'एड्भेन्चर' शब्द सुन्नासाथ मनमा बेग्लै तरंग हुन्छ। भिडिओ हेर्दा होस् वा फोटो देख्दा, छुट्टै आन्नद मिल्छ। खेल्न पुगिहालौं जस्तो लाग्छ।
गत चैत ११ गते 'रिफ्रेसमेन्ट' खोज्दै साथीसँग पोखरा पुगेकी थिएँ। त्यही बेला अचानक कुश्मा जान मन लाग्यो।
साथीलाई सुनाएँ, उनी झनै उत्साहित भइन्। तत्कालै जाऔं भन्दै थप फुरूंग भइन्। हेम्जास्थित एक चिया पसलमा चिया पिउँदै योजना बन्यो। दुवै तयार भयौं।
मोबाइल निकालेर गुगल म्यापमा लोकेसन खोजेँ। ५५ किलोमिटर रहेछ। करिब डेढ घन्टा समय लाग्ने।
पोखरामा एक जना चिनजानका साथी थिए। फोन गरेर स्कुटर मागेँ। उनले कुनै प्रवाह नगरी तत्कालै ल्याइदिए।
घडीमा दिउँसोको साढे १२ बजेको थियो। हेम्जाबाट कुश्मातर्फ अघि बढ्यौं। यो यात्रा हामी दुवैका लागि नयाँ थियो। करिब पाँच मिनेटमा बुद्ध चोक निस्कियो। राजमार्ग भेटियो। बाटो बिराउने चिन्ता थिएन। अनि मस्त गफिँदै, फोटो र भिडिओ खिच्दै रमाइलो यात्रा सुरू भयो।
पोखरा-बाग्लुङ राजमार्ग। 'वाउ' कस्तो खाली सडक!
सडकबाटै देखिएको माछापुच्छ्रे हिमालले मन तानिरहेको थियो। पहाडको बाटो उकालो र ओरालो। करिब पौने एक घन्टामा नयाँ पुल पुगियो। नयाँ पुलबाट पुनहिल, घोरेपानी, अन्नपूर्ण लगायत थुप्रै गन्तव्यका लागि पदयात्रा सुरू हुने रहेछ। यसबारे पनि बुझ्ने अवसर पाइयो।
हामीले अझै १५ किलोमिटर दूरी पार गर्नु थियो।
त्यति नै बेला मौसमले चुनौती दियो। सिमसिम पानी झर्न थाल्यो। धन्न स्कुटर ल्याइदिने साथीले स्कुटरमा दुवै जनाका लागि रेनकोट राखिदिएका रहेछन्। दुवैले ओढ्यो र अघि बढ्यौं।
करिब डेढ घन्टामा पर्वतको सदरमुकाम कुश्मा पुगियो।
कुश्मा चोकबाटै 'द क्लिफ' जाने बाटो संकेत गराइएको थियो। कुनै गाह्रो भएन। बाटो पछ्याउँदै अघि बढ्यौं। केही सेकेन्डमै झोलुंगे पुल देखियो।
कताकता मान्छे चिच्याइरहेको आवाज कानमा गुन्जियो। बन्जी जम्प भनेर छुट्याउन गाह्रो भएन। बरू हामी त्यो दृश्य हेर्न हतारियौं र अगाडि बढ्यौं।
कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुल पुगियो।
ओहो! कति लामो अनि ठूलो पुल। वरपर जंगल। सुस्केरा हाल्दै बगेको कालीगण्डकी। पुलको बीचबाट बन्जी जम्प र स्वीङ गर्नेहरू चिच्याइरहेका थिए। पुलबाट वारिपारि गर्नेहरुको पनि कमी थिएन। कोही पुलमा हिँड्न डराइरहेका थिए। कोही भने फोटो र भिडिओ खिच्न व्यस्त।
हामी पनि कहाँ छुट्थ्यौं र! यही हुलमा पसेर रमाइलो गर्दै एक थान फोटो खिच्यौं। बन्जी हान्नेहरूलाई पनि पुलमाथिबाटै नियाल्यौं।
विश्वकै दोस्रो अग्लो बन्जी जम्प हान्ने साहस बटुलेर पुल पार गर्यौं।
'द क्लिफ'का सञ्चालक राजु कार्कीको निम्तो पनि थियो। त्यहीँ पुगेर फोन गरेर 'सरप्राइज' नै दिएँ। केही मिनेटमै मुस्कानसहित हामीलाई मिठो सत्कार पस्किए। सबैतिर घुमाइदिए।
सबैजसो खेलमा आन्तरिक पर्यटकको घुँइचो थियो। साँच्चै कुश्मा आन्तरिक पर्यटकको केन्द्र नै बनिसकेछ।
सबै कर्मचारीहरू मुस्कानसहितको सेवा पस्किरहेका थिए। पाहुनाको स्वागत झनै मनपर्यो। अझ खुसीको कुरा, साहसिक खेल खेल्न डराउनेहरूलाई हौसला पनि दिइरहेका थिए। यी सबै अवलोकनपछि हामीले खेल खेल्न पुग्यौं।
ओहो कति धेरै खेलहरू!
कुनबाट सुरू गर्ने? एकछिन त अलमल परियो।
अनि डिलमै रहेको गुलेली पिङतिर पुग्यौं।
खेल्न दुई/तीन जना पालो कुरिरहेका थिए। टिकटकमा मैले यो पिङमा फरर परेको लामो लुगा (ड्रेस) उडाएर खेलेको देखेकी थिएँ। मलाइ त्यही ड्रेसमा उड्न मन थियो। ड्रेस त्यहीँ पाइने रहेछ। मैले रातो रङको रोजेँ।
सुरक्षाका लागि इन्स्ट्रक्टर (सहजकर्ता) कम्मरमा बेल्ट बाँधिदिए। अनि पिङमा हुइकिएँ।
सरररर……।
हावाले रातो ड्रेस उडाउँदा मैले दुवै हात फिजाएँ। अनि चिच्याउँदै उडेँ। खुसी खोज्न कहीँ कतै जानु नपर्ने रहेछ। खुला आकाशमा हात फिजाउँदा नि निकै मज्जा हुने रहेछ!
सिधा तल कालीगण्डकी बगिरहेको थियो। पारि कुश्मा बजार। करिब दुई/तीन मिनेटमा पिङ रोकियो। मलाई मज्जा लिन अझै पुगेको थिएन। तर अरू साथीहरू कुरिरहेका थिए। अरू खेल पनि खेल्नु थियो।
पिङको अगाडि 'स्काइ चेयर' थियो। चेयरमा बसेर घुम्दै चारैतिर हेर्न पाइने रहेछ। हामी त्यतैतिर लाग्यौं। करिब पाँच मिनेट स्काइ चेयरको मज्जा लियौं। यो खेल अरूभन्दा फरक रहेछ। दुइटा चेयरमा आमुन्नेसामुन्ने बस्न पाइने। एकअर्काको अनुहार हेर्दै रमाउँदै अनि गफ गर्दै भुल्न पाइने।
त्यसपछि 'फ्यामिली पिङ' मा पुग्यौं। हरेक खेलको आनन्द बेग्लै हुने। त्यसमाथि द क्लिफमा भएका सबै खेल भिरमै थिए। साहसिक त हुने नै भयो।
यो पिङ चाहिँ दुवै जना बस्ने र अरूले धकेल्ने रहेछ। कोक्रोमा बसेर वरपर कसैले हल्लाइदिएको जस्तै महशुस हुने रहेछ। टुसुक्क बसेर वरपर हेर्दै। जे होस् निकै आनन्द मिलेको थियो।
यी तीन खेल खेलेपछि आराम गर्न रिसोर्टतिर लाग्यौं।
क्लिफका सञ्चालक राजु कार्की र सिइओ इश्वर कार्की सँगै रहेछन्। चिया गफ भयो।
'द क्लिफ कस्तो लाग्यो त?' उनीहरूले मुस्कुराउँदै सोधे।
'सोचेभन्दा राम्रो,' मैले पनि उत्तर दिइहालेँ।
होटलभित्र पनि बस्न मिल्ने पिङ रहेछ। यसमा चाहिँ आफैं हल्लिन पाइने। साना ठूला सबैलाई लक्षित रहेछ। टुसुक्क बस्न र खुट्टा हल्लाउन मिल्ने। गाउँघरमा दसैंमा खेल्ने पिङकै झल्को दिने। थकान सबै मेटियो। गफ गर्दै खाजा खाइयो।
'अब बन्जी हान्ने होइन त?' खाजा खाइसकेपछि राजु कार्कीले सोधे।
थोरै डराउँदै मैले जवाफ दिए, 'हान्न त हान्ने। तर डर पनि लागिराछ।'
'डर नै एड्भेन्चर हो। हान्नुपर्छ यत्तिको साहसी मान्छेले,' हौसला दिँदै उनले भनिहाले।
'त्यसो भए बन्जी गर्नुअघि स्काइ साइक्लिङ गरौं। थप आँट बटुलेर आउँछु,' मजाक गर्दै मैले भनेँ।
अनि स्काइ साइक्लिङ खेल्न भिरमा पुगियो। रिसोर्टको ठ्याक्कै अगाडि। खाली रहेछ। पालो कुर्नु परेन। साइकल चलाउने त भनिहालेँ। तर अहिलेसम्म साइकलमा चढेकी पनि थिइनँ।
भिर पनि कत्ति ठूलो! वारिबाट डोरीमा झुन्डिएर साइकल गुडाउँदै पारि पुगिने। फेरि पारिबाट उस्तै गरी वारि आउनुपर्ने। साइकल त भिर माथिमाथि चलाउने रहेछ।
विश्वकै सबभन्दा लामो रे, ६ सय मिटर। त्यसमाथि २२५ मिटर अग्लो। भिरको भित्तामा अड्काइएको तारमा साइकल अड्याएर आफैंले गुडाउँदै लैजानुपर्ने। यसका पनि छुट्टै विधि हुने। नियम सुन्नैपर्यो।
यात्रा सुरू हुनुअघि इन्स्ट्रक्टरले बोलाए। ब्रेक नलगाउनू, पेडल घुमाइरहनू भन्दै सिकाए। कम्मरमा बेल्ट, हेलमेट लगायत लगाइदिए। पेडल घुमाएपछि साइकल अगाडि बढिहाल्यो।
सिधा तल नदी र जंगल देखिन्थ्यो। भित्तातिर 'स्काइ क्याफे' मा केही मानिसहरू खाजा खाँदै गफमा व्यस्त थिए।
तीन सय मिटर पार गरेपछि आराम गर्न मिल्ने रहेछ। त्यसपछि फेरि त्यही बाटो फर्कनुपर्ने।
सडकमा स्कुटर गुडाएको अनुभव त थियो। तर बिना सडक पनि सवारी गुड्दो रहेछ। अचम्मको खेल। डर त अलिकति पनि लागेन। बरू जिन्दगीकै मज्जाको पल भयो। खेलिसक्दा पनि अझै खेल्न पाए जस्तो लागिरह्यो।
स्काइ साइक्लिङको मज्जा लिएपछि पालो बन्जीकै थियो।
बन्जी जम्पका लागि तौल दिनुपर्ने रहेछ। तौल जोखियो। हातमा लेखिदिए। बन्जीको टिर्सट पनि लगाइयो। अनि रमाउँदै पुलतिर झरियो। धेरै खेल खेलिसकेर होला मनमा साहस बढेको थियो।
बन्जीको भिडिओ र फोटा त हेरेकी थिएँ। तर खेलमा के–के गरिन्छ, थाहा थिएन। बन्जी पनि विभिन्न प्रकारका हुँदो रहेछन्। उल्टो, सुल्टो, डबल, सिंगल। कुश्मा पुग्नेमध्ये धेरैले बन्जी जम्प र स्वीङ नै रूचाउने रहेछन्। हामी पुग्दा बन्जीमा पालो कुर्नुपर्ने थियो।
कुरिरहँदा अरूको आँट हेर्न पाइयो। कोही साहसका साथ ढुक्कले हाम फालिरहेका थिए। कोही भने डिलमा पुगेर पनि आत्तिएर फर्किरहेका थिए।
जे होस्, अरूभन्दा बन्जी केही डरलाग्ने नै हुने रहेछ।
केही समयपछि समूहमै ब्रिफिङका लागि बोलाइयो। सबै एकै ठाउँमा भेला भयौं। कोही बन्जी गर्न आएका थिए भने कोही स्वीङ। बन्जी इन्स्ट्रक्टरले खेलको विधि र तरिकाबारे सबै जानकारी गराए। सुन्दै गर्दा मनमा भने चिसो पसिरहेको थियो।
'वनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाने' भनेझैं मनमा डर लाग्न थाल्यो।
अचानक मनभरि अनेकौं प्रश्नहरू आउन थाले। के हुने हो? हाम फाल्न सकिएला कि नसकिएला? डोरी कस्तो होला? मैले नै हाम फालेको बेला डोरी चुँडियो भने? तल पुगेपछि बेहोस पो हुने हुँ कि?
मनको डरलाई मनमै दबाएँ। चुपचाप पालो कुरेँ। दुई/तीन जना पछि हाम्रै पालो थियो। बन्जीमा तौलअनुसार समूह छुट्याइएको थियो। ६० किलोभन्दा कम र बढी भएकालाई पहिलो र दोस्रो समूहमा राखिएको थियो। म पहिलो समूहमै परेँ।
मेरो समूहमा अरू दुई जना केटाहरू थिए। उनीहरू झनै डराइरहेका थिए। मेरो पनि मुटु त थरथर काँपिरहेको थियो। तर बन्जीको अनुभव लिनु नै थियो। पहिलो समूहबाट कसले पहिले गर्ने भनेर बन्जी-मास्टरले सोधे।
केटाहरू पछि हटे।
'म पहिले गर्छु,' मैले साहसका साथ भनेँ।
सबै जना मलाई नै हेरिरहेका थिए।
मनको डर लुकाएर मुहार खुसी बनाउँदै अगाडि बढेँ। सुरक्षाका लागि क्रू-मेम्बरले खुट्टा र जिउमा हार्नेस लगाइदिए।
'कस्तो अनुभव भइरहेको छ?' क्यामरा अघि राखेर सोधे।
डर मनभित्रै दबाएर मैले 'पहिलो पटक हो, एकदमै उत्साहित छु' भनिदिएँ।
त्यसपछि मलाई डिलमा लिएर गए। यति बेला चाहिँ खुट्टाहरू अघि बढ्न मानिरहेका थिएनन्।
साँच्चै डर त्यति बेला पो लाग्ने रहेछ! अगाडि डिलमै गएर तल हेरेँ। खोला सुसाइरहेको थियो। पानीको छाल देख्दा मन सिरिंग भइसकेको थियो।
डिलबाट हुत्याउन उनीहरू तयार थिए। म भने हामफाल्न तयार थिइनँ।
खबरू एकछिन रोक्नुस् न' भन्दै अलमल गर्थेँ। छेउतिर स्वीङ खेलिरहेका एक जोडी रहेछन्। उनीहरूले पनि एकछिन अघि बन्जी गरिसकेका रहेछन्। 'केही हुँदैन तल पुगेपछि मज्जा हुन्छ' भन्दै थप हौसला दिए।
अब त आँट गर्नै पर्यो।
पछाडितिरबाट हुटिङ आइरहेको थियो। थप हौसला बढ्यो।
मुटु निर्धक्क बनाउँदै थोरै अगाडि बढेँ। आधा पैताला पुल बाहिर, आधा भित्र। छेउमै पुगिसकियो। त्यहाँ पुगेपछि होसहवास नै उड्छ भन्थे। साँच्चै हो रहेछ।
माथि हेरेर हात सिधा फिँजाएर अगाडि बढ्नु भन्दै पछाडिबाट भनिरहेका थिए।
'अब त रेडी हो?' बन्जी-मास्टरले सोधे।
टाउको हल्लाउँदै हो संकेत दिएँ।
उनले काउन्टडाउन सुरू गरे।
थ्री, टु, वान,गो...।
बन्जी-मास्टरले यतिभन्दा मैले खुट्टा छोडिसकेकी थिएँ।
२२८ मिटरको उचाइबाट हावाको वेगलाई स्पर्श गर्दै डरलाई डरैसँग थाती राखेर हामफालेँ। एकैछिन त केही देखिनँ। पूरै अन्धकार!
हावाको स्याँइ र पानीको सललल आवाज सुन्दै तल पुगेँ। आँखा चिम्लेकै थिएँ। हातहरू फिजाइरहेँ।
जब डोरी तनक्क तन्कियो, आँखा खोलेँ। तल बगिरहेको खोला अनि माथि आफ्नै खुट्टाभन्दा धेरै माथि पुल देखिन्थ्यो।
हाम फाल्नुअघि इन्स्ट्रक्टरले 'बाउन्स' र 'रि-बाउन्स' हुने कुरा सुनाएका थिए।
बाउन्स भनेको चाहिँ झन् तल पुगिने रहेछ। यो चाहिँ मज्जा हुने रहेछ। तीनपटक बाउन्स भएपछि खुट्टाको डोरी तान्नु भनेका थिए। तर म त आँखा चिम्लेको चिम्लै भएछु।
चौथो पटक बाउन्स भएपछि माथि स्टेसनबाट सिठ्ठीको आवाज सुनेँ। झसंग भएँ।
विस्तारै खुट्टाको साङ्लो खोल्ने डोरी तानेँ। यसले मेरो नदीतिर घोप्टेको शरीर आकाशतिर फर्कियो। खुट्टा र हात फैलाएर हावा खाएँ। सुल्टो हुँदा भने बन्जीको वास्तविक मज्जा आउने रहेछ।
सुल्टिएपछि डोरी यताउता घुम्थ्यो। अब त डर पनि भाग्यो। अनि बल्ल हातमा बाँधेको 'गो-प्रो' मा हेर्दै बन्जीको अनुभव बोल्न थालेँ। शब्दमा बयान गर्न नसकिने रमाइलो भएको थियो।
केही बेरमा माथि जान स्टेसनबाट डोरी पठाए। पहिले सिकाएको तरिकाले डोरी कम्मरको हार्नेसमा अल्झाएँ। जाँचे अनि छोड्दिएँ।
तलबाट बिस्तारै माथि तानिएँ। अन्तिमपटक फेरि त्यो आनन्दलाई स्पर्श गरेँ। क्यामरामा हेर्दै प्रशस्त फोटोको पोज दिएँ। कति बेला माथि आइसकेछु पत्तै भएन।
माथि आउँदा सबैले ताली बजाउँदै बधाइ दिए।
डरको अगाडि साहसको जित भयो। आखिर यस्तै एड्भेन्चरस त हुन् डरलाई जित्न सिकाउने! जिन्दगीमा हिम्मत जुटाउन सघाउने! र डरलाई जित्दै अघि बढ्न हौसला दिने!
म बन्जी सकेर आराम गर्दैगर्दा साथीले पनि गरिसकेकी थिइन्।
घडीमा साँझको ६ बजिसकेको थियो। हामीलाई बास बस्न पोखरा फर्किनु थियो। हतारिँदै रिसोर्ट पुगेर झोला लियौं। कुश्मा फेरि आउने गरी सबै जनालाई धन्यवाद दिँदै झम्के साँझमा झोलुंगे पुल तरियो।