छार्का भोटसम्मको यात्रा संस्मरण
क्षेत्रफल र भूगोलको आधारमा नेपालको सबभन्दा ठूलो जिल्ला डोल्पा जति भूगोलमा विराट छ त्योभन्दा बढी ऐतिहासिकता, विविधता, प्राकृतिक सुन्दरता, छटा र सम्पदाको आधारमा त्यतिकै समृद्ध छ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये एक जिल्ला, यहाँ ८ वटा स्थानीय तह छन्। त्रिपुरासुन्दरी मन्दिर, शे-फोक्सुण्डो ताल, विश्वकै अग्लो मानवबस्ती, सुलिगाड झरना, शे-गुम्बा आदि रहेका छन्।
यस जिल्लालाई पनि उपल्लो डोल्पा, मध्य डोल्पा र तल्लो डोल्पाको रूपमा बाँड्न सकिन्छ। उपल्लो डोल्पामा छार्का ताङसोङ गाउँपालिका, डोल्पो बुद्ध गाउँपालिका र शे-फोक्सुण्डो गाउँपालिका पर्दछन् भने मध्य डोल्पामा काइके गाउँपालिका, ठूली भेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका पर्दछन् र तल्लो डोल्पामा जगदुल्ला गाउँपालिका र मुड्केचुला गाउँपालिका पर्दछन्।
सडक मार्गबाट सुर्खेत-जाजरकोट-रूकुम(पश्चिम) हुँदै रूकुम, जाजरकोट र डोल्पाको संगम त्रिवेणी पुगेपछि डोल्पा जिल्लाको सिमाना आरम्भ हुन्छ। जगदुल्ला नदीतर्फ मुड्केचुला र जगदुल्ला गापा पुगिन्छ। ठूलीभेरी नदीको किनारै-किनारा खदाङ, शिरविण्डे, धावने, कोट, सुकपानी, भित्ती मोतीपुर, सुलीगाड हुँदै दुनै बजार पुगिन्छ। अनि नेपालगञ्जबाट करिब ३५ मिनेटको हवाईयात्रापश्चात जुफाल हुँदै दुनै पुगिन्छ।
उपल्लो डोल्पाको छार्का भोट पुग्ने सहज मार्ग दुनैबाट पूर्वतिर ठूली भेरीको तिरैतिर नदीलाई कहिले दाहिने र कहिले देब्रे पारेर हिँडेपछि व्यासगाड, लावनबगर, सहरतारा हुँदै ल्यासीक्याप पुगिन्छ।
त्यहाँ पुगेपछि धो-तराप जाने बाटो भेरी नदीको पुल तरेर तराप खोलाको किनारा उकालो लाग्नु पर्छ भने छार्का भोट जाने बाटो भेरी नदीको तिरैतिर लिरी खोला, मुसीखोला हुँदै करिब ५ घण्टाको पैदल यात्रा पछि बाँदर फड्के पुगिन्छ। यहाँ साँच्चै नै बाँदरले फड्को लगाउन सक्छ। करिब १०० मिटर खोंचभित्र भेरी नदी बगेको छ।
विशाल पत्थरलाई निरन्तर खियाउँदै भेरी नदी अविरल बगिरहेको छ। यहाँबाट ३४५.५८ वर्ग किलोमिटर क्षेत्रफल भएको छार्का ताङसोङ गाउँपालिकाको क्षेत्रमा प्रवेश हुन्छ। करिब ३ घण्टाको यात्रापछि कागकोट पुगिन्छ।
पुथा हिमालको प्रवेश मार्ग, पाँचु लेकको पश्चिमी भागमा ३२५० मिटरको उचाइमा यो सानो उपत्यका छ। यहाँ छार्का ताङसोङ गाउँपालिकाको केन्द्र पनि छ। संघीयतापछि कागकोट व्यवस्थित हुँदै गइरहेको छ।
पुरानो बस्तीदेखि करिब ५०० मिटर पूर्वतिर नयाँ बस्ती बसाइएको छ। यसको छेउमा भारबुङ खोला (ठूली भेरी नदी) निरन्तर रूपमा धार परिवर्तन गरेर बगिरहेको छ।
पारितिर मोडिँदा खेतबारीहरू कटान र वारितिर मोडिँदा कागकोट उपत्यकाको मैदानी भाग कटान भैरहेको छ।
कागकोटको पाखाभरि धुपिलगायत विभिन्न जातका सल्लाका रूखहरू भएको जंगल प्रशस्त रहेको छ, त्यो जंगल पनि फडानी भइरहेको छ।
कागकोटदेखि ठूली भेरीको तिरैतिर अगाडि करिब १ घण्टाको पैदल यात्रा गरेपछि त्यहाँ जलाशययुक्त भारबुङ खोला हाइड्रोपावरको लागि प्रारम्भिक सम्भाव्यता अध्ययन भैरहेको छ। ड्याम निर्माण गरेर सुरूङमार्फत टाटु खोलामा ५१२ मेगावाट क्षमताको विद्युत निकाल्ने लक्ष्य लिइएको छ।
कागकोटदेखि ६ घण्टाको पैदल यात्राको उकालो हिँडाइपछि लगभग ४००० मिटरको उचाइमा रहेको छार्का ताङसोङ वडा नं ५ को सुन्दर पिम्री गाउँ पुगिन्छ। यहाँबाट सोझै अगाडि पूर्वतर्फ पुथा हिमाल र धवलागिरी-२ र धवलागिरी-३ हिमश्रृखंलाको सुन्दर र मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।
पिम्री गाउँ तल्लो र माथिल्लो रहेको छ। माथिल्लो पिम्रीमा गरवाङ सात्तिक छोइलिङ गुम्वा रहेको छ भने तल्लो पिम्रीमा प्राचीन चिर्थुमहरूको लस्कर रहेको छ। पिम्री गाउँको सबभन्दा उचो भाग मेमो लेक हो, जो डोल्पोबुद्ध गा.पा. सँग जोडिएको छ।
चारैतिर गाउँलाई पर्खालहरूले घेरिएको सुन्दर दृश्य झन् मनमोहक देखिन्छ। यो पर्खालले कुनै प्राचीन गढीको झझल्को दिन्छ।
पिम्री गाउँबाट छार्का भोट जानको लागि तानाखोला हुँदै करिब २ घण्टा पैदल हिँडेपछि घेराङ गाउँ पुगिन्छ। यहाँ छोइदोदी गुम्बा रहेको छ। सुन्दर घेराङ गाउँको मुनि उवाबारी र माथिल्लो भागमा बस्ती छ।
गाउँ छोडेर तल्लो भागमा हुँदै मुकोट खोलातर्फ करिब २ घण्टा हिँडेपछि तेराङ गाउँ पुगिन्छ। यो गाउँमा उवा खेती प्रशस्त हुने रहेछ र यहाँ स्याउ खेती पनि हुँदो रहेछ। तेराङ पुल तरेपछि ठूली भेरी बगेको दिशातर्फ आधा घण्टा हिँडेपछि मुकोट खोला मिसिन्छ।
मुकोट खोलालाई दाहिने पारेर पूर्वतर्फ अगाडि हिँडेपछि ६ घण्टाको पैदल यात्रापछि मुकोट गाउँ पुगिन्छ।
यस गाउँमा प्रशस्त जग्गा, जमिन र पशुपालनको लागि वन क्षेत्र पनि छ।
गाउँको आसपासमा उत्पत्ति भएका खोलाबाट साना जल विद्युतको प्रशस्तै सम्भावना छ। कादुरी संस्थाले बिजुली निकाल्नको लागि अनुमति पनि लिएको छ।
मुकोट हुँदै मुस्ताङ र छार्का भोटसम्म जान सकिन्छ। मुकोट हिमाल मुकोट खोलाको उद्गमस्थल हो, तर ठूली भेरी नदीको होइन।
बाटो भरी नाउरको बथानसँग भेट हुन्छ। यो क्षेत्रमा हिउँ चितुवा पनि भेटिने रहेछ। मुकोटको पूर्वतर्फ मुस्ताङ र दक्षिण भागतर्फ म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिकासँग जोडिएको छ।
घेराङबाट माथिल्लो छड्के बाटो हिँडेपछि धवलागिरी-२ र ३ को सुन्दर हिम श्रृंखला हेर्दै काने छोर्तेन पार गरेर शेरी गाउँ पुगिन्छ। शेरीको पारीपट्टी आँखै अगाडि आकाश खुलेपछि सुन्दर धवलागिरी देखिन्छ।
यो सानो गाउँमा १० वटा घरधुरी रहेका छन्। शेरीबाट अगाडि हिँडेपछि चिर्थुम र पाखो अनि भिर पहरा हिँड्दै पट्यारलाग्दो घुम्ती पार गर्दै ढाक्सुर भिर, ङोम्पुलागा, लाङकुङ हुँदै करिब ६ घण्टाको पट्यारलाग्दो यात्रापछि धुकोट गाउँ पुगिन्छ।
धुकोटको बेशीमा मैदानी जमिन छ। जहाँ उवाखेती गर्ने जमिन छ। यहाँ रहेको फाँटलाई भारवुङ्ग भनिने रहेछ। फेरि यो ठाउँमा पुगेपछि ठूली भेरी नदी भेटिन्छ। यहाँ धुकोट खोला भेटिन्छ जहाँ खहरे जस्तो गरी ढुंगा माटो बगाएको देखिन्छ। अलि माथिको पाखोमा माटोले पोतिएका घरहरू र गाउँको माथिल्लो सिरानमा गुम्बा भएको धुकोट गाउँ देखिन्छ।
धुकोटबाट १ घण्टाको पैदल यात्रापछि याले ढाडगाउँ पुगिन्छ। सबभन्दा बढी वन क्षेत्र भएको र बढी यार्सागुम्बा पाइने क्षेत्र यही ढाडगाउँमा रहेछ। यार्सागुम्बा टिप्ने विषयमा गाउँहरूसँग विवाद र झगडा पनि हुने रहेछ। जसको विवादले गर्दा एक गाउँबाट अर्को गाउँ जान अनुमति लिनुपर्ने र महंगो प्रवेश शुल्क तिर्नु परेको पनि रहेछ (विगतमा ढाडगाउँ र छार्काको बीचमा विवाद हुँदा)। यहाँ पनि मिदोसिब्रो चिर्थुम र गुम्बा छन्। यहाँको धेरै जग्गा जमिन बाँझो नै छोडिएको छ। सायद यार्सागुम्बाको व्यापार र अन्य वैकल्पिक व्यापार र पेशाको कारणले हुन सक्छ। यहाँ पनि एउटा आधारभूत विद्यालय मात्र छ। बालबालिकाको संख्या न्यून छ। शिक्षालाई प्राथमिकतामा पारिएको छैन।
ढाडगाउँबाट अगाडि करिब साढे एक घण्टाको हिँडाइपछि नदी पारिको पाखोमा ठिमेर गाउँ र वारितिर माथि उचाइमा पुंगा गाउँ छ। यो गाउँलाई पनि चारैतिरबाट पर्खालले घेरिएको छ। टाढा बाट हेर्दा ग्रेटवालजस्तै देखिन्छ। चौरी चरन क्षेत्र धेरै माथि छन्।
पुंगा बगरबाट नदीको तिरैतिर अगाडि बढेपछि ३० मिनेटको पैदल यात्रापछि यहाँको प्रख्यात टक्मार गुम्बा भेटिन्छ।
गुम्बाको माथिको भिरालो पाखामा ६ वटा अलग अलग घर छन् जहाँ लामा पढ्नेहरू उपासनामा बस्ने घरहरू रहेछन् जो टाढाबाट हेर्दा कुटी जस्तो देखिन्छन्। यहाँदेखि अगाडि जाँदा बाटोमा कुनै पनि बस्ती नभेटिने हुँदा यता गाउँबाट नै बाटोमा खाने खानेकुराको बन्दोबस्त गरेर जानु पर्छ हामीले पनि फापरको रोटी अनि मैदाको पुरी अनि सातु लिएर गएका थियौं।
अलि अगाडि पुगेपछि च्यामार भीर भएर नदीको किनारै किनारा हिँड्दा अलि थकान महसुस हुन्छ। यहाँ कुनै रूखहरू भेटिँदैनन् साना काँडा भएका बुट्यानहरू मात्र भेटिन्छन्। अल्टिट्युड पनि बढ्दै जाने हुनाले अक्सिजनको मात्रा पनि कम हुँदै जान्छ। तिञ्जेको लेक भएर आउने फोला युल्जेन खोला तरेर अगाडि बढेपछि ताक्यू पुगिन्छ। यहाँ वर्षे याममा चौरीको गोठ र पालहरू भेटिन्छन्। चौरीको दूध, दही र छुर्पी खान पाइन्छ। अझै अगाडि पुगेपछि चट्टानभित्र प्राकृतिक रूपमा बनेको करिब ५० मिटर लामो आमापास सुरूङ पार गरेपछि छार्का गुफासँगै छार्का भोट उपत्यका क्षेत्रमा प्रवेश गरिन्छ। छारुङदेखि चाइनिज मोटरसाइकलमा यात्रा गरेर छुइचेन खोला, डाक्ङोम्बो खोला हुँदै छार्का गाउँ पुगिन्छ।
विश्वको उचाइमा रहेको मानव बस्ती छार्का भोट (४४१०मि) को आफ्नै इतिहास रहेको छ। छागाबाट पछि नेपालीमा छार्का भनिएको हो। छागा शब्द तिब्बती भाषाबाट आएको हो,जसमा ‘छा’ को अर्थ नुन र ‘गा’ को अर्थ राम्रो हुन्छ। जसको अर्थ ‘राम्रो नुन’ भन्ने हुन्छ। यहाँ राम्रो नुन पाइने कुरालाई नकार्न सकिँदैन, यहाँ पनि सन् १८५५ देखि १९६० सम्म भोटे नुनको व्यापार एकक्षत्र रूपमा चलेको थियो भन्ने कुरामा विश्वास गर्न सकिन्छ।
छार्काका याक, जोपा,घोडा, भेडा च्याङ्ग्रा पालन हुन्छ। यहाँ पहिलेदेखि नै तिब्बती मूलका जाति बस्ने गरेको पाइन्छ।
छार्काको माटोमा नुन मिसिएको हुनाले यहाँको लेक र वनमा यार्सागुम्बा पाइँदैन। यहाँका बासिन्दाले यार्सा टिप्न ढाडगाउँ र तिन्जेको वनमा जानुपर्छ। यस गाउँमा सबभन्दा पुरानो साचेन गुम्बा रहेको छ, यस गुम्बालाई गुरू धोर्ची छोकोङ साङ्पोले सन १४०० मा निर्माण गरेको भन्ने प्रमाण पाइन्छ।
यसको आधारमा यो बस्ती धेरै पुरानो रहेको प्रमाणित हुन्छ। यहाँ रहेका अरू गुम्बाहरूमा याङगोन थोङडोल फुन्जोकलिङ गुम्बा, कातोक गुम्बा र ताजोङ फुन्जोकलिङ गुम्बा रहेका छन्।
छार्का भेरी नदीको किनारा अवस्थित प्राचीन बस्ती हो। वर्षौंदेखि रोग, भोक, गरिबी, अभाव, विकटता, दुर्गमताजस्ता पर्यायको भाष्य बनाइएको छार्का भोट क्षेत्र वास्तवमा पशुपालन, विकास र पर्यटनको प्रचूर सम्भावना सहितको वैभवपूर्ण भूमि हो। समथर पठारहरू, तालतलैया, हिमनदी, अग्ला चुली र पासहरूले गर्दा यहाँको भूगोलले सबैलाई आकर्षण गरेको छ।
बर्सेनि हजारौं पर्यटकहरू ट्रेकिङको लागि आउँछन्। गाउँपालिकाको स्काभेटरले खनेको करिब ७७ किलोमिटर रोडमा चाइनिज मोटरसाइकल चढेर नेपाली गीत सुन्दै यात्रा गर्न पाइन्छ। मुस्ताङको सिमानातर्फ २६ किमि, मुकोटतर्फ १० किमि, तिन्जेतर्फ ३५ किमि, फिलुङसम्म ३ किमि र ढाडगाउँतर्फ २.५ किमि रोडको ट्र्याक खोलिएको छ।
छार्कामा छार्का भोट आधारभूत विद्यालय छ। कक्षा ८ सम्म पढाइ हुन्छ, अब ९ सम्मको लागि अनुमति लिएको छ। शैक्षिक सुधार र विद्यालयको व्यवस्थापनका लागि डोल्पो टुमारो संस्थाले सहयोग गरेको छ।
छार्का भोटको विकासको लागि छाया नेपाल र डोल्पो टुमारो संस्थाले सहयोग गरेका छन्। यहाँका युवाहरू पनि छार्काको विकासका लागि अहोरात्र खटिरहेका छन्।
यहाँ ठूली भेरी नदीलाई चाङचुङ खोलाको नामले चिनिन्छ। यहाँ जाके पासबाट फिलुङ खोला, डाक्नाक पास (पिलर नं १७) बाट डाक्नाक खोला, गामी पास र साप्ला पासबाट नाकिमु खोला, माउण्ट ग्युङरी बाट चाङचुङ खोला, मुलुङ खर्कबाट टाचाङ खोला र माउण्ट किरफुगोबाट किरफुगो खोलाको उत्पत्ति भएको छ।
यहाँ साना-साना उपत्यका, चौंरीचरण क्षेत्रहरू र पठारहरू रहेका छन्, जसमा मुख्य मुख्य चौंरीचरण क्षेत्रहरूमा डुकुङ, नुव्री, फिलुङ, डाक्नाक, नाकिमु र लायाक लगायत चौंरीखर्क क्षेत्र छन्। प्राय:जसो चौंरीहरू ती खर्कमा राख्ने गरिन्छ।
छार्काका भिर, पखेरा, खोच, टुप्पा र समथर पठार पदमार्गका लागि प्रख्यात बनेका छन्। छार्काबाट लोमान्थाङ र बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङबाट व्यापार व्यवसाय हुन्छ। त्यहाँबाट खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्रीको ढुवानी घोडा, खच्चर र याकबाट गर्ने गरिन्छ। ङल्जाङ खोला, याकलुङ खोला, नुपलुङ खोला, मिक्यु खोला, मुलुक खर्क, लाप्चे सरमा, नियार पास, मुलुमसुम्ना, गाल्देन, जवेल्नापास, साङ्दा, फालेक हुँदै जोमसोमसम्म ८ महिना बाटो खुल्छ।
फिलुङ खोला, मोङ खर्क, दोङसुम्ना, शिल्दे खर्क, खार्कोक खर्क, गमी पास हुँदै मुस्ताङको दामोदरकुण्ड गाउँपालिका र खार्कोक खर्कबाट अरनिको चुली (शाप्ला पास) भएर मुस्ताङको लोमान्थाङसम्म पुगिन्छ। हिमपात भएमा यो बाटो हिउँद याममा बन्द हुन्छ।
छार्काबाट पश्चिमतर्फ मोला पास (५०५५ मिटर) भएर लासार खोलाबाट दुइटा बाटो छुट्टिन्छ। बाङकिल्देन खर्क, जोर्क पास भएर धो-तराप र अर्को बाटो बुकोकसुम्ना, गासाङ खर्क, ढुकुङ खोला, राप्का हुँदै तिन्जे गाउँ डोल्पो बुद्ध गाउँपालिका पुगिन्छ।
छार्काबाट तिब्बत चीन जाने बाटोहमा फिलुङ खोला हुँदै डोङसुम्ना, डाक्नाक ताल, ले-छेन्पो खर्क, जावुक खर्क हुँदै डाक्नाक पास (पिलर नं १७) भएर तिब्बत प्रवेश गरिन्छ।
त्यस्तै, फिलुङ खोला, गाङसेर खर्क, बाङबुर खर्क, जाके पास हुँदै मेला हुँदा तिब्बत चीन जाने नाका छन् तर हाल आएर कोरोनाको कारणले दुबै नाका विगत दुई वर्षदेखि बन्द रहेका छन्।
हाल आएर छार्का भोटमा मौलिक संस्कार र संस्कृति लोपोन्मुख हुनु, हिउँले ढाकिएका डाँडा कालाम्मे हुनु, जडीबुटी लोप हुनु, पूर्वाधार विकास नहुनु, प्राविधिक अध्ययन बिना सडक निर्माणले पहिरो र विपत्ति निम्तिनु, शिक्षा र स्वास्थ्य सेवाबाट बञ्चित हुनु, पर्यटकीय पूर्वाधारहरूको विकास नहुनु, सूचना प्रविधि र इन्टरनेटको सुविधा नहुनु, नागरिकका अपेक्षा र राज्यको सेवा–प्रवाहबीचको खाडल–जनित निराशा बढ्नु, जलवायु परिवर्तनको असर पर्नु, दीर्घकालीन एकीकृत बस्ती विकास र स्थानान्तरण योजना नहुनु आदि मुख्य समस्या छन्।
(लेखक छार्का ताङसोङ गा.पा डोल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन्।)