश्यहरू हाम्रा लाइट पोलुसनले (प्रकाश प्रदूषण) भरिएका सहरहरूमा।
तिनै ताराहरू फाप्रेमा टल्केर टिलिक्क परेका कति रोमान्टिक रात।
भोलि एकाबिहानै ४:२० तिर लाग्यौं हामी मर्दी हिमालतिर ठाडै उकालो यात्रामा।
जब हामी पुग्यौं ४,२०० मिटरमाथि। त्यो दृश्यको त्यो खुला आकाशको अनि त्यो खुला हिमालको। विस्तारै त्यो बिहानीको रातो पोल्टाबाट बादलुको घुम्टो छोडी विस्तारै झुल्कीइन् एक आकार, एक छाया, एक प्रतिबिम्बसरि नयाँ दुलहीझैं मर्दी हिमाल हाम्रोसामु आफ्नो बिहानीको सौन्दर्य बोकी।
आहा! कति सुन्दर कति सफा कति राम्री स्वर्गकी परी जस्ती मर्दी हिमाल। कति शानदार कति स्थिर कति अटल माछापुच्छ्रे हिमाल अनि कति विशाल अन्नपूर्ण हिमाल। हामीलाई आफ्नै काखैमा बोलाए जस्ती। धन्य छौं हामी यो स्वर्गपुरी देशमा जन्मन पाउँदा।
मुटुभरि मर्दी मायालुको माया बोकी हामी लाग्यौं फेरि भेट्ने वाचा गर्दै हाम्रो फर्काइमा सिदिङको गोठ र लेक हुँदै पोखरातर्फ। जय फाप्रे। जय मर्दी हिमाल।