डराउँदै डराउँदै जिन्दगीमा पहिलो पटक ‘क्रुज’ जाने तयारी भयो। ‘वर्षको एकपल्ट आफू कहिल्यै नगएको ठाउँमा जाऊँ’ भन्ने दलाइ लामाको भनाइलाई आत्मसात गर्न तम्तयार भएँ।
मायामीबाट सुरू भएको त्यो विशाल पानीजहाजले क्यरिवियन समुन्द्र छिचोल्दै मेक्सिको र बहामालाई छोएर एक फन्को मार्ने योजना थियो। गएर ठिकै गरेछु। त्यो त एउटा अनौठो र अद्भुत अनुभव थियो, सोचें वा परिकल्पना गरेभन्दा धेरै राम्रो र रमाइलो। ‘प्रिन्जेसिन भिक्टोरिया लुइज’ बाट सुरू भएको क्रुज उद्योगले एउटा लामो फड्को मारिसकेको छ। कोभिडको महामारी सुरू हुनु अगाडिसम्म आइपुग्दा विश्वभरिमा तीन सयभन्दा बढी पानीजहाजमा बर्सेनि करिब ३ करोड यानिकी नेपालको पूरै जनसंख्या जति मानिसहरू क्रुजमा जान्थे।
कोभिडले गर्दा करिब २ वर्ष यो उद्योग ठ्याप्पै बन्द भयो। यसअघि भएका सार्स, इबोला लगायतका महामारीहरूमा यति ठूलो असर परेको थिएन। यो बन्दले क्रुज उद्योगलाई मात्र हैन क्यारिवियन लगायतका देशहरूको अर्थतन्त्रलाई तहसनहस पारिदियो।
सन् २०२३ को आगमनसँगै फेरि एकपल्ट यो उद्योग फस्टाउन थालेको छ। मार्च २०२३ लाग्दा नलाग्दै चौध जना साथीहरूको ग्रुप मिलेर पाँच रात छ दिनको क्रुज जाने कार्यक्रम बनेको थियो।
क्रुज जाँदा समूहमा गए झनै रमाइलो हुने रहेछ। साथीहरू र परिवारबीच अझ नजिकिने अवसर प्राप्त हुने रहेछ। त्यहाँ गरेका अनुभवहरू र भोगाइहरू सबैका लागि एकमुष्ट रूपमा सम्झना बन्ने रहेछन्।
जाने रहर हुँदाहुँदै पनि विभिन्न कारणले क्रुज जान जुरेको थिएन। मुख्यतया हाम्रो छोरी मेधावी पानीजहाजमा जान डराउने हुनाले आँटै गरेका थिएनौं। फेरि हामी बसेको अमेरिकी सहरबाट उडान लिएर फ्लोरिडाको मायामी पोर्ट जानुपर्ने झन्झट, र बेला बेलामा क्रुजमा घटेका दुर्घटनाहरूले पनि निरूत्साहित पारेको हुन सक्छ।
पानीजहाज समुन्द्रमा डुब्नेदेखि लिएर आतंककारीहरूको आक्रमण र रोग ब्याधिको प्रकोप आदि घटना परिघटनाले तर्साएको थियो।
सन् २०२० को सुरूआतमा जब कोभिड-१९ को बिगबिगी थियो, क्रुजका यात्रीहरूको कन्तबिजोग भएको थियो।
कोभिड पानीजहाजभरि वनमा डढेलो लागेझैं फैलियो। धेरैले ज्यान गुमाए। एउटा सानो ठाउँमा लामो समय धेरै मानिसहरू बसेको हुनाले त्यसरी छिट्टै फैलियो। त्यहाँ डाक्टर र दबाइहरूको पनि कमी थियो। जब उनीहरू पोर्टमा आए, कोभिड लागेका यात्रुहरूलाई जमिनमा आउन प्रतिबन्ध लाग्यो, रोग अझ फैलिन्छ भनेर।
उनीहरूले हप्तौंसम्म जहाजभित्रै बस्नु परेको थियो। यसअघि पनि कतिपय सरूवा रोगहरूले धेरै यात्रुहरूलाई सताएको खबर सुनेको थिएँ। यदाकदा केही व्यक्तिहरू जहाजबाट खसेर समुन्द्रमा विलिन भएको खबर पनि सुनेको थिएँ। त्यसो त अहिले पनि ‘कोभिड’ को प्रकोप पूरै हटेको छैन। यी सबै कारणले म भने भित्रभित्रै अलि अलि डराइरहेको थिएँ।
सन् १९९७ मा बनेको हलिउडको फिल्म ‘टाइटनिक’मा पानीजहाजको अघिल्लो भागमा गएर केट विन्सलेट र लिओनार्डो डिकार्पियोले दुवै हात फिँजाएर सिलिन डियोनले गएको गीत ‘माई हार्ट विल गो अन’ मा अभिनय गरेको दृष्यले मलगायत संसारका धेरै मानिसहरूलाई गहिरो प्रभाव पारेको थियो। बहुतै राम्रो गीत र अभिनय थियो त्यो। यो फिल्मको नाम लिनासाथै अन्तिमको दुर्घटना र यो गीतको याद आइहाल्छ।
फिल्म हेर्दा र पछिसम्म पनि मलाई पानीजहाजको त्यही ठाउँमा गएर उभिन मन लागेको थियो।
‘सेलेब्रिटी समिट’ भन्ने पानीजहाज बुक भएको थियो। अघिल्लै दिन नै विश्वमै क्रुज उद्योगको राजधानी भनेर चिनिने अमेरिकी सहर ‘मायामी’ पुगिसकेको थिएँ।
एकदिनअघि पुग्दा क्रुज हिँड्ने दिन समयमा नपुगिएला कि भन्ने तनाव नहुने भएर अघिल्लै दिन मलगायत १० जना त्यहाँ पुगेका थियौं। त्यो रात पोर्ट नजिकैको एक होटलमा बितायौँ।
अरू ४ जना क्रुज हिँड्ने दिन बिहान आउनुभयो। ११ बजेदेखि बोर्डिंग सुरू हुनेवाला थियो। आधा घण्टा अगावै ट्याक्सी लिएर पोर्टमा पुगिहालें। बोर्डिंग सुरू भइसकेको रहेछ तर हाम्रो ग्रुपका सबै साथीहरू आइनपुगेको हुनाले केहीबेर पर्खनुपर्ने भयो।
हुलका हुल मान्छेहरू आइरहेका थिए अनि बोर्डिंग गरिरहेका थिए। मेरो पनि उत्साह,जोश र जाँगरले सगरमाथा छोएको थियो।
क्यारिबियन क्षेत्र क्यारिबियन सागरमा अवस्थित एक विशाल द्वीपसमूह हो। ७,ooo टापुहरूमा बाँडिएका २५ स्वतन्त्र देश छन्।
सबभन्दा राम्रो आरामदायी र मस्त जीवनशैली छ। कसैलाई कामको हतार छैन, सबैले हरेक दिनको आनन्द लिइरहेका हुन्छन्। अफ्रिकी, युरोपेली र अमेरिकी संस्कृतिको मिश्रणले गर्दा होला यहाँको संगीत, खाना, कला र परम्परा अद्वितीय छ। क्रुज उद्योग फस्टाएको छ, करिब ३० देखि ६० वटा ठूला ठूला पनि जहाज क्रुजिङ गरिरहेका हुन्छन्।
२०१९ मा मर्मत र रिनोभेसन गरेको २२ वर्ष पुरानो १२ तले पानीजहाज आकर्षक देखिन्थ्यो। सामान कुल्लीलाई बुझाएर एउटा झोला बोकेर हामी पानीजहाजमा चढ्यौं। बोर्डिंग प्रक्रिया अत्यन्तै सरल र सुविधामूलक बनाइएको रहेछ।
ठाउँ-ठाउँमा स्टाफहरू बसेर सहयोग गरिरहेका थिए। पासपोर्ट देखाएर भित्र छिर्न पर्खिनु परेन। फटाफट भयो। आइप्याडले हरेक यात्रुको फोटो खिचेर राख्दा रहेछन्। सामान्य सुरक्षा व्यवस्था अन्तर्गत सामान एक्सरे मेसिनबाट पार गर्यौं र हामी मेटल डिटेक्टरबाट छिर्यौं।
कोठा पनि तयार नभइसकेको र सामान पनि आइनसकेको हुनाले झोलामा बोकेको हाफपेन्ट र टि-शर्ट फेरेर पानीजहाजको सबभन्दा माथिल्लो तलामा पुगिहालें। प्राय: सबै जना पहिले त्यही आउँदा रहेछन्। सबभन्दा माथिल्ला तीन तलामा गएर कोही वरिपरिको मनोरम दृश्य हेर्न थालें भने कोही खानपिनतिर लागे।
रेस्टुरेन्ट र बारहरू खुलिसकेका रहेछन्। बाँकी कोही १० तलामा भएका इन्डोर र आउटडोर स्वीमिङ पुल र हट टवमा डुबुल्की लिन थाले।
सबै जना खुसी छन्। काम काज, दु:ख सुख बिर्सिएर सबै रमाइरहेका छन्। त्यो माहोलले सबैमा खुसीको रङ्ग छरिदिएको छ। सबै जना खुसी हुँदाको अनुभूति अर्कै हुँदो रहेछ। एक जना पनि दु:खी आत्मा देखिनँ मैले त्यहाँ।
एक्लै आउनेहरूलाई एक्लोपन नहोस् भनेर क्रुजले नै ‘सिंगल’ हरूको भेला राखेको रहेछ सुरूकै दिन। त्यसैगरी, ‘एलजीबिटी’ समुदायको लागि पनि हरेक दिन भेला राखिएको रहेछ।
म एघार तलामा गएर चारैतर्फ हेरिरहेको थिएँ। हाम्रो जस्तै अरू ५-६ वटा पानी जहाजहरू क्रुजमा जान तम्तयार रहेछन्।
यति ट्राफिक हुँदा पनि पानी सफा छ,अलि अलि भुइँ पनि देखिने। मायामी सहरका गगनचुम्बी भवनहरूले हामीलाई नै हेरिरहेका छन्। सिरसिर हावा चलिरहेको छ। मध्याह्नको घामले स्पर्श गरिरहेको छ। बेला बेलामा बादलुले घामलाई छेकेर शितलता पनि प्रदान गरिरहेको छ।
अब मलाई जहाजभित्र कहाँ के सुविधा छ भनेर जान्न मन लग्यो। त्यहाँ त एउटा सानो सहर नै रहेछ। करिब ३ वटा फुटबल मैदान जति लामो त्यो १२ तले जहाजमा के छैन? सुत्ने कोठा, खानको लागि रेस्टुरेन्टहरु, क्यासिनो, सिनेमा हल, थिएटर, स्पा, पसलहरु, स्वीमिङ पुलहरु, खेलकुदका सुविधाहरू सबै रहेछन्।
दिनमा होस् वा राति अबेरसम्म, विभिन्न क्रियाकलापहरूमा सामेल हुन सकिने रहेछ। तलको तलामा क्लिनिक र सानो जेल पनि रहेछ।
२ हजार ३ सय १५ यात्रुहरूलाई सेवा पुर्याउन ६० देशका १२०० स्टाफ तम्तयार छन्। जसलाई भेटे पनि ‘जहाजमा स्वागत छ’ भनेर स्वागत गरिरहेका थिए।
उनीहरूले हामीलाई मनैदेखि स्वागत गरिरहेका थिए। सेवा सुविधा पुर्याउन कुनै कमी राखेनन्। बाटो बाटोमा ड्रिंक्स बाँडिरहेका छन् टेबल टेबलमा आएर खानपिन के चाहिन्छ सोधिरहेका छन्।
केही सोध्यो भने खुलेर जवाफ दिन्छन्। उनीहरू पूर्ण जानकार पनि छन्। मनमनै भने, ‘के सारो पुलपुल्याउन जानेका यिनीहरूले?’ उनीहरूको तालिम राम्रो हुनुपर्छ।
चार बज्नु केही अगावै अर्को पानीजहाज ‘कार्निभल” हर्न दिँदै समुन्द्रतिर हुइँकियो। केही बेरमानै हाम्रो पनि पालो आइसकेछ,क्याप्टेनले हर्न बजाएर संकेत गरिसके।
ठिक ४ बजे हामीले पनि पोर्ट छोड्यौं। समयको महत्वलाई बुझेर, ठिक समयमा छुट्ने रहेछ सबै यात्रु आए पनि नआए पनि।
छुट्ने बेलामा माथिल्लो तलामा गएर पोर्टबाट जहाज कसरी हिँड्दो रहेछ भनेर हेर्न रमाइलो हुने रहेछ।
फोनमा सेलेब्रिटी एप्स पहिलेनै राखिसकेको थिएँ। यो एप्स नराखी चेक-इन गर्न नै नपाइने नियम रहेछ।
फोन ‘एयरप्लेन’ मोडमा राखेर वाइफाइ जोडें। कोठा तयार भएको जानकारी आयो। कोठा भित्री लिने कि बाहिर समुन्द्र देखिने लिने?यो प्रश्न हाम्रो ग्रुपमा पनि आएको थियो। पैसा महँगो पर्ने र धेरैजसो समय बाहिर बित्ने हुनाले अनि सुत्नमात्र कोठा जाने भएकोले भित्री कोठा लिने निधो भएको थियो। अलिकति बढी पैसा खर्च गरेर बिहान उठ्दा झ्यालबाट समुन्द्र देख्न पाउँदा भने रमाइलै हुन्थ्यो होला।
सातौं तलामा भएको कोठामा पुग्दा ढोकामा क्रेडिट कार्ड जस्तो देखिने ‘सी पास’ रहेछ जसले ढोका खोल्न लगायत किनमेल गर्ने काम गर्दो रहेछ।
जहाजभित्र हुन्जेल आफ्नो क्रेडिट कार्ड र वालेट बोक्नु परेन,त्यही सी पास बोके पुग्यो।
हाम्रो जहाज दुई ठाउँ रोक्ने योजना थियो, मेक्सिकोको कजुमेल टापु र बहामाको राजधानी नासाउ। अरू दिन हामी समुन्द्रमा नै तैरिरह्यौं। हरेक राति त हामी समुन्द्रमा नै हुने कार्यक्रम रहेछ, यो बेला पानीजहाज एक ठाउँबाट अर्को ठाउँमा अनवरत रूपमा यात्रा गर्दथ्यो। मायामीबाट हिँडेको पहिलो रात, भोलिपल्ट दिनभरि र दोस्रो रात समुन्द्रमा बिताएर तेस्रो दिन बिहानै कजुमेल पुगेका थियौं। त्यही दिन बेलुका कजुमेलबाट हिँडेर त्यो रात, भोलि पल्ट दिनभरि र रातभरी समुद्रमा बिताएर पाँचौं दिन बिहानै हामी नासाउ पुग्यौं।
त्यही दिन बेलुका नासाउबाट हिँडेर भोलिपल्ट अर्थात् छैठौं दिन बिहानै मायामी फर्कने योजना थियो।
क्रुज ४४ किलो मिटर प्रतिघन्टाको स्पिडमा गइरहेको थियो। खासै हिँडेजस्तो पनि नलाग्ने। हल्लिन पनि हल्लिएन। बेस्सरी हावा हुरी चलेको बेला हल्लिछ भन्ने सुनेको थिएँ।
हेर्दाहेर्दै ६ बज्न आँटिसकेछ। सूर्य अस्ताएको हेर्न यात्रुहरू ‘सनसेट भ्यू बार’ मा र माथिल्लो तलाका खुला ठाउँमा पुगिसकेका थिए। सूर्यको अन्तिम किरण समुन्द्रको पानीमा चम्किरहेको थियो, आँखा झिमिक्क नगरी हेर्दाहेर्दै सूर्य अस्ताएको पत्तै भएन। त्यो सुन्दर दृश्य हेरेर लाग्यो, दिनभरि जे जस्तो भए पनि दिनको अन्त्य सुन्दर तवरले हुनुपर्ने रहेछ।
फेरि समुन्द्रमा तैरिन थाल्यौं हामी। १ दिन २ रात बितेको पत्तै भएन। विभिन्न क्रियाकलापहरू भइरहेका छन्। पुलमा डान्स कक्षा भइरहेको छ बेला बेलामा। डिजेले गीत बजाइरहेका छन् भने लाइभ गीत पनि ठाउँ-ठाउँमा बेला बेलामा गाइरहेका छन्।
बिहान योगा र शारीरिक तन्दुरिस्तीका कार्यक्रम छन् भने दिनभरि गल्फ पटिंग, पिङ्गपङ्ग, ट्रिभिया, पानीजहाज भित्र टुर आदि भइरहेका छन्।
बेलुका थिएटरमा शोहरू भएका छन् भने राती अबेरसम्म डिजे नाइट र डान्सहरू चलिरहेका छन्। आफूलाई मनपर्ने क्रियाकलाप रोज्न पाइने।
म भने बिहान ५ बजे उठेर हिँड्न जान्थें, ११ औं तलामा भएको हिँड्ने ठाउँमा। १५-२० राउण्ड घुम्दा त्यस्तै ३-४ माइल हुँदो हो तर कुनै कुनै जिपिस उपकरणले २० माइल पनि देखाउन सक्ने रहेछ किनकि जहाज पनि हिँडिरहेको छ।
हिँडिसकेर सन्सेट भ्यू बारमा बसेर मिमोसा वा क्यापुचिनो पिउँथें। हरेक बिहान सूर्योदय हेर्थें, त्यही ठाउँमा बसेर।
सूर्यको पहिलो किरणसँगै मेरो लागि हिजोका दु:खहरूलाई बिर्सिएर नयाँ दिनको सुरूआत गर्ने अवसर हुन्थ्यो त्यो।
सूर्यका किरणसँगै आशाका किरण प्रभावित हुन्थे ममा। भनिन्छ, बिहान १० बजेसम्मको घामले स्वास्थ्य लाभ पनि प्रदान गर्दछ। त्यसपछि टेबल टेनिस खेल्थें म। खेलिसकेर कोठामा आएर नुहाएर ब्रेकफास्ट खान प्राय: सबै भेला हुन्थे।
दिनमा केहीबेर काम पनि गर्थें, छुट्टी लिएको थिइनँ। फुर्सद हुनासाथ विविध क्रियाकलापमा भाग लिन्थें। दिउँसो स्वीमिङ पुलमा बेला बेलामा डुबुल्की मार्दै आराम कुर्सीमा बसेर म्युजिक सुन्थें। कुनै दिन थाहै नपाई भुसुक्कै निदाउँदो पनि रहेछु। जहाजको विभिन्न भागमा गएर विशाल समुन्द्र र पर देखिने क्युबाका भू-भाग वा बत्तीहरू र ओहोर दोहोर गर्ने साना ठूला यात्रुबाहक र कार्गो जहाजहरू हेरेर रमाउथेँ। बेला बेलामा साथीभाइसँग बारमा बसेर गफ चुट्थेँ।
बेलुका थिएटरमा हुने कार्यक्रममा आक्कलझुक्कल जान्थें। कलिउड र बलिउडको नाचगान हुँदो हो त अझ रमाउदो हुँ।
ड्रिंक्सको के कुरा गर्ने!मिमोसा पिउँदै सुरू भएको बिहानी दिनभरि क्यारिबियनका प्रख्यात ड्रिंकहरू ‘पिना कोलाडा’ र स्ट्रबेरी डेक्विरी पिउँदै डिनरसँग रेड वाइन खाएर सुत्न जान्थें।
हेर्दाहेर्दै टापुमा जाने दिन आइसकेछ। टापुमा गएर ५-६ घन्टाको समयमा के गर्ने, के नगर्ने भन्ने समस्या हुन्छ किनकि हेर्नुपर्ने र गर्नुपर्ने ठाउँहरू प्रशस्तै हुन्छन।
टापु अनुसार, समुन्द्री तट, स्नोरल्किङ्ग, स्कुबा ड्राइभिङ, ड्युटी फ्री सपिङ, क्यासिनो, वाटर पार्क, ऐतिहासिक स्थलहरू, गल्फ, र जङ्गल सफारी आदि विकल्पहरू हुँदा रहेछन्।
समूहमा कति कुरा निर्णय गर्न सजिलो हुन्छ भने कतिपय कुराहरू गाह्रो पनि हुने रहेछ। सबैको चाहनाहरूलाई समेटेर निर्णय गर्नुपर्ने थियो।
तेस्रो दिन बिहानै हामी कजुमेलमा ‘डकिंग’ गरिसकेका थियौं। कजुमेल मेक्सिकोको पूर्वी तटमा अवस्थित एक टापू हो। लामो र समृद्ध इतिहास बोकेको यो टापू मायान सभ्यतासँग गाँसिएको छ। छैठौं शताब्दीदेखि १६ रौं शताब्दीसम्म त्यो सभ्यता यही क्षेत्रमा फस्टाएको थियो।
‘इसल’ नाम गरेकी देवीको पूजा यही टापूमा गरिन्थ्यो जसको आराधनाले बालबच्चा नहुनेलाई बालबच्चा हुने विश्वास रहेछ। धेरै वटा प्राकृतिक सिंकहोल्स छन् यहाँ जसलाई पाताल जाने बाटो भनेर भनिन्थ्यो।
१६ औं शताब्दीमा स्पेनले कब्जा गरेका थियो यो टापू। साना साना गाउँहरू मात्र भएको यो टापू बीसौं शताब्दीको मध्यतिर पर्यटन व्यवसायले गर्दा एक आकर्षक र जनप्रिय केन्द्र बन्यो। सफा अनि निलो पानी, सेतो बालुवा भएको वीच, र स्नोर्कलिङ्ग र स्कुबा ड्राइभिङको लागि प्रख्यात। ठूला ठूला होटलहरू र रेस्टुरेन्टहरू खोल्न केही समयनै लागेन।
आज ठूला साना क्रुजसीपहरू र हजारौं पर्यटकहरु यहाँ आएर रमाउँछन्।
यहाँका सुन्दर एवम् समुन्द्री तटहरूमध्ये ‘पलाया पालान्कर,’ ‘प्लाया मिया’, र ‘चन्कनाब’ निकै प्रख्यात रहेछन्।
मलाई हरेक विचहरूमा बरालिन मन पर्छ। यो टापूमा मायान सभ्यताका भाग्नावेशहरू पनि रहेछन्। ‘जेरभासीयो मायान भाग्नावेश’ इसल देविलाई समर्पण गरेर बनाइएको रहेछ। पालान्कर रिफ पनि छ यहाँ जुन संसारको सबभन्दा ठूलो रिफमध्ये पर्दछ। शपिङ गर्ने र खाना खानको लागि कति हो कति सुविधा।
यी धेरै ठाउँहरूमा पहिले नै जागिरको सिलसिलामा आएर घुमिसकेको हुनाले जहाजबाट म र प्रेम जी अलि ढिलो मात्र निस्क्यौं।
हाम्रो ग्रुपका अन्य सदस्यहरू तेजस्वी, दिपेन्द्र, भिमसेन, गीता, शान्ति दिज्यु, निलु, दर्पण, शान्ति, श्री कान्त, सपना, मिन दाइ र भाउजू, बिहानै निस्किसकेका थिए। म भने सपिङ एरियामा घुमेर अलि पर हिँडेर जाने ठाउँमा भएको सिङ्कहोल हेर्न मन लागेर त्यतातिर लागेँ। धेरै सानो रहेछ, पहिले हेरेको भन्दा। क्रेटरको ठूलो प्रभावले गर्दा सिङ्कहोल बनेको हो भन्ने कुरामा वैज्ञानिकहरू सहमत छन्।
पोर्टनजिकै घुमघाम गरेर एउटा तेकिला सट लिएर र केही फोटो, भिडिओ खिचेर फेरि जहाजमा नै फर्किहालेँ।
अर्कै देश भए पनि पासपोर्ट भिसा केही नचाहिने रहेछ। ‘सी पास’ देखाए पुग्ने।
बहावमा पनि त्यही सी पास मात्रले काम दियो। टुरिस्टहरूलाई आकर्षण गर्न सकेसम्म सुविधाहरू दिने हेतुले यस्तो गरेको रहेछ।
अरू १ दिन र दुई रात समुन्द्रमा बिताएर फेरि टापू जाने समय भइसकेको थियो। हामी नासाउको पोर्टमा पुगिसकेको थियौं।
पूरै क्यारिबियन देशहरूमा सबभन्दा बढी पानी जहाज आउने थलो नासाउ हो। हामी गएको बेला ठूला ठूला ६ वटा क्रुजसिप आएका थिए।
बिहान ५ बजेदेखि १० बजेसम्म करिब २२ हजार यात्रुहरू आउने रहेछन्। तीमध्ये धेरै जना पानीजहाजबाट उत्रेर समुन्द्री तटमा, वा रेस्टुरेन्ट/बारहरूमा दिन बिताउँछन्। किनमेलको लागि महँगा न महँगा ड्युटी फ्री पसलमा पनि जाँदा रहेछन्।
प्राय: ग्रुपमा छन् परिवार वा साथीमाझ। बेलुका ४ बजेतिर क्रुजमा फर्किन्छन्। छ बजेपछि पसलहरू बन्द हुन्छन् र पूरै सहर सुनसान हुने रहेछ।
नासाउमा हाम्रो पहिलो गन्तव्य थियो, ‘एटलान्टिस बहमाज’। ट्याक्सी लिएर गेटमा पुग्यौं। प्याराडाइज टापूमा अवस्थित यो होटल बहामाको सबभन्दा नाम चलेको रिसोर्ट हो। यहाँ, संसारको सबभन्दा ठूलो खुला समुन्द्री बासस्थान छ, ११ वटा स्वीमिङ पुल, सुन्दर विचहरू, र १८ होलको गल्फ कोर्स समेत छ। रोयल टावरमा कोठा लिन १० हजार डलर प्रति दिनसम्म तिर्नुपर्ने हुन्छ। ठिक यस्तै होटल दुबई र चीनमा पनि छन्।
डे पास लिएर धेरै ठाउँ घुम्न सकिन्छ तर हामी सित्तैमा जाने ठाउँमा मात्र जान चाह्यौं। क्यासिनो छिर्ना साथै भान्जा शंकर र उहाँहरूको ग्रुपसँग अकस्मात भेट भयो। उहाँहरू पनि अर्कै क्रुजमा घुम्न आउनु भएको रहेछ।
हामी भने विभिन्न ठाउँमा गएर रमाउँदै फोटो खिच्यौं। त्यहाँबाट निस्कनुअघि क्यासिनोमा अलि अलि पैसा चढाउन मन लाग्यो। केही पैसा हारेर कुलेलाम ठोकें। क्यासिनोमा म पैसा जित्न हैन हार्न जान्छु अनि मेरो लिमिट २० डलर हो।
अब हामी ट्याक्सी लिएर ‘जुन्कानो’ बीचतिर लाग्यौं। भिडाम्भिड मान्छेहरूको माझ म्युजिक बजिरहेको थियो, डान्स चलिरहेको थियो, र खानपिन चलिरहेको थियो। कोही मानिसहरू नुनिलो पानीमा डुबुल्की मारिरहेका छन् भने कोही बालुवामा खाली खुट्टा हिँडिरहेका छन्।
हामी पनि १४ वटा कुर्सि लिएर पानीको छेवैमा लम्पसार भयौं। बीचमा सुमधुर म्युजिकबीच डान्स गर्दै पहिले ‘रम रम’, त्यसपछि ‘बहामा मामा’ र अन्तमा ‘बहामा पापा’ को चुस्की लिएँ। हल्का लागेजस्तो भयो त्यसपछि ड्रिंक गर्न छोडिदिएँ। बहमाको राष्ट्रिय खाना ‘कन्क’ नखाने कुरै भएन।
पानीमा केहीबेर माछाहरूसँगै पौडी खेलेर क्रुजमा फर्कियौं हामी सबै।
महँगा सामान किन्न एकछिन पनि हिचकिचाउँदैनन् यी यात्रुहरू। त्यहाँ मैले कन्जुस्याइँ देख्दै देखिनँ। त्यसको पछाडि धेरै कारण हुन्छन्।
एक त उनीहरू खुसी छन्, आफूले आफूलाई उपहार दिन चाहन्छन्। कोही विवाह वर्षगाँठ वा त्यस्तै विशेष खुसीयाली मनाउन आएका हुन्छन्, आफ्नो जीवन साथीलाई दिल खोलेर किन्न चाहन्छन्। कोही त्यो नयाँ र फरक परिप्रेक्ष्यमा आवेगमा आएर किन्छन्। वर्षौंपछि क्रुजमा गएर किनेको महँगो सामान घरमा आएर पछुतो पनि नहुने रहेछ।
नासाउ छोड्नुअघि, भाइ दीपेन्द्रको कोठालाई ‘हेलिप्याड’ मा जाने निम्तो आएको रहेछ। दीपेन्द्र, भीमसेन भाइ र म गयौं। हामीसँगै अरू पनि केही निम्तालुहरू थिए।
हेलिप्याडमा पुग्नासाथ ड्रिंक्स उपलब्ध थियो। केही स्टाफहरू हामीलाई स्वागत गर्न पर्खिरहेका थिए।
पानीजहाज पोर्ट छोडेर मायामीतर्फ लागिसकेको थियो। सूर्यास्त हुने बेलामा क्याप्टेनले हर्न बजाए र हात हल्लाएर हाम्रो स्वागत गरे। डिनर खाने बेला भएकोले हामी त्यता लाग्यौं।
पानीजहाजभित्र यात्रुहरू समूह समूहमा छन्। कोही कोही जोडाजोडी पनि छन्। स-सना केटाकेटी लिएर आउने ज्यादै कम थिए किनकि यो पानीजहाजमा वाटर स्लाइडिङलगायत केटाकेटीले खेल्ने कुराहरू छैनन्।
धेरै जना सामूहिक रूपमा विभिन्न क्रियाकलापहरूमा भाग लिइरहेका छन्। यो पाँच दिन सबै जना नाचगान, खान पिन, गफ गफ, घुमी घुमाई, खेलकुद, आदिमा बिताइरहेका छन्।
यो सबै देख्दा र अनुभव गर्दा लाग्यो, मानौं मलगायत सबै जना स्वर्गमा आएका छौँ।
आकर्षक र कहिल्यै नदेखेको नसोचेको, कल्पना नगरेको ठाउँहरू हेर्न देख्न पाइने रहेछ। चाहे त्यो विशाल समुन्द्रमा देखिने सूर्योदय होस् वा सूर्यास्त, चारैतिर पर पर क्षितिज पारीसम्म देखिने समुन्द्र होस् वा यदाकदा देखिने टापूहरू, वा आकाशको तारा होस् वा मध्याह्नको टन्टलापुर घाम एउटा फरक आँखाले हेर्ने अवसर मिल्यो।
बाल्कोनीमा जोडीहरू रोमान्टिक मुडमा देखिन्छन्। समुन्द्रको दृश्य हेरेर। सायद उनीहरूको माया पनि समुन्द्र जस्तै गहिरो र पर पर क्षितिजसम्म फैलिएको छ। क्रुजमा नआएको भए यो सबै हेर्न र अनुभव गर्न असम्भव थियो। एकपल्ट हेरेर वा अनुभव गरेर आएपछि त्यो अनुभव जिन्दगीमा कता कता समायोजित हुने रहेछ।
क्रुज जानु अघि र गइसकेपछि, स-साना केही कुराहरू याद गरे यात्रा सहज हुनसक्छ। उदाहणको लागि, टिकट धेरै अघि किन्यो भने सस्तो हुने रहेछ। जति ढिलो गर्यो त्यति महँगो। धेरै वटा रेस्टुरेन्ट भएकोले जे खान मन लाग्यो त्यही उपलब्ध हुने रहेछ, जुन सुकै बेला पनि तसर्थ खान-पिनको सामान केही पनि नलगेको राम्रो। केही नभए पुल छेउमा ‘बर्गर’. आइस क्रिम, र सालाद दिनभरी र राति अबेरसम्म उपलब्ध हुने रहेछ। त्यसो त पैसा खर्च गर्ने ठाउँहरू पनि प्रशस्तै छन्। उदाहरणको लागि महँगा महँगा रेस्टुरेन्टमा वा स्पामा जान अतिरिक्त पैसा तिर्नुपर्ने रहेछ। त्यसैगरी पहिलो दिन नै क्रुजमा के के छ थाहा पाउनु राम्रो हुने रहेछ ताकि घर फर्किने बेलामा य यस्तो सुविधा पनि रहेछ प्रयोग गर्न नै पाइएन भनेर थकथक गर्नु नपरोस्। खाना पनि सबै ठाउँमा पहिले १-२ दिनमा नै चाखेर पछिपछि आफूलाई मनपर्ने ठाउँमा खान उपयुक्त हुनसक्छ।
घाम, समुन्द्र, आकाश, टापू, र टापुको खाना पिना, रहन सहन, संस्कृती, इतिहास, र सँगै गएका साथीहरूसँगको अद्वितीय र अविस्मरणीय सम्झना लिएर घर फर्किए। बाटोमा सोच्दै थिएँ, ‘एउटा छुट्टै संसार देखेँ मैले अनि देख्न बाँकी चाहिँ के के छ ह! यो संसारमा?’